विकासन्युज

ङादि ग्रुप र सिद्धार्थ क्यापिटलबीच हकप्रद सेयर निष्काशन गर्ने सम्झौता

काठमाडौं । श्री ङादि ग्रुप पावर लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच हकप्रद सेयर निष्काशन गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सिद्धार्थ क्यापिटलले ङादि ग्रुपको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण काम गर्नेछ । उक्त सम्झौतापत्रमा ङादि ग्रुपका तर्फबाट अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाई र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । हाल ङादि ग्रुपको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँ रहेको छ । ग्रुपले उक्त पूँजीको १० बराबर ३ को अनुपात अर्थात १६ लाख ०६ हजार ६६४.४० कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गर्दै छ । सो मात्राको हकप्रद सेयर निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई तोकेको हो ।

स्वदेशी उत्पादनमा आत्मनिर्भर बनाउन विशेष आर्थिक क्षेत्र निर्माण तीव्र

सिमरा, बारा । प्रदेश नं २ अन्तर्गत बाराको औराहामा निर्माण हुन लागेको ‘विशेष आर्थिक क्षेत्र’ सेजको निर्माण तीव्र रुपमा अगाडि बढेको छ । स्थानीय तहको निर्वाचनसँगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पश्चात चौतर्फी दबाब सिर्जना भएपछि सेजको निर्माण तीव्ररुपमा अगाडि बढाइएको हो । सेजको लागि छु्याइएको जग्गामा पहिलोचरणमा पर्खाल निर्माण गरिएको छ । अहिले दोस्रोचरणको निर्माण शुरु भएको छ । दोस्रोचरण अन्तर्गत सेजको लागि आवश्यक प्रशासनिक, भवन, बालसंरक्षण भवन, भन्सार, हुलाक भवन तथा चार लेनको चारवटा सडक निर्माण थालिएको छ । सेजभित्र दर्जनौं उद्योग स्थापना हुने भएकाले आम सडकको तुलनामा टिकाउ एवं पूर्ण क्षमताको सडक बनाउन थालेको कर्मचारी दामोदर विडारीले बताए। चार लेनको सडकको मध्य भागमा इँटाको पर्खाल लगाई वृक्षरोपण गरिने उनले बताए । वीरगञ्ज चिनी कारखाना लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गा अधिग्रहण गर्नु अगाडि उक्त क्षेत्रका स्थानीयवासी खनजोत गर्दैआएका थिए । सरकारले सो आयोजना घोषणा गरेको करिब दुई दशक बित्न लाग्दासमेत अहिलेसम्म दोस्रो चरणको काम अगाडि बढ्न सकेको थिएन । चालु आवमा बजेट विनियोजनसँगै काम तीव्र रुपमा अगाडि बढाएकाले तोकिएको समयभित्र काम पूरा हुने सो कार्यमा संलग्न इञ्जिनियर दिनेश न्यौपानेले बताए। पहिलोचरण अन्तर्गत ८३३ बिगाहा क्षेत्रफलमा साना मझौला तथा ठूला गरी १ हजार २ सय उद्योग स्थापना गर्ने लक्ष्य छ । यसवर्ष विशेष आर्थिक क्षेत्र सेजका लागि ८४ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ । वैदेशिक वस्तुको आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनप्रति आत्मनिर्भर बनाउनुको साथै बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्ने उद्देश्यले सरकारले उक्त योजना अगाडि बढाएको हो । रासस

निःशुुल्क लक्कि ड्रका विजेताहरुको नाम घोषणा

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले “निःशुुल्क लक्कि ड्र मा सहभागी हुनुहोस”भन्ने स्किम अन्तर्गत विजेताहरुको नाम घोषणा गरेको छ । कम्पनीले उपत्यकाभित्र रहेको हिरो शो-रुमहरुमा आएका ग्राहकहरुले भरेका सर्भे फर्महरु मध्ये माघ महिनाको विजेताहरुको नाम सार्वजनिक गरेको हो । जस अन्तर्गत दिपक तामाुुुङ्गले बम्पर उपहार स्वरुप ३२ ईन्चको फिलिप्स टीभी, देव गिरीले फिलिप्सको ब्लेन्डर, सन्त गौतमले फिलिप्सको टोस्टर, पुष्पा श्रेष्ठले फिलिप्सको आइरन, सुरेश वोहराले फिलिप्सको हेयर ड्रायर,बच्चुु कुमारले फिलिप्सको दाह्री काट्ने मेशिन साथै सजेन राजकर्णीकार, पेमालामा, हरि काफ्ले, मजिन्द्र डंगोल, सिद्धार्थ वस्नेतले फिलिप्सको हेड फोन पुुुरस्कार जितेका छन् ।

वर्ल्ड मर्चेन्ट बैंकिङ्गको फागुन ११ गतेदेखि ९ दिन बुक क्लोज

काठमाडौं । वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको आगामी फागुन ११ गतेदेखि ९ दिन बुक क्लोज हुने भएको छ । फाइनान्सले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि फागुन १९ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यस संस्था आगामी फागुन १९ गते कम्पनीको १५औँ वार्षिक साधारणसभामा जाँदै छ ।

अर्बौ वक्यौता नबुझाउने ११९ जनाकाे ३ पुस्ते सार्वजनिक, पूर्व प्रधानमन्त्रीदेखि शक्तिशाली सासंद र व्यापारीका सन्तान ताकेतामा

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको  अर्बौ रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यावसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको छ । घरमै चिठी लेखेर पठाउँदा पनि प्रतिक्रिया नआएपछि, महालेखाले बुधबार वक्यौता नतिर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै  ३५ दिन भित्र बाँकी रकम तिर्न अल्टिमेटम दिएको छ ।  महालेखाले सार्वजनिक गरेकाे ११९ जनाकाे विवरणामा राणा प्रधानमन्त्री भीमशम्शेर र पद्मशम्शेरका परिवार पनि रहेका छन् । होटल मल्लका प्रवन्ध निर्देशक महाराज कुमारी रानी मल्लले ८ करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको महालेखाले जनाएको छ । ‘विसं २०४० सालभन्दा अघि घरेलु उद्योग लगायत विभिन्न शिर्षकमा रकम लिएर अहिलेसम्म बुझाउन नआउनेमा निजामति कर्मचारी, ठेकेदार र क्यासिनो र होटल व्यवसायी रहेका छन् । पुरानो रकम भुत्तानी गर्न नआएपछि तीन पुस्ते विवरण जारी गरेका छौं ’ कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यलयका प्रमुख जीवनप्रकाश महोत्राले भने् – “हामीले यसअघि घरमै पत्र काटेर पठाएका थियौ । तर कुनै प्रतिक्रिया आएन, त्यसैले तीन पुस्ते विवरण प्रकाशित गरेका छौ ।” यो २०४० अघिको विषय भएकाले ऋण लैजाने मध्ये कतिपयको मृत्यु समेत भइसकेको छ । महालेखाले व्यक्तिलाई नभेटेपछि मालपोत कार्यलयमा पत्र काटेका छ । यदि सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र पनि बाँकी सरकारी रकम नबुझाए प्रक्रियाबाटै व्यक्तिको नाममा रहेको जग्गा लिलामी गरेर रकम उठाउँने महोत्राले बताए । सबैभन्दा बढी सरकारी वक्यौता तिर्न बाँकी नेपाल रिक्रेशन सेन्टर प्रालि रहेको छ । महालेखाले सेन्टरका प्रवन्ध निर्देशक राकेश वाधवाको ३ पुस्ते विवरण सार्वजनिक गरेको छ । वाधवाको कम्पनी नेपाल रिक्रेशनले ५७ करोड ३४ लाख रुपैयाँ वक्यौता तिर्न बाँकी छ । नतिर्नेहरुमा होटल मल्ल देखि अन्नपुर्ण इन्टरनेश्नल प्राली समेत रहेका छन् । होटल मल्लले ८ करोड रुपैंया तिर्न बाँकी रहेको छ । अन्नपुर्ण प्रालीले करिब १३ करोड ऋण रकम तिर्न बाँकी रहेको छ । टेक्सना रिसोर्स कम्पनीले ११ करोड ७३ लाख, नेपाल रिक्रेसन सेन्टर आरडी टटलले १ करोड ८४ लाख, खुम्बु कन्ट्रक्सन कम्पनीको ४ करोड ३० लाख, ह्यापी हावर प्रालिका सञ्चालक गोकर्ण लामिछानेले ६ करोड १६ लाख रुपैयाँ तिर्न बाँकी छ । महालेखाले वर्षको एक पटक यस्तो सूचना सार्वजनिक गर्दै आएको छ । यसबाट वार्षिक ९० लाख देखि ८० लाखसम्म बक्यौता रकम उठ्दै आएको महालेखाका सहायक सूचना अधिकृत सुर्यमणी गौतमले बताए । महाशाखाले व्यक्तिले बुझाउनु पर्ने सरकारी बाँकी, कम साँवा र सोमा लाग्ने वार्षिक १० प्रतिशतका दरले ब्याज समावेस गरी बुझाउन अनुरोध गरेको छ । महालेखाको अनुसार ऋण नर्तिनेहरुमा २० ठेकेदार, ८७ जना कर्मचारी, सैनिक र १२ वटा होटल तथा क्यासिनो रहेका छन् । यिनीहरुबाट सरकारले अबौं रकम उठाउँन बाँकी रहेको छ । ११९ जनाबाट १ अर्ब १७ कराेड रूपैंया भन्दा बढी असुल गर्नुपर्ने देखिएकाे महालेखाले जनाएकाे छ । यस्तो छ ११९ जनाको तीन पुस्ते विवरण

वीरगञ्ज नाका हुँदै सात महिनामा ४३ अर्बको इन्धन भित्रियो

पर्सा । चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३/७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर रु ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख २४६ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको थियो । गत वर्षको तुलनामा चालू आवमा रु १० अर्ब १५ करोड ३२ लाख मूल्यको एक लाख २३ हजार १५५ किलोलिटर इन्धन र २२ हजार ६९३ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । भारतको रक्सौल, बरौनी डिपोबाट आयात गरिएको पेट्रोलियम पदार्थ र मथुरा, हल्दियालगायत स्थानबाट आयात गरिएको खाना पकाउने ग्यासबाट भन्सार कार्यालयले चालू आवको सात महिनामा रु नौ अर्ब ५९ करोड १२ लाख राजस्व संकलन गरेको छ ।-रासस

रावाबेशी गाँउपालिकामा आँपमा लाग्ने कीरा रोकथाम बिधि अपनाउदै नास्ट

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले खोटाङ जिल्लाको रावाबेशी गाँउपालिकास्थित विभिन्न वडाहरुका आँपमा लागेको किराहरुको रोकथाम विधिका प्रयोग गर्ने तयारी गरिरहेको बताएको छ । नास्ट अन्तर्गत विज्ञान संकायद्वारा उक्त गाउँपालिकामा सञ्चालन गरिएको आँपको कोयामा लाग्ने कीराहरुको रोकथाम विषय सम्बन्धि फागुन पहिलाे हप्ता भएकाे ३ दिने व्यबहारिक तथा सैदान्तिक तालिमको क्रममा नास्टका उपकुलपति प्राडा जिवराज पोखरेलले नास्ट तथा अन्य ठाउँका वैज्ञानिक, विज्ञ, तथा प्राध्यापक मिलेर किराको रोकथाम बिधिलाई प्रयोग गर्ने बताए । त्यसक्रममा किरा सम्बन्धि समस्याको अवलोकन तथा अनुसन्धान हुने उनको भनाइ छ । नास्टका अनुसार कार्यक्रममा स्थानीय गाँउपालिकाका अध्यक्ष लिलानथ निरौलाले कृषि छेत्रको विकासको लागि नास्टलाई सहयोग प्रतिवद्धता गरेका छन् । सो गाँउपालिकामा सय जनाभन्दा बढी संख्याले आँपमा लाग्ने किरा सम्बन्धि तालिम प्राप्त गरेको नास्टले जनाएको छ ।

१ अर्ब ७० करोडको म्यूचल फण्ड बजारमा आउँदै, सबै बिक्री होला ?

काठमाडौं । लगानीकर्ताको आर्कषण घटेका बेला २ बैंकले १ अर्ब ७० करोड रुपैयाँ बराबरको सामूहिक लगानीकोष (म्यूचल फण्ड) निष्कासन गर्न लागेका छन् । ग्लोबल आईएमई बैंकले ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ नेपाल इन्भेष्टमेन्ट बैंकले र एनआईबीएल सहभागिता फण्ड निष्कास गर्न लागेका हुन् । दुई कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले कुल १७ करोड इकाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् । दुबैले निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डले अनुमति दिए पश्चात बजारमा यी दुई कम्पनीले म्यूचल फण्डको बिक्री गर्ने छन् । दुबै बैंकले फण्ड निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको छ । ग्लोबल आइएमई क्यापिटल ब्यालेन्स फण्ड निष्कासन हुन लागेको छ । त्यस्तै, एनआइबिएल सहभागिता फण्डको ५० करोड रुपैयाँ बरारबको ५ करोड इकाई बजारमा आउँदै छ । यस फण्डले पनि बोर्डको अनुमति पाए पश्चात एनआईबिएल क्यापिटल मार्फत सो मात्राको म्यूचल फण्ड जारी गर्ने छ । यसअघि निष्कासन गरिएका म्युचल फण्डको बिक्री राम्रो नभएपछि थप निष्कासन हुन लागेका दुई कम्पनीको फण्ड पनि बिक्री नहुने संभावना देखिएको छ । गत वर्ष निष्कासन भएको ग्लोबल, एनएमबी र नविलको म्युचल फण्डको खुदसम्पत्ति (नेटवर्थ) नै ऋणात्मक भएपछि यसको असर बजारमा परेको हो । निष्कासन भएका म्युचअल फण्डको अवस्था राम्रो नदेखिएपछि यसको असर नयाँ निष्कासन गर्नेलाई परेको सीआईबीएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । “यसअघिका म्युचल फण्डको प्रगति राम्रो भए लगानीकर्तामा सकरात्मक सन्देश जाने थियो” उनले भने “पहिलाको फण्डको खराब नतिजाले नयाँमा लगानीकर्ताको आकर्षण नबढेको हो ।”१ अर्ब रुपैयाँका सिटिजन्स म्युचल फण्ड निष्कासन गर्दा ८५ करोड रुपैयाँ मात्र खरिदका लागि आवेदन परेको उनले सुनाए । उनकाअनुसार अझै १५ करोड रुपैयाँको म्युचल फण्ड बिक्री गर्न बाँकी छ । हालै एनआईसी एसिया बैंकले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्डको पनि बिक्री नभएपछि समय थप गरिएको छ । एनआईसी ग्रोथ फण्ड फागुन १३ गते बन्द गर्ने योजना रहेकाे याेजना व्यवस्थापक एनआईसी क्यापिटल लिमिटेडले जानकारी दिएको छ । म्युचल फण्ड बिक्री नहुनुमा बैंकको महंगो ब्याजदर पनि प्रमुख कारण रहेको एनएमबी क्यापिटल लिमिटेडका सीईओ श्रीजेयस घिमिरे बताउछन् । महंगो ब्याजदरले प्रतिफल नआउने देखेपछि लगानीकर्ताले खरिद नगरेको हुन सक्ने उनको अनुमान छ । “साधारण सेयर (आईपीओ) हकप्रद र एफपीओ आइरहेका बेला एकैपटक २ बैंकको म्युचल फण्ड आउँदा पनि बिक्रीमा असर परेको देखिएको छ” उनले भने “केही समय अघिपछि गरेर ल्याएको भए बिक्री हुने थियो ।” उनले एनएमबीको ३ गुणा आवेदन परेको सुनाए । चालु आर्थिक वर्षमा सिद्धार्थ इक्विटी फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन म्यूचल फण्ड १ ले म्यूचल फण्ड निष्काशन गर्ने बोर्डको अनुमति पाई बिक्री पनि गरिसकेका छन् । बजारमा सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डले बिक्रीमा ल्याएको म्यूचल फण्डको सजिलै बिक्री भएको थियो ।