विकासन्युज

मेगा बैंकले ९.४५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । मेगा बैंक नेपालले ९.४५ प्रतिशत बोनस सेयर दिने भएको छ । पुस २५ गते बसेको बैंक सञ्चालक समितिले गत आवको नाफाबाट लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले गत आवमा ७९ करोड १४ लाख नाफा कमाएको थियो । बैंकले ६९ करोड ७१ लाख २ हजार १ सय ६८ रुपैंयाँ बराबरको बोनस सेयर दिने भएको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड ६७ लाख रुपैंयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड पुग्नेछ ।

विश्व बजार जोड्ने रेलवे नेटवर्क, कहाँ पुग्यो काम ?

काठमाडौं । सम्भावित प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीले रसुवागढी नाका पुगेर चिनियाँ रेल यहिँबाट नेपाल आउँछ भनिदिए । ओलीकै अगुवाईमा केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ । यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आव्हान गरिएको ग्लोबल टेण्डरबाट ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । र ती कम्पनीमध्येबाट पनि सम्भाव्यता अध्ययनका लागि अन्तिम छनौट तत्कालै अघि बढ्दैछ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको मेची महाकाली रेल मार्गको ६१९ किलोमिटर डिपिआर तयार भएको छ । रेल विभागले गत नोभेम्बर २० तारिखका दिनसम्ममा ६१९ किलोमिटर क्षेत्रको डिपिआर तयार पारेको हो । यसरी केरुङबाट काठमाडौं आउने रेलले नेपाललाई चीनसहित रसिया र पुर्वी युरोपको बजारसम्म जोड्नेछ । त्यस्तै झापाको काकडभिट्टामा आउने रेलले मध्यपुर्व एसियासँग जोड्नेछ । कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने रेलले नेपाललाई पश्चिम युरोपसम्म जोड्नेछ । ‘केरुङबाट नेपाल आउने रेल र पुर्वपश्चिम रेल वे नेटवर्क दिर्घकालिन समृद्धिसँग जोडिएको छ, यसले नेपाललाई विश्व बजारमा जोड्छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । उपाध्यायका अनुसार पुर्वी नाका काकडभिट्टादेखि वुटवलसम्मको डिपिआर तयार भएको छ भने वुटवलदेखि पश्चिमी नाका गड्डा चौकीसम्मको ४२१ किलोमिटर रेलमार्गको डिपिआर निर्माण धमाधम अघि बढेको छ । ‘वुटवलदेखि पुर्व तर्फको डिपिआर तयार भैसकेको छ, अब वुटवलदेखि गड्डा चौकीसम्मको डिपिआर पनि एक बर्षभित्रै तयार पर्ने गरि धमाधम काम भैरहेको छ’, उपाध्यायले भने । विभागले बर्दिबासदेखि काकडभिट्टा खण्डको २४७ किलोमिटरको डिपिआर तयार पारेको छ । त्यस्तै, बर्दिबास–सिमरा–तम्सारिया–बुटवल खण्डको ३७२ किलोमिटर डिपिआर पनि तयार भैसकेको छ । सोही खण्डको बर्दिबास–लालबन्दीको ३० किलोमिटरमा ट्रयाक बेड,पुल पुलेसा निर्माणको काम सम्पन्न भैसकेको छ । लालबन्दीदेखि सिमरासम्मको ७८ किलोमिटरको काम पनि चालु आर्थिक बर्षमा सुरु भएको छ । क्रस बोर्डर रेल वे नेटवर्क भारत सरकारको सहयोगमा जयनगर–जनकपुर– बर्दिवास ६९ किलोमिटरमध्ये जयनगर–जनकपुर बिजुलपुराको ५२ किलोमिटरमा ट्रयाक बेड तथा स्ट्रक्चरको काम सम्पन्न भैसकेको छ । सो खण्डमा अब रेलको डब्बा राखेर गुडाउन सकिने अवस्था निर्माण भैसकेको छ । त्यस्तै, बिजुलपुरा–बर्दिबासको १७ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । कटहरी–विराटनगर–बथनाहाको १८ किलोमिटरको पनि ट्रयाक बेड तथा स्ट्रकचरको काम धेरै अघि बढिसकेको छ । मध्यपश्चिमको नेपालगञ्जदेखि भारतको नेपालगञ्ज रोडसम्मको १५ किलोमिटर रेल मार्ग, भैरहवादेखि नौतन्वासम्मको १२ किलोमिटर र न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्मको रेल वे नेटवर्क निर्माणको काम पनि अघि बढेको छ । कति लाग्छ लागत ? तराईमा निर्माण हुने रेलमार्गका औषत लागत प्रति किलोमिटर ४० करोड लाग्छ । पहाडमा पुलमा बनाईने रेलमार्गको निर्माण लागत तराईको भन्दा तीन गुणा बढि अर्थात करिब १ अर्ब २० करोड पर्ने अनुमान गरिएको छ । त्यस्तै, सुरुङ मार्फत निर्माण हुने रेलमार्गको लागत पुलको भन्दा तीन गुणा बढि अर्थात प्रति किलोमिटर ३ अर्ब ६० करोडसम्म पर्छ । बामपन्थी रेल सपना सरकार गठनको तयारीमा रहेको बामपन्थी गठबन्धनले निर्वाचन पुर्व आगामी पाँच बर्षमा २३४५ किलोमिटर विद्युतिय रेलमार्ग बनाउने प्रतिवद्धता व्यक्त गरेको थियो । अब बामपन्थीहरुले नै आगामी पाँच बर्षसम्म सत्ता सञ्चालन गर्ने देखिन्छ । बामपन्थीहरुले पाँच बर्षभित्र रसुवागढी–काठमाडौं–बिरगञ्ज रेलमार्ग, पुर्वपश्चिम रेलमार्ग र मध्यपहाडी लोकमार्गमा तिब्रगतिको विद्युतिय रेलमार्ग निर्माण गर्ने बताएका छन् । ‘आगामी ५ बर्षमा पुर्व पश्चिम राजमार्ग, पुर्व पश्चिम औद्योगीक करिडोर राजमार्ग, मध्यपहाडी लोकमार्गहरुका समानान्तरमा तिब्र गतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ । त्यसै गरि यसै अवधीमा रसुवागढी–काठमाडौं–बिरगञ्जमा तिब्रगतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ’, बामपन्थी घोषणा पत्रमा भनिएको छ । यो सबै रेलको लम्बाई करिब २३४५ किलोमिटर हुन आउँछ । हाल धमाधम काम भैरहेको पुर्वपश्चिम रेलमार्गको लम्बाई ९४५ किलोमिटर रहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको लम्बार्ई १७७६ किलोमिटर छ । यसमा रेल मार्ग निर्माण गर्दा करिब १२०० किलोमिरटको हुन सक्ने रेल विभागका सिडिई प्रकाशभक्त उपाध्यायले बताए । रसुवागढी–काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको लम्बाई २०० किलोमिटर हुने पनि उनले बताए । के के सम्भव छ पाँच बर्षमा ? रेल विभागका सिडिई उपाध्यायका अनुसार आगामी पाँच बर्षमा पुर्व पश्चिम रेलमार्गको केहि खण्डमा रेल सञ्चालन गर्न सकिन्छ । रसुवागढी–काठमाडौं रेलमार्गको डिपिआर तयार भएर निर्माण कार्य समेत केहि अघि बढिसकेको हुनेछ । काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । आगामी पाँच बर्षभित्र यसको पनि डिपिआर तयार भएर निर्माण कार्य अघि बढिसकेको हुनेछ । ९४५ किलोमिटर पुर्व पश्चिम रेलमार्ग सञ्चालनका अलवा भारतीय नाकासम्म पुग्ने रेलमार्ग पनि आगामाी पाँच बर्षभित्र निर्माण गरेर सञ्चालन गर्न सम्भव तर त्यसका लागि सरकार लगानी भने जुटाउनुपर्नेछ । ‘बामपन्थीहरुको रेल सपना अलि महत्वकांक्षी छ तर दृढ इच्छाशक्ति राखेर काम गर्ने भने हो पाँच बर्षमा धेरै गर्न सकिन्छ’, उपाध्यायले भने । फास्ट ट्रयाकमा काम गर्ने हो भने आगामी पाँच बर्षमा उपत्यकामा मेट्रो रेलको निर्माण पनि निकै अघि बढिसक्नेछ ।

एभरेष्टको सेयर खुल्ने वित्तिकै १० प्रतिशतले घट्यो, किन्ने कोहि छैनन्, बेच्नेहरु लाइनमा

काठमाडौं । बुधबार सेयर बजार खुल्ने वित्तिकै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सेयर कारोबार खुल्ने वित्तिकै एभरेष्टको सेयर बेच्नेहरुको ठुलो संख्या बढेपछि कम्पनीको मूल्य १० प्रतिशतले घटेर कारोबार बन्द भएको हो । ४ हजार ७ सय ५४ कित्ता सेयर बिक्रिमा राखिए पनि कुनै लगानी कर्ता खरिद गर्न निस्किएनन् । एभरेष्टको सेयर मूल्य २१९ रुपैंयाँले घटेर १९७१ रुपैंयाँमा आईपुगेको छ । मंगलबार पनि एभरेष्टको सेयर मूल्य २४३ रुपैंयाँले घटेको थियो । कम्पनीले पुर्व घोषित ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नपाउने भएपछि लगानी कर्ता निरास बनेका छन् । हाल सबै साधारण सेयर मात्रै रहेको कम्पनीले अब संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ बनाउनै पर्ने भएको छ । सो सेयर संरचना कायम गराउँदा पुर्व घोषित ६ सय प्रतिशतको हकप्रद सेयर निष्काशन गर्न नपाउने भएको हो ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हकप्रद माघ १५ देखि

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर माघ १५ देखि बिक्रि सुरु हुने भएको छ । कम्पनीले प्रति १० कित्ता बराबर ८.३ कित्ताको अनुपातमा एक सय रुपैंयाँ दरका २८ लाख ६८ हजार २ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । पुस २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जबाट सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर भर्न पाउँनेछन् ।

सिभिल बैंकको हकप्रदको म्याद थपियो, माघ १२ गतेसम्म आवेदन दिन पाउने

काठमाडौं । सिभिल बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री खुलाको समय थप भएको छ । सिभिलको हकप्रद बिक्रीको समय बढाएर माघ १२ गतेसम्म तोएिको बिक्रीप्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । यसअघि पुस २७ गते बिहीबारसम्म हकप्रद निष्कासनको अन्तिम समय तोकिएको थियो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।

पञ्चकन्या हाइड्रोपावरले माघ ५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ५ गतेदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द माघ १९ गतेसम्मपछि हुने छ । न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म दरखास्त दिन पाउने कम्पनीले जनाएको छ  ।  स्थानियबासिन्दाको आईपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको आईपीओ मध्ये सन्दकपुर गाउँपालिकाका स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ पाउने निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री र हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको सनराइजले जनाएको छ । कम्पनीले इलाममा ६ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

अब पुनर्बीमामा पनि ब्रोकरः स्वदेशीलाई विदेशी खोजिदिने, विदेशीलाई नेपाली

काठमाडौं । अब पुनर्बीमामा पनि ब्रोकरको व्यवस्था हुने भएको छ । बीमा समितिले पुनर्बीमालाई थप व्यवस्थित र सुरक्षित गराउन ब्रोकर सेवा सम्बन्धी व्यवस्था गर्न लागेको हो । हालसम्म नेपाली बीमा कम्पनीहरुका लागि भारतको जेबी बोडा इन्स्योरेन्स ब्रोकरेजले प्रतिनिधी राखेर ब्रोकर सेवा दिँदै आएको छ । ‘नेपाली बीमा कम्पनीका लागि व्यवसायीक ब्रोकर मार्फत काम गराउने उदेश्यले ब्रोकर सम्बन्धी निर्देशिका तयार पार्दैछौं’, बीमा समितिका नियमन विभागका प्रमुख साम्भराज लामिछानेले विकासन्युजसँग भने । त्यस्ता ब्रोकरहरुले नेपाली बीमा कम्पनीका लागि संसारका राम्रा पुनर्बीमा कम्पनी खोजिदिनेछ भने नेपाल पुनर्बीमा कम्पनीका लागि पनि विदेशी व्यापार खोजिदिनेछ । ‘नेपाली कम्पनीका लागि राम्रा विदेशी पुनर्बीमा कम्पनी खोज्ने र नेपाली कम्पनीमा पनि विदेशी कम्पनीहरुबाट पुनर्बीमा गराउने कामका लागि पुनर्बीमा दलालको व्यवस्था गर्न लागेका हौं’, नियमन विभाग प्रमुख लामिछानेले भने । समितिले पुनर्बीमा दलाल निर्देशिका मार्फत त्यस्तो ब्रोकरहरुको व्यवस्था गर्न लागेको हो । समितिले हाल त्यस्ता रि इन्स्योरेन्स ब्रोकरको चुक्ता पुँजी, सेवा शुल्क, संख्या, कार्यक्षेत्र र नियमनका उपायबारे अध्ययन गरिरहेको छ । पुनर्बीमा ब्रोकरको चुक्ता पुँजी एक करोड राख्नेबारे सहमति नजिक पुगिएको श्रोतले बतायो । बीमालाई जोखिम हस्तान्तरणको व्यवसाय मानिन्छ । एउटा कम्पनीमा गरिएको बीमा वापतको प्रीमीयम दर्जनौं पुनर्बीमा कम्पनीमा बाढिएको हुन्छ र ती कम्पनीहरुले प्राप्त गरेको प्राप्त गरेको प्रीमीयमका आधारमा जोखिम वहन गरिरहेका हुन्छन् । नेपालमा भने हालसम्म एउटा मात्रै पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स मात्रै रहेको छ । पुनर्बीमा ब्रोकरले लाइसेन्स पाएर सेवा आरम्भ गरेपछि नेपाली बीमा कम्पनीहरुले राम्रा पुनर्बीमा कम्पनी पाउने समितिले दावी गरेको छ । हाल विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराएका कम्पनीहरुले दावी भुक्तानी नपाएर हैरानी पाईरहेका छन् । युनाइेटड इन्स्योरेन्स कम्पनीले सिटी स्केपको दावी भुक्तानी लिन सकिरहेको छैन् । पुनर्बीमा ब्रोकर सेवा आरम्भ भएपछि त्यस्ता समस्याहरु नहुने बीमा समितिको दावी छ । आगामी डेढ महिना भित्र पुनर्बीमा ब्रोकरलाई लाइसेन्स दिने गरि बोर्डले काम अघि बढाईरहेको बताएको छ ।

बाढीपीडितलाई राहतका लागि १अर्ब बढीको अख्तियारी

काठमाडौँ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले तराईका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन राहतका लागि १अर्ब ४ करोड ६ लाख ५० हजारको अख्तियारी दिएको छ । बाढीका कारण पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६२६ घरधुरीलाई प्रतिपरिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि  १० हजार वितरण गर्ने गरी प्राधिकरणले उक्त रकम गृह मन्त्रालयलाई अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भुसालले जानकारी दिए । प्राधिकरण अन्र्तगतको बाढी पुनः निर्माण तथा पुनः स्थापना आयोजना प्रमुख डा सुमन कर्णले तराईमा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएकाले तत्काल राहतस्वरुप भोलिदेखि नै प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम वितरणको प्रक्रिया शुरु गरिने बताए । आयोजना प्रमुख डा कर्णका अनुसार बाढीपछिको पुनः स्थापना आवश्यकता आङ्कलन प्रतिवेदनअनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६२६ घरधुरीलाई क्षति भएका घर निर्माणबापत भविष्यमा उपलब्ध गराइने अनुदानमा घटाई हिसाब मिलान गर्ने गरी रकम वितरण गर्न लागिएको हो । राहत वितरणको कामलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल भइरहेको उहाँले बताउनुभयो । रासस