सिभिल बैंकको नाफा ३१ प्रतिशतले वृद्धि, खराब कर्जा ४.५० प्रतिशत
काठमाडौं । सिभिल बैंकको नाफा ३१.२५ प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७४ पुस मसान्तमा आफ्नो नाफा ५ करोडले बढार २१ करोड पुर्याएको हो । २०७३ पुस मसान्तसम्मा सिभिल बैंकको नाफा जम्मा १६ करोड रुपैंयाँ मात्रै थियो । बैंकले २६ करोड राइट ब्याकबाट आम्दानी गरेको छ भने ३९ करोड प्रोभिजन गरेको छ । सिभिल बैंकको खराब कर्जा ४.५० प्रतिशत रहेको छ । बैंकले ६ महिनामा ३७ अर्ब निक्षेप संकलन गरेर ३३ अर्ब कर्जा लगानी प्रवाह गरेको छ । सिभिलले २ अर्ब २ करोड ब्याज आम्दानी गर्दा एक अर्ब ४२ करोड ब्याज खर्च गरेको देखिन्छ । बैंकको सिडी रेसियो ७६.१२ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ८.३४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.५६ रुपैंयाँ रहेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १ अर्ब १ करोड
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा स्ट्याण्डर्ड चाटर्ड बैंकले नाफा बढाएर १ अर्ब कटाएको छ । गत पुससम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७४ करोड रुपैयाँ गरेको थियो । यो वर्षको ६ महिनामा बैंकले २७ करोड रुपैयाँ नाफा बढाएको सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले देखाएको छ । बैंकको निष्क्रिय कर्जा ०.१७, निक्षेप लागत २.४२, सीडी रेसियो ७८.९७, आधार ब्याजदर ५.८०, स्पेड दर ६.९ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३० पैसामा झरेको छ । समीक्षा अवधिमा बैंकले ६६ अर्ब ७ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ६१ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानीमा पनि विस्तार भएको छ । गत पुससम्म बैंकले ४२ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३५ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
एनसीसी बैंकले कसरी बढायो ४०० प्रतिशत नाफा ?
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको नाफा ४०० प्रतिशतले बढेको छ ।२०७३ पुस मसान्तमा जम्मा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले २०७४ पुस मसान्तमा २८ करोडले वृद्धि गरेर ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड रूपैयाँकाे भने राइट ब्याकको हिस्सा रहेको छ । बैंकले ६ महिनामा ५८ अर्ब निक्षेप संकलन गरेर ५१ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ । बैंकले ३ अर्ब ९ करोड रुपैंयाँ ब्याज आम्दानी गर्दा २ अर्ब ५१ करोड ब्याज खर्च गरेको देखिन्छ । एनसीसीले ४.८४ प्रतिशत रहेको खराब कर्जालाई ४.०४ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर आम्दानी १०.२४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६२.२९ रुपैंयाँ रहेको छ । एनसीसीको सिडी रेसियो ७६.४८ प्रतिशत रहेको छ ।
नविल बैंकको नाफा एक अर्ब ८३ करोड, खराब कर्जा बढ्यो
काठमाडौं । नविल बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ८३ करोड नाफा कमाएको छ । २०७३ पुस मसान्तसम्ममा बैंकले एक अर्ब ७४ करोड नाफा कमाएको थियो । बैंकले चालु आवको दोश्रो त्रैमासमा गत वर्षकाे साेही अवधिकाे तुलनामा आफ्नो नाफा ९ करोडले बढाएको हो । नविल बैंकले ६ महिनामा एक खर्ब २१ अर्ब निक्षेप संकलन गरेर एक खर्ब कर्जा लगानी गरेको देखिन्छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड रहेको छ । बैंकको ब्याज आम्दानी ५ अर्ब २४ करोड रुपैंयाँ गर्दा २ अर्ब २८ करोड ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा भने ०.९० प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ । बैंकको सिडी रेसियो ७६.४९ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४५.४९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १९८ रुपैंयाँ रहेको छ ।
छ महिनामा प्रभु बैंकको नाफा ६३ करोड
काठमाडौं । प्रभु बैंकको नाफा ६३ करोड ४९ लाख रूपैयाँ भएकाे छ । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा एक अर्ब ११ करोड नाफा कमाएको थियाे । गत आवको पुस मसान्तमा एक अर्ब १३ करोड राइट ब्याक पाएकाले बैंकको नाफा धेरै देखिएको थियो । प्रभु बैंकको खराब कर्जा ४.८८ बाट घटेर ४.१२ प्रतिशत भएको छ । ६ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकको जगेडा कोषमा ३ अर्ब ११ करोड छ । बैंकले ८५ अर्ब निक्षेप संकलन गरेर ७१ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७५.२४ रहेको छ ।
बुटवल पावरको २ अर्ब ४ करोडको एफपीओ आजदेखि निष्कासन, एफपीओ किन्नेले लाभांश पाउदै
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले आजदेखि थप निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ ल्याएको हो । एफपीओको मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ तोकिएको छ । साधारण सेयरमा ४०१ रुपैयाँ प्रिमियम मूल्य थप गरेर ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन भएको छ । एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गतेसम्म तोकिएको छ । एफपीओ न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । साधारणसभा बस्ने मिति तय नभएकाले लाभांश घोषणा नगरिएको उनले जानकारी दिए । लाभांश गत वर्षको भन्द नघट्ने उनको भनाई छ । एफपीओबाट संकलन हुने रकम निर्माणधिन ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी आयोजनामा लगानी गर्नेछ । गत आर्थिक वर्ष ०७३र७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गरेको हो ।सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी दुई आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ । बीपीसीले कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले चीनका ३ कम्पनीसंग लगानी सम्झौता गरेको छ । यसका लागि एससीआईजी इन्टरनेसनल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि नेपालमा स्थापना भइसकेको छ । एससीआईजीमार्फत चीनियाँ कम्पनीले खर्ब रुपैयाँ नेपाल भित्राउने छन् । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ । आउदो ३ वर्षमा बीपीसीले नाफा बढाएर ६७ करोड ६१ लाख ९६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।
चार दिनमा सवा २ लाखले गरे क्यान एक्स्पोको अवलोकन, कम्पनीको योजनामा झुम्मिए ग्राहक
काठमाडौं । काठमाडौं स्थित भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशनविथ मोटोरोलाको’ चौथो दिन ६० हजार २६२ जनाले अवलोकन गरेका छन् । चौथो दिनसम्ममा २ लाख १९ हजार जनाले एक्स्पो अवलोकन गरेको कम्पनीको दावी छ । आयोजकको अनुसार प्रदर्शनीमा बालकदेखि वृद्धसम्मको भिड लागेको छ । विगतका संस्करणहरुमा युवाहरुको प्रभुत्व रहेतापनि अहिले सबै उमेर समूहको उपस्थिति रहेको कम्पनीको भनाइ छ । उच्च अधिकारी तथा सेलिब्रेटीले गरे अवलोकन आइतबार आपूर्तीमन्त्री जयन्त चन्द, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मिप्रसाद यादव, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक मिङमर लामा, प्रहरी वरिष्ठ उपरीक्षक पुर्णचन्द्र जोशी, कलाकारद्धय पल शाह र आँचल शर्माल लगायतले प्रदर्शनी अवलोकन गरेको क्यान महासंघका महासचिव रञ्जित पोदारले जनाए । त्यस्तै आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा लिइ सो अवसरमा विभिन्न कम्पनीहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गरेको जनाइएको छ । यसअन्तर्गत नेपालस्थित अधिकृत विक्रेताहरुले आफुसँग व्यापारिक सहकार्य गर्न चाहने कम्पनी वा समूहसँग व्यापारिक साझेदारी गरेका छन् । यस्ता छन् कम्पनीहरुका योजना प्रदर्शनीमा केही बिक्रेता कम्पनीहरुले नयाँ उत्पादनहरु तथा योजनाहरु सार्बजनिक गरेका छन् । जसमा छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहार लगायतका योजनाहरु छन् । सुबिसु केबलनेटले आफ्नो ब्रान्ड प्रवद्र्धन गर्न दुई महिनासम्म क्लियर टिभी प्रिमियम प्याकेजसहित १५ र ८ ‘एमबिपीएस’ अनलिमिटेड इन्टरनेट सेवा प्रदान गरेको छ । त्यस्तै हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी निःशुल्क प्रदान गरिरहेको बताएको छ । हाइसेन्सका ६५ इन्चसम्मका टिभीहरुमा २० प्रतिशत छुट प्रदान गरिएको महासचिव पोदारले जानकारी दिएका छन् । उनका अनुसार कास्परस्काई एन्टिभाइरसको खरिदमा ३० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । ई स्क्यान एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीको खरिदमा ६ देखि १५ सय रुपियाँसम्म छुट एवं ६ महिनाको मोबाइल सेक्युरिटी निःशुल्क दिने बताइएको छ । डिटिसी मोबाइल खरिदमा २५ सय ‘एमएएच’को पावरबैंक निःशुल्क दिने भएको छ । नेपाली सफ्टवेयरमा आकर्षण प्रर्दशनीमा स्वदेशमै बनेको सफ्टवेयरप्रति अवलोकनकर्ता झुम्मिएको छ । स्टार्टअप र विद्यार्थीले बनाएका विभिन्न आइटी र इन्जिनियरिङ प्रोडक्टहरुले अवलोकनकर्ता तथा ग्राहकहरुको ध्यान तानेको बताइएको छ । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज लगायतका २ सय २२ स्टल राखिएको छ । प्रदर्शनी मंलबारसम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।
मलेसियाको म्याक कफीको प्रबद्र्धनात्मक कार्यक्रम
काठमाडौं। मलेसिया कफीको प्रबद्र्धनात्मक कार्यक्रम भएको छ । नेपाली बजारमा कम्पनीले आफ्नो उत्पादन विस्तार गर्ने उद्देश्यले कार्यक्रम गरेको हो । आइतबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा मलेसियन राजदुतावासका उच्च अधिकारीहरुको उपस्थिति रहेका थिए । कम्पनीका अनुसार म्याक कफी लगायतका उत्पादनहरु विश्वका ५० भन्दा बढी मुलुकहरुमा प्रत्यक्ष निर्यात हुदै आएको छ । ६ वटा देशमा कफीको उत्पादन हुने गरेको छ । कार्यक्रममा अर्कस ग्रुपका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा विगत एक दशकदेखि म्याक कफी लोकप्रिय रहेको बताए । सोही कम्पनीका क्लास्नो कफी, न्युट्रीराइट ब्राण्डका स्वास्थवद्र्धक सिरियल खाद्य सामग्रीहरु समेत नेपाली बजारमा लोकप्रिय रहेको उनको भनाइ छ । भविष्यमा म्याक कफीको कारखाना नेपालमा स्थापना गर्न सकिने सम्भावना रहेको उनले जनाए । मलेसियाको ख्याति प्राप्त कफी उत्पादक कम्पनी फुड इम्पायर होल्डीङले उत्पादिन गरेको म्याक कफी, साल्ट टी लगायत कफी तथा न्युट्रीराइट ब्राण्डका स्वास्थवद्र्धक सिरियल खाद्य सामग्रीहरु नेपाली बजारमा विक्री गरिदै आएको छ ।