ज्योति लाइफले एनएमबी क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गर्यो, ६६ करोडको आईपीओ निष्कासन गर्ने
काठमाडौं । ६ महिनाअघि मात्र सञ्चालनमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्नका बिक्री प्रवन्धक नियुक्त गरेको छ । ज्योतिले चुक्तापुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सेयर निष्कासनका लागि ज्योतिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री र एनएमबी क्यापिटलका सीईओ श्रीजेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको प्रथम वार्षिक साधारणसभाले चुक्तापुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरेपछि बिक्री प्रवन्धक नियुक्त गरिएको हो ।
रघुविर र कल्याणीलाई मन्त्री बनाउन दबाव
काठमाडौं । केपी नेतृत्वको सरकार गठन भएसँगै मन्त्री बन्ने दौडधुप पनि सुरु भएको छ । तुलनात्मक रुपमा २ नम्बर प्रदेशमा कमजोर देखिएको एमालेले सोही प्रदेशका लागि २ जनालाई मन्त्री बनाउनुपर्ने आवाज उठेको छ । पार्टी कामलाई चुस्त दुरुस्त बनाउन र विकास निर्माणको काम गर्न पनि २ नम्बर प्रदेशबाट २ जनालाई मन्त्री बनाउन कार्यकर्ताले दबाव दिएका हुन् । बागमति वारी र पारीको सेन्टिमेन्ट समेत मिलाउन धनुषाका रघुविर महासेठ र रौतहटकी कल्याणी खड्कालाई मन्त्री बनाउन लबिङ सुरु भएको हो । महासेठ एमालेका पोलिटब्युरो सदस्य हुन भने खड्का दोश्रो कार्यकाल एमाले केन्द्रिय कमिटीमा छिन् । रघुविरलाई मन्त्री बनाउन दबाव दिनेहरु केपी समक्ष पुगेका छन भने खड्कालाई मन्त्री बनाउन माधव नेपालसम्म दबाव पुगेको छ । महासेठ ओलीका विश्वास पात्र हुन भने खड्का माधव नेपाल समुहकी खास नेतृ हुन् ।
सरकारी संस्थानको खाता बन्द गर्दै राष्ट्र बैंक, बाणिज्य बैंकहरुलाई तत्कालै ११ अर्ब ३३ करोडको राहत
काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभिन्न सरकारी संस्थानहरुले खोलेको खाता बन्द गराउने तयारी सुरु भएको छ । सरकारी संस्थानहरुले राष्ट्र बैंकमा खोलेको खाता बन्द गराएर बाणिज्य बैंकमा स्थानान्तरण गराउने तयारीमा केन्द्रिय बैंक पुगेको हो । मौद्रिक नीतिको मध्यावधी समीक्षाबाटै राष्ट्र बैंकले तरलताको स्थितिमा समेत सुधार हुने आंकलन गर्दै सरकारी संस्थानहरुको खाता बाणिज्य बैंकमा सार्ने निष्कर्ष निकालेको हो । हाल कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, खाद्य संस्थान, नेपाल विद्युत प्राधिकरण लगायतका दर्जनौं सरकारी संस्थानहरुको राष्ट्र बैंकमा चालु खाता छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाका वित्तिय तथ्यांक अनुसार सरकारी संस्थानहरुको ११ अर्ब ३३ करोड ४९ लाख ५० हजार रुपैंयाँ केन्द्रिय बैंकको चालु खातामा रहेको छ । केन्द्रिय बैंकमा खोलिएको चालु खातामा राखिएको रकमलाई सरकारी संस्थानहरुले चालु खर्चका लागि उपयोग गर्दै आएका छन् । केन्द्रिय बैंकको खातामा राखिएको रकमबाट ती निकायहरुले ब्याज पाउँदैनन् । संस्थानहरुले निक्षेपको ब्याज पनि पाउने र बजारमा तरलता अभावको समस्या पनि हट्ने भन्दै राष्ट्र बैंकले सो योजना अघि सारेको सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । केन्द्रिय बैंकको खातामा रहेको पैसालाई संस्थानहरुले मुद्धति निक्षेपको ब्याज बढाउने अस्त्रका रुपमा उपयोग गर्दै आएको आरोप लागिरहेको छ । ‘मुद्धति निक्षेपमा राखिएको पैसा झिकेर केन्द्रिय बैंकमा राख्ने र अर्काे बैंकसँग धेरै ब्याजदरका लागि बार्गेनिङ गरेर ब्याजदर बढाएको आरोप पनि लागेको थियो, त्यसैले पनि अब बाणिज्य बैंकमा राखेर कारोबार गराउनुस् भनेर छलफल अघि बढाएका हौं’, राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख नर बहादुर थापाले विकासन्युजसँग भने । उनले केन्द्रिय बैंकमा चालु खाता खोलेर पैसा राखेका संस्थानहरुसँग छलफल प्रक्रिया अघि बढाईसकेको पनि जानकारी दिए । ‘कानुनी जटिलताले सरकारी कोषको पैसा बाणिज्य बैंकलाई निक्षेपका रुपमा दिन नसकिने देखिएपछि सरकारी संस्थानले चालु खाता खोलेर केन्द्रिय बैंकमा राख्ने गरेको पैसालाई नै बाणिज्य बैंकको खातामा सार्न सकिने निष्कर्षसहित मौद्रिक नीतिको मध्यावधि समिक्षामा उल्लेख गरिएको हो’, राष्ट्र बैंकका सहायक प्रवक्ता पण्डितले भने । लगानी योग्य पुँजीको अभाव बर्षैपिच्चे आउन थालेपछि राष्ट्र बैंकले सरकारी ढुकुटीमा रहेको केहि रकमलाई निक्षेपका रुपमा बाणिज्य बैंकमा पठाउन सकिने बारे अर्थमन्त्रालयसँग मिलेर अध्ययन गरेको थियो । प्रशस्तै कानुनी जटिलता र गलत नजिर समेत बस्ने भन्दै सो योजनाबाट पछि हटेको राष्ट्र बैंकले तरलता समाधानको अस्त्रका रुपमा सरकारी संस्थानको खाता बन्द गराउने विकल्प रोजेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षामा लेखेको छ–‘बैंक तथा वित्तिय संस्था बाहेकका अन्य सरकारी संस्थानहरुले यस बैंसँग बैंकिङ कारोबार गरिरहेको परिप्रेक्ष्यमा त्यस्ता संस्थानहरुले बाणिज्य बैंकहरुमा खाता खोली कारोबार गरेमा बैंकिङ क्षेत्रको तरलताको स्थिति समेत सहज हुने देखिएको सार्वजनिक संस्थानहरुसँग राय प्रतिक्रिया माग गर्ने कार्य भैरहेको छ । यस सम्बन्धमा सम्बन्धित संस्थानहरुको राय प्रतिक्रिया प्राप्त भएपछि आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।’
प्रभु बैंकको भैरहवा शाखा स्थानान्तरण
काठमाडौं । प्रभु बैंकले रुपन्देही जिल्लाको नारायणपथस्थित भैरहवा शाखाको स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखाको साविकको स्थानबाट करिब ३०० मिटर दक्षिणततर्फ स्थानान्तरण गरेको हो । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोककुमार पौडेलले एक समारोहकाबीच स्थानान्तरण गरिएको भैरहवा शाखाको उद्घाटन गरेका हुन् । बैंकले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित शाखा कार्यालय ग्राहकहरुलाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको हो ।
नबिल बैंकले ल्यायो सि-आस्बा सेवा सन्चालनमा
काठमाडौं । नबिल बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सि-आस्बा सेवा सन्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा आनिवार्य रुपमा सि-आस्बासेवा मार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी यो सेवा सन्चालनमा ल्याएको हो । बैंकले ग्राहकलाई समयमै सि-आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले उक्त सेवा सन्चालनमा ल्याएको हो । ग्राहकले अब यस बैंकका सम्पूर्ण शाखाहरुबाट सि-आस्बा कस्टमर रजिस्ट्रेसन नम्बर(सीआरएन) लिईसि-आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आबेदन दिन सक्नेछन् । ग्राहकले उक्त कस्टमर रजिस्ट्रेसन नम्बर लिए पश्चात मेरो शेयरमार्फत आफै अनलाईन आवेदन दिन सक्नेछन् । साथै अनलाईन आवेदन दिन नसक्ने लगनिकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सि-आस्बा फारम भरी आवदेन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी यस प्राणाली मार्फत आवदेन दिन पनि सकिनेछ । बैंकले सि-आस्बा सँगै आबद्द सेवाहरु जस्तैः सि-आस्बा रजिस्ट्रेसन, हितग्राही(डिम्याट) खाता खोल्ने, सि-आस्बा प्राणाली मार्फत धितोपत्रमा लगानी गर्ने तथा मेरो शेयर रजिस्ट्रेसनमा समेत लाग्ने सम्पुर्ण बैंक शुल्क मिनाह गरेको छ ।
धेरै अन्न फलाउन किसानलाई खेतबारीमै ‘पाठशाला’
रुकुम । जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हुदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका छन् । परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दैआएका यहाँका कृषक अहिले खेतबारीमै कृषक पाठशाला सञ्चालन गरी सिक्दै उत्पादन गर्न थालेका छन् । जिल्लामा लागू भएको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत साविकका १४ वटा गाविसका कृषकले परम्परागत र आधुनिक कृषि उत्पादनबारे सिकाइ गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका कृषि विकास अधिकृत राजेश साहले जानकारी दिए । कृषक पाठशालामार्फत उन्नत प्रविधिमा व्यावसायिक कृषि खेतीतर्फ अग्रसर गराउने उद्देश्यका साथ पाठशाला सञ्चालन गरिएको उनको भनाइ छ । पाठशालामा कृषक समूह गठन गरी सहभागी गराउने र पाठशालामार्फत सिकाउने गरिएको छ । जिल्ला भरमा यस वर्ष ३० ठाउँमा पाठशाला सञ्चालन गरिएको छ भने ५०० भन्दा बढी किसानले उन्नत कृषि प्रविधिका बारेमा खेतबारीमै जानाकरी पाएको शाहले बर्ताए ।-रासस
सेयर बजार घट्दा लगानीकर्ता ओम डेभलपमेन्ट बैंकमा झुम्मिए, यस्तो छ कारण
काठमाडौं । सेयर बजार घटेका बेला बुधबार लगानीकर्ता ओम डेभलपमेन्ट बैंकमा झुम्मिएका छन् ।बुधबार ओम डेभलपमेन्टको प्रतिकित्ता २२९ रुपैयाँमा ३ करोड ५४ लाख ६४ हजार रुपैयाँ बराबरको १ लाख ५६ हजार ८२४ कित्ता सेयर किनबेच भएको छ । ओमको सेयर प्रतिकित्ता २२७ देखि २३० रुपैयाँसम्म कारोबार भएको छ । ओम डेभलपमेन्टले साधारणसभामा जाने प्रयोजनको लागि आगामी फागुन १४ गतेदेखि २५ गतेसम्म ११ दिन बुक क्लोजको घोषणा गरेपछि लाभांश पाउने आशमा लगानीकर्ता ओमको सेयर किनेका हुन् । ओमको ११औँ वार्षिक साधारणसभा फागुन २५ गते हुदैछ ।सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७.६९ प्रतिशत अर्थात ३७ करोड ८१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । ओमपछि राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयर किनबेच भएको छ । बुधबार बीमा कम्पनीको प्रतिकित्ता १२ हजार ७७५ रुपैयाँमा ३ करोड १० लाख ३१ हजार रुपैयाँ बराबरको २ हजार ४६२ कित्ता संस्थापक सेयर कारोबार भएको छ । बुधबार सेयर बजार ९.६४ अंक घटेर १ हजार ३८७ अंकमा झरेको छ । बजार घटेपछि यसको असर कारोबार रकमा पनि परेको छ । बुधबार २८ करोड ५५ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार सेयर कारोबार १२ करोड रुपैयाँ घटेको छ । बुधबार सबै परिसूचकको सेयर घटेको छ ।
सेञ्चुरी बैंकको थप ५ वटा शाखा विस्तार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ५ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले खोटाङ्ग जिल्लाको लामिडांडा गाउंपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउंपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा गरी साे मात्राकाे शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । यी सबै शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट शुभारम्भ गरेका हुन् । उक्त ५ शाखा सहित बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।