दुईदिने महिला र कानुन सम्बन्धि तालिम सम्पन्न, उद्यमसिलता र विकासमा अघि बढ्न जोड
काठमाडौं । समान पहुँच नेपालद्धारा आयोजित महिला र कानुन सम्बन्धि दुईदिने सचेतना सम्बन्धि तालिम सम्पन्न भएको छ । नार्गाजुन नगरपालिकाका महिलाहरुका लागी कानुनी सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रममा नार्गाजुन नगरपालिका झण्डै ६० महिला दिदी बहिनीहरुको सहभागीता रहेको थियो । सो कार्यक्रमका अधिवक्ता विष्णु माया भुसाल, रमा श्रेष्ठ लगाएतले विवाहवारी सम्बन्धित कानुनी व्यवस्था र उजुरी तथा सजाय सम्बन्धि कार्यविधी र महिलाको सम्पती सम्बन्धि अधिकार र यसको उजुरी सम्बन्धि कार्यविधीका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एंव प्रतिनिधी सभा सदस्य कृष्णगोपाल श्रेष्ठले महिलाहरु अब घरायसी काममा मात्र सिमित हुन नहुने भन्दै उद्यमसिलता र विकासमा अघि बढ्न सुझाव दिएका छन् । सो अवसरमा सहभागी दिदी बहिनीलाई प्रमाण पत्र उपलब्ध गराइएकोे समान पहुँच नेपालकी महासचिव शान्ता वस्यालले बताए । सो दुई दिनै प्रशिक्षण कार्यक्रमको सहयोगीका रुपमा चन्द्रागिरी नगरपालिका रहेको बताइएको छ ।
गुण्डा नाइके पुन र आले मारिए
बुटवल । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा बुधबार बिहान मारिएका छन् ।रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को विशेष सूचनाका आधारमा देवदह–४ भवानीपुरमा प्रहरीले गरेको सर्च अपरेशनमा मोटरसाइकलमा सवार दुई जनासँग प्रहरीको मुठभेड भएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए। प्रहरीले पुनका साथबाट एउटा पेस्तोल पनि बरामद गरेको छ । प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । पुनलाई गत वर्ष देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेको, गत असोजमा काठमाडौँमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न भएको र गत पुस २२ गते देवदहमा काठ व्यवसायी वसन्त पौडेलको हत्या गराएको आरोप लगाइएको छ । व्यापारीको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएको अभियोग पनि छ । अभियुक्त पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो । सिआइबीले विशेष समूह बनाएर पुनको समूहलाई खोजी गर्दै आएको थियो । रासस
शाश्वत धाममा ल्याइयो श्रीलंकाबाट बुद्धको अस्तु, बुद्धिष्ट सेन्टरमा राखिने
काठमाडौं । सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वतधाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ । उक्त अस्तु शाश्वतधाममा निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिनेछ । शाश्वतधाममा बुद्धिष्ट सेन्टर शिलान्यास समारोहमा सहभागी बौद्ध भिक्षु । शाश्वतधाममा बनाइएको विशेष मण्डपमा राखिएको बुद्ध अस्तुको पुजा गरिदै । बुद्धिष्ट सेन्टर स्थापना हुनु अघि भक्तजनहरूको दर्शनकालागि शाश्वतधाममा विशेष मण्डप तयार गरि अस्तु राखिएको छ । अस्तु दर्शनकालागि अहिले बौद्ध र हिन्दु धर्माबलम्बिहरुको भिड लागेको छ । धाममा राखिएको अस्तुलाई श्रीलंकाबाट आएका भिक्षुहरुको टोलीले विधिपूर्वक दैनिक पुजा अर्चना गरिरहेका छन् । श्रीलंकाको राजधानी कोलम्बो नजिकैको २६ सय बर्ष पुरानो राजमाया बिहारबाट उक्त अस्तु नेपालको शाश्वत धाममा ल्याइएको हो । विश्वभरका बौद्ध धर्मावलम्वीहरूकाबीच उक्त विहार निकै प्रतिष्ठित मानिन्छ । बौद्ध भिक्षु खेम्पो पेमा सम्बा लामाले भगवान बुद्धको अस्तुलाई प्राणीको उद्धार गर्नकालागि साक्षात् भगवान मानिने भएकाले बुद्ध धर्ममा यस्को सबैभन्दा उच्च महत्व रहेको बताए । राजामाया बिहारका जनका ईडिरेसंघेले भगवान बुद्धका अनुयायिहरुले अस्तु (बुद्धको खरानी)रहेको स्थानलाई साक्षात् भगवान बुद्धको स्वरुपका रुपमाश्रद्धा गर्ने बताए । मंगलबार शाश्वतधाम परिसरमा बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको छ । श्रीलंका, लुम्बिनीस्थित श्रीलंका गुम्बा र दाउन्नेमा रहेको बौद्ध गुम्बाका भिक्षुहरुबाट विधिपूर्वक बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको हो । आगामी बैशाख पूर्णिमाका दिन उक्त सेन्टरको उद्घाटन गर्ने लक्ष्य राखिएको छ । बुद्धिष्ट सेन्टर संचालनमा आएपछि भक्तजनहरूले सोही स्थानमा अस्तुको दर्शन गर्न पाउनेछन् । गत शुक्रवार श्रीलंकाबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडाैं ल्याइएको अस्तुलाई एक रात काठमाडाैंको एक चैत्यमा राखी शनिवार शाश्वतधाममा पुर्याइएको हो । भरतपुर बिमानस्थलबाट शाश्वतधाममा अस्तु ल्याइदा बौद्ध परम्परा अनुसार विशेष पुजा अर्चना गरिएको थियो । पुरातत्व बिभागका पुरातत्व बिज्ञ रामबहादुर कुंवरका अनुसार आजभन्दा २५६२ वर्षअघि देह त्याग गरेका भगवान गौतम बुद्धलाई उनका अनुयायीहरु (भिक्षु)ले जलाएका थिए । उनलाई जलाईएपछि बनेको खरानी आ–आफनो चैत्यमा राख्न उनीहरूबीच होडबाजी चलेको थियो । बौद्ध धर्म विज्ञहरूका अनुसार त्यतिबेलाका शासकमध्ये मगतकामौर्य, बैशालीका लिक्ष्छवी, कपिलवस्तुका शाक्य, रामग्रामको कोलीया(हालनवलपरासी सदरमुकामवाट ५ किलोमिटर दक्षिण) कुशिनगरकामल्ल, पावाकामल्ल, बेथडिपका ब्राम्हीन र अलपप्पाकाबुलिजहरुले अस्तु भाग लगाएर बा“डेका थिए । ती ८ वटै स्थानमा निर्माण गरिएका भब्य चैत्यहरू अहिले पनि उत्तिकै प्रख्यात छन् । तत्कालिन सम्राट अशोकले ती ८ पबित्र स्थल (तत्कालिन चैत्य मन्दिर)मा रहेको अस्तुलाई उत्खनन् गरि आफ्ना ८४ हजार भिक्षुहरुलाई बितरण गरेको भनाई छ । त्यतिबेला बितरित अस्तुलाई संसारका ८४ हजारभन्दा बढि स्थलका चैत्यहरूमा राखिएको विज्ञहरू बताउछन् । सनातन धर्मको प्रवर्धनकालागि गत बर्ष उद्घाटन गरिएको शाश्वतधाम एक बर्षको अवधीमै नेपाल र नेपाल बाहिरका भक्तजनहरूकालागि प्रख्यात धार्मिकस्थलका रुपमा स्थापित भएको छ । ११ महिनाको अवधीमा १२ लाख दर्शनार्थीले शाश्वतधामको दर्शन गरेका छन् ।
नेपाल औषधीले सिटामोलको पुनः उत्पादन थाल्यो, १ ट्याब्लेटको १ रुपैयाँमा पाइने
काठमाडौं । सरकार स्वामित्वको नेपाल औषधी लिमिटेडले बुधबारदेखि सिटामोलको पुनः उत्पादन थालेको छ । अन्तर्राष्ट्रिय मापदण्ड लगायतका विभिन्न कारणले २०६६ सालदेखि उद्योगले सिटामोल लगायतको सम्पूर्ण औषधी उत्पादन गर्न बन्द गरेको थियो । बुधबारदेखि परिक्षणका रुपमा उत्पादन सुरु गरी फागुनभित्रै सिटामोललाई बजारमा लैजाने तयारी भएको उद्योगका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदीले बताए । सरकारी उद्योगले सुरु गरेको सिटामोल उत्पादनले औषधीको मूल्य नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कम्पनीले दैनिक ३ लाख २० हजार ट्याबलेट सिटामोल उत्पादन गर्ने सक्ने क्षमताको उपकरण जडान गरेसँगै सिटामोलको उत्पादन थालनी हुने भएको हो । सिटामोलको खुद्रामूल्य प्रति ट्यावलेट १ रुपैयाँ तोकिएको छ । ‘दुई हप्ताअघि नै भारतबाट सिटामोल उत्पादन गर्ने ट्याब्लेट पञ्जिङ मेसिन उद्योगमा ल्याइसकेका छाै,’ उनले भने ‘प्राविधिक टोली नआएको कारण मेसिन सञ्चालनमा ल्याउन सकिएको थिएन ।’ कम्पनीको उत्पादन प्रमुख विजय श्रीरत्न बज्रचार्यले परीक्षण उत्पादनपछि दैनिक एक ब्याज साईजमा सिटामोलको उत्पादन गर्ने बताए । ‘एक ब्याज साईजमा ३ लाख २० हजार ट्याप्लेड सिटामोलको उत्पादन हुन्छ,’ उनले भने ‘साथै आवश्यकता अनुसार उत्पादनको क्षमता बढाउन सकिन्छ ।’ उनले सिटामोलको उत्पादनसँगै बाँकी ८ थरीका ट्याब्लेट औषधीहरु ३ महिनाभित्र उत्पादन सुरु गर्ने बताए । ‘कम्पनीले आवश्यक विभिन्न मेसिनहरु थपिरहेको छ, भवनभित्र पुनःसंरचना गरेका छौं,’ उनले भने ‘कम्पनीले २० लाख ट्याब्लेट उत्पादन गरिसकेपछि मात्रै बजारमा बिक्री गर्ने छौं ।’ उनका अनुसार तीन महिनाभित्र आइरन चक्की, भिटामिन, कोडिन, साल्बुमोल लगायतका खोकी, पिसाब, एलर्जी, ग्यास्टीक जस्ता अत्यावश्यक रोगहरुको औषधिहरु उत्पादन गर्ने भएको छ । २०२९ सालमा स्थापना भएको कम्पनी २०६६ सालमा पूर्ण रुपमा बन्द भएको थियो । यसै वर्ष वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा कम्पनीले जीवन जलको उत्पादन सुरु गर्दै पुनःसञ्चालनमा आएको थियो । कम्पनीले औषधी उत्पादनको लागि विश्व स्वास्थ्य संगठन( डब्ल्युटीओ)ले गरेको कुशल निर्माण विधि (जीएमपी) सुरु गर्नका लागि सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋिण साह्यता गर्ने निर्णय गरेको छ । जसअनुसार हालसम्म पहिलो किस्ता ६ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको कम्पनीको भनाइ छ । जसमा सिटामोल उत्पादन गर्न करिब डेढ करोड रुपैयाँ खर्च भएको छ ।
प्राइम लाइफ इन्स्योरेन्सले फागनु २७ देखि हकप्रद निष्कासन गर्ने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासन बन्द बैशाख २ गते हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ ।
महालक्ष्मी विकास बैंकको बेथरी एक्शटेनसन काउन्टरलाई शाखामा स्तरोन्नति
काठमाडौं । महालक्ष्मी विकास बैंकले रुपन्देही जिल्ला, मायादेवी गाँउपालिका वडा नम्बर ६, बेथरीस्थित एक्शटेनसन काउनटरालाई बुधबारदेखि शाखामा स्तरोन्नति गर्ने भएकोे छ । साथै सोही दिनदेखि कारोबार समेत सञ्चालनमा ल्याइने बताइएको छ । विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी महालक्ष्मी विकास बैंकको रहको दावी गर्दै बैंकले पुस मसान्तसम्ममा २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । जसका २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सुदूरपश्चिमका दुर्गम जिल्लाहरुमा समेत उक्त बैंकले बैैंकिङ पहुँच पुर्याइरहेको जानकारी दिएको छ ।
कल्याणकारी कोषको ताकेता, ७ दिनभित्र विवरण पेस गर्न प्रतिष्ठानलाई अल्टिमेटम
काठमाडौं । राष्ट्रियस्तरको कल्याणकारी कोषले उद्योग प्रतिष्ठानहरुले बोनस रकमको विवरण र बोनस रकम जम्मा नगरेपछि ताकेता सुरु गरेको छ । कोषले बोनस रकमको विवरण नबुझाउने प्रतिस्ठानलाई ७ दिन भित्रमा विवरण बुझाउन अल्टिमेटम दिएको हो । श्रम ऐन २०७४ मा उल्लेख नभएकाले रकम जम्मा गर्नु नपर्ने भन्ने भ्रममा नपर्न प्रतिष्ठानलाई कोषले सचेत समेत गराएको छ । आर्थिक वर्ष सकिनु भन्दा पहिले नै प्रतिस्ठानले रकम जम्मा गर्नु पर्ने हो । तर आर्थिक वर्ष सकिएको ६ महिना सकिसक्दा पनि प्रतिष्ठानले रकम जम्मा नगरेपछि अल्टिमेटम दिनु परेको कोषकी अधिकृत गंगा केसीले बताइन् । बोनस ऐन २०३० अझै क्रियशिल रहेको र बोनस नियामावली २०३९ को नियम १२ अनुसार प्रतिष्ठानले रकम वितरण गरिरहेको केसीले बताइन् । प्रतिष्ठानले वितरण गरेको बोनसको विवरण ७ दिन भित्र सम्बन्धित श्रम कार्यलयमा बुझाउनु पर्नेछ । साथै कोषले बोनस ऐनको दफा १३ अनुसार १ महिना भरिमा बोनस रकम कोषको खातामा जम्मा गर्न आग्रह गरेको छ । कानून बमोजिम रकम जम्मा नगरे कारबाही प्रक्रिया अगाडी बढाउने कोषले जनाएको छ ।
कोकाकोलाको ‘कोक खाम रसिया जाम’ अभियान, ४० जनाले विश्वकप हेर्न पाउने
काठमाडौं । कोकाकोला नेपालले ४० जना नेपालीलाई रसिया विश्वकप प्रत्यक्ष हेर्न लैजाने भएको छ । कोकाकोलाको ‘कोक खाम रसिया जाम’ भन्ने योजना अन्तर्गत ४० जना नेपालीले विश्वकप प्रत्यक्ष हेर्न पाउने भएका हुन् । कोकाकोलाको उपहार योजना अन्तर्गत १२,६०० जना पुरस्कृत हुनेछन् । साथै २४ इन्चको टेलिभिजन समेत उपभोक्ताले जित्ने अवसर रहेको छ । कोकाकोला विगत ४० वर्षदेखि फिफाको आधिकारीक प्रायोजकको रुपमा रहदैं आएको छ । यस योजना अन्तर्गत २०० जना उपभोक्ताले दैनिक आकर्षक उपहार जित्न सक्नेछन् । फिफा लोगो अंकित फिफा वल्र्डकप बिशेष उपहारहरु जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जस्ता बस्तुहरु जित्न सक्ने छन् भने हरेक दिन २ जनाले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन् । ‘विश्वकप सुरु हुन अगाडि ‘कोक खाम रसिया जाम्’ अभियान संचालन गर्न पाएकोमा हामी निकै खुशी छौं । फिफासँग हामीले ४० वर्ष देखि सहकार्य गर्दै आइरहेका छौं । हाम्रा महत्वपूर्ण उपभोक्तालाई हामीले सबैभन्दा ठूलो अवसर सिर्जना गरेका छौं र उहाहरुलाई यो अभियानमा भाग लिन प्रोत्साहन गर्द छौ । कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने । यो योजनामा भाग लिनका लागि कोकाकोला बत्तलको लेवल पछाडि रहेको युनिक कोड टाइप गरी ३७७२२ मा पठाउनु पर्नेछ । योजना फेब्रुवरी १५ देखि सुरु भएर अप्रिल १५ सम्म संचालन हुनेछ । यो अफर ३०० एमएल, ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका कोक, फेन्टा ओरेन्ज, फेन्टा लेमोन, स्प्राइट र कोक जिरोमा लागू हुनेछ । यो क्याम्पेनमा १८ बर्ष पूरा गरेका नेपाली नागरिकले भागलिन पाउने छन् । लक्की ड्रमा राति १२ बजेदेखि बेलुका ७ बजेसम्म आएका एसएमएस समावेश गराइने छ ।