विकासन्युज

फागुन २४ देखि सातौं अन्तर्राष्ट्रिय व्यापार मेला हुने

काठमाठौं । नेपाल उद्योग वाणिज्य महासंघले सातौं अन्तर्राष्ट्रिय व्यापार मेला राजधानीको भृकुटी मण्डपमा आयोजना गर्ने भएको छ । “नेपाली वस्तुको प्रवद्र्धन समृद्ध नेपाल निर्माण” भन्ने मुल नारा लिई हुने मेला फागुन २४ गते देखि २८ सम्म हुने भएको हो । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै मेलामा ३ सय वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरु रहने जानकारी दिएको छ । विगतका वर्षहरुमा भन्दा यो वर्ष मेलाको आकर्षण फरक हुने महासंघको अक्ष्यक्ष भवानी राणाले बताइन । महासंघ आफ्नो विद्यान संशोधन गरी प्रादेशिक ढाचाँमा गैसकेको जानकारी दिदैं राणाले नेपाली बस्तु अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्दन गराउन भारतमा समेत व्यापार मेला सञ्चालन गर्ने  जानकारी दिइन । स्टलमा सार्क राष्ट्र सहित चीन, थाइल्यान्ड, मलेशिया लगायतका राष्ट्रहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । ३ सय स्टल मध्ये २ सय २० स्टल बुकिङ्ग भैसकेकोे छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा भवन तथा सवारी साधन सम्बन्धी छुट्टाछुट्टै स्टलहरु रहनेछन् । गत साल एक लाख भन्दा बढी मानिसहरुले अवलोकन गरेको मेलामा यो वर्ष २ लाख भन्दा बढी स्वदेशी तथा विदेशी मानिसहरुले शवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

नबिल फाउण्डेसनद्धारा सिविन-नेपालले संचालन गरेकोे वेभसाईट प्रवद्र्धनमा सहयोग

काठमाडौं । नबिल बैंकद्धारा प्रवद्र्घित नबिल फाउण्डेसनले सिविन–नेपालले विशेष गरी बालबालिकाहरुकालागी संचालन गरेको वेभसाईट “डब्लुडब्लुडब्लु डट बालसरोबार डट कम” को प्रवद्र्धनमा सहयोग स्वरुप रु. १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । सिविन–नेपालद्वारा सिविन हेल्पलाईन, नैकापमा आयोजित एक कार्यक्रममा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा नबिल बैंकका संचालक प्रताप कुमार पाठकले सो रकम बराबरको चेक सिविन–नेपालका अध्यक्ष माधव प्रधानलाई हस्तान्तरण गरेका छन् । सिविन–नेपाल बालअधिकारको संरक्षण र सम्वद्र्धनका लागि क्रियाशील रहेको एक सामाजिक संस्था हो । सिविन-नेपालले बालअधिकारको जागरुकताको निमित्त विभिन्न माध्यमहरुबाट सरोकारवालाहरुलाई सूचित गर्ने सन्दर्भमा नयाँ वेभसाईट “डब्लुडब्लुडब्लु डट बालसरोबार डट कम” संचालन गरेको छ । उक्त वेभसाईटमा खबर, लेख, सरोकारवाला तथा बालबालिकाहरु संगको अन्तरवार्ता, अडियो र भिडियो, प्रतिवेदन, बालबालिकाहरुको सम्बन्धित नियम तथा नितीहरु समावेश गएिको छ । नबिल फाउण्डेसनका अध्यक्ष अग्रवाले सिविन–नेपाल, जुन असहाय बालबालिकाको भरण पोषण तथा बालबालिकाको बृति बिकासमा समर्पित जस्तो बालअधिकारमुखी संस्थाले सुरुवात गरेको सत्प्रयासमा नबिल फाउण्डेसन सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गरेका छन् । सिविन–नेपाल परिवारले नबिल बैंक तथा नबिल फाउण्डेसनलाई सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।

चूडामणि शर्माविरुद्ध विशेष अदालतमा अर्को आरोप, गैरकानुनी रुपमा ४ करोड २९ लाखको सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको दावीसहित विशेष अदालतमा आरोपत्र दायर गरेको छ । अख्तियारले ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दे सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनको ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको सम्पत्तिको मात्रै स्रोत खुलेको अख्तियारले जनाएको छ । शर्माले आम्दानीको ठूलो हिस्सा पुस्तक लेखन र निजामती विद्यार्थीको तयारी कक्षा प्रशिक्षणको आम्दानी भनी दाबी गरेका छन । विभागको महानिर्देशक रहँदा पक्राउ परी निलम्बनमा परेका शर्मा्विरुद्ध अख्तियारको दोस्रो आरोपत्र हो । गत साउन १ मा अख्तियारले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीनै जनासँगको एकमुष्ट मागदाबी करिब ३० अर्ब ६ करोड रुपैयाँको गरिएको छ । यसका अतिरिक्त शर्माले सार्वजनिक सेवाको पदमा रहेर गैर कानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टी हुन नसकेको सम्पत्तिहरू श्रीमती कल्पना उप्रती शर्माको नाममा राखेको तथा लुकाए/ छिपाएको देखिएको दावी अख्तियारको छ ।

२१ दिने अल्टिमेटम दिँदै पर्यटन मजदुरले नाट्टामा बुझाए चार सुत्रिय माग

काठमाडौं । पर्यटन मजदुरको छाता संस्था यूनिट्राभले विभिन्न चार सूत्रिय माग राख्नै नेपाल एसोसियसन अफ टूर्स एण्ड ट्राभल्स एजेन्ट ९नाट्टा० लाई मागपपत्र बुझाएको छ । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीसहितको मजदुरहरुको समूहले नाट्टाका उपाध्यक्ष अच्यूत गुरागाईको प्रतिनिधिमण्डललाई उक्त मागपत्र बुझाएको हो । पारिश्रमिक वृद्धि, प्रचलित श्रम ऐन अनुसार मजदुरको बीमा गरिनुपर्ने, सामाजिक सुरक्षा ऐन अनुसार टुर गाइडका हकमा लागू हुने सम्पूर्ण कुरा लागू गरिनुपर्ने र इजाजतपत्र बिना पर्यटक गाइडको रुपमा यूनेस्को स्थल पठाएमा सम्बन्धीत कम्पनीलाई कारबाही गर्ने तथा नक्कली शैक्षिक प्रमाण पत्र छानबिन गर्नुपर्ने माग राखेर ज्ञापन बुझाएको यूनिट्राभका अध्यक्ष पराजुलीले जानकारी दिए । उनीहरुले २ जना पर्यटक लिएर हिंड्ने अंग्रेजी भाषा गाईडले ३५ सय रुपैंया अन्य भाषा गाईडले ४ हजार रुपैंया पारिश्रमिक पाउनुपर्ने मागपत्रमा उल्लेख छ । अहिले उनीहरुले १८ सय देखि २५ सय सम्म पाउँदै आएका छन् । बढेको महंगीअनुसार पारिश्रमिक बढाउनुपर्ने उनीहरुको माग छ । २१ जनाभन्दा बढीलाई लिएर हिंड्ने अंग्रेजी भाषा गाईडले ६४ सय र अन्य भाषा गाईडले ७५ सय पाउनुपर्ने उनीहरुको मागमा उल्लेख छ । उनीहरुले २१ दिनभित्र आफ्ना मागहरु सम्बोधन नगरिए त्यसपछि उत्पन्न हुने समस्याको जिम्मेवारी लिनसमेत नाट्टालाई चेतावनी दिएको छ ।

आदित्य बिर्ला फ्याशनकाे लुई फिलिप ब्राण्ड नेपाली बजारमा

काठमाडौं । आदित्य बिर्ला फ्याशन एण्ड रिटेल लि. ले आफ्नो लुई फिलिप ब्राण्ड नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आफ्नो पहिलो एक्सक्लुसिभ ब्राण्ड आउटलेट ललितपुरको लबिम मलमा लन्च  गरेको छ । उक्त ब्राण्डकाे उद्घाटन नेपालका लागि भारतका राजदुतक एच.इ. मानजीव सिंह पुरीका साथ आदित्य बिर्लाका अन्तर्राष्ट्रिय बजारका निर्देशक विक्रम शिवदासले गरेका हुन् । उक्त आउटलेटको लन्च गर्दै कम्पनीले आफ्नो प्रिमियम मेन्सवेयर ब्राण्ड, लुई फिलिपको आगमन नेपालमा भएको घोषणा गरेको छ । नेपालमा लञ्च गर्नु पहिले कम्पनीले युएई, कतार, ओमान, साउदी अरेबिया बहराइन, कुवेत र श्रीलंका जस्ता अन्तर्र्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई स्थापित गरिसकेको जनाएको छ । स्टोर उद्घाटन गर्ने कार्यक्रममा बिर्लाका फ्याशन एण्ड रिटेलका निर्देशक, शिवदासले लुई फिलिपको एक्सक्लुसिभ ब्राण्ड आउटलेटको लन्चका साथ, हामीले नेपालमा बढ्दै गइरहेको उत्कृष्ट गुणस्तरको मेन्सवेयरको आवश्यकतालाई पूरा गर्ने योजना गरेको बताएका छन् । यस्तै, कम्पनीको बजार अध्ययनले नेपाल अपेरेलको बजारको लागि एउटा विकसित बजार हो किनकि यहाँ फ्याशेनेबल, एलिगेन्ट र उत्कृष्ट दर्जाको कालिगरी भएको उत्कृष्ट गुणस्तरको प्रिमियम अपेरेलप्रति शहरी पुरुषहरुको रुचि बढ्दै गइरहेको उनले बताए । साथै, उनले लुई फिलिपको लन्चका साथ सुहाउँदो अपेरेलहरु ल्याएर हामी बढ्दै गइरहेको मागलाई पूरा गर्न सक्ने बताएका छन् । लुई फिलिप प्रिमियम मेन्सवेयरको सेग्मेन्टमा भारतमा अग्रणी स्थानमा पर्छ । यस ब्राण्डले फाइन क्लोदिङ्गमा फरमल्स, सेमी फरमल्स र एसेसरिज्मा एलिगेन्सको मूर्तरुप प्रदान गर्दछ । आरपी समूहका निर्देशक रुपेश पाण्डेले लुई फिलिपले आफ्नो उत्कृष्ट गुणस्तर र अपेरेल्सको वृहत् रेन्जका साथ बजारको परिवर्तित आवश्यकतालाई पूर्ति गर्ने बताएका छन् ।

सिप्रदी अटोपार्ट्सद्धारा च्याम्पीयन मिट सम्पन्न, रिटेलर्सलाई १५ विधामा सम्मान

काठमाडौं । सिप्रदी अटोपार्टस प्रा.लि. ले पोखरा स्थित होटल ग्राण्डीमा च्याम्पीयन मिट सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्ट्सका तर्फबाट कस्टमर केयर प्रमुख गणेश सेट्टीले गरेका थिए । कार्यक्रममा विगत बर्षमा विभिन्न विधामा उत्कृष्ट काम गर्ने रिटेलर्सहरुलाई १५ विभिन्न विधामा सम्मान गरिएको थियो । जसमा नेपाल च्याम्पीयनका रिटेल विधामा श्री माँ चण्डेश्वरी अटो स्पेयर प्रथम भएको छ भने ओभरअल विधामबुटवल स्थित गण्डकी अटो ट्रेडिङ्ग प्रा.ली विजेता भएको छ । त्यसैगरी छोटा तथा मझौला(एसएलभी) विधामा जल्पादेवी अटो सेन्टर प्रथम भएको छ । त्यस्तै, हाइएस्टलाईन आइटम मिर्चैयाका दयाल मोटर पाट्स एण्ड सप्लाइजले पाए भने क्षेत्रगत अन्तर्गत काठमाडौंएमा-माँ चण्डेश्वरी अटो स्पेयर, काठमाडौं बीमा त्रिशुल अटामोबाईलस् ट्रेर्डस, सेन्ट्रल ए मा– गोयल ट्रेडस्, पोखरा सेन्ट्रलबीमा-यातायात ब्यवस्था सहकारी संस्था लिमिटेड, हेटौडा, सेन्ट्रलसीमा-श्री दुर्गा मोटर पार्टस् इष्ट एमा-ग्यालेक्सी अटो प्रा. ली ., र्बितामोड इष्ट बीमा दयाल मोटर पार्टस् एण्ड सप्लाइज, र्मिचैया, वेष्टमा बोहरा ट्रेडले प्राप्त गरेका कम्पनीले जनाएको छ । साथै, आधिकारीक सर्भिस सेन्टरको बिधामा भने काठमाडौका जल्पा देबि अटो सेन्टर, बुटवलमा श्री गण्डकी अटो ट्रेडिङ्ग प्रा.ली र नारायणघाटमा श्री दुर्गा एण्ड सन्स अटोमोबाइलले प्राप्त गरेका छन् । त्यसैगरी, कार्यक्रममा सिप्रदी अटो पाट्र्सले नेपालभरका ६० जना च्याम्पीयनहरुलाई स्किम अन्तर्गत दुइ जनालाई युरोप टुर, ४ वटा स्कुटर, २०० तोला सुन, ४ वटा ल्यापटप, ५ जनालाई थाईल्यान्ड टुर वितरण गरेको थियो ।

केपी ओलीको प्रतिवद्धताले सेयर बजारलाई छोएन, नेप्से ३ अंकले ओरालो

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले सेयरमा भ्याट नलाग्ने बताए पनि सोमबारको बजार बढ्न सकेन । भावी प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्शको एक कार्यक्रममा सेयर बजारमा भ्याट नलाग्ने प्रतिवद्धता जनाएका थिए र सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका थिए । तर उनको यस अनुरोधले सेयर बजारलाई रत्ति पनि नछोएको देखिन्छ । सोमबार सेयर बजार ३.७२ अंकले घट्नुमा ओलीले गरेका प्रतिवद्धताले काम नगरेको बुझिन्छ । सो दिनको बजार सामान्य अंकले घटेर १४०२.२३ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा २८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ट्रेडिङ र हाइड्रोपावर समूहको परिसूचक बाहेक बाँकी सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूह २१ अंकले झरेको छ । त्यस्तै, बजारमा सबैभन्दा बढी मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताले ९.९४ प्रतिशत गुमाएका छन् ।

राष्ट्र बैंकले निक्षेप लिन बोलायो, बैंक तथा वित्तीय संस्थालाई १ अर्ब ९२ करोड दिदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफनो विभिन्न कोषहरुमा रहेको झण्डै २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई दिने भएको छ । केन्द्रीय बैंकले १ अर्ब ९१ लाख ९९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्धतिमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले फागन २ गतेदेखि माघ २९ गतेसम्मका लागि बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा राख्ने भएको हो । जसअनुसार वाणिज्य बैंकले १ अर्ब ५३ करोड ५९ लाख, विकास बैंकले २८ करोड ८० लाख र वित्त कम्पनीहरुले ९ करोड ६० लाख रुपैयाँ पाउने भएका छन् । सो रकम लिनका लागि आउदो शुक्रबार आफुले दिने ब्याजदर समेत खुलाई बोलपत्र पेश गर्न राष्ट्र बैंकले भनेको छ । मुद्धति निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनु पर्ने केन्द्रीय बैंकको शर्त छ । यस्तै कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, अघिल्लो आवमा सञ्चालन नाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको र सीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएका र सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको हुनुपर्ने छ ।