विकासन्युज

केश कन्स्ट्रक्सनको नयाँ सोरुम जनकपुरमा, अन्य विभिन्न स्थानमा खोल्ने तयारी

काठमाडौं । केश कन्स्ट्रक्सन कम्पनीले आफ्नो नयाँ सोरुम जनकपुरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाह, इटा उद्योग संघका अध्यक्ष बिनय कुमार यादव र जगदम्बा मोटर्स हेवी इक्युपमेन्ट डिभीजनका प्रमुख संजिव देउजाले संयुक्त रुपमा गरेका हुन् । व्यापारिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले केश कम्पनीका विभिन्न कन्स्ट्रक्सन इक्युप्मेन्टहरु बिक्री वितरण गर्दै आएको छ । “देश निर्माणको सारथी” भन्ने नारा सहित बिक्री वितरण गर्दै आएको उक्त कम्पनीले अहिले सम्म देशभरी १३ भन्दा बढि स्थानहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । कम्प्याक्टर, ब्याकहो लोडर, स्किड स्टिर, लगाएतको हेवी इक्युप्मेन्टहरुको बिक्री वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्री पछिका सम्पुर्ण सेवा र मर्मत सम्भार गर्दै आएको कम्पनीले, आफ्ना सबै सोरुमहरु मार्फत सम्पुर्ण सेवा प्रदान गर्दै आएको छ । “देश निर्माण गर्ने महान अभियानमा आ आफ्नो क्षेत्रबाट सबैले योगदान गर्नुपर्ने अभिभारा हामी सबैमा रहेको र सो क्रममा स्वच्छ सेवा प्रदान गर्नुपर्ने जिम्मेवारी रहेकाे” कम्पनीका प्रमुख देउजाले बताए । साथै, केश कन्स्ट्रक्सन आफ्नो जिम्मेवारीप्रति कटिवद्ध रुपमा लागी परेको उनले बताए । साथै, जगदम्बा मोटर्सले जनकपुरपछि देशका विभिन्न स्थानहरुमा आफ्ना नयाँ शोरुमहरु खोल्दै जाने तयारी गरेको छ ।

मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना

काठमाडौं । मर्चेण्ट बैंकर्स एसोसियसनको अध्यक्षमा ध्रुव तिमिल्सिना चयन भएका छन् । उनलाई बुधबार बसेको एसोसियसनको कार्य समिति बैठकले अध्यक्ष चयन गरेको हो । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रहेका तिमिल्सिनाले नियामक निकायसँगको समन्वयमा नेपालको मर्चेण्ट बैंकिङलाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रतिवद्धता व्यक्त गरे । ‘नियामक निकायसँगको समन्वयमा अनुशासनको दायरा भित्र रहेर नेपालको मर्चेण्ट बैंकिङ क्षेत्रलाई अन्तराष्ट्रियस्तरको बनाउन मेरो भूमिका केद्रित हुनेछ’, नव नियुक्त अध्यक्ष तिमिल्सिनाले भने । एसोसियनका अध्यक्ष प्रविण रमण पराजुलीले मर्चेण्ट बैंकिङ क्षेत्र छाडेर रिलायन्स इन्स्योरेन्सको सिइओ बन्न गएपछि अध्यक्ष पद खाली थियो । सोही पदमा कार्य समितिको बैठकले तिमिल्सिनालाई चयन गरेको हो ।

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे शुरु, ३५ दिनका लागि सबै उडान बन्द

बाँके । नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् । धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम शुरु गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताएका छन् । उनका अनुसार विमानस्थलको धावनमार्ग, जहाज पार्किङस्थल, ट्याक्सी वेलगायत स्थानमा एक तह थपेर कालोपत्रे गर्न लागिएको हो । धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले सन्ध्याकालीन विमान सेवा बन्द गर्न शुरु गरिएको छ । धावनमार्ग कालोपत्रे गरिने भएपछि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र विमानस्थल खुला रहनेछ । झण्डै १२ पछि विमानस्थलमा कालोपत्रे गर्न लागिएको हो । नियमानुसार पाँच र छ वर्षको अवधिमा धावनमार्ग कालोपत्रे गर्नुपर्ने छ । बाक्लो हुस्सुका कारण बिहानका उडान नियमित नभइरहेका बेला सन्ध्याकालीन सेवा रोकिएपछि हवाई यात्रुलाई मर्का परेको छ । यात्रुको समस्यालाई मध्यनजर गरी अहिले धावनमार्गबाहेकका स्थानमा काम शुरु गरिएको बताउँदै प्रमुख तिवारीले दिउँसोको समयले अलि फराकिलो बनाई दिउँसोसम्म दुईवटै उडान गराइने बताए । नेपालगञ्जको राझा विमानस्थलबाट काठमाडौं र कर्णालीका पहाडी जिल्लामा दैनिक डेढ दर्जन उडान हुन्छन् । सामान्य अवस्थामा विमानस्थल चौबीसै घण्टा खुला रहन्छ । रासस

एड्भेन्चर स्पोर्ट्स एक्स्पोमा ७ वटा निजी पर्यटन व्यवसायीहरु सहित नेपालको प्रभावकारी सहभागिता

काठमाडौं । पाटा नेपाल च्याप्टर,नेपाल पर्यटन बोर्ड तथा नेपाल बायुसेवा निगमको संयोजनमा ७ वटा निजी पर्यटन व्यवसायीहरु सहित नेपालले जनवरी २७ देखि २९ सम्म भारतको नयाँ दिल्लीमा आयोजित एड्भेन्चर स्पोर्ट्स एक्स्पो एशियामा प्रभावकारी सहभागिता जनाएको छ । संसारभरी रहेका एड्भेन्चर तथा इको टुरिजम क्षेत्रमा संग्लग्न सबै सरोकारवालाहरुलार्इ एउटै छातामुनी भेलागरी दिगो साहसिक पर्यटनको अवधारणालार्इ प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजित एक्स्पोमा नेपालबाट हिमालयन होलिडेज ट्रेक्किङ्ग, इन्सेन्टिभ होलिडेज, एड्भेन्चर आउटडोर ट्रेक्स एंड एक्स्पेडिसन्, हाइग्राउन्ड एड्भेन्चर नेपाल, हिमालयन कैलाश ट्राभल एंड टुर्स, एवेरेस्ट सम्मिट लजेज र नेपाल सेन्चुरी ट्रेक्स ७ वटा निजी पर्यटन कम्पनीहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा पाटा नेपालका अध्यक्ष्य सुनिल शाक्यले नेपाल, “द अल्टिमेट एड्भेन्चर डेस्टिनेशनस” शिर्षकमा प्रस्तुति दिएका थिए । उनले नेपाली साहसिक खेल तथा साहसिक पर्यटनका आकर्षण तथा सम्भावनाहरुलार्इ चित्रण गर्दै एड्भेन्चर प्रेमीहरुका लागि नेपाल उत्कृष्ट गन्तब्य भएको बताउँदै सबैलाई नेपाल घुम्न आमन्त्रण गरेका छन् र दिगो एड्भेन्चर टुरिजम विकासका लागि क्षेत्रीय तथा अन्तर्रस्ट्रिय रुपमा सबै सरोकारवालाहरु मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । दिगो साहसिक पर्यटन बिकासमा योगदान पुर्याउने हस्तीहरुलार्इ सम्मान तथा अवार्ड प्रदान कार्यक्रममा दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड), सुनिल साक्य (पाटा नेपाल च्याप्टर), बिभुति चन्द ठाकुर (हिमालयन होलिडेज) तथा मेघ आले (नेपाल रिभर कन्जरभेसन ट्रस्ट)लार्इ अवार्ड प्रदान गरिएको थियो ।  

५० जिल्लामा रेडक्रसको परियोजनागत स्वास्थ्य गतिविधि सञ्चालन, ४ लाख ६५ हजार लाभान्वित

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५० जिल्लामा नियमित तथा परियोजनागत स्वास्थ्य गतिविधिहरु सञ्चालन भएका छन् । उक्त गतिविधिबाट गएको एकबर्षमा ४ लाख ६५ हजार ८ सय ९४ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । मंगलबार चितवनमा सम्पन्न भएको नेरेसोमार्फत् सञ्चालन भएका विपद् व्यवस्थापन र स्वास्थ्य सेवा गतिविधिहरुको २ दिने वार्षिक समीक्षा बैठकको क्रममा यो जानकारी दिइएको हो । समीक्षाको क्रममा नेरेसोबाट विभिन्न विपद् व्यवस्थापनको क्षेत्रमा सञ्चालित गतिविधिको बारेमा निर्देशक धर्मराज पाण्डेयले समग्र प्रस्तुती गर्दै देशका ३३ जिल्लाका ४४ वटा गाँउपालिका र ५१ वटा नगरपालिकामा विपद पूर्वतयारीका परियोजनाहरु सञ्चालन भइरहेको जानकारी दिएका छन् । त्यस्तै, एम्बुलेन्स, रक्तसञ्चार, आँखा सेवा तथा आपत्कालीन स्वास्थ्य सेवा देशका अधिकाँश क्षेत्रमा स्वास्थ्य गतिविधिहरु रेडक्रसले सञ्चालन भइरहेको स्वास्थ्य विभागका निर्देशक मोना अर्यालले बताए । समीक्षा र योजनाको सिलसिलामा बिपद् तथा स्वास्थ्यक्षेत्रमा सञ्चालित विभिन्न परियोजनाहरुको छुट्टाछुट्टै सेसन र छलफल तथा ग्यालरी वाक मार्फत् जानकारी गराइ समुहगत छलफल गरिएको थियो । नेरेसोका अध्यक्ष सञ्जीव थापाले नेपालको प्रायजसो सवै खालका विपद् तथा स्वास्थ्य समस्यामा तत्काल सेवाको लागि रेडक्रसका स्वयँसेवकहरु अग्रपंतिमा रहीआएको बताए । उनले भने “विपद् व्यवस्थापनमा नेपाल सरकार लगायत सवै सरोकारवाला सँग सँगसँगै छ । अहिले मुलुकभर विशेष तालिमप्राप्त १४ हजार सातसय स्वयँसेवकहरु अग्रपँक्तिमा रही प्रथम रेस्पोन्डरको रुपमा कार्य गरिरहेका छन् र यसमा अझ क्षमता वढाइने छ ।” समीक्षा कार्यक्रममा सरकारी निकाय, यूएन, विभिन्न देशका रेडक्रसका प्रतिनिधिहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति-आइसीआरसी, रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ, नेरेसोको केन्द्रीय नेतृत्व, विभिन्न जिल्लाहरुका रेडक्रस शाखाहरुका प्रतिनिधि तथा कर्मचारीहरु गरी १४० जनाको सहभागिता रहेको थियो । नेरेसो स्वास्थ्य सम्बन्धी केन्द्रीय समितिका सभापति उत्तम जोशीले नेरेसोका महामन्त्री देवरत्न धाख्वाले जीवन रक्षा र स्वास्थ्य सुरक्षाको अवधारणाबाट नेरेसोका गतिविधिहरु सञ्चालन भइरहेको जानकारी दिएका छन् । नेपाल सरकारको तर्फबाट गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन केन्द्रका डा. दयाराम श्रेष्ठले विपद व्यवस्थापन र स्वास्थ्य सेवा एक अर्काका परिपुरक हुन् र नेपाल सरकारले अघिल्लो महिना विपद व्यवस्थापनको लागि नयाँ ऐन ल्याएको र सो ऐनले रेडक्रस, मानवीय सँस्था लगायत निजी क्षेत्रको सहभागिता अपेक्षा गरेको बताएका छन् । उत्कृष्ट स्वयंसेवकलाई सम्मान प्राथमिक उपचारलाई घरदैलोमा पुर्याउन सन् २०१७ मा सक्रिय रहेका स्वयंसेवक मध्ये चितवनका नीता ढकालले उत्कृष्ट प्राथमिक उपचार स्वयंसेवक पुरस्कार प्राप्त गरेका छन् । सन् २०१८ को लागि प्राथमिकताः बिपद् जोखिम न्यूनीकरण र स्वास्थ्य सेवामा समुदायको क्षमता अभिबृद्धि हुने गतिविधिमा नै आगामी दिनको लागि पहिलो प्राथमिकता रहने बताइएको छ । बढ्दो शहरीकरण, बसाईँसराई र तापमान बृद्धिले ल्याएका र ल्याउन सक्ने विपद् र संकटलाई गतिविधिमार्फत् सम्बोधन गर्दै जाने, सरकार लगायत अन्य एजेन्सीहरुसँगको सहकार्य बढाउने, नगद सहयोगको क्षमता अभिबृद्धि गर्ने, समुदायमा अग्रपंतिमा काम गर्ने दक्ष जनशक्तिलाई क्षमतावान बनाउने र लाभान्वित वर्गको मर्यादा, पहुँच, सहभागिता र सुरक्षा अभिबृद्धि गर्ने आगामी वर्षको प्राथमिकतामा राखिएको छ । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीले सामुदायिक एकिकृत स्वास्थ्य कार्यक्रम, आपत्कालीन तथा सामान्य अवस्थामा स्वास्थ्य पूर्वाधार विकास तथा नेरेसोको स्वास्थ्य सेवा सञ्चालनमा क्षमता अभिबृद्धितर्फ सन् २०१८ का स्वास्थ्य क्षेत्रका गतिविधि लक्षित हुने बताएको छ । साथै, सडक शुरक्षा, स्वास्थ्य चेतना जस्ता विषय आगामी दिनमा रेडक्रसका मूल गतिविधिकै रुपमा अगाडि बढाइने सहमति गरिएको छ ।

बीमा समितिको कर्मचारी विनियमावली अर्थ मन्त्रालयमा, कति बढ्ला तलब ?

काठमाडौं । नियामक बीमा समितिका कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली अर्थमन्त्रालय पुगेको छ । समितिले कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली २०६८ संसोधनको प्रस्ताव अर्थमा पठाएको हो । ‘कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली अर्थमन्त्रालय पुगेको छ, नयाँ सरकार आएसँगै स्वीकृत भएर कार्यान्वयनमा आउँछ’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले विकासन्युजसँग भने । बीमा समितिका कर्मचारीहरुको सेवा सुबिधा तथा कार्य क्षमता अभिवृद्धिका लागि महत्वपुर्ण योगदान पुग्ने गरी तयार पारिएको संसोधित विनियमावलीले कर्मचारीको मनोबल बढाउने अध्यक्ष चापागाइँले बताए । ‘तलब मान त लोकसेवाको गाइडलाइन अनुसार नै छ, तर पनि संसोधित विनियमावलीले कर्मचारीको मनोबल र कार्य क्षमता बढाउन सहयोग गर्छ’, अध्यक्ष चापागार्इँले भने । पछिल्लो समय बीमा समितिमा कर्मचारीको आकर्षण घट्न थालेको आरोप लागिरहेको छ । एक बर्षको अन्तरालमा करिब आधा दर्जन उच्च तहका कर्मचारीले बीमा समितिका जागिर छाडेर निजी कम्पनी रोजेका छन् । कात्तिक महिनामा उप निर्देशकको जागिर छाडेर राजकुमार अर्यालले सनलाईफ इन्स्योरेन्स कम्पनीको सिइओ रोजे । त्यस्तै, साउनमा चाटर्ड एकाउण्टेन्ट सन्तोष प्रसाईँ पनि नेपाल लाइफको डेपुटी सिइओ बन्न गए । अर्का चाटर्ड एकाउण्टेन्ट लक्ष्मण ज्ञवालीले पनि बीमा समितिको जागिर छाडेर प्राइम लाइफमा चिफ अपरेशन अफिसर रोजे । जेठमा कानुन अधिकृत बिनोद भट्टले पनि नेपाल लाइफको कानुन अधिकृत पदलाई रोजेर बीमा समिति छाडेका थिए । अधिकृत स्तरका केहि कर्मचारीले समितिको जागिर छाडेर निजी कम्पनी जाने तयारी गरेको चर्चा समितिमा चलिरहेको छ । समितिले भर्खरै आव्हान गरेको नयाँ कर्मचारी भर्ना प्रक्रियामा पनि उत्साहजनक आवेदन नपरेको बताइन्छ । हाल करिब ४० वटा भन्दा बढि संस्थाहरुको नियमन गर्न समितिमा ६५ जना कर्मचारी छन् । ती संस्थाहरुको १३ सयका हाराहारीमा शाखा सञ्जाल रहेको छ । कर्मचारी सेवा शर्त विनियमावलीले तलब भत्ताका साथै उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण गर्ने आशमा समितिका कर्मचारी छन् ।

लगानीकर्तालाई प्रतिफल दिन नेसनल हाइड्रोपावरले २७ मेगावाटका दुई आयोजना बनाउदै

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले २७ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । लगानीकर्ताको सुरक्षा र प्रतिफल दिनका लागि १४.५ मेगावाटको इर्खुवाखोला र १२.३ मेगावाटको माद्मेखोला जलविद्युत आयोजना बनाउन लागेको हो । नयाँ आयोजना बनाएर लगानीकर्तालाई प्रतिफल दिनका लागि काम सुरु भएको नेसनलका अध्यक्ष कुमार पाण्डेले बताए । हाल सञ्चालनमा रहेको नेसनलबाट लगानीकर्ताले प्रतिफल पाउने संभावना नभएका कारण नयाँ आयोजना निर्माण गर्न लागेको पाण्डेको भनाई छ । इर्खुवाको बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसंग मस्र्यौदा विद्युत खदिबिक्री सम्झौता (पीपीए) भएको उनले जानकारी दिए । औपचारिक रुपमा पीपीएमा हस्ताक्षर भएपछि आयोजनाको काम सुरु हुने उनले जानकारी दिए । आयोजना निर्माण गर्नका लागि लोअर इर्खुवा हाइड्रोपावर कम्पनी गठन भइसकेको छ । आयोजना भोजपुर जिल्लामा पर्छ । आयोजनामा नेसनलको ६७ प्रतिशत र बाँकी अन्य लगानीकर्ताको स्वामित्व हुने उनले बताए । आयोजनामा लगानी जुटाउन विभिन्न बैंकसंग छलफल भइरहेको उनले सुनाए । पीपीए भएपछि आयोजनाका लागि लगानी जुट्ने उनको भनाई छ । आयोजना आर्थिक रुपमा आकर्षक देखिएको अध्ययनले देखाएको छ । यस्तै कम्पनीले कास्कीमा ररहेको माथिल्लो माद्मेखोला आयोजनाको संभाव्यता अध्ययन गर्न विद्युत विकास विभागबाट अनुमतिपत्र (लाइसेन्स) पाएको छ । नेसनलले आयोजनाको अध्ययन सुरु गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा नेसनल ९७ लाख २१ हजार रुपैयाँ नोक्सानमा गएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा कम्पनीले ९५ लाख २९ हजार रुपैयाँ खुदनाफा गरेको थियो । १० वर्ष अघिदेखिको कर दाइत्व भुक्तानी गरेका कारण नेसनल नोक्सानमा गएको हो । सरकारलाई गत वर्षसम्मको ४ करोड ५ लाख ८२ हजार रुपैयाँ कर बुझाएपछि घाटामा गएको उनले जानकारी दिए । अब कर दाइत्व नरहेको उनको भनाई छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ३९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको संचित नोक्सान ४३ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ ।

पुरानो कर दायित्व ४ करोड तिर्दा नेसनल हाइड्रोपावर नोक्सानमा

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड नोक्सानमा गएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नेसनल ९७ लाख २१ हजार रुपैयाँ नोक्सानमा गएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा कम्पनीले ९५ लाख २९ हजार रुपैयाँ खुदनाफा गरेको थियो । १० वर्ष अघिदेखिको कर दाइत्व भुक्तानी गरेका कारण नेसनल नोक्सानमा गएको अध्यक्ष कुमार पाण्डेले बताए । सरकारलाई गत वर्षसम्मको ४ करोड ५ लाख ८२ हजार रुपैयाँ कर बुझाएपछि घाटामा गएको उनले जानकारी दिए । अब कर दाइत्व नरहेको उनको भनाई छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ३९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको संचित नोक्सान ४३ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ ।