विकासन्युज

कृषि तथा पशुपंक्षी कर्जा महंगियो, बैंकले आधार दरका आधारमा ब्याज लिन पाउने

काठमाडौं । व्यसायिक कृषि तथा पशुपंक्षी कर्जा अब महंगो हुने भएको छ । अधिकाँश बैंकको आधार ब्याजदर महंगो भएपछि यसको असर कृषि तथा पशुपंक्षी कर्जाको ब्याजदर महंगिएको हो । सरकारले यस्तो कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिदै आएको छ । यस्तो कर्जामा बैंकले आधार दरका आधार ब्याज तोक्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गरी आधार दरका आधारमा कृषि तथा पशुपंक्षी कर्जा प्रवाह गर्न पाउने व्यवस्था भएपछि महंगो हुने भएको हो । अधिकाँश बैंकको आधार दर १० प्रतिशत भन्दा बढी छ । ब्याजदरको सीमा खुला गरेपछि आधार दरका आधारमा बैंकले यस क्षेत्रमा कर्जा प्रवाह गर्न सक्ने छन् ।    

१४ गुणा ठूलो चन्द्रमा हेर्दा कसलाई फाइदा कसलाई नोक्सान ?

काठमाडौं । आजको खग्रास चन्द्र ग्रहण साँझ ५ बजेर ३२ मिनेटबाट लागे पनि हाम्रो देशमा चन्द्रोदय ५ बजेर ५५ मिनेटमा हुने भएकाले चन्द्रोदय भएपछि मात्र केहि अंश चन्द्रग्रहण लागिसकेको अवस्थामा देख्न सकिन्छ । यो खग्रास चन्द्र ग्रहण साँझ ६ बजेर ३६ मा पूर्ण सम्मिलन भई साँझ ७ बजेर १६ मिनेटमा मध्य हुने ज्योतिष नारायणप्रसाद दुलालले बताएका छन् । त्यसैगरी, साँझ ७ बजेर ५३ मिनेटमा उन्मिलन भई ८ बजेर ५७ मा पूर्ण मोक्ष हुनेछ । अतः खग्रास चन्द्र ग्रहणको कुल समयावधी ३ घण्टा २ मिनेटको हुनेछ भने पुरै ढाकिएको ग्रस्तोदित चन्द्रग्रहण १ घण्टा १७ मिनेटको हुनेछ । आजको चन्द्रमा पृथ्वीको नजिकै रहेका कारण १४ गुणा ठूलो र ३० गुणा बढी चम्किलो देखिनेछ । आर्थिक ग्रहण फल निम्न व्यक्ति, जातक, कार्यालय, संघसंस्था आदिलाई यस खग्रास चन्द्रग्रहणले पार्ने आर्थिक पक्षहरु: मेष– स्वास्थ्य एवं विमापक्षलाई नोक्सानी हुनेछ । वृष– बैंक तथा वित्तीय संस्थालाई अधिक लाभ मिल्नेछ । मिथुन– शैक्षिक व्यवसायका साथै फेन्सी एवं सर–सजावटी क्षेत्रमा धन हानी हुनेछ । कर्कट– वाहनको कारोबारमा नेक्सानी तथा राज्यबाट असहयोग मिल्नेछ । सिंह– उत्पादनमूलक कलकारखानाबाट आर्थिक नोक्सानी तथा लगानी डुब्ने भय छ । कर्कट– वाहनको कारोबारमा नोक्सानी तथा राज्यबाट असहयोग मिल्नेछ । कन्या–शैक्षिक व्यवसाय फष्टाउने छ साथै रोकिएका ठाउँबाट धनआर्जन हुनेछ । तुला– आर्थिक पक्ष निकै सबल छ साथै नयाँ कार्यको विभिन्न अवसर मिल्नेछ । वृश्चिक– कामको स्तर घट्नेछ र सबै व्यापारिक प्रतिष्ठामा वाधा आउनेछ । धनु–विमापक्षलाई कमजोर हुनेछ र तरल पदार्थको कार्यबाट नोक्सानी मिल्नेछ । मकर–होटल व्यवसायमा व्यवधार आउनुका साथै कार्यक्षेत्रमा अवरोध आउनेछ । कुम्भ–धातुजन्य पदार्थलाई लाभ मिल्नुका साथै बैंक तथा वित्तीय संस्थालाई फाइदा हुनेछ । मीन– वस्त्र, आभूषण, सजावटीका व्यवसायमा आर्थिक स्थिती कमजोर रहने छ ।

बुढीगण्डकी जलविद्युत आयोजनालाई सरकारले ९४ अर्ब दिने, मन्त्रिपरिषदमा प्रस्ताव पेश हुदै

काठमाडौं । सरकारले प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनालाई ९४ अर्ब रुपैयाँ दिने भएको छ । आयोजना निर्माणका लागि अपुग रकम जुटाउन ऊर्जा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको हो ।   उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले आउँदो मन्त्रिपरिषद बैठकबाट संभाव्य लगानी अन्तर (भीजीएफ) रकम आयोजनालाई दिने प्रस्ताव पारित गर्ने जानकारी दिएका छन् । बुढीगण्डकी आयोजना अघि बढाउने विषयमा बुधबार मन्त्रालयमा भएको छलफलमा उपप्रधानमन्त्री थापाले ९४ अर्ब रुपैयाँ सरकारबाट उपलब्ध गराउनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिको प्रतिवेदन पनि मन्त्रिपरिषदबाट पारित गराउने उनले बताए । आयोजना अघि बढाउन सरकार तयार रहेको जानकारी दिँदै उनले अपुग रकम जुटाउन सरकारको तर्फबाट काम सुरु गर्ने बताए । यस्तै आयोजना अघि बढाउन अन्तर मन्त्रालय समन्वय गराउन प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर मन्त्रालय समन्वय समितिको बैठक बोलाउने उनले जानकारी दिए । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुढीगण्डकी आयोजनालाई अपुग हुने ९४ अर्ब रुपैयाँ र समितिले दिएको प्रतिवेदन मन्त्रिपरिषदले अनुमोदन गरेपछि मात्र आयोजनाको काम अघि बढ्ने बताएपछि ऊर्जामन्त्री थापाले अपुग रकम र समितिको प्रतिवेदन मन्त्रिपरिषदबाट तत्काल पारित गराउने प्रतिवद्धता जनाएका हुन् । ९४ अर्ब रुपैयाँ सरकारले व्यवस्था नगरी आयोजना आर्थिक रुपमा आकर्षक नहुने र कर्मचारी संचय कोष, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषलगायत अन्य कोषबाट लगानी आउन नसक्ने उनले बताए । परामर्शदाता फ्रान्सको ट्रक्याक्टवेल इन्जिनियरिङले गरेको संभाव्यता अध्ययनअनुसार आयोजना निर्माण गर्न २ खर्ब ५९ अर्ब ३० करोड रुपैयाँ लाग्ने देखाएको छ । समितिले सरकारले वार्षिक रुपमा बजेट विनियोजन र पेट्रोलियम करबाट गरी १ खर्ब ६० अर्ब रुपैयाँसम्म जुटाउन सक्ने देखाएको छ । यस्तै विद्युत प्राधिकरणले २० अर्ब, संचय कोषले ३० देखि ५० अर्ब, नागरिक लगानी कोषले ३० देखि ४० अर्ब, नेपाल टेलिकमले १५ देखि २० अर्ब, राष्ट्रिय बीमा संस्थानले १० देखि २० अर्ब, चिमिले जलविद्युत, सर्वसाधरण र माथिल्लो तामाकोसीबाट आयोजनालाई पुग्ने रकम संकलन हुने देखिएको छ ।

‘क्यामोन आई’ मोबाइल नेपाली बजारमा, अध्याँरोमा फोटो खिच्ने फोनको मूल्य १८५००

काठमाडौं । जुस्तोसुकै लाइटमा पनि सेल्फी तथा फोटो खिच्न सकिने क्यामोन आई मोबाइल फोन बजारमा आएको छ । सञ्चार सम्बन्धी विभिन्न उपकरणहरु उत्पादन गर्दै आएको ट्रान्ससन् होल्डिङ्ग कम्पनीले मोबाइल फोन उत्पादन गरी नेपाली बजारमा ल्याएको हो । सार्वजनिक गरिएको नयाँ क्यामोन आई मोबाइलमा १३ एमपी रियर, एल.इ.डी लेन्स फ्ल्यास साथै ५ पीको लेन्स प्रयोग गरिएको छ । ३ जीबी र्यामको यस मोबाइलमा ३२ जीबीको आन्तरिक संञ्चय क्षमता रहेको छ । त्यसैगरी मोबाइलमा प्रयोग गरिएको ५.६५ इन्चको एचडी स्कृनबाट सजिलैसँग भिडियो, गेम तथा अन्य एप्सहरु प्रयोग गर्न सकिनेछ । ग्राहकले मोबाइल किनेको एक सय दिन सम्म कुनै समस्या आएमा कम्पनीले रिप्लेसमेन्टको पनि व्यवस्था गरेको छ । तीन कलरमा उपलब्ध क्यामोन आई मोबाइलको मूल्य कम्पनीले १८ हजार ५ सय रुपैंया तोकेको छ । ट्रान्ससनले नेपालका लागि महालक्ष्मी मोबाइल बिक्रेता कम्पनीको सहकार्यमा ४ महिना अघि देखि आइलेट, टेक्नो र अटोइमा मोबाइल नेपाली बजारमा भित्र्याएको थियो । आइलेट ब्राण्डले छोटो समयमै नेपाली बजारमा लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ । कम्पनीले नेपाल सहित विभिन्न १६ वटा देशहरुमा मोबाइल बिक्री वितरण गर्दै आएको छ ।

नेप्से सामान्य अंकले उकालो लाग्दा ३१ करोडको कारोबार, सबैभन्दा बढी बुटवल पावरको

काठमाडौं । बुधबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । सो दिनको परिसूचक नेप्से परिसूचक २.२६ अंकले बढेर १४०४.४९ अंकमा पुगेको छ । सामान्य वृद्धि भएको बजारमा ३१ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कुल १५६ कम्पनीको ७ लाख ४९ हजार कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकमका आधारमा बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर किनबेच भएका छन् । सो दिन यस कम्पनीको २ करोड ४२ लाख १३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यस कम्पनीले गत माङ १५ गतेदेखि प्रतिकित्ता ५०१ रुपैयाँका दरले एफपीओ जारी गरिरहेको छ । सोही कारणले कम्पनीको सेयर कारोबार वृद्धि भएको हो । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१७ रुपैयाँ रहेको छ । बजारमा विकास बैंक, अन्य र उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । बुधबार सबैभन्दा बढी होटल समूहको परिसूचक ३५ अंकले उकालो लागेको छ ।

१४ वर्षसम्म चर्चा र विवादसँगै अनिल शाहकाे वहिर्गमन, अवसरकाे खाेजी गर्ने बैंकर्सकाे सूचि लामाे

काठमाडौं । बुधबार दुर्इ वाणिज्य बैंकले एउटै सूचना प्रकाशित गरे । नबिल बैंक र सेञ्चुरी कमशिर्यल बैंकले चर्चित बैंकर्स अनिल केशरी शाहलार्इ प्रमुख कार्यकारी पदबाट हटाएकाे निर्णय गरे, भलै भाषा फरक र सभ्य थियाे । दुबै बैंककाे सूचना जस्ताकाे तस्तै फाेटाेकाे रूपमा देख्न सकिन्छ । नेपालको बैंकिङ क्षेत्रमा सुपरिचित नाम हो अनिलकेशरी शाह । लामा जुँगा, लोभ लाग्दो व्यक्तित्व, सन्तुलित प्रस्तुति, उच्चस्तरकाे पारिवारिक पृष्ठभूमिका कारण शाहको छुट्टै छवि स्थापित छ । ८ वर्षअघि नविल बैंकको प्रमुख कार्यकारी अधिकृत पद छाडेर उनले मेगा बैंक खोल्ने कामको अगुवाई गरेका थिए । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने स्लोगनसहित आएको मेगा बैंकले शाहकै नेतृत्वमा आफ्ना समकक्षी बैंकहरुलाई उछिन्न सफल भएको छ । तर दुई कार्यकालको बाध्यकारी व्यवस्थाका कारण शाहले मेगा छाड्नु पर्यो । कात्तिक १६ गते सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समिति बैठकले पुस १७ गतेदेखि लागु हुने गरि शाहलाई सिइओ नियुक्त गर्यो । तर पुस १३ गते नै अनिलले सेञ्चुरी छाडेर नविल बैंक जाने निधो गरे र नविलले उनलाई ४ वर्षका लागि सिइओ नियुक्त गरिदियो । सेञ्चुरीमा जाने निधो गरेर सञ्चालक समितिबाटै निर्णय गराईसकेका शाह एकाएक नविल जाने निर्णयले वित्तीय क्षेत्र तरङगीत भयो । नेपाल राष्ट्र बैंकले तत्काल नै ‘कुलिङ पिरियड’ लगाएर शाहलाई नविल जानबाट रोक्यो । कुलिङ पिरियडबारे केन्द्रिय बैंकले निरन्तर छलफल गर्दै आएको थियो । तर शाहले थोरै तलबलाई कारण देखाएर सेञ्चुरी बैंकलाई धोका दिएपछि राष्ट्र बैंकले सोही दिन कुलिङ पिरियड लागू गरेको हो । कुलिङ पिरियडको बाध्यकारी नियमका कारण नविल बैंकको पुस १५ गते बसेको सञ्चालक समिति बैठकलाई शाहलाई सिइओ बनाउने पूर्व निर्णय खारेज गर्न बाध्य भयो । बैंकले तीन महिना भन्दा बढि अवधिसम्म सिइओ खाली राख्न नपाउने अनि ६ महिना अघि शाहले सिइओ बन्न नपाउने भएपछि नविलले पूर्व निर्णय खारेज गरेको हो । अब चार वर्षका लागि शाहको नविल यात्रा समाप्त भएको छ । नबिलमा मात्रै होइन, अब अनिल केशरी शाह कुन बैंकमा जालान् ? धेरैकाे मनमा खुल्दुली चलेकाे छ । नविलमै ६ वर्ष सिइओ भएर मेगा गएका उनले त्यहाँ २ कार्यकाल अर्थात ८ वर्ष बिताए । शाहले २ वटा बाणिज्य बैंकमा १४ वर्ष सिइओ भएर काम गरिसकेका छन् । तर अब चाँही उनी के गर्छन् ? हामीले सम्पर्कको प्रयास गर्दा उनले फोन रिसिभ गरेनन् । वित्तीय क्षेत्रमा शाहले धेरै विम्ब पाएका छन् । उनलाई महंगा सिइओ, ग्ल्यामर र विषम परिस्थितिमा पनि सकारात्मक सोँच भएका बैंकरका रुपमा हेरिन्छ । संस्था परिवर्तन गर्दा टिमलार्इ सँगै लैजाने, ठूला ग्राहकलार्इ पनि सँगै लैजाने गरेकाे अाराेप पनि उनीमाथि लागेकाे छ । शाहकै कार्यशैलीका कारण अन्त कही नभएकाे तर बैंकका सिइओहरुका लागि कुलिङ पिरियडकाे कसिलाे नीति अाएकाे बैंकर्सहरू बताउँछन् । शाह कै कारण संस्था परिवर्तन गर्दा सीर्इअाेहरू ६ महिना बेराेजगार बस्नु परेकाे छ । शाहले नविल बैंक छाेड्नु पूर्व मेघा बैंकमा नियुक्ती पत्र लिएका थिए । मेगामा कार्यकाल सकिनु भन्दा अघि नै सेन्चुरी बैंकमा नियुक्तिपत्र लिएका थिए । सेन्चुरीमा हाजिर हुनुपूर्व नै नबिल बैंकमा नियुक्ती पत्र लिएर वित्तीय क्षेत्रलार्इ छक्क पारेका थिए । शाहकै कारण तलब सविधामा सीमा अनिल केशरी शाह बैंकिङ्ग क्षेत्रकाे ग्ल्यामर मात्र मात्र भएनन्, उनकै कारण बैंकिङ्ग क्षेत्रमा केही नयाँ नियम थपिए । शाहका कारण तत्कालिन गभर्नर डा. युवराज खतिवडाकाे पालामा राष्ट्र बैंकले सिइओहरुको तलब सुबिधा सम्बन्धी मार्गदर्शन  जारी गरेकाे  चर्चा पनि बैंकरहरुबीच हुने गरेको छ । उनले एउटा सार्वजनिक कार्यक्रममा जाँदा चढेको गाडी र देखाएको रवाफका कारण डा. खतिवडाले तलबमान तोकेको बताइन्छ । त्यतिबेला उनले चढ्ने गाडीदेखि उनले लगाउने घढीकाे मूल्यकाे बारेमा बजारमा खुबै चर्चा भयाे । नबिल बैंकमा हुँदा हाेस् वा मेघा बैंकमा जहाँ हुँदा पनि उनी सबैभन्दा महँगाे सीइअाेकाे रूपमा ख्याती पाए । उनले मेघा बैंकमा मासिक १७ लाख रूपैयाँ तलब भत्ता बुझ्ने गरेका थिए । मेघामा शाहकाे रवाफले निम्त्याएकाे तलब सुबिधा सम्बन्धी मार्गदर्शनले सबैभन्दा पहिला उनलार्इ नै समात्याे सेन्चुरी बैंकमा नियुक्ती पाएपछि । बैंकले मासिक १२ लाख रूपैयाँ दिनेगरी नियुक्ती गरेकाे थियाे । तलब सुबिधा सम्बन्धी मार्गदर्शनका अाधारमा शाहले ९ लाख भन्दा कममा सम्झाैता गर्नु पर्ने भएपछि उनी सेन्चुरी छाेड्ने निर्णयमा पुगेका थिए । अबकाे बाटाे धेरै चर्चा र केही विवादस्पद भए पनि अनिल शाहकाे व्यस्थापकिय क्षमता र काैसलतामा प्रश्न उठेकाे छैन । उनले कुनै पनि संस्था विगारेका छैनन्, बरू सपारेकै छन् । उनकै नेतृत्वमा नविल सबैभन्दा बढी नाफा गर्ने बैंकमा उक्लिएकाे थयाे । मेघा पनि समकालिन बैंकहरूमा अगाडि नै रह्याे । उनले मेगा बैंकलार्इ पाँच तारे बैंक बनाउँछु भने तर पाँच तारेकाे अनुभव दिलाउन चाही असफल भए। ८ वर्ष नेतृत्व गरेर उनले मेघा बैंकलार्इ अरू भन्दा धेरै फरक बनाउन सकेनन् । १४ वर्षसम्म वाणिज्य बैंककाे सीर्इअाे भएका शाह अब बैंकिङ्ग क्षेत्रबाट बाहिरीने हुन् वा अर्काे कुनै बैंकमा अाउने हुन्, भविष्यकाे गर्भमा छ । तर तत्काल उनी कुनै पनि बैंक नियुक्ती हुने सम्भावना कम देखिन्छ । एकातिर बैंकभित्र बाटै दाेस्राे तहमा रहेका व्याक्तिहरूले सीर्इअाे बन्ने माैका पाएका छन् भने राम्राे क्षमता प्रदर्शन गरेका पुराना सीर्इअाेहरू कृष्णप्रसाद शर्मा, किशाेर महर्जन, अनिल ज्ञवाली, अनल भट्टरार्इ उचित अबसरकाे खाेजीमा रहेकाे बेला शाह नयाँ पात्र थपिएका छन् । एकातिर नयाँ बैंककाे लागि लाइसेन्स बन्द छ भने अर्काेतिर मर्जरले पुराना बैंकहरूकाे संख्या पनि ३२ बाट २८मा झरिसकेकाे छ । नेपाल राष्ट्र बैंक याे संख्यालार्इ कसरी १५ भन्दा कम बनाउने भनेर साेचिरहेकाे छ । यस्ताे अवस्थामा सीर्इअाेकाे अवसर पाउन मिहेनतले मात्र हाेइन, भाग्यमा पनि भराेसा गर्नुपर्ने भएकाे छ ।

ज्योति विकास बैंकको नयाँ शाखा पेप्सीकोलामा, थप १० वटा खोल्ने तयारी

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय पेप्सीकोलामा उद्घाटन गरेको छ । बुधबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल तथा बैंकका अध्यक्ष हरीचन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । साथै, बैंकले निकट भविष्यमानै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य राखेको छ । हाल बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।  

३६ हजार एनजीओ मासेर ५ हजार उद्योग खोलौं

हरिभक्त शर्मा अहिले राजनैतिक दलहरुको काँधमा ठूलो जिम्मेवारी आएको छ । दलहरुले जनतालाई समृद्धिको मार्गमा हिडाउँछौ, आर्थिक समृद्धि दिन्छौँ भनेर आश्वस्त पार्न खोजिरहेका छन् । अब बन्ने सरकारलाई अर्थतन्त्र चलाउन त्यति सहज छैन । प्रशासनिक संरचनाहरु बढेकाले खर्च पुर्याउन धेरै चुनौतिहरु छन् । हामीले समयमै चुनौतिलाई सामना गर्न तयारी गर्यर्यौ भने सम्भवत् हामी अहिलेकोभन्दा ठूलो चुनौतिहरुलाई समेत अवसरको रुपमा प्रयोग गर्न सक्छौं । त्यसकारण नेपाल केमा चुक्यो मूल्याङ्कन गर्ने समय आएको छ । मलाई लाग्छ हामी नेपालमा आयात गरेर मात्रै खाने नीति बनाएकोमा चुकेका छौं । हाम्रो देशमा २०१२ साल, २०१८ सालको कानुन लाग्छ । म जन्मनुभन्दा पहिलेको कानुन लाग्छ । हालसम्म चारवटा संबिधान बने ती पुराना नीति र कानुनहरु संसोधन भएनन् । अबको पहिलो प्राथमिकता सरकारले लगानी योग्य वातावरण बनाउने, नेपालीले नेपालमै काम गरेर खाने परिस्थितिको सृजना गर्ने हो । नेपालीहरुले आफुसंग भएको पैसा एनआरएन भएर विदेश लगेर फेरी नेपालमै ल्याउने होइन, नेपालमै लगानी तथा उपयोग गर्ने हो । अब बन्ने सरकारले नेपालमै रोजगारीको अबसर सृजना गरेर देश समृद्ध बनाउने नीतिमा परिवर्तन गर्ने हामीले आशा गरेका छौं । म अत्यन्त अभिलाशाका साथ निजी उद्योग नेपाली जनताको तर्फबाट अब बन्ने सरकारलाई अनुरोध गर्दछु । संसारमा यति धेरै प्रविधिको विकास भएको छ । म हाम्रो फ्याक्ट्रीभित्र हामी कसरी औषधिको विकास गर्छौ ? कसरी औषधिको गुणस्तर व्यवस्थापन गछौं ? कुनैबेला समय मिलेको अबसरमा हाम्रो औषधि प्लान्टको भ्रमण राजनैतिक दलका शीर्षनेताहरुलाई गराउन चाहन्छौं । प्रविधिहरु कसरी संयोजन गर्न सकिन्छ ? नेपालमा हामी आफै काम गरेर कसरी खाने वातावरण बनाउन सकिन्छ ? व्यवसायको समृद्धिलाई राष्ट्रको समृद्धिसँग गाँस्न सकिन्छ भन्ने देखाउन चाहन्छौं । तमाम नीति निर्माताहरुलाई हाम्रो फ्याक्ट्रीमा एक पटक आएर अध्ययन गरेर यसबाट निस्किने सुझाबहरुलाई नेपालका सबै क्षेत्रमा लागु गर्न आवश्यक रहेको ठान्दछु । औषधि मात्र बनाएर पुग्दैन । धेरै कुरा गर्नु छ । प्रविधि तथा कृषिको क्षेत्रमा । प्रविधिको समायोजनमार्फत संसारमा अभूतपूर्व परिवर्तन भइरहेको छ । चौथो इण्डस्ट्रीयल रिभोलुशन आएको छ भनेर धेरै विद्धानहरुले भनिरहेका छन् । आइटीले गर्ने काम हाम्रो हातहातमा मोबाईलमार्फत हुदैछ । म कहाँ उभ्भिएको छु भनेर, अमेरीकामा बसेको मान्छेले चाह्यो भने स्याटालाईटमार्फत हेर्न सक्छन् । हामी त्यस्तो परिवर्तनको संघारमा आएका छौं जुन २ सय बर्षपछि सम्भवत् पहिलो पटक प्राप्त भएको हो । संघियतामा देश गएको छ । जनताले जनप्रतिनिधि चुनेका छन् । जनप्रतिनिधिहरुको ठूलो प्रतिवद्धता छ । समृद्धिको प्रतिबद्धता छ । ठूला पार्टीहरुको दस्ताबेजहरुमा सबैभन्दा अगाडी समृद्धि र सुशासन लेखिएको छ । अहिले दुई चिज ल्याउन सकियो भने हाम्रा दाजुभाइहरुले एनआरएन हुन जरुरी छैन । हाम्रा भाइबहिनीहरु संसारका गए गुज्रेका काम गर्न बाध्य हुनुपर्ने छैन । हामी नेपालमै असल काम गर्न सक्छौ, असल वातावरण भएका संस्थाहरु निर्माण गर्न सक्छौं । निजी क्षेत्रकोतर्फबाट भन्न पर्दा त्यस्ता यावथ कामहरुमा सरकारले खुट्टा नकमाओस् । नेपालको समृद्धिलाई ड्राइभ गर्न सक्ने ठूलो जमात नेपालमा तयार छ । यहाँ छैन भने पनि कहिले समय आउला भनेर बाटो हेरिरहेका छन् । त्यस्ता लगानीलाई भित्रउन पर्ने हुन्छ । विदेशी संस्था विदेशी उत्पादनहरुलाई जबरजस्ती नेपाली बजारमा अवसर दिन हुदैन । नेपालमा उत्पादित वस्तु, प्रविधि र काम गर्ने मान्छेलाई प्रवद्र्धन गर्न सकियो भने यो देशबाट दश वर्षमा गरिबी निवारण गर्न सक्छौं । नेपालमा एउटा पनि गरिब नहुने गरी काम गर्न सक्छौंं । हामी अहोरात्र २४ घण्टा काम गर्न चाहन्छौं । त्यस्तो वातावरणको निर्माण गरौं हामी आफ्नोतर्फबाट सहयोग गर्न चाहन्छौं । संसारको धेरै मुलुकमा जाँदा उनीहरुले के भन्छन् भने हामी गरिब नरहने गरी काम गर्छौ । त्यसकारण गरिबीका कुराहरु हामीलाई नसुनाउ । हाम्रो देशमा हाम्रो कार्यक्रम नीतिहरुनै कसरी गरिबलाई संरक्षण गर्ने, कसरी गरिबै राख्ने, कसरी माथि आउनै नदिने गरी सारा भएभरको सरकारी तथा निजी संयन्त्र त्यसैमा लगाएर काम गर्छौ । त्यसकारण धनी हुन नसकेका हौं । दुई चार जना मान्छे धनी हुँदैमा यो देशको समस्या समाधान हुँदैन । नेपालमा अहिलेको अवस्था विकासको लागि डु एण्ड डाईको अवस्था हो । कि विकास गर्न सक्न पर्याे कि मर्न पर्याे । हामीसँग अर्को विकल्प छैन । अहिले हाम्रो स्थिति मागेर खाने, विदेशीहरुले दिएकोमा भर पर्ने हो ? ३६ हजार एनजीओ भएको हाम्रो देशमा, एनजीओ विकास गर्नेे हो भने हामी संसारको सबैभन्दा धनी राष्ट्र हुन्थ्यौं । ३६ हजार एनजिओको साटोमा ३६ हजार उद्योग भए नेपालको काँयापलट हुन्थ्यो । देउराली जनता जस्तो ५ हजार मात्रै नेपालमा उद्योग स्थापना गर्न सकेको भए हाम्रो प्रतिव्यक्ती आय ५ हजार डलर पुग्थ्यो । ५ हजार हाम्रो जस्तो कम्पनी स्थापना गर्न नसक्नेले ३६ हजार एनजिओ स्थापना गरेका छौं । अब हामीले ‘बोल्ड’ निर्णय गर्न सक्नुपर्छ नेपाल अब एनजिओले होइन काम गरेर खाने उद्योगले चलाउन पर्छ । त्यस्तो नीति नल्याउँदासम्म हामीले एनजीओले थालमा राखिदिएको भात, माछाको भरमा बाच्ने छौं ।राजनैतिक दलहरुले बुझ्न पर्छ ३६ हजार एनजिओ चलाएर पनि धनि नभएको हाम्रो मुलुकलाई सुधारेर धनि बनाउन पर्ने बेला आएको छ । यो सहज काम होइन । राजनैतिक दलहरुले गर या मरको नीति ल्याउनुपर्छ । साउथ एशियामा सबैभन्दा गरिब राष्ट्रको उद्यमी भएर म बोलिरहँदा मलाई सदैव पिडा हुन्छ । म देउराली जनतामा काम गर्न सुरु गर्दा पहिले बंगलादेशको कम्पनीसँग काम गर्यौं । पहिलो पटक म बंगलादेश जाँदा उक्त देश ४० प्रतिशतले गरिब थियोे । हाम्रो नेपाली रुपैयाँ बलियो थियो । बंगालीहरु दुःखकासाथ बसेको देखिन्थे । हेर्दाहेर्दै बंगलादेश चार गुणा धनी भयो । आज नेपालभन्दा बंगलादेश ४ सय प्रतिशत धनी छ । त्यस्तै हाम्रो छिमेकमा रहेको भारतसंग हाम्रो आर्थिक अवस्था समजदुरी थियो । हामी अलिकति मात्र भारतभन्दा गरिब थियौं । आज हामी भारतभन्दा साढे तीन गुणाले गरिब छौं । भारतको अर्थतन्त्र संसारको छैटो ठूलो अर्थतन्त्र भइसक्यो । हाम्रो उत्तरमा रहेको छिमेकी संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकासँग तुलना गरिने देश बनेको छ । भारतको अर्थतन्त्रभन्दा साढे चार गुणाबढी अर्थतन्त्र चिन र अमेरिकाको छ । छिमेकी मुलुकहरुमा अरबौं लगानी गर्न योग्य रकम लगानी लिएर बसेका लगानीकर्ताहरु छन् । त्यसलाई नेपालमा ल्याउने र नेपालमा ल्याएर समृद्धिको मार्गमा प्रयोग गर्ने नेतृत्वको खाँचो छ । मलाई विश्वास छ अब बन्ने सरकारले त्यो लगानी भित्र्याउन सक्नेछ । अहिले नेपालको दुरावस्था छ । कलंकीदेखि थानकोट पुग्न दुई घण्टा लाग्छ । नौविसेबाट मुग्लिन पुग्दा ज्वरो आउछ । मुग्लिनबाट नारायणघाट पुग्न गाह्रो छ । हामीले सानो १० देखि १०० मिटरको बाटो बनाउन सक्दैनौं । १४० मिटरको पूल नौं महिनामा चिनले बनाएर देखाएको छ । हाम्रो कर्मचारी संयत्र, ईन्जिनियर, कन्ट्याक्टर्सहरु ३५ किलो मिटरको बाटो चार वर्षमा पनि बनाउन सक्दैनन् । अब काम नगर्नेलाई दण्डीत गर्ने समय आएको छ । त्यसकारण जो-जो मान्छे यसमा सहभागी छन् तिनीहरुलाई एक पटक दण्डीत गर्नुहोस् । हामी पनि त्यसमा सहभागी छौं भने हामीलाई पनि दण्डीत गर्नुहोस् अनि मात्र बल्ल डु अर डाईको परिस्थिति सृजना हुन्छ । त्यसोे नभएसम्म अगाडी बढ्न सकिदैन । हामी नेपालमा २ करोड ८० लाख जनसंख्या छौं । जसमा ५० हजार जना भाषण गर्न मात्र जान्ने छौं । मैले अमेरिकाको विश्व विद्यालयमा अध्ययन गर्दा बेलायतको अक्स्पोर्डमा हेर्दा बेलायतमा राजनैतिक दलको कायकर्ता पत्ता लाउन सकिन । बेलायतमा जनता र राजनीतिज्ञ मात्रै रहेछन् । कार्यकर्ता रहेनछन् । नेपालमा हरेक दलमा ४ देखि १० लाखसम्मको संख्यामा कार्यकर्ताहरु छन् । जसकारण हाम्रोमा कर्मचारी छैनन् । कर्मचारी पाउन गाह्रो छ । कि सबै कार्यकर्ता नेता छन् । जनतालाई, प्रध्यापक, उद्यमीलाई कार्यकर्ता बनाउने होइन उद्यमीलाई उद्यमी नै बनाउनुहोस् । हामीलाई काम गरेर खाने बनाउनुहोस् । काम नगरी मागेर खाने, मागेर समाजसेवा गर्ने, संस्था चलाउने, मागेरै एचआइभिको ट्रीटमेन्ट गर्ने, स्वास्थ्य सेवा संञ्चालन गर्ने यावत बिकृतिहरुलाई ‘अबोलिष्ट’ गर्नुहोस् । ३५० मिनेटमा नेपालको एकछेउदेखि अर्को छेउसम्म आनन्दसँग रेल अथवा गाडी चढेर जान मिल्ने गरी यातायातको विकास गर्न सम्भव छ । त्यसको लागि हाम्रो रगत पसिना बगाउन तयार छौं । हामी दुईओटा चिजबाट टाढा रहन सकौं । एउटा मागेर खाने मागेर ठूलठूला प्रोजेक्ट बनाउने । माग्नका सट्टा हामी आफै बनाऔं । बरु कहाँनिर ट्याक्स लगाउनु पर्छ लगाइयोस् । हामी तिर्न तयार छौं । हामी हाम्रा सानासाना भत्केका पूल बनाउनलाई विदेशी खोज्नेबाट वाक्क दिक्क भएका छौं । दोस्रो नेपालीहरुले कम्तिमा पनि गएगुज्रेको मुलुकमा श्रम सम्झौता गर्न हुँदैन । साच्चै श्रम सम्झौता गर्ने हो भने जापान, कोरिया, अमेरिका, बेलायत, अष्ट्रेलियासँग गरौं । जनतालाई हेर्ने दृष्टिकोणले दुई लाख डलरसम्म प्रतिव्यक्ति आय भएको मान्छेले नेपालीलाई मात्र दुई सय डलर दिएर काममा लगाउछन् । त्यस्ता निकृष्ट हिसाबले मजबुर नहुने गरी नीति बनाउन पर्छ । यस्ता चिज अबको सरकारले बन्द गरोस् । नेपालमा हामीले राति काम गर्न हुदैन, महिलालाई काममा लगाउन हुदैन भनेर नीति बनाएका छौं । हाम्रो भाईबहीनी/दिदीबहिनीले अर्काको मुलुकमा (कतारमा)भने राती १२ बजेसम्म असुरक्षित तवरले काम गर्छन् । नेपालमा किन गर्न नहुने । यस किसिमको परम्परा र अभ्यासलाई अब छोडौं । हामी औषधि बनाउने मात्र कुरा गरिरहेका छैनौं । हाइड्रो पावर, एग्रीकल्चर टेक्नोलोजी, इन्नोभेसन टेक्नोलोजी, नयाँ विश्वविद्यालयहरुको स्थापनादेखि प्रविधिसम्ममा काम गर्न सक्छौं । त्यो अवसरको सदुपयोग गर्ने गरी काम गर्ने अवसर भयो भने नेपाल सुन्दर, समृद्ध, मागेर नखानेहरुको नेपाल बन्न सक्छ । (देउराली–जनता फर्मास्यूटिकल्सस प्रालिको २७ औं वार्षिकोत्सव समारोहमा कम्पनीका कार्यकारी निर्देशक शर्माले गरेको मन्तव्यको सार )