यूगेश भक्त वादे श्रेष्ठलाई मातृशोक
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत यूगेश भक्त वादे श्रेष्ठलाई मातृशोक परेको छ । उनको आमा चीनी मैया वादे श्रेष्ठको फागुन १० गते बिहीबार निधन भएको परिवार स्रोतले जनाएको छ । दम र सुगरले ग्रसित ८५ वर्षिय श्रेष्ठको काठमाडौंस्थित मनमोहन मेमोरियल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । उनको चार छोरा र तीन छोरी छन् । यूगेश कान्छो छोरा हुन् ।
दोलखाको विद्यालयलाई नबिल फाउण्डेसनको सहयोग
काठमाडौं । नबिल बैंकद्धारा सञ्चालित नबिल फाउण्डेसनले दोलखाको विद्यँलयलाई सहयोग गरेको छ । दोलखाका दुई विद्यालयलाई फाउन्डेसनले विभिन्न शैक्षिक सामाग्री प्रदान गरेको हो । शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यालयहरुमा श्री जागरण भिमेश्वर विद्यालय र श्री गुरासे प्राथमिक विद्यालय रहेका छन् । सो विद्यालयमा अध्ययन गर्ने छात्रछात्रालाई फाउन्डेसनका अध्यक्ष दयाराम अग्रावालले शैक्षिक समाग्री प्रदान गरे । कार्यक्रममा कालिन्चोक गाउपालिकाका अध्यक्ष बिन कुमार थामीको पनि उपस्थिती रहेको थियो ।
एनसीसी बैंक जोरपाटीको नारायणटारमा
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले जोरपाटीको नारायणटारमा शाखा विस्तार गरेको छ । सो शाखाको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले शाखाको उद्घाटन गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आफू पनि यसै क्षेत्रको बासिन्दा भएको र जनप्रतिनिधिहरुबाट समेत सहयोगको अपेक्षा सहित यस क्षेत्रमा स्थापित शाखाको पहिचान बनाउने कुरामा आफू विश्वस्त रहेको बताए ।
अब एनआरएनहरुको जीवन बीमा नेपालमै
काठमाडौं । अब एनआरएनहरुको जीवन बीमा नेपालमै हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले एनआरएनहरुको जीवन बीमा गराउने प्रक्रिया अघि बढाएको हो । सानिमा लाइफले नेपाली बैंकमा खाता खोल्नुपर्ने र नेपाली रुपैंयाँमै बीमा शुल्क लिने गरि एनआरएनहरुको जीवन बीमा गराउने योजना अघि बढाएको नायव महा प्रबन्धक केशबराज केसीले बताए । ‘नेपाली बैंकमा नेपाली रुपैंयाँमा प्रिमिय लिने र नेपाली रुपैंयाँमै नेपाली बैंकमै दावी भुक्तानी दिने गरि एनआरएनहरुको जीवन बीमा गराउने योजना अघि सारेका छौं’, सानिमा लाइफका नायब महाप्रबन्धक केसीले विकासन्युजसँग भने । उनले अधिकतम २५ लाख रुपैंयाँसम्मको बीमा गराउने गरि सानिमा लाइफ सरल नामको पोलिसी ल्याएको पनि बताए । ‘सानिमा सरल पोलिसी अहिले कार्यान्वयनमै छ, त्यसैमा एनआरएनहरुलाई समेट्न खोजेका हौं’, केसीले भने । एनआरएनहरुको समुहले सञ्चालन गरेको सानिमा लाइफले एनआरएनमा आवद्ध संघ संस्थाहरु मार्फत नै बीमा गराउन लागेको हो । ‘एनआरएनका संघहरुसँगको समन्वयमा बीमा गराउने हो, दावी भुक्तानीको आधारका लागि तिनै एनआरएनका संघ र विदेशस्थित नेपाली दुतावासहरुसँग समन्वय हुनेछ’, केसीले भने । केसीले एनआरएनहरुको जीवन बीमा गराउँदा प्रीमियम असुली र दावी भुक्तानी फर्छौटका बारेमा बीमा समितिसँग पनि पटक पटक समन्वय गरिसकेको छ । समितिले तत्कालका लागि सानिमा सरल योजना मार्फत नै बीमा गराउन र निकट भविष्यमै एनआरएनहरुका लागि छुट्टै पोलिसी बनाउन सुझाएको थियो । ‘अहिलेलाई पुरानौ पोलिसीबाट र अलिपछि छुट्टै पोलिसी बनाउन सुझाव दिएका छौं, समितिले पनि एनआरएनहरुको बीमा गराउँदा पेमेन्ट गेटवे के हुन्छ, दावी भुक्तानीलाई कसरी पारदर्शी बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं’, बीमा समिति श्रोतले भन्यो ।
सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन
काठमाडौ । उद्योग मन्त्रालयले सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ । मन्त्रालयले सञ्चालनमा रहेका तथा नयाँ उद्योगबाट हुनसक्ने सम्भावित प्रदूषण न्यूनीकरण तथा रोकथाम गर्न अपनाउनुपर्ने उपाय र सोका लागि जडान गर्नुपर्ने यन्त्र उपकरणको अनुगमन संयन्त्रका लागि उद्योग मन्त्रालय प्रविधि महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा खानी तथा भूगर्भ विभागका उपसचिव, वातावरण विभागका उपसचिव, गुणस्तर तथा नापतौल विभागका उपसचिव, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल उद्योग परिसंघका प्रतिनिधि, नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधि र सदस्य सचिवमा प्रविधि तथा वातावरण शाखाका निर्देशक रहने व्यवस्था गरेको छ । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले सिमेन्ट उद्योगको स्थापनाबाट जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई दृष्टिगत गरेर उक्त समिति गठन गरिएको जानकारी दिए। समितिले दुई महिनाभित्र सिमेन्ट उद्योग सम्बन्धी मापदण्ड तयार गरेर सोको प्रतिवेदन मन्त्रालयमा बुझाउने उहाँले बताए। गठित समितिले आफ्नो कार्यविधि आफैँ बनाउनसक्ने र आवश्यक पर्ने विशेषज्ञ आफै नियुक्त गर्नसक्ने साथै अध्ययनका लागि चाहिने आवश्यक बजेट उद्योग मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले गर्ने व्यवस्था समेत गरेको छ । रासस
ए ओ स्मिथको वाटर हिटर पिहलाे पटक नेपाली बजारमा
काठमाडौं । ए ओ स्मिथले वाटर हिटर र वाटर प्युरिपफायर नेपाली बजारमा ल्याएको छ । विश्वका विभिन्न ६० भन्दा बढी देशमा सामान बिक्री गर्दे आएको स्मिथ कम्पनीले नपालमा पहिलो पटक सामान बिक्री गर्न लागेको हो । ए. ओ. स्मिथको उत्पादन प्रक्षेपण संभावित ग्राहकहरु अध्यायन गरी उत्पादनलाई बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा छोटो समयमै आफ्नोे उत्पादनले लोकप्रियता हासिल गर्ने विस्वास लिएको छ । कम्पनीले यसअघि संयुक्त राज्य अमेरिका, क्यानाडा, युरोप, चीन, भियतनाम र भारतका बजारहरूमा सामान बिक्री गर्दै आएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्- सेयर बजारलाई जुवा घर बनाउनु हुन्न
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गोपाल भट्टले नेपालको सेयर बजारलाई जुवाघर बनाउनु नहुने बताएका छन् । मिडिया इन्टरनेशनलले शुक्रबार राजधानीमा आयोजित ‘नेपालको वर्तमान सेयर बजारको अवस्था र सेयर प्रविधि’ विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक भट्टले सेयर बजारमा वास्तविक क्षेत्रले नेतृत्व गर्ने गरी विकास गर्नुपर्ने बताए । ‘अहिले नेपालको पुँजी बजार वित्तीय क्षेत्रले नेतृत्व गरिरहेको छ,’ उनले भने, ‘उद्योग, व्यवसाय र सेवा क्षेत्रलाई पनि भित्राउन सके नेपालको सेयर बजार स्थिर बन्नेछ ।’ कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले प्राथमिक बजार प्रविधिको प्रयोगमा निकै अगाडी बढिसकेको भए तापनि दोस्रो बजारमा अझै पनि प्रविधि भित्रिन नसकेको बताए । ‘अन्य मुलुकहरुमा प्राथमिकको तुलनामा दोस्रो बजार प्रविधिको प्रयोगमा निकै अगाडी हुने गरेको छ । नेपालमा भने ठिक विपरीत भइरहेको छ,’ गिरीले भने, आगामी असार/साउनसम्ममा दोस्रो बजारमा पनि प्रविधि भित्र्याउनेछौँ ।’ त्यस्तै, मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष ध्रुव तिमल्सिनाले प्राथमिक बजारमा सीआस्वा लगायतका प्रविधिका कारण सेयर आवेदन दिन र संकलन गर्न सहज भएको बताए । दोस्रो बजारमा भने अझै पनि ब्रोकरकोमा धाउनुपर्ने बाध्यता रहेको भन्दै उनले छिटोभन्दा छिटो अनलाइन ट्रेडिङको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष नरेन्द्र सिजापतिले सेयर ब्रोकरको दायरा फराकिलो बनाई दोस्रो बजारलाई समेत विकसित बनाउनुपर्ने बताए । अहिले प्राथमिक बजारमा मात्रै प्रविधिहरुको विकास भइरहेको औँल्याउँदै उनले दोस्रो बजारमा पनि प्राविधिहरु प्रयोगमा जोड दिनुपर्ने उनको भनाई थियो ।
काठमाडौं धुम्रपान मुक्त शहर, गर्भवती महिलालाई चुरोट बिक्री गरे १५ हजार जरिवाना
काठमाडौं । राजधानी अब धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राजधानीलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा गरेका हुन् । यो घोषणसंगै अब काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थलमा धुम्रपान र सुर्तिजन्य पदार्थको सेवन गर्न पाइने छैन । बिक्रेताले १८ वर्ष नपुगेका र गर्भवति महिलालाई सुर्तिजन्य पदार्थ निःशुल्क वितरण वा बिक्री गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने छ । सुर्तिजन्य पदार्थ नियन्त्रण ऐनले सार्वजनिक स्थल भनि तोकिएको क्षेत्रमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोग गरे १ सय रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । त्यसैगरी सूर्तिजन्य पदार्थलाई बिक्रीस्थलमा सजावटका लागि प्रयोग गर्न पाउने छैन । यो अभियान विश्वका विभिन्न ५० वटा शहरहरुमा लागू भैरहेको छ । बुलुम्बर्ग फिलानट्रोपिज, भाइटल स्ट्राटेजिजको सयुंक्त आयोजनामा यो कार्यक्रम राजधानीमा लागू गर्न लागिएको हो । कार्यक्रममा डा.राधिका थपलियाले मानिसले दैनिक ४ सय ग्राम फलफुल र सागपात खानुपर्ने तर ९९ प्रतिशत नेपालीले यो तरिका अपनाउन नसकेको बताइन । हाल नेपालमा ३०.५ प्रतिशत मानिसले धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेका छन् । ३६.५ प्रतिशत मानिस अरुले सेवन गरेको धुम्रपानबाट प्रभावित भैरहेका छन् । आयोजकले आगामी १८ महिनासम्म जनचेतना लगायतका विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।