विकासन्युज

टीसीएलको अर्ध वार्षिक सेल्समीट सम्पन्न

काठमाडौं । टीसीएल तथा गोदरेज ब्राण्डको अर्ध वार्षिक सेल्समीट सम्पन्नभएको छ । बुधबारबाट शुरु भएको सेल्समीट शुक्रबार सम्पन्न भएको हो । सेल्समिटमा गोदरेज तथा टीसीएल ब्राण्डले प्राप्त गरेको उपलब्धी तथा आगामी आर्थिक वर्ष भित्रमा प्राप्त गर्नु पर्ने लक्ष्य छलफल भएको थियो । गोदरेज तथा टीसीएल ब्राण्डको नेपाल स्थित आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रा.ली.तथा सि.जी. इलेक्ट्रोनिक्स रहेको छ ।

नबिल फाउण्डेसनद्धारा न्यानो लुगा वितरण

काठमडौं। नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले मुलुकको बिभिन्न शित लहर प्रभावित भु–भागहरुमा न्यानो लगुगा वितरण गरेको छ । केही दिनदेखि बढ्दो चिसोलाई मध्यनजर गर्दै फाउण्डेसनले बर्दिबास, जनकपुर, लहान, बिरगञ्ज, हरिवन, नेपालगञ्ज तथा टिकापुरमा न्यानो लुगाहरु बितरण गरेको हो । लुगा चिसोको चरम मारमा परेका तथा बाढीले कष्ठकर जीवन बिताइरहेका बृद्ध–बृद्धा, दलित, अपाङ्ग, एकल महिला, असहाय तथा गरिब घरपरिवारहरुमा वितरण गरिएको फाउण्डेसनले जनाएको छ । नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले फाउण्डेसनले सामाजिक उत्तरदयित्वको रुपमा समाजको बिभिन्न क्षेत्रहरुमा समय सापेक्ष योगदान पु¥याउने उद्देश्यले शित लहर प्रभावित क्षेत्रहरुमा न्यानो लुगाहरु बितरण गरेको बताए । फाउण्डेसनले शित लहर प्रभावित क्षेत्रहरुमा बिद्यमान न्यानो लुगा बितरण कार्यक्रमलाई निरन्तर जारी राख्ने जानकारी गराएको छ ।  

आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न २४ खर्ब लगानी आवश्यक

रत्ननगर, चितवन । राष्ट्रिय योजना आयोगले सरकारको ७.२ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ । आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले ३ वर्षमा आर्थिक वृद्धिदर ७.२ पुयाउने लक्ष्य स्थानीय तहको भूमिकामा निर्भर हुने बताएका छन् । आयोगको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा शुक्रबारदेखि शुरु सार्वजनिक निजी साझेदारीसम्बन्धी २ दिने कार्यशाला गोष्ठीमा बोल्दै श्रेष्ठले यसका लागि २४ खर्ब रुपैयाँ बजेटको आवश्यकता रहेको बताए। आवश्यक बजेटमध्ये ३९ प्रतिशत सरकारी क्षेत्रबाट परिचालन हुने भए पनि बाँँकी निजी क्षेत्र आएमात्रै लक्ष्य प्राप्त हुने उहाँको भनाइ छ । ३ वर्षे कार्यक्रमअन्तर्गत नेपालमा १४ परियोजना सञ्चालनमा रहेका उनले जानकारी दिए । यसपटक स्थानीय तहमा मात्रै २ खर्ब २५ अर्ब रुपैयाँ बजेट पठाएको श्रेष्ठले जानकारी दिए। भरतपुर महानगरपालिकामा १ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको भन्दै श्रेष्ठले भने , “अब आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहमा निर्भर हुन्छ ।” नेपाललाई सन् २०३० सम्ममा मध्यमा आय भएको देशका रुपमा विकास गर्ने लक्ष्य रहेकाले सार्वजनिक निजी साझेदारी कार्यक्रम अपरिहार्य रहेको उल्लेख गरे। जनताको चाहनालाई ६० प्रतिशतमात्रै सम्बोधन गर्ने हो भने स्थानीय तहमा १ खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको र अहिले ३० अर्बमात्रै खर्च भइरहेको उनले बताए । कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै स्थिर सरकार बनेपछि योजना कार्यान्वयनतर्फ जाने बताए । उपप्रमुख पार्वती शाहले निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताए। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिले परियोजनाका लागि विश्वास आर्जन प्रमुख चुनौती भएको औँल्याए। रासस

तरलता समस्या समधान गर्न राष्ट्र बैंकले दियो १० अर्ब, बैंकले लिए ४० करोड मात्र

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता कम भएपनि नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँको बजारमा पठाउदा बैंकले ४० करोड रुपैयाँ मात्र लिएका छन् । आधा दर्जन वाणिज्य बैंकमा समस्या आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितोमा राखेर बजारमा थप तरलता प्रवाह गर्न लागेको थियो । एउटा बैंकले ४० करोड रुपैयाँ मात्र उठाएको छ । अधिकाँश बैंकको सीसीडी रेसियो कसिलो भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न विकास ऋणपत्र सोझै खरिद बोलकबोल उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाएको हो । पुस मसान्तमा बैंकिङ प्रणालीमार्फत अर्बौ रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा गएपछि अधिकाँश बैंकको कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी रेसियो) ८९ प्रतिशतको हारहारीमा पुगेको बैंकले बताएका छन् । राष्ट्र बैंकबाट प्राप्त रकम ऋण लगानी गर्न नपाउने भएपछि नलिएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बताए । “अहिलेको समस्या तरलता व्यवस्थापनका लागि हैन, थप ऋण लगानीका लागि भएको हो” ती सीईओले भने “राष्ट्र बैंकबाटथ लिएको रकम ऋण लगानी गर्न नपाउने भएपछि पैसा नलिएको हो ।” अधिकाँश बैंकको सीसीडी रेसियो ७९ प्रतिशत पुगेकाले कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको बताइसकेका छन् । केही बैंकहरुले कर्जा प्रवाह बन्द गरेको जानकारी दिएका छन् । बजारमा लगानीयोग्य पुँजी कम भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ । अन्तरबैंक ब्याजदर नबढेकाले बजारमा ऋण लगानी गर्न पुँजीको अभाव नभएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । “यदी तरलताको अवस्था कसिलो भएको भए अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघने थियो” उनले भने “अन्तर बैंक ब्याजदर स्थिर भएपछि पछिल्लो समयमा राष्ट्र बैंकले रिपो गर्न पाएको छैन् ।” रिपोमार्फत तरलता प्रवाह गर्न नपाएपछि केन्द्रीय बैंकले विकास ऋणपत्र धितोमा राखेर बजारमा पैसा पठाउन थालेको छ । राष्ट्र बैंकका अनुसार बजारमा २६ अर्ब रुपैयाँको हारहारीमा अधिक तरलता रहेको छ । एक साता अघि पनि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै २८ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो ।

सिटिजन्स बैंकद्धारा महोत्तरीमा ४२६ थान कम्बल वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीमा ४२६ थान कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातीका विप्पन निसहाय व्यक्तिहरुलाई सो मात्राको कम्बल वितरण गरेको हो । जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा गौशाला नगरपालिकामा २२४ थान र औरही नगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल वितरण गरेको बैंकले जनाएको छ । बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने (मुसहर ,असक्त , असहाय , बिधवा, साधु, सन्त)हरुलाई कम्बल वितरण गरेको छ । उक्त हस्तान्तरण बैंकको संचालक समितिको सदस्य डा चन्दा कार्कीले गरेकी छन् । बैंकले देखाएको यस अग्रसरताले अत्यन्तै पिछडिएको मानिने मुसहर बस्तीमा न्यानोपन ल्याउन कोशेढुंगा साबित हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी गराएका छन् ।

आइएमई जनरल इन्स्योरेन्सको २४औं शाखा चावहिलमा, पुँजी बढाउन हकप्रद र बोनस दिने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २४औं शाखा चाबहिलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले गरेका छन् । कार्यक्रममा कम्पनीका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । यस शाखा सहित कम्पनीले २४ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३७ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, कम्पनीले थप १७ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने बताएकाे छ । उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान गरी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुयाउने बताएका छन् । त्यस पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ पुग्ने उनले बताए । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरि सकेको बताएका छन् । साथै, कम्पनीले दोश्रो त्रैमासिकसम्म ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको उनले बताए ।

दुई कम्पनीको ५५ लाख कित्ता सेयर सूचिकृत, क-कसको कति?

काठमाडौं । शुक्रबार मात्रै विभिन्न दुई कम्पनीको कुल ५५ लाख ८८ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ओम डेभलपमेन्ट बैंकको गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सूचिकृत मध्ये सूर्या लाइफ इन्स्योरेन्सको ६ लाख ५६ हजार २५० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

गोर्खाज फाइनान्सको अध्यक्षमा प्रेमबहादुर खापुङ्

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा प्रेमबहादुर खापुङ् नियुक्त भएका छन् । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खपुङ्लाई फाइनान्सको अध्यक्षमा नियुक्त गराएको हो । खपुङ्ले नियुक्त भएको दिनदेखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् ।