विकासन्युज

करेण्ट मनोरञ्जन मेला पुस २९ गते झापामा हुँदै

काठमाडौं । करेण्ट तयारी चाउचाउ, यशोदा फुड्स प्रालि अन्तर्गतको ब्राण्डले करेण्ट मनोरञ्जन मेलाको आयोजना गर्ने भएको छ । मेला सुगम पेट्रोल पम्प बिर्तामोड झापामा पौष २९ गते दिउँसो १२ बजेदेखि सञ्चालन हुने आयोजकले बताएका छन् । मेलामा प्रवेश निःशुल्क गरिएको छ । मेलामा प्रसिद्ध लोकप्रिय गायकहरु राजेश पायल राई, सविन राई तथा गायिका मिलन अमात्य र डिल्ली फोम्बोको साथ बिमोक्स ब्यान्डले आफ्नो रोचक प्रस्तुति पस्कने विज्ञप्ति मार्फत जानकारी दिइएको छ । साथै, लोकप्रिय हाँस्य कलाकार जितु नेपाल, श्रीकृष्ण लुईंटेल र एभरेष्ट क्रु लगायत अन्य थुप्रै कलाकारहरुले आफ्नो मनोरञ्जनात्मक प्रस्तुतिका साथ सहभागिलाई मनोरञ्जन प्रदान गर्नेछन् । मेलामा उपस्थितहरुको मनोरञ्जनका लागि मेला स्थलमा विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधि समेतको ब्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

धुर्मुस-सुन्तली फाउन्डेशनद्धारा सप्तरीको दुई ठाउँमा कम्बल वितरण

राजविराज । पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस-सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्धारा आज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोगिनका लागि स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्याङ्केट (कम्बल) वितरण गरिएको स्थानीयवासी अवधेश झाले बताए । तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कूल १५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्याङ्केट वितरण गरिएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए । यस्तै शीतलहरबाट प्रभावित सप्तरीको विभिन्न स्थानमा स्थानीय प्रशासनले पनि कम्बल वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लाको शम्भुनाथ नगरपालिका–६, ७ र ८ मा रहेको दलित बस्तीमा करिब २०० परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिए । सप्तरीमा चिसोबाट मृत्यु हुनेको सङ्ख्या २० पुगे पनि जिल्ला प्रहरी कार्यालयले हालसम्म आठ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । रासस

हिमालयन बैंकद्धारा ‘हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम’ का बालबालिकालाई सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तथा बैंकको २५औं वार्षिकोत्सवको सन्दर्भमा नागार्जुन न.पा. सीतापाईला, आदेश्वरस्थित ‘हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम’ का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त चिल्ड्रेन होमका २१ जना बालबालिकाहरुलाई लुगा (ट्रयाक सुट) तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, विस्कुट आदि) प्रदान गरेको छ । देशका विभिन्न स्थानका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय दिइरहेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरेका छन् ।  

समृद्धिको आधारः अप्टिकल फाइबर मार्फत इन्फरमेशन सुपर हाइवे

काठमाडौं । संसारभर ई कमर्श, ई एजुकेशन जस्ता नयाँ अवधारणाको विकास तिब्रगतिमा भैरहेको छ । यसलाई विकास र समृद्धिको नयाँ आधारका रुपमा पनि व्याख्या गरिन्छ । नेपालले पनि ई कमर्श र ई एजुकेशन मार्फत समृद्धि प्राप्त गर्ने अभियानलाई द्रुतगतिमा अघि बढाएको छ । आगामी २ वर्षभित्रै देशभर देशैभर उच्च क्षमताको अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न हुँदैछ । यसले डिजिटल नेपाल निर्माणको आधार तयार गर्नेछ । नेपाल दुर सञ्चार प्राधिकरणले ९ अर्ब ८९ करोड रुपैंयाँ खर्च गरेर डिजिटल नेपाल निर्माणको आधारका रुपमा इन्फरमेशन सुपर हाइवे तयार गर्न काम अघि बढाईसकेको छ । प्राधिकरणले मध्य पहाडी लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी बाडफाँट गरिसकेको छ । त्यस्तै ७५ वटै जिल्ला सदरमुकामहरुले ४८ कोर क्षमताका अप्टिकल फाइबर बिछ्याइदैछ । प्राधिकरणले नेपाल टेलिकमलाई ४ अर्ब ८८ करोड(कर बाहेक) को अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी दिएको छ । टेलिकमले १, २ र ३ नम्बर प्रदेशमा अप्टिकल फाइबर बिछ्याउनेछ । टेलिकमले आफ्नो भागमा परेको क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउन टेण्डर प्रक्रिया अघि बढाईसकेको छ । युटिएलले २ अर्ब १ करोडमा प्रदेश ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी पाएको छ । प्रदेश ६ र ७ मा स्मार्ट टेलिकमले ३ अर्ब ९४ करोडको ठेक्का हात पारेको छ । यी तीनै कम्पनीहरुले ठेक्का पाएको २ बर्षभित्र अप्टिकल फाइबर बिछ्याईसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ‘टेलिकमले ठेक्का प्रक्रिया अघि बढाएको छ, अरु कम्पनीले भने काम सुरु गरिसकेको बताएका छन, ठेक्का पाएको २ बर्षमा काम सक्नुपर्ने व्यवस्था छ’, प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने । जिल्ला सदरमुकामहरुमा २४ वा ४८ कोरका अप्टिकल फाइबर जडान हुनेछन् । सरकारी स्कुल, उच्च मावी र माबीमा ५१२ केबिपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सुबिधा पुर्याउन दोश्रो चरणको काम पनि अघि बढिसकेको उनले बताए । १८ वटा प्याकेजमध्ये ४० वटाको सम्झौता भैसकेको छ । ३५ वटा प्याकेजको टेण्डर डकुमेन्ट तयार भैरहेको प्रवक्ता अर्यालले जानकारी दिए । २०१६ को ग्लोबल आइसीटी इन्डेक्समा नेपाल १४२ औं स्थानमा रहेको छ । आगामी २ बर्षपछि यसमा उल्लेख्य सुधार गर्ने योजना बनेको पनि उनले बताए । ग्लोबल आइसीटी इन्डेक्समा दक्षिण कोरिया पहिलो नम्बरमा रहेको छ । अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भएपछि डीजीटल नेपाल निर्माणको अभियानमा उल्लेख्य सहयोग पुग्ने पनि उनले बताए । ‘आइसीटी पोलिसी, टेलिकम पोलिसीहरुले शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, पर्यटनमा आईसीटीको उपयोग गरेर समद्धिको ढोका खुल्ला गर्न सकिन्न भन्ने स्थापित भैसकेको छ, अब हामी पनि त्यहि बाटोमा अघि बढिसकेका छौं’, अर्यालले भने । दिगो विकासका लक्ष्य पुरा गर्न पनि आइसीटीलाई उपयोग गर्नैपर्ने अवस्था रहेको अर्यालले बताए ।

हुन्डाईले ल्यायो “विन्टर डिलाइट” न्यानो स्किम्, गाडी खरिदमा नगद छुटका साथै निशुल्क बिमा

काठमाडौं । नेपालकालागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली.ले “हुन्डाई विन्टर डिलाइट स्किम्” ल्याएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा ६ लाख ९६ हजार रुपैयाँसम्मको सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, २० हजार बराबरको लोयल्टी बोनस सँगै पुरानो सवारीको स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा समेत प्राप्त गर्न सकिनेछ । साथै, हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । चिसो मौसममा पनि यस “हुन्डाई विन्टर डिलाइट स्किम्” ले ग्राहकवर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको छ । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस “हुन्डाई विन्टर डिलाइट स्किम्” मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागी मात्र लागु हुनेछ ।

युनिभर्सल पावर कम्पनीले ९६ करोडको आईपीओ निष्कासन गर्न माघ ११ गते बोलायो विशेष साधारणसभा

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले ४० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । युनिभर्सलले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न माघ ११ गते विशेष साधारणसभा बोलाएको छ । सभाबाट पारित भएपछि आईपीओ निष्कासनको प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लावासी र ३० प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ । युनिभर्सलमा ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयरको रुपमा उठाएको ९५ करोड रुपैयाँ साधारण सेयरमा परिणत गरेको छ । आयोजनाको काम सुरु गर्न कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयर उठाएको थियो । युनिभर्सलको सेयर दाखिला खारेज बिहीबारदेखि सुरु भई माघ ११ गतेसम्मका लागि बन्द हुने भएको छ । युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो । युनिभर्सलले अन्य जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ । यस्तै यही समूहअन्र्तगतको राधी विद्युत कम्पनी लिमिटेडले पनि हालै सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । जलविद्युत आयोजनाले प्रभावित स्थानिय बासिन्दालाई न्युनतम् १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था भएपछि कम्पनीले धमामध आईपीओ निष्कासन गर्न लागेका हुन् ।

सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ ९ देखि ३ करोडको आईपीओ निष्कासन गर्दै

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) माघ ९ गतेदेखि निष्कासन हुने भएको छ । संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हो । यसमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । आईपीओ निष्कासन छिटोमा माघ १२ र ढिलोमा फागनु ८ गते बन्द हुने एसबीआईले जनाएको छ । आईपीओ बाँडफाँडपछि संस्थाको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्ने छ ।

कामना सेवा विकास बैंकले माघ १५ देखि ३० करोड ९४ लाखको हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले माघ १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १० बराबर १.५ अनुपातमा ३० करोड ९४ लाख १५ हजार रुपैयाँ बराबरको ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन फागुन २१ गतेदेखि बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ ।