हिमालयन बैंकको २६.३१ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ८ अर्ब ११ करोड नाघ्यो
काठमाडौं । हिमालयन बैंक लिमिटेडको २६.३१५८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साभाले पारित गरे बमोजिम कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस र १.३१५८ प्रतिशत नगद लाभांश दिने भएको छ । सो मात्राको बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुगेको कम्पनीका अध्यक्ष मनोजबहादुर श्रेष्ठले बताएका छन् । बैंकले आ.व. २०७३/७४ अन्त्य सम्म ९२ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन र ७७ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी हो ।
प्राइम कमर्सियल बैंकको २७ प्रतिशत बोनस सेयर पारित, संचालकमा गजेन्द्र विष्ट
काठमाडौं । प्राइम कमर्सियल बैंकको आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १०औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सोही सभाले गजेन्द्र विष्टलाई सर्वसाधारण समूहबाट संचालकमा निर्वाचित गरेको छ । बैंकले विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिंङ सेवाहरु प्रदान गर्दै आएकोे छ । साथै, बैंकले आगामी दिनहरुमा बैंकिङ सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै जाने बताएकाे छ ।
नेपाल र चाइनाको अप्टिकल फाइबर लिंक आजबाट सञ्चालनमा
काठमाडौं । आजदेखि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच क्रसबोर्डर अप्टिकल फाइबर लिंकबाट व्यवसायीक सञ्चालन सुरु भएको छ । शुक्रबार राजधानी स्थित टेलिकमको केन्द्रिय कार्यालयमा एक समारोहबीच सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उक्त अप्टिकल फाइबर लिंक सञ्चालन गरेका हुन् । इन्टरनेट सेवाको भरपर्दो सञ्चालनको लागि प्राविधिक तथा व्यवहारिक रुपमा एकभन्दा बढी सेवा प्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआवद्धता हुने उद्देश्यले नेपाल र चाइनाबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक सञ्चालन सुरु गरिएको बताइएको छ । फाइबर लिंक सञ्चालन भएसँगै विश्वसँग जोडिने नेपाल सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभीटी) भारत र चीन दुवैतिरबाट सम्भव हुने कार्यक्रममा टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन् । ‘त्यस्ता फाइबर लिंक जोड्न सन् २००३ देखि पहल सुरु गरेका हौं,’ उनले भनिन् । टेलिकमका अनुसार सन् २०१३ डिसेम्बर २३ मा बैकल्पिक रुटको रुपमा नेपाल चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन सिष्टम निर्माण र मर्मत सम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेसनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यसयता सन् २०१६ को जुलाई १४ मा उक्त अप्टिकल फाइबर लिंकलाई व्यवसायिक प्रयोजनका लागि उपयोग गर्न टेलिकमले सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको थियो । पछिल्लो समय सोही वर्षको डिसेम्बर ६ मा सो सम्बन्धी व्यवसायीक सम्झौता हङकङमा सम्पन्न भएको टेलिकमको प्रबन्ध निर्देशक राजभण्डारीले बताइन् । कार्यक्रमा चाइना टेलिकम ग्लोबलका अधिकारीहरुले अप्टिकल फाइबर लिंक सञ्चालनको माध्यबाट नेपाल र चिनको सम्बन्ध झन प्रगाढ हुनका साथै नेपालको व्यवसायीक र विकासको क्षेत्रमा दरिलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै सूचना तथा सञ्चार मन्त्री बस्नेतले नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक सञ्चालन मुलुकको लागि कोशेढुङ्गा सावित हुने बताए । ‘व्यपार तथा प्रत्यक्ष स्रोतको आधारमा चिन नेपालको लागि दोस्रो ठूलो मुलुक हो,’ उनले भने ।
काठमाडौंमा तीन दिने दक्षिण एसियाली हस्तकला महोत्सव हुँदै, कहिले देखि शुरु ?
काठमाडौं । गरीबी निवारण कोष, नेपालले यही पुस २८, २९ र ३० गते काठमाडौंमा दक्षिण एसियाली हस्तकला महोत्सवको आयोजना गर्दैछ । यो तीन दिने महोत्सवको मुख्य आकर्षण ‘नेपाल-को’ ब्राण्ड हुनेछ । नेपाली कालीगढहरूले बनाएका आकर्षक हस्तकला सामाग्रीलाई ‘नेपाल-को’ ब्राण्ड-दिएर राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारमा ल्याउन लागिएको हो । काठमाडौं, दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने महोत्सवमा भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू पनि प्रदर्शनीमा राखिनेछन् । कोषद्वारा सञ्चालित ‘द्वन्द्व प्रभावितहरुका लागि बजार निर्माण परियोजना’ अन्तर्गत संगठित हुँदै विभिन्न सीप सिक्ने र आफ्नाे उत्पादनको बजारलाई विस्तार गर्ने अवसर पाएका नेपाली कालीगढहरूको सिर्जनालाई प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको हो । द्वन्द्व र सामाजिक विग्रहको चपेटामा परेको समुदायका विपन्न एवं सीमान्तकृत कालीगढहरूको जीवन–स्तर उकास्न कोषले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । महोत्सवले ती र अन्य त्यस्तै दक्षिण एसियाली कार्यक्रमबारे पनि जानकारी दिनुका साथै विभिन्न अन्तरदेशीय एवं अन्तरसांस्कृतिक सिकाई र संवादको पनि सहजीकरण गर्नेछ । कोषका कार्यकारी निर्देशक नहकुल केसी भन्छन्, “हस्तकला बजारमा ग्रामीण, विपन्न, भूमिहीन र द्व्रन्द्व–प्रभावित समुदायका कालीगढहरुको उत्पादनको हिस्सा बढाउनु हाम्रो उद्देश्य हो ।” “हाम्रो परियोजनाबाट महिला, अपाङ्गता भएका र द्वन्द्व एवं सामाजिक विग्रहको चपेटामा परेकालगायतका विभिन्न कालीगढहरू लाभान्वित भएका छन्,” उनले भने। जापानी सामाजिक विकास कोषको सहयोग र विश्व बैंकको व्यवस्थापनमा दैलेख, दाङ, धनुषा, तेह्रथुम, कपिलवस्तु, म्याग्दी र गोर्खा जिल्लामा सञ्चालित यो परियोजनामा समेटिएका कालीगढहरुले आफ्नाे आय बढाउने र जीवनस्तर सुधार्ने सीप, क्षमता र अवसर पाएका छन् । यो परियोजनाअन्तर्गत कोषले ३६५ उत्पादन समूह र १० वटा उत्पादन संघमार्फत ७,५०० भन्दा बढी कालीगढको उत्पादनलाई बजारसँग जोड्दै तिनको जीवनस्तरमा सुधार गरेको छ । हरेक समूहमा २० देखि २५ कालीगढ आवद्ध छन् र तिनले आ-आफ्नै क्षेत्रमा उद्यम गरेका छन् । उनीहरुलाई मद्दत गर्न कोषले १० वटा साझा सेवा केन्द्र पनि सञ्चालन गरेको छ । परियोजनाको सहयोगप्राप्त कालीगढको सिर्जनाको प्रदर्शनीसँगै बिक्री पनि गरिनेछ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीद्धारा उद्घाटित हुने महोत्सवमा अल्लो, लोक्ता, ऊन, ढाका र माटोका सामाग्रीस“गै मिथिला चित्रकला पनि प्रदर्शन गरिनेछ । आफ्ना कलात्मक हस्तकलाको प्रवद्र्धन र बिक्रीका लागि महोत्सवमा सहभागी हुन आउने कालीगढहरुसँग भेट्ने र तिनको अनुभव सुन्ने अवसर पनि महोत्सवले जुराउनेछ । साथै, ग्रामीण अर्थतन्त्र, महिला उद्दमशीलता, सांस्कृतिक उद्योग र सम्भावनाबारे अन्तरसंवाद पनि महोत्सवको अर्को महत्वपूर्ण हिस्सा हुनेछ ।
माघ ४ को सार्वजनिक विदा फिर्ता लिन माग
लमजुङ । सोनाम ल्होसार फागुन ४ गते पर्ने भएकाले सो अवसरमा सरकारले माघ ४ गते दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको छ । तामाङ घेदुङ संघ लमजुङ शाखाले पत्रकार सम्मेलन गरी ४ माघका दिन दिएको बिदा फिर्ता लिन आग्रह गरेको हो । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा (फागुन ४ गते)पर्ने भन्दै माघ ४ गतेको सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेको उक्त संघले जनाएको छ । पत्रकार सम्मेलनमा संघका जिल्ला कार्यकारिणी समितिका अध्यक्ष अजय तामाङले नेपाली पात्रोमा गलत मितिमा सोनाम ल्होसार उल्लेख भएको बताए । “माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होेसार पर्छ, माघ शुक्ल प्रतिपदा फागुन ४ गते हो”, तामाङले भने, “हामीले फागुनमा ल्होसार मनाउने हो त्यसैले माघ ४ को बिदा आवश्यक छैन ।” फागुन ४ गते शेर्पा जातिले मनाउने ध्याल्पो ल्होसार पनि परेको र उक्त दिन स्वतः सार्वजनिक बिदा भएकाले अर्को बिदा घोषणा गरिरहनुपर्ने आवश्यक नरहेको उनले भने । तामाङ जातिले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदै छन् । ल्होसारका अवसरमा विभिन्न प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । रासस
जनकपुर-जयनगरमा प्रति घण्टा १०० किलोमिटर कुद्ने रेल, पुरा हुँदै नेपालीको रेल सपना
काठमाडौं । जनकपुरदेखि जयनगरसम्म प्रति घण्टा १०० किलोमिटर गुड्ने रेल सन २०१८ भित्रै सञ्चालन हुने भएको छ । रेल विभागले जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पुर्वाधार निर्माण अन्तिम चरणमा पुर्याएको हो । भारत सरकारले १० अर्ब लागतमा सो रेलवे लाइन निर्माण गरिदिएको हो । जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको छ । सो रेल प्रति घण्टा १०० किलोमिटर स्पिड क्षमतामा निर्माण गरिएको छ जुन भारतको भन्दा दुई गुणा तिब्र गतिको रेल हो । भारतका रेलवेहरु अधिकतम ५० किलोमिटरको क्षमतामा मात्रै गुड्छन् र ती सबै न्यारोगेज रेल वे हुन् । नेपालमा निर्माण हुने रेल वे नेटवर्क भने ब्रोडगेजका हुन् । यो खण्डमा सन २०१८ को अक्टोबर महिनासम्ममा रेल गुडाउने तयारी सहित काम अघि बढिरहेको रेल विभागका मेकानिकल इञ्जिनियर रोशन कुमार देवले बताए । ६ वटासम्म डब्बा तान्न सक्ने चार वटा इञ्जिन राख्ने तयारी भैरहेको छ । त्यसका लागि नेपाल सरकारसँग बजेट माग्ने वा भारतसँगै सहयोग माग्ने विकल्पबारे पनि छलफल भैरहेको देवले जानकारी दिए । त्यस बोहक बुट मोडलका विकल्पबारे पनि कुरा अघि बढेको छ । हाल रेल वे लाइनमा ढुंगा राखेर स्लिपर हाल्ने काम जारी छ । त्यसपछि पुलहरुको गर्डर हाल्ने काम हुनेछ । स्लिपरमाथी रेलको लिक राखिन्छ । ठाउँ ठाउँमा क्रसिङ लाइन राखेर आउने जाने रेलको ट्राफिक व्यवस्थापन गरिनेछ । रेल पढ्न चीन हाल विभागले रेलको तालिम लिन २ जना प्राबिधिकलाई चीन पठाएको छ । विभागले इलेक्ट्रोनिक इञ्जिनियर सन्तकुमार महर्जन र मेकानिकल इञ्जिनियर नवराज भट्टलाई रेलबारे थप अध्ययनका लागि चीन पठाएको हो ।
रिजालको नेतृत्वमा आनको नयाँ कार्य समिति
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा कि एडभरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक रविन्द्रकुमार रिजाल ‘शशी’ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । उम्मेदवारी दर्तामा उनको विरुद्धमा कसैको नपरेपछि सर्वसम्मत चयन भएका हुन् । आगामि ३ बर्षे कार्यकालका लागि अध्यक्षमा रिजाल सहित बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिबमा राजु कुइँकेल, सचिबमा कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा पंकज प्रधानको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यस्तै, ६ जना सदस्यहरुमा रोधन प्रसाई, रमेश पुरी, विशालपुरुष ढकाल, अरुणकाजि स्थापित, किरण गैरे र सन्तोष खड्काको मात्रै उम्मेदवारी छ । कोषाध्यक्षमा भने दुई जनाको दाबी भएपछि सहमतिको प्रयास भैरहेको नेपाल विज्ञापन संघले जनाएको छ । कोषाध्यक्ष पदमा पिताम्बर पोखरेल ‘विजय’ र यमुना पौडेल ‘प्रतिमा’ ले उम्मेदवारी दिएका छन् ।
पाँचसय मेगावाटको विद्युत् निर्माणमा पहल गर्छु : नगर प्रमुख
बाजुरा । बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले नगरको आर्थिक विकासका लागि भएका स्रोतसाधनको प्रयोग गर्ने बताएका छन । बिहीबार ऐसावादी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारण सभाको कार्यक्रममा आगामी दिनमा सहकारी र विद्युत् नै आर्थिक समृद्धिको आधार हुने बताए। उनले नगरपालिकाको विकासका लागि पाँच वर्ष नगरवासीका लागि नै खर्चने बताए । नगरवासीले नियमित विद्युत् प्रयोग गर्न नपाएका कारण आगामी दिनमा विद्युत् उत्पादन गर्ने संस्थासँग सहकार्य गरी ५०० मेगावाटको विद्युत् निर्माणका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए। उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, डोटी र विश्व बैंकको एक टोली बडीमालिका नगरपालिका–६, कोर्धमा रहेको कोर्धालीगाड लघुजलविद्युत्को अनुगमनमा यही माघ १५ आउने भएकाले उहाँहरुसँग पानीको क्षमता हेरी विद्युत् निकाल्न सहयोगका लागि अपिल गर्ने बताए । नगर प्रमुख बडुवालले सहकारीमार्फत आयआर्जनका कार्य गर्न आग्रह गरेका छन । बडीमालिका नगरपालिका–६ कोर्धमा आलु खेतीको प्रशस्त सम्भावना रहेकाले सबैले व्यावसायिक बन्नुपर्नेमा जोड दिए । उनले केरा, कागती र अन्य फलफूल खेती गर्न सकिने भएकाले कृषकले व्यवसाय गर्दै आर्थिक समृद्धि ल्याउनुपर्ने बताए । सहकारीले बचत र ऋण लगानी मात्र गर्ने नभई उत्पादनमुखी कार्यमा लाग्नुपर्ने नगर प्रमुख बडुवालले भने। तरकारी खेती र अन्य आयआर्जनका कार्य गरे सहकारी उत्पादनमुखी बन्नेमा आफु विश्वस्त रहेको पनि उहाँले बताए । रासस