उपत्यकावासी खान्छन् दैनिक ७ सय राँगा/भैंसी, आधुनिक बधशाला निर्माण कहाँ पुग्यो ?
काठमाडौं । काठमाडौं उपत्यकाका बासिन्दाले दैनिक ७ सय राँगा र भैसी, २ हजार खसी बोका र २ लाख किलो कुखुराको मासु खाने गरेका छन् । तर यती ठुलो मात्रामा मासुको उपभोग हुने शहरमा अझै पनि व्यवस्थित बध स्थल निर्माण भएको छैन र निकट भविष्यमा बन्ने सम्भावना पनि देखिन्न । काठमाडौं महानगरले उपत्यकाबाट पशु बधशाला हटाउने तयारी गरेको छ । तर अझै काम भने अघि बढाउन सकिरहेको छैन् । हाल सञ्चालनमा रहेका कुनै पनि बधस्थलले कानुनी मान्यता पाएको छैन् । सैंयौको संख्यामा रहेका बधस्थलहरुले राजधानीवासीलाई फोहर मासु त ख्वाईरहेकै छन् साथमा सिंगो वातावरणलाई पनि दुषित र दुर्गन्धित बनाईरहेका छन् । मासु जाँच ऐन २०५५ आए पनि यसको कार्यान्वयन फितलो भएको पशु सेवा विभागकी सूचना अधिकृत गौरीदेवी थापाले बताइन् । सो ऐनमा धुलो नपर्ने आधुनिक संरचना , फोहोर व्यवस्थापनको राम्रो व्यवस्था, बध गर्ने प्रकृया पशु मैत्री, मृत जनावरको रगत निखार्न झुन्डयाउने व्यवस्था, मासुका भागहरु हड्डीबाट राम्ररी निकाल्ने व्यवस्था सम्बन्धी उल्लेख गरिएको छ । बधशाला सञ्चालन गर्नको लागि पशुपंक्षी बध गर्नु अघि र बध गरी सकेपछिको मासुको जाँच गर्ने व्यवस्था, प्रारम्भिक वातावरणीय प्रभाव हुनुपर्ने, घरेलु उद्योग र स्थानीय निकायसंग स्वीकृति लिएको हुनुपर्ने स्पष्ट व्यवस्था रहेको छ । तर उपत्यकामा सञ्चालित बधस्थलले यस एेनको खिल्ली उडाएको अधिकृत थापले बताइन् । राजधानीमा सञ्चालित बधस्थलहरु मापदण्ड विपरीत रहेका छन् । यसले उपत्यकालाई थप प्रदुषित पारिरहेको छ भने उपभोक्ताहरु स्वच्छ मासु खान पाउने अधिकारबाट पनि बञ्चित भैरहेका छन् । काठमाडौँ महानगरपालिकाले सबेै बधस्थलहरुलाई उपत्यका भन्दा बाहिर लैजाने तयारी गरेको छ । नयाँ बन्ने बधशाला पुर्ण रुपमा आधुनिक र मापदण्ड अनुसार बन्न नसकेको पशु चिकित्सक योगेन्द्र प्रसाद शर्माले बताए । नयाँ बन्ने बधशाला धादिङमा बनाउने तयारी भैरहेको बताइएको छ । हरेक नगरपलिकामा स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार पशु वधशालाका निर्माण गर्नुपर्ने व्यवस्था छ । उपत्यकाका बधशालाले दैनिक ६० टन फोहोर मैला उत्पादन गर्दै आएको छ ।
धितोविना ऋण पाउने युवा उद्यम कार्यक्रममा प्रस्ताव बुझाउनु भएको छ ? १५ दिनमै पाउनु हुन्छ ५ लाख
काठमाडौं । चालु आर्थिक वर्ष १६५ निर्वाचन क्षेत्रमा विना धितो सरकारी ऋण पाएका युवा उद्यमीको व्यवसाय चैतदेखि सञ्चालनमा आउने भएको छ । युवा तथा खेलुकुद मन्त्रालय राष्ट्रिय युवा परिषदले गएको मङ्सिरमा मुलुकभरका १६५ निर्वाचन क्षेत्रबाट उद्यम खोल्न इच्छुक युवा समूह÷संस्थाहरुसँग प्रस्ताव माग गरेको थियो । निर्वाचन क्षेत्रहरुबाट माग गरिएको निवेदनसहितको प्रस्तावना फाइलहरु धमाधम राष्ट्रिय युवा परिषदमा आइरहेको छ । ‘आगामी एक हप्ताभित्र सम्पूर्ण फाइल केन्द्रमा आइपुग्ने छ,’ परिषदका प्रसासकीय प्रमुख मुक्तिसिंह ठकुरीले भने ‘बाँकी १५ दिनको अबधिमा उद्योगहरु छनौंट भइसक्नेछ ।’ उनका अनुसार चैतभित्र छनौटमा परेका सम्पूर्ण उद्यमहरुसँग सम्झौता गरिसकिनेछ । सम्झौता भए लगत्तै ती उद्योगहरु सञ्चालनमा आउन सुरु हुनेछन् । सम्झौता गरिएको उद्यमहरुलाई परिषदले वित्तीय संस्थाहरुमार्फत रकम उपलब्ध गराउनेछ । उद्योगीलाई उद्यमप्रति अपनत्व जगाउने उद्देश्यले आफ्नै उद्यमको खातामा १ लाख रुपैयाँ जम्मा गर्न पर्ने र सोको भौचर समेत सम्बन्धित निकायलाई पेश गर्नुपर्ने परिषदले बताएको छ । परिषदका अनुसार उक्त कार्यक्रमको लागि चालु आर्थिक वर्षमा ८ करोड ९१ लाख रुपैयाँ बजेट सरकारले छुट्याएको छ । मुलुकभरको सम्पूर्ण जिल्लाका युवा समितिको कार्यालयबाट उद्यमीहरुले निवेदन तथा प्रस्ताव पेश गरेका छन् । ती कार्यालयमा घरेलु उद्योग, महिला उद्योग लगायतसँग सम्बन्धित प्राविधिक समितिहरुले आएका प्रस्तावमध्येबाट तीनवटालाई सिफारिस गरी केन्द्रमा पठाउने प्रक्रिया अघि बढेको छ । केन्द्रमा आएको प्रस्तावलाई सम्बन्धित मन्त्रालय संघ संस्था तथा सरोकारवाला निकायहरु रहेको विशेषज्ञहरुको सिफारिस समिति र राष्ट्रिय कार्यकारी समितिमा पेश गरिन्छ । त्यहाँबाट ती तीनमध्येबाट पनि एक उद्यमको प्रस्तावलाई छनौट गरी ऋण उपलब्ध गराइने प्रशासकीय प्रमुख ठककुरीले जानकारी दिए । ‘छनौट भएका उद्यम÷उद्यमीहरुलाई सरकारले आवश्यक तालिम दिने व्यवस्था गरिसकिएको छ,’ उनले भने । उनका अनुसार चैतदेखि छनौट भएका उद्योगहरुलाई बिना ब्याज, बिना धितो प्रत्येकलाई ५ लाख रुपैयाँको दरले रकम उपलब्ध गराइनेछ । उद्योगको प्रकृति अनुसार एक अथवा दुई किस्तामा ऋिण उपलब्ध गराइनेछ । कम्तीमा पनि ऋण उपलब्ध भएको एक वर्षभित्रमा उद्योगहरु सञ्चालनमा आइसक्नु पर्ने प्रावधान छ । छनौटको लागि उद्योगका सर्त उद्योग छनौट हुनका लागि सरकारले केही निश्चित शर्तहरु राखेका छन् । जसअनुसार उद्योग खोल्नका लागि जम्मा ५ देखि १० जनासम्मका युवा उद्यमीहरुको समूह तथा संस्था रहनुपर्ने छ । जसमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ । समूहका उद्यमीहरुको उमेर १६ देखि ४० वर्षसम्मको हुनुपर्ने छ । उद्यमीले आधारभूत तह (कक्षा–८) उत्तीर्ण गर्नु पर्ने हुन्छ । परिषदका प्रसासकीय प्रमुख ठकुरीले कृषि तथा पशुपन्छी, वन तथा जडिबुटी, सूचना प्रविधि तथा सञ्चार, पर्यटन, निर्माण, कला संस्किृति लगायत स्थानिय स्रोत साधन परिचालन गरी संञ्चलन गर्न सकिने उघमहरु सञ्चालन हुने बताए । ऋण प्रदान गरिएको उद्यमले किस्ता अन्तर्गत दोस्रो वर्षदेखि ऋिण बुझाउदै जानुपर्ने हुन्छ । जसअनुसार दोस्रो वर्ष १० प्रतिशत, तेस्रो वर्ष २०, चौथो वर्ष ३० र पाँचौ वर्ष ४० प्रतिशत गरी सम्पूर्ण ऋिण चुक्ता गर्नुपर्नेछ । सो संकलित रकमलाई परिषदले घुम्ती कोषमा जम्मा गरी फेरी युवाहरुकै लागि लगानी गर्ने उनको भनाइ छ । सरकारले स्वदेशमै स्वरोजगार तथा उद्यमशीलताको विकास गरी विदेश पलायन भइरहेका युवाहरुलाई रोक्ने उद्देश्यले गएको वर्षदेखि उक्त कार्यक्रम सञ्चलन भएको हो । गएको वर्ष २४० निर्वाचन क्षेत्रमा उक्त युवा उद्यम कार्यक्रम सञ्चालन गर्ने भनिएता पनि २३३ स्थानमा मात्र सञ्चालनमा आएको थियो । धनुषा जिल्लामा कार्यक्रम सञ्चलन हुन सकेन । तीमध्ये हाल १५८ ओटा युवा उद्यमहरु सक्रिय सञ्चालन रहेको परिषदको दावी छ । गएको वर्षको कार्यक्रममा १२ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । निर्वाचन क्षेत्र घटेसँगै हाल कार्यक्रम तथा बजेट पनि घटेको परिषदको भनाइ छ ।
व्यवस्थापन संकायकाे परीक्षाफल प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले परिक्षाफल प्रकाशित गरेको छ । त्रिवीले २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालन गरेको व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो। परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार उक्त परीक्षाको परीक्षाफल वेबसाइटमा गई हेर्न सकिन्छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ ।
एनसीसी बैंकको संस्थापक सेयर १७० मा पनि बिक्री भएन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा रहको संस्थापक (प्रमोटर) सेयर बिक्री भएन् । संस्थापक सेयर बिक्रीका लागि मंगलबारसम्म म्याद थप गर्दा जम्मा ५ हजार ६ सय कित्ताका लागि मात्र आवेदन परेको छ । नेपाल इन्स्योरेन्सले एनसीसीमा रहेको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्युनतम मूल्य राखेर लिलामी गर्न लागेको हो । प्रतिकित्ता २५१ रुपैयाँसम्ममा किन्नका लागि आवेदन परेको बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । नेपाल इन्स्योरेन्सको निर्णय पर्खेको एनआईबीएलले जनाएको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २८ गतेसम्म पर्याप्त आवेदन नपरेपछि नेपाल इन्स्योरेन्सले फागुन ८ गतेसम्मलाई म्याद थप गरेको हो । सेयर खरिद गर्नेले बैंकले यसअघि घोषणा गरेको हकप्रद सेयर र अघिल्ला आर्थिक बर्षहरुको नाफाबाट दिने बोनस सेयर समेत पाउने व्यवस्था गर्दा पनि संस्थापक सेयर बिक्री भएन । प्रतिकित्ता न्युनतम १७० रुपैयाँ राखेर बोलपत्र आब्हान गर्दा पनि बिक्री नभएपछि एनबी समूहको २१० रुपैयाँको संस्थापक सेयर पनि बिक्री नहुने संभावना देखिएको छ । एनबीको संस्थापक सेयर नेपाल इन्स्योरेन्सको भन्दा ४० रुपैयाँ महंगो छ । एनबी समूहले न्युनतम मूल्य २१० रुपैयाँ राखेर ७० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको भोलिपल्ट नेपाल इन्स्योरेन्सले पनि कम मूल्यमा बैंकमा रहेको संस्थापक सेयर लिलामी गर्ने सूचना प्रकाशित गरेको थियो ।
पोखरा र चितवनमा टिभिएसकोे पहिलो जुपिटर क्लासिक सार्वजनिक
काठमाडौं । नेपालको लागि टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको पहिलो जुपिटर क्लासिक पोखरा र चितवनमा सार्वजनिक गर्ने भएको छ । नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली युवाहरुमाझ स्थापित भइसकेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी दुई जना बस्न मिल्ने सिट लगायतका सुबिधाहरु राखिएको छ । सडकमा आर्कषक देखिने उक्त टिभिएस जुपिटरले चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने कम्पनीको दावी छ । उक्त टिभिएस जुपिटर क्लासिक पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाटमा उपलब्ध हुनेछ । जसकारण सुपेरियर एक्सीलेरेशन, फियुल इफिसेन्सी तथा उच्चतम शक्ति प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा स्कुटरको इन्धन बचतमा सहयोग पुग्नेछ । क्षेत्रीय शुभारम्भ कार्यक्रमको उद्घाटनमा जुपिटर क्लासिकको ब्राण्ड एम्बेस्डर आयुष्मान जोशी, प्रियंका कार्कीले र नेपाल आइडलका लोकप्रिय प्रतिस्पर्धी मध्येका एक सुरज थापाकाले संयुक्त रुपमा गरेको बताइएको छ ।
ललितपुरको बागडोलमा टाटा मोटर्सले खोल्यो नयाँ सर्भिस सेन्टर
काठमाडौं । टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकवर्गसँग अझ बढि नजिकिने प्रयासको रुपमा २५औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा स्थापना गरेको छ । बागडोलमा अवस्थित नयाँ सर्भिस सेन्टरबाट ग्राहकले हप्तामा ६ दिन बिहान ७ बजे देखि साँझ साढे ५ बजेसम्म सेवा प्राप्त गर्न सक्नेछ । कम्पनीको अनुसार उक्त सर्भिस सेन्टर ७ हजार ७५० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । ग्राहक वर्गको आवश्यकता अनुसार सर्भिस सेन्टरबाट सुक्ष्म रुपमा बिक्रीपछिको सेवा पूर्ण रुपले उपलब्ध गराइनेछ । उक्त सर्भिस सेन्टर उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका ग्राहक सेवा प्रमुख सचिन सहानीले गाडीको व्यापारमा सेवा एकदमै महत्वपूर्ण तथा शक्तिशाली हुने बताए । ‘त्यसलाई ध्यानमा गरेर हामीले कम्पनीलेप्रदान गर्दै आएको उत्कृष्ट सेवाले नेपाली ग्राहकवर्गको मन जित्न सफल भएका छौं,’ उनले भने ‘ हाम्रो ब्राण्डलाई विश्वास गरिदिनु भएकोमा ग्राहकवर्ग तथा हाम्रो सहकर्मी सिप्रदी टे«डिङ प्रालिप्रति आभार प्रकट गर्न चाहन्छौंं ।’ ग्राहकवर्गको रोजाई र नयाँ सेवा सुविधासहित बिक्रीपछिको सेवालाई महत्व दिएको कारणले बढ्दो उत्पादनले उत्कृष्टताको साथै जोखिम कम गर्न सहयोग पुगेको उनको भनाइ छ । सोही समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्मानित ब्राण्ड टाटा मोटर्ससँग हातमा हात मिलाएर अघि बढ्न पाएकोमा खुसी व्यक्त गरे ।
शुक्रबारदेखि संघीय नेपालमा गुणस्तरीय शिक्षा विषयक अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौं । शुक्रबार र शनिबार राजधानीमा संघीय नेपलामा गुणस्तरीय शिक्षा विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त सम्मेलन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानको आयोजना हुन लागेको हो । हिसानले बुधबार पत्रकार सम्मेलन गरी उक्त शैक्षिक सम्मेलनको बारेमा जानकरी दिएका थिए । आयोजकको अनुसार सम्मेलनमा बेलायत, चीन, क्यानडा, थाईल्याण्ड लगायत विश्वका विभिन्न विश्वविद्यालयका प्राज्ञहरु सहभागि हुनेछन् । त्यस्तै नेपालका ९ वटै विश्वविद्यालयका पदाधिकारी, शिक्षाविद लगायतले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने छन् । आयोजकको अनुसार शिक्षा प्रणालीलाई संघीय संरचना अनुसार अघि बढाउन, समयानुकूल सुधार र परिमार्जन गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने छ । सम्मेलन नेपालको लागि कोशेढुङ्गा सावित हुने आयोजकको दावी छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सरकारले ४ संस्थानलाई दियो २ अर्ब १ करोड ऋण, सबैभन्दा बढी साना किसान विकास बैंकलाई
काठमाडौं । सरकारले विभिन्न ४ सार्वजनिक संस्थानलाई २ अर्ब रुपैयाँ भन्दा बढी ऋण दिएको छ । गोरखकाली रवर उद्योग लिमिटेड, साना किसान विकास बैक, नेपाल विद्युत प्राधिकरण र जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई गरी २ अर्ब १ करोड १६ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । जसअनुसार गोरखकालीलाई २ करोड, साना किसानलाई १ अर्ब, विद्युत प्राधिकरणलाई ९२ करोड १६ लाख र जनक शिक्षालाई ७ करोड रुपैयाँ ऋण तमसुक गरेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै बिउविजन कार्यक्रमका लागि साना किसानलाई ८० करोड र प्रसारणलाइन पुर्वाधार निर्माण र वितरण क्षमता बढाउन विद्युत प्राधिकरणलाई १५ अर्ब रुपैयाँका लागि सहायक ऋण सम्झौता भएको छ । अर्थकाअनुसार यी दुई संस्थाका लागि १५ अर्ब ८० करोड रुपैयाँ ऋण सम्झौता भएको हो । विद्युत प्राधिकरणको प्रसारणलाइन पुर्वाधारका लागि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनबाट प्राप्त हुने साढे ५१ अर्ब रुपैयाँबाट प्रदान गर्न लागेको हो । अर्थ मन्त्रालयले २७ प्रतिशत वेरुजु रकम फच्छौट गरेको छ । चालु आर्थिक वर्षको प्रारम्भमा अर्थको कुल बेरूजु रकम ४३ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा ११ अर्ब ९२ करोड रुपैयाँ फच्छौट भएको छ । वेरुजु फच्छौटमा २७ प्रतिशत प्रगति हासिल भएको अर्थले जानकारी दिएको छ ।