विद्युत चोरी गर्न नछाडे ललितपुरमा ‘ब्ल्याक आउट’
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठितरुपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षौंदेखि संगठितरुपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिएर आग्रह गरिएको बताए । ‘राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य र बेइजती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौं,घिसिङले भन्ने,‘त्यसपछि जस्तो जुकै ठूलो दबाब आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौं, राजधानीलाई विद्युत चोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिन्छ ।’ ललितपुरको भित्री सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगाएतका स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको छ । गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी,गुहीटोल, ठैव, वांडेगाउ, लुभ जाने फिडर अन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा विद्युत अत्याधिक विद्युत चोरी हुने क्षेत्र हुन् । यसैगरि, चापागाउं जाने फिडर अन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउं लगायतका क्षेत्रका बासिन्दाले संगठितरुपमा विद्युतचोरी गरेको फेलापरेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले बताए । ती क्षेत्रमा औसत विद्युत चोरी ५० प्रतिशत छ । प्राधिकरणले चोरीका कारण यी स्थानहरुबाट मात्रै वार्षिक करिव ५० करोड रुपैयाँ राजश्व गुमाइरहेको छ । उपभोक्ताले जोखिमपूर्ण रुपमा विद्युतको प्रयोग गरिरहेका छन् । यसरी प्रयोग गरिएको विद्युत असुरक्षित हुने हुँदा ठूलो दुर्घटनासमेत हुने सम्भावना उत्तिकै रहेको प्राधिकरणले जनाएको छ । विद्युत वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिने लगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरण लगनखेल बितरण केन्द्रका प्रमुख विरेन्द्र सिंहले बताए । ‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठितरुपमै हाम्रा कर्मचारीमाथि आक्रामण हुने गरेको छ’,उहाँले भन्ने,‘यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग पनि उत्तिकै चाहिन्छ ।’ प्राधिकरणकाअनुसार, चोरी नियन्त्रणका लागि विद्युत वितरणको नांगो तारको सट्टा माइन्सुलेटेड एबीसी केवल फेर्ने, सडक वत्ति मिलाउने, ट्रान्सफर्मर फेर्ने लगायतका काम व्यापकरुपमा भइरहेको छ । चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङ आफैं अग्रसर भएर अभियानमा सहयोगको आग्रह गर्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्लाअधिकारी महादेव पन्थ, प्रहरी प्रमुखसँग छलफल गरेका छन् । उनले ललितपुरलाई विद्युत चोरी मुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्णरुपमा सहयोग गर्न आग्रह गरिएको बताए । ‘चोरी नियन्त्रणका लागि आवश्यक प्रणाली सुधारका लागि व्यापक कदम चालिएको छ’उहाँले भने ,‘स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र प्रशासनले पनि सहयोग गरिदिनु पर्यो ।’ प्राधिकरणले उपभोक्तालाईसमेत विद्युतचोरी नगर्न र गरिएको फेला पारेमा कानुनी कारबाही गरिने चेतावनी दिंदै पोष्टर टाँस्ने, माईकिङ लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ललितपुरमा जस्तै भक्तपुर क्षेत्रमा पनि चोरी व्यापक रहेको र यस क्षेत्रमा पनि क्रमिकरुपमा चोरी नियन्त्रणका आक्रामक कार्यक्रमहरु संचालन गरिने घिसिङले जानकारी दिए । गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावटमध्ये बितरणतर्फ रहेको १६.८२को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।
राष्ट्रिय बाणिज्य बैंकमा मर्ज हुँदा एनआइडीसीको साधारण सेयर के हुन्छ ? के बाणिज्य बैंक नेप्सेमा आउला ?
काठमाडौं । एनआइडीसी डेभलपमेन्ट बैंकलाई पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा गाभ्दा साधारण सेयर के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । सर्वसाधारणको समेत सेयर रहेको एनआइडीसी लामो समयदेखि नेप्सेमा सूचिकृत छ र सेयर कारोबार समेत भैरहेको छ । तर राष्ट्रिय बाणिज्य बैंक भने पुर्ण सरकारी स्वामित्वको बैंक हो र उसको सबै सेयर प्रमोटर मात्रै छ । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया)ले सरकारी स्वामित्वको एउटा बैंकले सर्वसाधारणलाई सेयर जारी गर्नु नपर्ने सुबिधा दिएको छ । तर बाणिज्य बैंकमा गाभिन लागेको एनआइडीसीमा रहेको साधारण सेयरले बाणिज्य बैंकलाई पनि नेप्सेमा सूचिकृत हुनै पर्ने बाध्यात्मक अवस्था सृजना गर्छ वा गर्दैन् ? प्रश्न खडा भएको हो । हाल साधारण सेयरलाई संस्थापक सेयरमा रुपान्तरण गर्न पाउने कानुनी व्यवस्था छैन् । ‘संस्थापक सेयरलाई साधारण बनाउन त मिल्छ तर साधारण सेयरलाई संस्थापक बनाउन मिल्दैन्, त्यसकारण बाणिज्य बैंक पनि नेप्सेमा सूचिकृत हुनै पर्ने बाध्यतामा आईपुगेको छ’, एनआइडीसी बैंक श्रोतले भन्यो । सो बिषयमा मर्जर कमिटीमा समेत प्रारम्भिक छलफल भएको छ तर ठोस निष्कर्ष भने निकालिएको छैन् । एनआइडीसीमा सर्वसाधारणको ३० लाख ९१ हजार बराबरको ३० हजार ९ सय १ कित्ता सेयर रहेको छ । एनआइडीसीमा एक कित्ता मात्रै सेयर भएका लगानीकर्ता पनि छन् । ‘एक कित्ता, २ कित्ता, ५ कित्ता, १० कित्ता र ५० कित्तासम्म सेयर हुने लगानीकर्ताको संख्या संख्या ४५० को हाराहारीमा छ । ५० कित्ता भन्दा बढि सेयर हुनेहरुको संख्या करिब एक सय जना छ ।’, बैंक श्रोतले भन्यो । एनआइडीसीले एक बराबर एक कित्ताको स्वाप रेसियोमा चित्त नबुझे प्रति कित्ता ४४८४ रुपैंयाँ दिएर सर्वसाधारणको सेयर किन्ने भनेको छ । तर त्यसरी पैसा दिँदा पनि सो सेयरको स्वामित्व साधारण हुने वा प्रमोटर हुने भन्नेबारे भने केहि उल्लेख गरिएको छैन् । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले मर्जरपछि एनआइडीसीको सेयर नेप्सेमा कारोबार नहुने बताए । ‘एनआइडीसीमा रहेका सर्वसाधारणको सेयर सरकारले खरिद गरिदिन सक्छ तर मर्जपछि नेप्सेमा कारोबार हुन्न’, राष्ट्र बैंकका सहायक प्रवक्ता पण्डितले विकासन्युजसँग भने । उता, कम्पनी रजिष्ट्रारको कार्यालयका कानुन तर्फका उप रजिष्ट्रार राजेन्द्र थापाले भने मर्जरपछि पनि सर्वसाधारणको नेप्सेमा कारोबार भैरहने बताए । ‘साधारण सेयरलाई प्रमोटर बनाउन मिल्दैन, एनआइडीसीको सेयर नेप्सेमा कारोबार भैरहन्छ, तर बाणिज्य बैंकले थप सेयर भने नेप्सेमा सूचिकृत गर्नु पर्दैन’, उप रजिष्ट्रार थापाले विकासन्युजसँग भने । राष्ट्रिय वाणिज्यका अध्यक्ष रविन्द्र पाण्डेले एनआईडीसीमा भएको साधारण सेयर रहिरहने बताए । सेयर कारोबारका विषयमा धितोपत्र वोर्डको अन्तिम निर्णय हुने उनको भनाई छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले पनि मर्जरपछि एनआइडीसीको सेयर नेप्सेमा सूचिकृत हुने वा नहुने भन्नेबारे एकिन नभएको बताए । एनआइडीसीले मर्जर र स्वाप रेसियो लगायतका प्रस्ताव पास गराउन माघ १९ गते बिशेष साधारण सभा बोलाएको छ । सभाले यसअघि वाणिज्य बैंकसंग भएको स्वाप रेसियो र अन्तिम सम्झौता अनुमोदन गर्ने छ । दुबै बैंक एकआपसमा गाभिनका लागि मूल्याँकनकर्ता नियुक्त गर्ने प्रस्ताव पारित गर्ने कार्यसुची रहेको छ । गत भदौमा दुई बैंक एकआपसमा गाभिने विषयमा सम्झौता भएको थियो । दुबै बैंक गाभिएर माघ १ गतेदेखि एकिकृत बैंकिङ कारोबार सुरु गर्ने भने पनि ढिलाइ भएको छ । २०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसीलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको थियो ।हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । एनआईडीसीको ४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी छ ।
सेवा विस्तार गर्दै साझा यातायात, २९ वटा बस थप गर्ने
ललितपुर । साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत रहेको छ । अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको छ भने सिटी बसको टेण्डर प्रक्रिया सकिएको छ । डिलक्स बस उपत्यकाबाहिर चल्नेछ भने सिटी बसलाई माग भएका र आवश्यकता बढी भएका ठाउँमा चलाइने उनी बताउछन् । उनले भने, “बस उपत्यका आएपछि प्राविधिक जाँच गरेर यातायात व्यवस्था कार्यालयमा दर्ता हुन्छ र त्यसपछि नै रुट कता लिने भन्ने हुन्छ ।” काठमाडौँ उपत्यकाबाहिर अहिले साझाका २ वटा बस काठमाडौँ–बाग्लुङ रुटमा गुडिरहेका छन् । डिलक्स बस यही रुटमा थप्ने वा अन्य जिल्लामा भन्ने निर्णय भइसकेको छैन । काठमाडौँ उपत्यकामा चल्ने सिटी बसका लागि भने धेरै ठाउँबाट माग भएको छ । नयाँ बनेका नगरपालिकाले समेत साझाको शेयर खरिद गर्न र आफ्नो ठाउँमा साझा बसको सेवाका लागि इच्छुक देखिएका छन् । उनले भने, “काठमाडौँ उपत्यका र उपत्यकाबाहिर दुबैतिर साझाको माग छ ।” काठमाडौँ उपत्यकामा ४४ र उपत्यकाबाहिर २ वटा गरेर अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् । रासस
कुवेर मर्चेन्टको नाफा २ करोड ८२ लाख, इपीएस ३७.७१ रुपैयाँ
काठमाडौं । समस्याग्रस्त अवस्थाबाट हालै मुक्त भएको कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ । फाइनान्सले गत पुससम्म २ करोड ८२ लाख रुपैयाँ खुदनाफा गरेको छ । चाल आवको दोस्रो त्रैमासिक अवधिमा १ करोड ४१ लाख रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको फाइनान्सले ४ करोड खराब कर्जा असुलीबाट नाफा गरेको हो । फाइनान्सको चुक्तापुँजी २८ करोड २ लाख रुपैयाँ छ । फाइनान्स २२ करोड ४६ लाख रुपैयाँ संचित नोक्सानमा रहेको छ । नेपाल राष्ट्र बैंकले कुबेर मर्चेन्टलाई मंसिर २४ गतेदेखि समस्याग्रस्त अवस्थाबाट मुक्त गरेको हो । हाल फाइनान्सले निक्षेप फिर्ता भुक्तानी तथा पुरानो कर्जा असुलीलाई जोड दिएको छ । व्यवसाय वृद्धिको काम नभएको र आगामी त्रैमाशबाट सुरु गर्ने फाइनान्सले जनाएको छ । हाल निक्षेप संकलन तथा कर्जा प्रबाहको काम बन्द रहेको फाइनान्सले जनाएको छ । फाइनान्सको निष्कृय कर्जा शतप्रतिशत छ । प्रतिसेयर नेटवर्थ घटेर ३७ रुपैयाँमा झरेको छ ।
यूलेन्स स्कुलले आर्थिक अनियमितता गरेको आशंका, तीन दिनभित्र प्रष्ट पार्न विभागको निर्देशन
काठमाडौं। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ललितपुर स्थित खुमलटारमा रहेको यूलेन्स स्कुल/यूलेन्स एजुकेसन फाउण्डेसनलाई तीन दिनभित्रमा वार्षिक शुल्क स्पष्ट पार्न निर्देशन दिएको छ । विभिन्न स्कुलहरुले विद्यार्थीहरुलाई ठगि गरेको उजुरीको आधारमा विभागले पछिल्लो समय स्कुलहरुको अनुगमन सुरु गरेको छ । बुधबार गरेको अनुगमनको क्रममा उक्त स्कुलले आर्थिक अनियमितता गरेको आशंका गर्दै वार्षिक शुल्क के कति आधारमा तयार गरेको हो, तीन दिनभित्र लिखित रुपमा प्रष्ट पार्न विभागले निर्देशन दिएको छ । भाटभाटेनीमा पनि भेटियो म्याद नघेको सामाग्री सोही दिन गरिएको अनुगमनमा काठमाडौं स्थित चुच्चेपाटी भाटभटेनी सुपर मार्केटमा म्याद नघेको सामानहरु बिक्री गरिरहेको अवस्थामा भेटिएको थियो । म्याद नघेको क्यानवरी, गोल्डेन डेट्स, फ्यान्टा, सेभेनअप लगायत सामाग्रीहरु जफत गरी नष्ट गरिएको विभागका निर्देशक निरज पौडेलले जानकारी दिए । विभागले त्यस्ता म्याद नघेको सामान बिक्री नर्गन साथै तीन दिनभित्रमा सुपर मार्केटको व्यसाय दर्ता, प्यान दर्ता, कम्प्यूटर विलिङ्ग लगायतका सम्पूर्ण कागजात समेत विभागमा पेश गर्न निर्देशन दिइएको छ ।
प्रतिकित्ता २१० मा एनसीसी बैंकको ७० लाख संस्थापक सेयर लिलामीमा, एनबी समूह बाहिरिदै
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकबाट ठुलो लगानीकर्ता एनबी समूह बाहिरिने भएको छ । समूहले आफनो स्वामित्वमा रहेको ७० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम २१० रुपैयाँ राखेर बिक्री गरेर बाहिरिन लागेको हो । संस्थापक सेयर खरिदका लागि बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले बिहीबार शिलबन्दी बोलपत्र आब्हान गरेको छ । इच्छुक व्यक्ति र कम्पनीले फागुन ३ गतेसम्म बोलपत्र पेश गर्न सीबीआईएलले भनेको छ । प्रतिकित्ता २१० रुपैयाँअनुसार ७० लाख कित्ता सेयरको मूल्य १ अर्ब ४७ करोड रुपैयाँ हुन आउछ । एनसीसीको साधारण सेयर प्रतिकित्ता ३२५ रुपैयाँ छ । एनसीसीले चुक्तापुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्काशनको गर्दैछ । एनबी समूहले हरिसिद्धि इँटा तथा टालय कारखाना लिमिटेड र अन्य ऋण तिर्नका लागि संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको हो । नेपाल बंगलादेश बैंकमा एनबी समूहले सेयर बिक्री गरेको छ । बैंकले २ बराबर १ अनुपातमा २ अर्ब ३४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा जान लागेको हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको नाफा ४०० प्रतिशत बढेको छ ।२०७३ पुस मसान्तमा जम्मा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले २०७४ पुस मसान्तमा २८ करोडले वृद्धि गरेर ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड रूपैयाँको भने राइट ब्याकको हिस्सा रहेको छ ।
६५ हजार ९५६ ले पाए प्रिमियर इन्स्योरेन्सको एफपीओ
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) बिहीबार बाँडफाँड भएको छ । आवेदन दिने मध्ये ६५ हजार ९५६ जनाले मात्र १० कित्ताका दरले एफपीओ पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता एफपीओ पाएका छन् । ७९९ रुपैयाँमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन भएको थियो । कुल आवेदक मध्ये १ लाख ८६ हजार ४७५ आवेदन छनौट भएका थिए । माग भन्दा ५.७४ गुणा आवेदन परेको थियो ।
ग्वार्कोमा यामाहाले खोल्यो शोरुम, एक्सचेन्ज र फाइनान्सको सुविधा दिइने
काठमाडौं। नेपालका लागि यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ललितपुरको ग्वार्कोमा नयाँ सोरुम सुरु गरेको छ । यामाहाको पुरानो डिलर रिसिक अटोमोबाइल्सले एक्सचेन्ज र फाइनान्स सुविधासहितको सेल्स आउटलेट सुरु गरेको जनाएको हो । ललितपुर जिल्लमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले नयाँ सोरुम स्थापना गरेको बताएको छ । सोरुमको उद्घाटन मिन नेपाल इन्टरनेशनल तथा यामाहा फेस अफ फेसिनो निती शाहले गरेका थिए । उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका एजीएम दिपक रौनियारले यामाहाका मोटरसाइकल र स्कुटरको बढिरहेको लोकप्रियताको कारण ठाउँ– ठाउँमा नयाँ डिलर र सोरुमको स्थापना गर्नु परेको बताए । ‘नयाँ सोरुमबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्नेछन्,’ उनले भने । रिसिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक मिलनबाबु मल्लले निकट भविश्यमा उक्त सोरुमबाट सर्भिसको सुविधा थाल्ने बताए । यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् ।