विकासन्युज

नेपाल आयल निगमले ३० प्रतिशत साधारण सेयर जारी गर्ने, १५ प्रतिशत विदेशी लगानी

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले ३० प्रतिशत साधारण शेयर जारी गर्ने भएको छ । निगमले आफ्नो सेयर संरचना परिवर्तन गर्दै ३० प्रतिशत साधारण सेयर(आईपीओ) जारी गर्न लागेको हो । हाल निगमको चुक्ता पुँजी २९ करोड २३ लाख रहेको छ । निगमले चुक्ता पुँजी बढाएर २० देखि ३० अर्ब पुर्याउन लागेको छ । सोही पुँजीमा ५५ प्रतिशत सरकारी, ३० प्रतिशत सर्वसाधारण र १५ प्रतिशत रणनीतिक साँझेदारलाई दिने तयारी थालेको हो । रणनीतिक साँझेदारका रुपमा विश्वामा ख्याति प्राप्त कम्पनीलाई भित्र्याउने तयारीमा निगम जुटेको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले बताए । निगमको ४८ औं वार्षिकोत्सवमा निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने ‘अब निगममा सरकारको सेयर ५५ प्रतिशत र रणनैतिक साझेदारीको १५ प्रतिशत शेयर रहनेछ र बाँकी ३० प्रतिशत लगानी सर्वसाधारणले गर्नेछन् ।’ निगमको वार्षिक कारोबार १ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ भने अब त्यसलाई बढाएर २ खर्ब पुर्याउने तयारी निगमले गरेको छ ।  

बजार दोहोरो अंकले ओरालो लाग्दा ३७ करोडको सेयर किनबेच, सबै समूह राताम्मे

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको शुरुदेखि लगातार उकालो लागेको नेप्से परिसूचक आज भने १५.७८ अंकले ओरालो लागेर १४४०.२९ अंकमा झरेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । मंगलबार ५० करोडको सेयर किनबेच भएको बजारमा बुधबार जम्मा ३७ करोडको सेयर कारोबार भएको छ । बुधबार १५८ कम्पनीका १५ लाख ७४ हजार कित्ता सेयर बिक्री भएका छन् । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबै सूचकहरु राताम्मे भएका छन् । बुधबार सबैभन्दा बढी बीमा समूहको परिसूचक १६९ अंकले ओरालो लागेका छन् । त्यस्तै, उत्पादनमूलक २७, माइक्रोफाइनान्स २३ र होटल समूह २० अंकले घटेका छन् । बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८२२ रुपैयाँ रहेको छ । १५ अंकले झरेको बजारमा सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९७१ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २१९ रुपैयाँले घटी हो । उता फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले भने ५.१६ प्रतिशत कमाएका छन् ।

सिटिजन्स बैंकद्धारा २७७२ परिवारलाई ३ करोड ४३ लाख नगद वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७७२ परिवारलाई कूल ३ करोड ४३ लाख रुपैयाँ वितरण गरेको छ । बैंकले धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा उक्त परिवारलाई सो मात्राको नगद वितरण गरेको हो । विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर हिल्फिकोे सहकार्यमा पुस १३ देखि २० गतेसम्म गरी ८ दिनसम्म उक्त कार्यक्रम संचालन गरिएको थियो । विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । बिकट मानिने गाउँहरुमा पनि बैंक जनताको घर दैलोमा पुगेर बैंकिंग सेवा प्रवाह गरिरहँदा स्थानीयहरुले खुशियाली व्यक्त गरेका छन् । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले बताएका छन् ।  

बमले खुट्टा लग्यो, परिवार पाल्ने कसरी ?

बम विस्फोटमा परि घाइते भएकी सरिता राई र ७ बर्षिय छोरा जैविक राई चितवन मेडिकल कलेजमा उपचार गराउँदै । सरिताको वायाँ खुट्टा काटिएको छ भने जैविकको बायाँ हात काटिएको छ । काठमाडौं ।‘एक्कासी ठुलो आवाज आयो, ब्युझँदा चितवन मेडिकल कलेजमा रहेछु, त्यसपछि थाहाँ पाए, एउटा खुट्टा काटिएको रहेछ’, यो भनाई हो सरिता राईको । गत मंसिर २ गते रौतहतको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा बम बिस्फोट हुँदा सरिता र उनका छोरा जैविक राईसहित एक दर्जन घाईते भएका थिए । अन्य घाइतेहरु उपचारपछि घर फर्किसकेका छन तर सरिता र उनका ७ बर्षिय छोरा जैविक राई भने अझै चितवन मेडिकल कलेजमा उपचार गराईरहेका छन् । सरिताको बायाँ खुट्टा काटिएको छ भने जैविकको बायाँ हात काटिएको छ । सरिताका श्रीमान कृष्ण बहादुर राई दमको रोगले थलिएर राम्रोसँग हिड्डुल गर्न समेत सक्दैनन् । पाँच जनाको परिवारलाई आफ्नै मजदुरीको कमाईले पाल्दै आएकी सरिताले बम विस्फोटनका कारण खुट्टा गुमाएपछि परिवारकै विचल्ली भएको छ । उनी उपचारका क्रममा अस्पतालमा छिन, हालसम्म ३ लाख रुपैंयाँ खर्च भैसकेको छ । त्यो पैसा कसरी तिर्ने र अस्पताल बसाईपछिको जिवन कसरी अघि बढाउने ? यस्तै प्रश्नहरुले उनलाई सताईरहेको छ । ‘आफ्नो खुट्टा गुम्यो, कलिलो छोराले हात गुमायो, अब अस्पतालको खर्च कसरी तिर्ने ? घर फर्केपछिको जीवन कसरी गुजारा गर्ने ? सरकारले सहयोग गर्छ रे भन्ने सुनेको थिए, हामी गरिबलाई सरकारले पनि हेरेन’, राईले भनिन् । उनलाई उपचार खर्च र थप राहत उपलब्ध गराउन रौतहटका निर्वतमान सांसद रामकुमार भट्टराई लागिपरेका छन् । भट्टराईकै अग्रसरतामा जिल्ला प्रशासन कार्यालयले १० लाख क्षतिपुर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । तर गृहमन्त्रालयले खासै चासो नदेखाएको सांसद भट्टराईले गुनासो पोख ।‘पहुँचवाला नेतासँगै विस्फोटमा परेकाहरुको उपचार खर्च व्यहोरेर सरकारले थप ५ लाख क्षतिपुर्ति समेत दिईसकेको छ, तर रौतहटका पीडितलाई भने अझै दिइएको छैन’, भट्टराईले भने । उनले गृहमन्त्रालय र मुख्यसचिवलाई समेत घाइतेको उपचार र थप सहयोगका लागि लिखित आग्रह गरिसकेको बताएका छन् ।

पेट्रोलियम ट्याङ्करमा माघदेखि लकिङ सिस्टम, रोकिएला इन्धन चोरी ?

काठमाडौं । विगतदेखि नै लागु हुने भनिएको पेट्रोलियम ट्याङ्करको लकिङ प्रणाली अागामी माघ महिनादेखि कार्यान्वयनमा ल्याइने भएको छ । बुधबार निगमको ४८ औं वार्षिकोत्सव मनाउने क्रममा निगमका प्रवत्ता विरेन्द्र गोईतले मागदेखि पेट्रोलियम ट्याङकरमा लकिङ सिस्टम जडान गरी कार्यान्वयनमा ल्याउने बताए । ‘मागभित्र पेट्रोलियम ट्यांकरहरुमा लकिङ सिस्टम सुरु हुनेछ,’ उनले भने ‘सर्वप्रथम झापाको चारलीबाट ट्याङकरको लकिङ गर्न सुरु गरिनेछ ।’ निगमले केही महिना अघिदेखि नै भारतबाट ट्याङ्करमा ल्याउने गरेको इन्धनको परिमाण नपुगेको, बाटामै तेल चोरि हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न तथा पेट्रोलियम ढुवानीलाई गुणस्तरीय र पार्दशी बनाउन उक्त ट्याङ्करमा लकिङ प्रणाली जडान गर्ने बताएको थियो । त्यस्तै निगमको निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले कम्पनीले अहिले करिब एक हजार ८ सय ट्याङकर ट्रकहरुलाई करारमा लिएर सञ्चालन गरिरहेको बताए । ‘त्यसमध्ये नयाँ भित्र्याइएको ४/५ सय ट्याङ्करमा उक्त प्रणाली जडान भइसकेको छ,’ उनले भने ‘बाँकी ट्याङ्करहरुमा पनि जडान गर्ने कार्य भइरहेको छ ।’ उनका अनुसार उक्त लकिङ प्रणालीले एकपटक मापन गरिसकेको पेट्रोलियम पदार्थलाई ‘क्लोज लुक’मा लकिङ गरिने गरिन्छ ।

नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डकाे अनुमति

काठमाडौं । नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३९ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले बिक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत ३९ करोड २० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । मंगलबार मात्रै कम्पनीलाई सो मात्राको हकप्रद निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६२ रुपैयाँ रहेको थियो ।

एसियन लाइफ इन्स्योरेन्सको माघ ८ गते बुक क्लोज, ५० प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको आगामी माघ ८ गते बुक क्लोज हुने भएकाे छ । गत २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने छ । बुधबार कम्पनीको सेयर मूल्य करिब प्रतिकित्ता १४४८ रुपैयाँमा कारोबार भइरहेको छ ।

मेगा बैंकले ९.४५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । मेगा बैंक नेपालले ९.४५ प्रतिशत बोनस सेयर दिने भएको छ । पुस २५ गते बसेको बैंक सञ्चालक समितिले गत आवको नाफाबाट लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले गत आवमा ७९ करोड १४ लाख नाफा कमाएको थियो । बैंकले ६९ करोड ७१ लाख २ हजार १ सय ६८ रुपैंयाँ बराबरको बोनस सेयर दिने भएको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड ६७ लाख रुपैंयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड पुग्नेछ ।