रसुवागढी र सान्जेनको आईपीओ १ महिना पछि धकेलियो, फागुनको पहिलो साता २ अर्ब ५१ करोडको आउने
काठमाडौं । दुई जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अझै १ महिना ढिला हुने भएको छ । कम्पनी रजिष्टार कार्यलयमा कम्पनीको अद्यावधिक गर्नुपर्ने लगायत अन्य प्रक्रियागत ढिलाइले रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओ निष्कासन फागुनको पहिलो साता मात्र हुने भएको हो । यसअघि माघको पहिलो साताभित्र आईपीओ निष्कासन गर्ने तयारी दुबै कम्पनीको थियो । प्रक्रियागत ढिलाइले आईपीओ निष्कासन १ महिना पर सरेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । एकैदिन आब्हानपत्र सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको उनले सुनाए । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा रसुवागढीको सिद्धार्थ क्यापिटल लिमिटेड र सान्जेनको नागरिक लगानी कोष रहेका छन् । दुबै कम्पनीले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानिय निकायका कर्मचारीलाई २ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख ८१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । जसअनुसार रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् । यी दुबै जलविद्युत कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र तेस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेका छन् । यस्तै सिद्धार्थ क्यापिटल, कर्मचारी संचय कोष र नागरिक लगानी कोषले आईपीओ भर्न हितग्राही खाता (डीम्याट एकाउन्ट) र बैंकमा खाता खोल्न अनुरोध गरेका छन् । धितोपत्र बोर्डले सान्जेनलाई मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको हो । सान्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो सान्जेन र रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेका छन् । सान्जेनको १ वर्ष र रसुवागढीको सन् २०१९ मा निर्माण काम सम्पन्न हुनेछ ।
चीनसँगको निर्यात ७८ प्रतिशत बढ्यो
काठमाडौं। गएको पाँच महिनाको अबधिमा चीनसँगको निर्यात ७८.४ प्रतिशत बढेको छ । आर्थिक बर्ष २०७४/७५ को पाँच महिनाको अबधिमा चीनतर्फ एक अर्ब ३२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गएको वर्ष सोही अबधिमा ७४ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । भारतसँगको निर्यात भने ५.५ प्रतिशतले मात्रै बढेको छ । प्रतिशत कम देखिएतापनि सबैभन्दा बढी १७ अर्ब ९५ करोड रुपैयाँको वस्तु गएको पाँच महिनामा भारततर्फ निर्यात भएको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्ने क्रममा नेपाल राष्ट्र बैंकले जनाएको हो । बैंकको अनुसार गएको वर्षको सोेहि अबधिमा भारततर्फ १७ अर्ब मूल्य बराबरको वस्तु निर्यात भएको थियो । बैंक अनुसार कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले बृद्धि भइ ३३ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ । जसमा अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुलकबाहिर १७.१ प्रतिशतले निर्यात वृद्धि भएको बैंकको भनाइ छ । वस्तुगततर्फ पशुआहार, वनस्पती घ्यू, धागो, जिङ्क सिट, तयारी पोशाक लगायत निर्यात बढेको छ । तर जुस, अलँलैची, जिआई पाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरुको भने निर्यात घटेको बैंकको भनाइ छ । त्यस्तै पाँच महिनाको अबधिमा कुल वस्तुको आयात १२.८ प्रतिशतले बढेको छ । बैंकको अनुसार ४ खर्ब ३१ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८.९ प्रतिशतले बढेको थियो । भारतबाट भएको आयातमा १३.२ प्रतिशत, चीनबाट भएको आयात १.४ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ । बढी मात्रामा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, सुन, एमएस विलेट, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ । कृषि औजार तथा पार्टपुर्जा, विद्युतिय सामान, सेनिटरीवेयर्स, खाने तेल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको बैंकको अध्ययनले देखिएको छ । बैंकका अनुसार निर्यातको क्रममा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, बिराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल भन्सार कार्यालय, नेपालगंज भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय लगायतका भन्सार नाकाहरुबाट निर्यातमा वृद्धि भएको छ । केही अन्य नाकाहरूबाट भने निर्यातमा कमी आएको छ । कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढेको छ । बढेर गएको पाँच महिनाको अबधिमा ३ खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । निर्यात र आयातको अनुपात ७.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत रहेको थियो । स्वदेशी उत्पादनको निर्यात मूल्य खट्दा सूचाङ्क पनि घट्यो चालु वर्षको पाँच महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क (यूनिट भ्यालु इण्डेक्स) वार्षिक बिन्दुगत आधारमा ०.४ प्रतिशतले घटेको छ । आयात मूल्य सूचकाङ् बढेर ४.९ प्रतिशत भएको छ । व्यापारको सर्त (ट्रम्स अफ ट्रेड)मा ५.३ प्रतिशतले ह्रास आएकोे छ । अध्ययन अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त १२.६ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकाङ्मा कमी भएको बैंकको भनाइ छ । त्यस्तै पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको छ ।
फस्ट माइक्रो फाइनान्सको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । केही संस्थापकले सेयर बिक्री गर्नका लागि निवेदन दिएपछि फस्ट माइक्रोफाइनान्सले बिक्री खुला गरेको हो । संस्थाभित्रकै संस्थापक सदस्यहरुलाई नै प्रथामिकता दिने र खरिद नगरे वाह्य लगानीकर्तालाई बिक्री गर्न भएको छ ।संस्थाको सेयर प्रतिकित्ता ८१७ रुपैयाँमा कारोबार भएको छ ।
तल्लोअरुण जलविदुयत आयोजनाको काम अघि बढ्यो, वातावरणीय प्रभाव अध्ययन हुदै
काठमाडौं । सरकारले ६७९ मेगावाट क्षमताको तल्लोअरुण जलविदुयत आयोजना निर्माण गर्ने भएको छ । ब्राजिलको ब्रास पावरको अनुमतिपत्र (लाइसेन्स) रद्ध गरेपछि ऊर्जा मन्त्रालयले आयोजनाको काम अघि बढाउन लागेको हो । आयोजनाको संभाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याँङकनको कामका लागि ऊर्जाले जर्मनको फिस्नर जीएमबीएच एन्ड कम्पनी केजी र नेपालको सिल्ट कन्सलट्यान्ट प्रालिलाई जिम्मा दिएको छ । परामर्शदाता कम्पनीले अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) अध्ययनका लागि क्षेत्र निर्धारणको काम थालेका छन् । दुई जिल्लाका २ नगरपालिका र ४ गाउँपालिका बढी प्रभावित हुने भएका छन् । संखुवासभा र भोजपुर जिल्लाका गाउँपालिका र नगरपालिकाहरु प्रभावित हुने भएका छन् । प्रभावित हुने क्षेत्रहरुमा संखुवासभा जिल्लाको मकालु गाउँपालिका, सिलीचोङ गाउँपालिका, चिचीला गाउँपालिका, र खाँदबारी नगरपालिका रहेका छन् । यसैगरी भोजपुर जिल्लाको साल्पासिलीछो गाउँपालिका, र षडानन्द नगरपालिका रहेका छन् । सुचना प्रकाशित भएको १५ दिनभित्र विभागको ठेगानामा लिखित राय तथा सुझाव पठाउन विभागले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । यस्तो बन्नेछ, आयोजना प्रदेश नं. १ को संखुवासभा र भोजपुर जिल्ला भएर बग्ने तल्लो अरुण जलविदुयत आयोजनाको क्षमता ६७९ मेगावाट रहेको छ । यस आयोजनाको ८० मिटर अग्लो बाँध चिचीला गाउँपालिको वडा नं. २ तथा सिलीचोङ गाउँपालिका वडा नं ५ मा रहि, १३ किलोमिटर लामो सुरुङबाट खाँदबारी नगरपालिकामा अवस्थित भुमिगत विदुयत गृह हुदैं टेलरेसको टनेलको माध्मबाट अरुण नदिमा पुनः खसालिने छ । आयोजनाको बाँध रहेको स्थान समुन्द्री सतहदेखी ५३२ मिटर र विदुयतगृह रहेको स्थान समुद्री सतहदेखी ३०५ मिटर उचाईमा रहने छ । आयोजना आर्थिक रुपमा आर्कषक देखिएको प्रारम्भीक अध्ययनले देखाएको छ । सोही आयोजना भन्दा केही माथि भारतको एसजेवियन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाकोको काम सुरु गरेको छ ।
नविल बैंकले सीईओ पाउन अझै ६ महिना कुर्नुपर्ने, सेयर मूल्यमा निरन्तर गिरावट
काठमाडौं । सशिन जोशीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा गरेपछि पछिल्लो समयमा नविल बैंकको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । अनुभवी बैंकर जोशीले बैंक छाडेपछि नविलको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । पछिल्लो १५ दिनको सेयर कारोबार हेर्दा नविलको सेयर मूल्य घट्दै गएको छ । गत साउनमा नविलको सेयर मूल्य १ हजार ७८० रुपैयाँ थियो । लाभांश घोषणापछि मूल्य समायोजन हुदा बैंकको सेयर प्रतिकित्ता १ हजार १८५ रुपैयाँ थियो । पछिल्लो समयमा लगातार घटेर घटेर अहिले १ हजार ३९ रुपैयाँमा झरेको छ । २८ वाणिज्य बैंकहरु मध्ये नविललाई अब्बल बैंकको रुपमा लिइन्छ । सेयर घटेको प्रति लगानीकर्ताको गुनासो आउन थालेको नविलका अध्यक्ष शम्भुप्रसाद पौडेल बताउँछन् । विना कारण पछिल्लो एक सातादेखि सेयरको मूल्यमा निरन्तर गिरावट आएको उनले जानकारी दिए । लगानीकर्ताले सेयर मूल्य घटेको भनेर फोन गरेर गुनासो गर्न थालेको उनले जानकारी दिए । “बैंकको सबै अवस्था राम्रो छ, अहिले घट्नु पर्ने कुनै कारण देखिदैन निरन्तर ओरालो लागि रहेकाले घट्नुको कारण बुझ्न सकिएन” उनले भने । पहिला थोरै किनेर घटाएकोमा अहिले बल्कमा सेयर बेचेर मूल्य घटाउन केही ठुला लगानीकर्ता लागिपरेको उनको विश्लेषण छ । बैंकको कारण नभई केही ठुला लगानीकर्ता नविलको सेयर घटाउन लागि परेको उनको जिकिर छ । मेगा बैंक छाडेका अनिलकेशरी शाह अझै ६ महिना नविल बैंकमा जान नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एउटा बैंकबाट छाडेर अर्को बैंकमा ६ महिनासम्म जान नपाउने (कूलिङ पिरियड) लागु भएकाले शाह तत्काल नविलमा जान नपाउने अवस्था आएको हो । सेन्चुरी कमर्शियल बैंकमा तलब सुविधा कम भएको भन्दै एकतर्फी सम्झौता तोडेर शाहले नविल बैंकमा सीईओ हुने सम्झौता गरेका थिए । सम्झौता गरेको एक दिन अघि कुलिङ पिरियड लागु भएपछि उनले नविलको सीईओ हुन ६ महिना कुर्नुपर्ने अवस्था आएको हो । शाहलाई पनि कुलिङ पिरियड लागु भएको नेपाल राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डित बताउँछन् । विकास न्युजसंग कुरा गर्दै पण्डितले ६ महिनापछि मात्र उनी नविलको सीईओ हुन पाउने बताए ।
सिजीकोे वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ्ग मेसिन बजारमा, १० वर्षको वारेण्टी
काठमाडौं । सिजीले हालै बजारमा फ्रन्टलोड वासिङ्ग मेसिनहरु ल्याएको छ । उक्त मेसिनमा वासर र ड्रायर दुबै विशेषता रहेको छ । वासर र ड्रायर भएको उक्त मेसिनले थोरै समयमा नै लुगाधुने र आफै सुकाईदिने काम गर्दछ । त्यस्तै, यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको छ । यि वासिङ्ग मेसिनहरु बजारमा ८ केजीको क्षमतामा १० वर्षको वारेण्टी मोटरमा सहित उपलब्ध भएको सि.जी.काप्रोडक्ट मेनेजर रितेश चौधरीले बताएका छन् ।
‘आइएमई छक्कापञ्जा’ अफर अन्तर्गत रोकायाले पाए १० लाख रुपैयाँको नगद पुरस्कार
काठमाडौं । ‘आइएमई छक्कापञ्जा’ अफरमा आइएमई सेवाग्राही रमेश रोकायाले १० लाख रुपैयाँको नगद पुरस्कार पाएका छन् । उक्त अफर अन्तर्गत रोकायाले ६० हजार रुपैयाँ पठाउँदा सो रकमको चेक पाएका हुन् । रु. १० लाख नगद पुरस्कार प्राप्त गर्ने आइएमई सेवाग्राही रमेश रोकायाले चेक ग्रहण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।
पर्यापर्यटनबाट ६० लाख आम्दानी, सबैभन्दा बढी जिप सफारीबाट
चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट रु ६० लाख आम्दानी गर्न सफल भएको छ । सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा समेत पाउँदै आएका छन् । आम्दानीको स्रोत हात्ती सफारी, जिप सफारी, डुंगा सयर, मचानलगायत हो । उक्त सामुदायिक वनले एक वर्षमा पर्यापर्यटनबाट ५९ लाख ९६ हजार आम्दानी गरेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिएका छन् । गएको एक वर्षमा जिप सफारीबाट मात्रै वनले रु ३० लाख ५१ हजार आम्दानी गरेको छ । हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जिप सञ्चालनमा छन् । जिपमा बसेर जंगली जनावर गैँडा, बाघ, भालु हात्ती अवलोकन गर्न यहाँ पर्यटक आउँछन् । जिप प्रवेशबापत सामुदायिक वनले प्रतिजिप रु ५०० लिने गरेको छ भने नेपाली पर्यटकलाई प्रति व्यक्ति रु ५०, भारतीयलाई रु १०० र अन्य विदेशीलाई रु २०० लिने गरेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिएका छन् । हात्ती प्रवेश टिकट बिक्रीबाट रु १३ लाख ७५ हजार आम्दानी गरेको वनका अध्यक्ष गुरुङले बताए । डुंगा सवारबाट रु सात लाख ४८ हजार, मचान टिकट बिक्री विदेशीबाट पाँच लाख ३१ हजार रुपैयाँ, सोही शीर्षकमा नेपाली पर्यटकबाट रु ९४ हजार आम्दानी भएको छ । कुमरोज वनमा एउटा काठ र अर्को क्रंकिटको मचान छ । यस्तै आन्तरिक पर्यटक प्रवेश शुल्कबापत रु एक लाख ४५ हजार, गिट्टी बालुवा बिक्रीबाट रु छ लाख तीन हजार आम्दानी भएको छ । आर्थिक प्रतिवेदनअनुसार आव २०७३/७४ मा यस वनले रु ६९ लाख १९ हजार आम्दानी गरेको वनले जनाएको छ । रासस