८ अण्डरराइटरले बुटबल पावर कम्पनीको ५० करोडको एफपीओ किन्नु पर्ने
काठमाडौं । प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ५० करोड रुपैयाँ भन्दा बढीको थप निष्कासन (एफपीओ) किन्नु पर्ने भएको छ । फपीओ बिक्री खुला ३ दिनमात्र बाँकी रहदा अझै ५४ करोड रुपैयाँ बढीको बिक्री हुँन बाँकी भएपछि बाँकी हुने एफपीओ अण्डरराइटरले सकार्नुपर्ने अवस्था देखिएको हो । यद्यपी ३ दिन समय बाँकी रहेकाले सबै बिक्री हुने संभावना पनि छ । हालसम्म बीपीसीको १ अर्ब ५० करोड रुपैयाँको एफपीओ बिक्री भएको बीपीसी वित्त विभागका भाइस प्रसिडेन्ट राधेश्याम श्रेष्ठले जानकारी दिए । उनकाअनुसार अझै ५४ करोड रुपैयाँको बिक्री हुन बाँकी छ । निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले मंगलबार बैंकिङ समयसम्म मात्र एफपीओका लागि आवेदन दिन सक्ने जानकारी दिएको छ । बिक्री नभएको एफपीओ एनएमबीलगायत लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, ग्लोबल आईएमई सम्मुनत योजना १, नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नविल ब्यालेन्स फण्ड १ र नविल इक्विटी फण्ड गरी ८ संस्थाले खरिद गर्नुपर्ने छ । बीपीसीले प्रिमियम मूल्य ४०१ रुपैयाँ थप गरी प्रतिकित्ता ५०१ रुपैयाँमा गत माघ १५ गतेदेखि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो ।सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले संगठित संस्थालाई एफपीओ बिक्री खुला गरेको थियो । संगठित संस्थाले पनि बीपीसीको एफपीओ खरिद गरेनन् । सबैमा १० कित्ताको मनोवैज्ञानिक असर देखिएको एनएमबीले जनाएको छ । झण्डै ८५ हजार भन्दा बढी आवेदन परेपनि १० कित्ता मात्र पर्ने मनोवैज्ञानिक प्रभावले पर्याप्त बिक्री नभएको एनएमबीको भनाई छ । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।चालु आर्थिक वर्षको ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ ।
एशियन लाइफको हकप्रद बिक्री खुला, चैत १८ गते बन्द हुने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आइतबारदेखि बिक्री खुला भएको छ । एशियनले चुक्तापुँजी बढाउन ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन बन्द चैत १८ गते हुनेछ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ ।चालु आर्थिक वर्षको असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्ता पुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था नियामक बीमा समितिले गरेको छ । कम्पनीको चुक्ता पुँजी हाल ८० करोड ५५ लाख रुपैयाँ छ । कम्पनीले आउदो ३ वर्षमा नाफा ३ सय प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरेको छ । ०६४ चैत २१ गतेदेखि जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले आउदो आर्थिक वर्ष ०७६÷०७७ मा नाफा झण्डै ३ सय प्रतिशत बढाएर २६ करोड ६२ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा एशियनले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ३ वर्षमा कम्पनीले नाफा झण्डै १६ करोड रुपैयाँ बढाउने प्रक्षेपण गरेको छ ।
एनआईसी एसिया ग्रोथ फण्डको बिक्री आजसम्म मात्र
काठमाडौं । एनआईसी एसिया बैंकले निष्कासन गरेका एनआईसी एसिया ग्रोथ फण्ड आज आइतबारदेखि बन्द हुने भएको छ । एनआईसी क्यापिटल लिमिटेडले निष्कासन ग्रोथ फण्डको बिक्री आइतबार बैंकिङ समयपछि बन्द हुने जानकारी दिएको छ । आजसम्म मात्र आवेदन लिने उसले जनाएको छ । एनआईसी क्यापिटलले प्रति एकाई १० रुपैयाँका दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाई निष्कासन गरेको हो । ग्रोथ फण्ड माघ २ गतेदेखि निष्कासन भएको हो । ग्रोथ फण्डको निष्कासन छिटो बन्द हुने मिति माघ ८ र ढिलोमा माघ २१ गतेसम्म तोकिएको थियो । पुरै बिक्री नभएपछि समय थप गरिएको छ । ग्रोथ फण्ड कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत अर्थात १ करोड ५० लाख कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी ८ करोड ५० लाख एकाई बिक्रीका लागि खुला गरिएको छ ।
बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन
बिबिसी । बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ। ५४ वर्षीया श्रीदेवी दुबाईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बेला हृदयघात भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्। पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवीको नाम आउँछ। उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो। बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन् । बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्। दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरिन्। सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिवूडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो। उनलाई ‘लेडी अमिताभ बच्चन’ पनि भन्ने गरिन्थ्यो । सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिनन्।सन् २०१२ मा उनले इंग्लिश-विंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रह्यो। सन् २०१७ मा मम नामक उनको चलचित्र आएको थियो, जसमा उनले लामो भूमिका निर्वाह गरेकी थिइन्।
प्रदेश ६ को नामाकरण कर्णाली र राजधानी वीरेन्द्रनगर
काठमाडौं । संघीय संरचनाअनुसार प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश नामाकरण गरिएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई तोकिएको छ । प्रदेशसभाको शनिबार बसेको बैठकले प्रदेशको नामाकारण कर्णाली र राजधानी वीरेन्द्रनगरलाई बनाउने निर्णय अध्याधिक मतले पारित गरेको छ । सबैभन्दा पहिला नामाकारण र राजधानी तोक्ने प्रदेश नम्बर छ भएको छ । बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेत सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखेका थिए । प्रदेशसभा दलहरुको सहमतिका आधारमा कँडेल र शाहीले कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको थियो । ४० सदस्यीय प्रदेशसभामा ३९ सांसद छन् । प्रस्तावको पक्षमा ३६ मत परेको छ भने विपक्षमा एक मत मात्र खसेको छ ।
कामदारले चाहे तुरुन्तै छाड्न सक्ने उद्योगले निकाल्न किन नपाउने ?
काठमाडौं । व्यवसायी उपेन्द्र महत्तोले नेपाली उद्योगमा कामदारको समस्या रहेको बताएका छन् । कामदारले चाहने बित्तीकै छाड्न सक्ने तर उद्योगले चाहेको बेला कामदार निकाल्न नसक्ने असमान व्यवस्था रहेको बताएका हुन् । ग्लोकलले आयोजना गरेको सीइयो अनप्लगड २०१८ मा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब युवा वर्गहरुले नेपालमै उद्यमशिलताको विकास गर्नु पर्ने बताए । उनले नेपाल नेपाल व्यवसाय गर्न विश्वकै उत्तम स्थल रहेको बताउँदै अध्ययनको नाममा युवाहरु बाहिरिनु नहुनेमा जोड दिए । स्कील टु ग्रो फर लाइफ भन्ने मुल नारा रहेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
चीन र भारत जोड्न सात अन्तरदेशीय प्रसारणलाइन
काठमाडौँ । सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ । सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी केरुङ अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । पूर्वको किमाथांकाबाट चीन जोड्ने प्रसारण लाइन निर्माणका लागि अध्ययनको प्रक्रिया अगाडि बढाइएको छ । चीनतर्फ निर्माण हुने प्रसारण लाइनको क्षमता ४०० केभीको हुनेछ । यस्तै दक्षिणी छिमेकी मुलुक भारतसँग हाल ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । हाल १३२ केभी क्षमतामा सञ्चालनमा रहेको उक्त प्रसारण लाइनको क्षमता अभिवृद्धि गरी ४०० केभी क्षमतामा सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । यस्तै सरकारले न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि यसअघि नै सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको छ । सो प्रसारणलाइन पनि ४०० केभी क्षमतामा नै निर्माण गर्ने योजना छ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त समितिमा सो प्रसारणलाइन निर्माणको विषयमा डेढ वर्ष पहिल्यै सहमति भइसकेको छ । यसैगरी हाल सञ्चालनमा आइरहेको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारणलाइनलाई पनि क्षमता विस्तार गर्ने सरकारको योजना छ । हाल सो प्रसारण लाइन १३२ केभी क्षमतामा सञ्चालनमा रहेको छ । सो प्रसारण लाइनबाट हाल ५० मेगावाट विद्युत् आयात भइरहेको छ । त्यस्तै पूर्वको कुशाहा कटैया प्रसारण लाइनको क्षमता विस्तार गर्ने योजना छ । सो अन्तरदेशीय प्रसारण लाइनबाट हाल १२५ मेगावाट विद्युत् आयात भइरहेको छ । क्षमता वृद्धि गरी सो प्रसारण लाइनलाई ४०० केभी क्षमतामा विस्तार गरिनेछ । यस्तै बाँके–लखनऊ ४०० केभी र अतरिया हुँदै भारत जोड्ने अर्को प्रसारण लाइन निर्माणका लागिसमेत प्रस्ताव गरिएको छ । सो प्रसारण लाइन पनि ४०० केभीमा निर्माण गरिनेछ । अन्तरदेशीय प्रसारण लाइनलाई थप व्यवस्थित बनाउन मुलुकभित्र नदी बेसिनका आधारमा ४००÷४०० केभीका प्रसारण लाइन, मध्यपहाडी राजमार्गको समानान्तररुपमा ४०० केभी र पूर्व पश्चिम राजमार्गको समानान्तररुपमा ६६५ केभी क्षमतामा प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ । नदी बेसिनका आधारमा १३ वटा ४०० केभीका प्रसारण लाइन निर्माण गरिनेछ । रक्सौलदेखि– केरुङसम्मको प्रसारण प्रणाली र कुशाहा कटौयाबाट शुरु हुने प्रसारण लाइनलाई किमाथाङकासम्म जोडेर त्रिदेशीय बनाउने लक्ष्य राखिएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को काठमाडौँमा सम्पन्न सार्क ग्रीड परियोजनालाई पनि ती प्रसारण लाइनमा अन्तर आबद्धता गराउन सकिनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली निर्माणका लागि विशेष जोड दिइएको बताए । उनले हाल निर्माणको क्रममा रहेका पूर्व पश्चिम प्रसारण प्रणाली सम्पन्न गरेर थप प्रणाली जडानको प्रक्रिया शुरु गरिने बताए। यस्तै राष्ट्रिय योजना आयोगले नेपाल, भुटान, भारत र बंगलादेश जोड्ने गरी ९बिबिआएन० प्रसारण लाइन निर्माणका लागि पहल गरेको छ । आयोगका पूर्व सदस्य डा अरविन्दकुमार मिश्रले बिबिआइएनभित्र प्रसारण प्रणाली जडानका लागि अध्ययन गरिएको जानकारी दिए । यस्तै सार्क प्रसारण प्रणालीभित्र एकीकृत प्रसारण प्रणाली निर्माण गर्ने र एक अर्का देशबीच अन्तर आबद्धता गर्ने विषयमा सार्क सम्मेलनले स्पष्ट अवधारणा ल्याइसकेको छ । नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै पाकिस्तान र बंगलादेशसम्म पनि पु¥याउन सकिनेछ । नेपालको जलविद्युत् आयोजनामा बंगलादेशले त लगानी गर्न आफूहरु तयार रहेको बताउँदै आएको छ । प्रसारण प्रणाली निर्माणमा ध्यान दिने हो भने किर्किस्तान, ताजकिस्तान, अफगानिस्तान, पाकिस्तान, इरानलाई एउटै प्रणालीमा जोड्न सकिन्छ । यस्तै नेपाल, भुटान, बंगलादेश र भारतसँग पनि प्रसारण प्रणाली जोड्न सकिन्छ । चीनलाई पनि सोही प्रसारण प्रणालीभित्र जोड्न सकिने प्राधिकरणको विश्वास छ । घिसिङले केही दिन पहिले बारबरा फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गर्नुभएको कार्यपत्रमा प्रसारण प्रणाली निर्माणमा जोड दिने हो भने नेपाल हाइड्रो हव बन्ने उल्लेख छ । अन्तरदेशीय प्रसारण प्रणालीजस्तै राजधानी काठमाडौँको विद्युत् माग व्यवस्थापनका लागि कूल छ हजार किलोमिटर बढी वितरण लाइन निर्माण गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । रासस
नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बढी कारोबार
काठमाडौँ, । धितोपत्र बजारमा यस साता १ अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १०.७५ प्रतिशतले बढी हो । गत साता १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर १ अर्ब ५४ करोड १४ लाख २५ हजार कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६.९२ अंकले घटेर अन्तिम दिन एक हजार ३८६.९८ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.९१ अंकले घटेर २९३.२५ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो बैंकको रु ११ करोड २० लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ३ लाख ६४ हजार कित्ता शेयर कारोबार भएको थियो ।