विकासन्युज

केपी ओलीले भने-लगानीकर्ता नआत्तिनुस्, सेयरमा भ्याट लाग्दैन(भिडियोसहित)

काठमाडौं । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको नव निर्वाचित नेतृत्वलाई स्वागत गर्न पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी सरकारसँग सेयर बजारका लगानी कर्ता आत्तिनु नपर्ने बताएका हुन् ।-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ओलीले बापमन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको आरोप पनि लगाए । ‘बामपन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको छ, आजसम्म सेयरमा भ्याट लगाउन आवश्यक किन ठानिएन, हामी गम्भिर भएका छौं’, ओलीले भने । उनले बामपन्थी सरकारलाई देखाएर लोकतन्त्र मासिने, खुल्ला बजार अर्थतन्त्र नासीने तथा लगानीकर्ता निरुत्साहित हुने अफवाह फैलाईएकोमा आपक्ति समेत जनाए । ‘नेपालका बामपन्थीहरुले आफ्नो जीवन नै लोकतन्त्र प्राप्तीका लागि समर्पण गरेका छन्, जसले लोकतन्त्र ल्यायो उसैले लोकतन्त्र मास्छ भन्ने हल्ला चलाईएको छ, तपाईहरु त्यस्ता अफवाहको पछि नलाग्नुस’, ओलीले भने । उनले बामपन्थी सरकार गठन भएपछि सेयर बजारमा उछाल आउने दावी पनि गरे । ‘तपाईहरु ढुक्क हुनुस, नयाँ सरकार आएपछि सेयर बजारमा उछाल आउँछ, नयाँ सरकारले लिने नितीका कारण सेयर बजार उकालो चढ्छ’, ओलीले भने । उनले सेयरमा भ्याट लाग्न नदिने पनि स्पष्ट पारेका छन् । ओलीले काम चलाउ वर्तमान सरकारले राज्य ढुकुटीको दोहन गरिरहेको आरोप पनि लगाए । काँग्रेसले आफुले राज्यको ढुकुटी भरेकाले मास्ने अधिकार पाउनुपर्ने तर्कको गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यस्ता गलत निर्णय सबै खारेज गर्ने पनि स्पष्ट पारे ।

अधिकांश बैंकले राष्ट्र बैंकको पैसा लिएनन्, २० अर्ब दिदा ७ बैंकले लिए ८ अर्ब ४० करोड

काठमाडौं । विभिन्न ७ बैंकले नेपाल राष्ट्र बैंकबाट ८ अर्ब ४० करोड रुपैयाँ उठाएका छन् । बजारमा तरलता कम हुनगइ अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले आइतबार रिपो वित्तीय उपकरण मार्फत बजारमा २० अर्ब रुपैयाँ पठाएर बजारमा हस्तक्षेप गरेको थियो । आइतबारसम्म बैंकिङ प्रणालीमा २२ अर्ब ४२ करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । आइतबार राष्ट्र बैंकबाट सिटिजन्स बैंक, मेगा बैंक, कैलाश विकास बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकले ५ प्रतिशत ब्याजमा १४ दिनका लागि पैसा उठाएका छन् । रिपोको पैसा निक्षेपमा गणना गरेर थप लगानी गर्न नपाउने भएपछि अधिकाँश बैंकले लिएन । तरलताको अवस्था कसिलो भएका कही बैंकले मात्र रिपो खरिद गरेका हुन् । एक साताअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ । अल्पकालिन तरलताको समस्या समधान गर्न केन्द्रीय बैंकले दुई साताका लागि बजारमा पैसा पठाएको हो । रिपो रकम माघ २८ गते फिर्ता हुनेछ । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ७ पटक रिपो गरी बजारमा ५२ अर्ब ४५ करोड रुपैयाँ बजारमा पठाएको छ । यता बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत बढी रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने  बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।  

राष्ट्रिय बाणिज्य बैंकको लोभ लाग्दो प्रगति, नाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौं । पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको नाफा ४७.१० प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७४ पुस मसान्त अवधीमा आफ्नो नाफा ५७ करोडले वृद्धि गरेर एक अर्ब ७८ करोड पुर्याएको हो । २०७३ पुस मसान्तमा बैंकले एक अर्ब २१ करोड नाफा कमाएको थियो । बैंकले एक खर्ब ४९ अर्ब निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब कर्जा लगानी प्रवाह गर्दा सीडी रेसियो ६९.१२ प्रतिशत मात्रै पुगेको छ । ठुला निजी बैंकहरु सिडी रेसियो नाघेर कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगिसक्दा पनि बाणिज्य बैंक भने अझै १० प्रतिशत थप कर्जा लगानी गर्न सक्ने अवस्थामा रहेको छ । अन्य सरकारी संस्थान तथा उद्योगहरु निरन्तर ओरालो लागिरहँदा पनि राष्ट्रिय बाणिज्य बैंकले भने निरन्तर प्रगति गरिरहेको देखिन्छ । बैंकले ५ अर्ब ३२ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३१ करोड मात्रै ब्याज खर्च गरेको देखिन्छ । बैंकले कर्मचारी खर्च पनि एक अर्ब ४१ करोडबाट घटाएर एक अर्ब २० करोडमा सिमित गरेको छ । खराब कर्जा ३.११ प्रतिशत रहेको बैंकले ८८ करोड प्रोभिजन गरेको छ भने ४० करोड राइट ब्याकबाट आम्दानी गरेको छ ।

हिमालयन बैंकको नाफा एक अर्ब १० करोड

काठमाडौं । हिमालयन बैंकले एक अर्ब १० करोड नाफा कमाएको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा ८ करोडले नाफा बढाएको हो । २०७४ पुस मसान्त अवधीमा एक अर्ब २ करोड नाफा गरेको थियो । हिमालयन बैंकले ९२ अर्ब निक्षेप संकलन गरेर ८२ अर्ब कर्जा लगानी गरेको छ । बैंकले ४ अर्ब ५० करोड ब्याज आम्दानी गर्दा २ अर्ब ६३ करोड ब्याज खर्च गरेको छ । बैंकको सीडी रेसियो भने ७९.३० प्रतिशत पुगिसकेको छ । ०.९४ प्रतिशतबाट १.३२ प्रतिशत खराब कर्जा पुगेको बैंकले २८ करोड प्रोभिजन गरेको छ भने २७ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । ८ अर्ब ११ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २७.२६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५७.८८ रुपैंयाँ रहेको छ ।

नेपाल बैंकको नाफा २६ करोडले घट्यो

काठमाडौं । नेपाल बैंकको नाफा २६ करोडले घटेको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ६३ करोड मात्रै नाफा कमाउन सफल भएको छ । जबकी २०७३ पुस मसान्तमा बैंकको नाफा १ अर्ब ८९ करोड रहेको थियो । नेपाल बैंकले ९१ अर्ब निक्षेप संकलन गरेर ७८ अर्ब कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब २४ करोड छ भने ब्याज खर्च एक अर्ब ३० करोड मात्रै रहेको छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा ५ अर्ब ४ करोड रुपैंयाँ रहेको छ । ३.२३ प्रतिशत खराब कर्जा रहेको नेपाल बैंकले २३ करोड प्रोभिजन गरेको छ । बैंकको खराब कर्जा गत आवको पुस मसान्तमा जम्मा २.८५ प्रतिशत मात्रै थियो । बैंकले २३ करोड रुपैंयाँ नै राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । बैंकको सीडी रेसियो ७५.३० प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४०.७४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १७२.७६ रुपैंयाँ रहेको छ ।

कृषि विकास बैंकको नाफा एक अर्ब २ करोड

काठमाडौं । कृषि विकास बैंकको नाफा एक अर्ब २ करोड पुगेको छ । बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमा १२ करोडले नाफा बढाएर १ अर्ब २ करोड पुर्याएको हो । बैंकले गत आवको पुस मसान्त अवधीमा ९० करोड नाफा गरेको थियो । कृषि विकास बैंकले ९८ अर्ब निक्षेप संकलन गरेर ९२ करोड कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७९.५९ प्रतिशत पुगेको छ । बैंकले ६ अर्ब १५ करोड ब्याज आम्दानी गरेर ३ अर्ब ५० करोड ब्याज खर्च गरेको छ । १३ अर्ब ९३ करोड चुक्ता पुँजी रहेको कृषि विकास बैंकको जगेडा कोषमा ८ अर्ब ९२ करोड रुपैंयाँ रहेको छ । ९६ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको बैंकले एक अर्ब ११ करोड रुपैंयाँ प्रोभिजन गरेको छ । बैंकको प्रति सेयर आम्दानी २०.३७ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ २०२.९७ रुपैंयाँ रहेको छ ।

सनराइज बैंकको नाफा २ करोडले घट्यो

काठमाडौं । सनराइज बैंकको नाफा २ करोड २२ लाख रुपैंयाँ घटेको छ । बैंकले चालु आवको पुस मसान्तसम्ममा जम्मा ५८ करोड ७५ लाख मात्रै नाफा कमाउन सफल भएको छ । जबकी गत आवको सोही अवधीमा बैंकले ६० करोेड ९७ लाख नाफा आर्जन गरेको थियो । ६३ अर्ब निक्षेप संकलन गरेको बैंकले ५६ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७८.६४ प्रतिशत पुगेको छ । बैंकले ३ अर्ब ५७ करोड ब्याज आम्दानी गर्दा २ अर्ब २८ करोड ब्याज खर्च गरेको देखिन्छ । ८ अर्ब १५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १३ करोड रुपैंयाँ मात्रै रहेको छ । खराब बर्जा वापत २३ करोड प्रोभिजन गरेको बैंकले २३ करोड नै राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । सनराईज बैंकको खराब कर्जा १.६५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १४.४१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२५.७७ रुपैंयाँ रहेको छ ।

एनआईसी एसिया बैंककाे निक्षेप ४१ अर्ब र कर्जा ३५ अर्बले वृद्धि

काठमाडौं । आक्रामक बजार विस्तार गरिरहेको एनआईसी बैंकले विगत १ वर्षमा ४१ अर्व ४० करोड रूपैयाँ निक्षेप वृद्धि गरेको छ । २०७३ पुस मसान्तमा ७९ अर्ब निक्षेप भएको यस बैंकले २०७४ पुस मसान्तसम्ममा एक खर्ब २० अर्ब निक्षेप संकलन गरेर छ । कर्जा लगानी पनि एक वर्षमा ३५ अर्बले वृद्धि गरी १ खर्ब २ अर्ब रूपैयाँ बनाएको छ । यो वृद्धिलाई बैंकले ‘नेपाली बंैकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुका आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि’ भनेको छ । धेरै बैंकहरूले निक्षेप र कर्जा लगानी विस्तार गर्न नसकिरहेको समयमा यस बैंकले उच्च दरको वृद्धि हासिल गरेको छ । बैंकको कर्जा तथा निक्षेप अनुपात ७८.१९ प्रतिशत रहेको छ । जुन नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशत सीमा भित्र रहेको छ । बैंकको खुद नाफामा भने गिरावट देखिएको छ । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जम्मा ५७ करोड १७ लाख रूपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ७२ करोड १४ लाख रुपैंयाँ कमाएको थियो । गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट ३२ करोड ८३ लाख रुपैयाँ फिर्ता भएकोले खुद नाफामा बढी योगदान गरेको बैंकले जनाएको छ । साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ । बैंकको सञ्चालन नाफामा भने २५ प्रतिशतले वृद्धि देखिएको छ । ‘चालु आ.व. २०७४/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ’ बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–बैंकले गतवर्षको सोही अवधिको ८९ करोड सञ्चालन नाफा आर्जन गरेकोमा चालु वर्ष ११२ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।’ सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवार मार्फत आर्जन गरेको नाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूतिप्रति बिम्बित गर्दछ । चालु आ.व. मा बैंकको सञ्चालन नाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा ३६ करोडको वृद्धिका वावजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक रहेको छ । बंैकको चुस्त कर्जा असुली प्रणाली तथा अभ्यासका कारण गतवर्ष ०.७२ प्रतिशत रहेको खराब कर्जामा उल्लेख्य सुधार आई यस वर्ष ०.२६ प्रतिशत कायम राख्न सफल भएको छ । साथै, बैंककोे पूँजी पर्याप्तता अनुपात १३.५९ प्रतिशत रहेको छ । बैंकले देशभर आफ्नो विस्तारित शाखा सञ्जाल, १५९ शाखातथा १४७ एटीएम मार्फत आफ्ना ग्राहकहरु सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । साथै, बैंक आफ्नो दीर्घकालीन रणनीति अनुरुप थप शाखा सञ्जाल तथा सेवा केन्द्रहरु विस्तार गरी भौगोलिक उपस्थितिका हिसाबले देशकै अग्रणी बैंक बन्ने लक्ष्य प्राप्तिका लागिनिरन्तर प्रयासरत रहेको बैंक व्यवस्थापनले जनाएको छ । बैंकको प्रति सेयर आम्दानी १४.२४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १३३.०७ रुपैंयाँ रहेको छ । बैंकको सिडी रेसियो भने ७८.१९ प्रतिशत पुगेको छ ।