एनसीसी बैंकको संस्थापक सेयर सस्तोमा लिन संचय कोषको मोलमोलार्इ, प्रतिकित्ता १५४ प्रस्ताव
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ७० लाख कित्ता संस्थापक (प्रमोटर) सेयर खरिदका लागि कर्मचारी संचय कोषले मोलमोलाइ (बार्गिनिङ) गर्न थालेको छ । संचय कोषले एनसीसीको बुक भ्यालु प्रतिकित्ता १५४ रुपैयाँमा सेयर किन्ने प्रस्ताव गरेको छ । यो बुकभ्यालु गत असारसम्मको हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको बुकभ्यालु बढेर प्रतिकित्ता १६२ रुपैयाँ पुगेको छ । बैंकले नाफा ४ सय प्रतिशत बढाएपछि बुकभ्यालु बढेको हो । बैंकबाट लिएको ऋण तिर्नका लागि एनबी समूहले संस्थापक सेयर बिक्री गर्न लागेको हो । बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता २१० रुपैयाँ न्युनतम मूल्य राखेर ७० लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको थियो । प्रतिकित्ता २१० रुपैयाँमा ७० लाख कित्ता सेयरको मूल्य १ अर्ब ४७ करोड रुपैयाँ हुन आउछ । संचय कोषले प्रस्ताव गरेको दरमा एनबी समूहको कर्जा तिर्नलाई रकम पुग्दैन् । एनबी समूहले हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेडको नाममा लिएको ऋणको सावाँ र ब्याज गरी ९० करोड रुपैयाँ र अन्य बैंकको ६० करोड रुपैयाँ कर्जा रहेको छ । नागरिक लगानी कोषले बैंकको संस्थापक सेयर खरिदका लागि कुरा गरेकोमा संचय कोषले अझ घट्ने भन्दै उसलाई किन्नलाई रोकेको छ । संचय कोषले अहिले बार्गिनिङ गरेर बुकभ्यालुमै एनसीसीको संस्थापक सेयर हत्याउन लागेको हो । यसअघि संचय कोषले १५८ रुपैयाँ बुकभ्यालु भएको बैंक अफ काठमाण्डु लिमिटेडको ६२ लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता २५१ रुपैयाँमा खरिद गरेको थियो । तर कोषले अहिले बुकभ्यालुमा सेयर दिन माग गरिरहेको छ । आवेदन नपरेपछि बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले फागुन ३० गतेसम्म संस्थापक सेयर खरिदका लागि म्याद थप गरेको छ ।एनसीसीको ५० प्रतिशत हकप्रद सेयर आउन बाँकी छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । हालसम्म व्यक्ति तथा संस्था कसैको पनि आवेदन नपरेको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । संचय कोष, लगानी कोष र एक बैंककरले खरिदका लागि चासो देखाएको उनले बताए । यसअघि सीबीआईएलले संस्थापक सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन फागुन ३ लाई तोकेको थियो । निर्धारित समयमा कसैको पनि खरिदका लागि आवेदन नपरेपछि म्याद थप गरिएको दाहालको भनाई छ । एनबी समूहले सेयर बिक्री गरेर कर्जा तिर्ने भएपछि चालु आवमा एनसीसीको नाफा बढ्नुका साथै खराब कर्जा पनि घट्ने छ । सबैभन्दा ठुलो कर्जा असुली भएपछि बैंकको नाफा बढ्ने देखिएको हो । यस्तै एनसीसीको नाफा ४०० प्रतिशतले बढेको छ । २०७३ पुस मसान्तमा जम्मा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले २०७४ पुस मसान्तमा २८ करोडले वृद्धि गरेर ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड रूपैयाँको भने राइट ब्याकको हिस्सा रहेको छ । बैंकले ६ महिनामा ५८ अर्ब निक्षेप संकलन गरेर ५१ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ । बैंकले ३ अर्ब ९ करोड रुपैंयाँ ब्याज आम्दानी गर्दा २ अर्ब ५१ करोड ब्याज खर्च गरेको देखिन्छ । एनसीसीले ४.८४ प्रतिशत रहेको खराब कर्जालाई ४.०४ प्रतिशतमा झारेको छ ।
कैलाश विकास बैंकको सिल्भर जुब्ली बचत योजना अन्तर्गत ३ महिने मुद्दतीमा १२% ब्याज
काठमाडौं । कैलाश विकास बैंकले आज(आइतबार)देखि लागु हुने गरी ‘कैलाश सिल्भर जुब्ली बचत’ योजना सार्बजनिक गरेको छ । बैंकले सिल्भर जुब्ली बचत खातामा ८.५० प्रतिशत वार्षिक ब्याज र ३ महिने मुद्दती खातामा १२ प्रतिशत वार्षिक ब्याजको निक्षेप योजना ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार बैंकले २५औँ वर्षमा प्रवेश गरेको रजतवर्षको अवसरमा यो योजना प्रस्तुत गरेको हाे । हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा कम्पनीले २६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले जनाएको छ । ४३ वटा शाखाबाट आप्नो वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले यही फाल्गुन मसान्तसम्ममा विराटनगरमा र यही आर्थिक वर्षमा विरगंज र दमकमा थप दुई शाखा संचालनमा ल्याउने योजना रहेको जानकारी गराएको छ ।
लक्ष्मी बैंकको शाखा सुनसरीको भोक्राहामा, चौकी निर्माणका लागि ५ लाखको सहयोग
काठमाडौं । लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको छ । उक्त अवसरमा बैंकले सोही स्थानको प्रहरी चौकी निर्माणको लागि ५ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रकुमार शाहलाई ५ लाख रुपैयाँको चेक प्रदान गरेका छन् । गाउँपालिका प्रमुख महेन्द्रकुमार यादवले आगामी ३ महिना भित्र प्रहरी चौकी निर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताएका छन् ।
राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सेयरधनीलाई १२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय फागुन १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले राष्ट्रिय बीमा संस्थान निर्जीवन बीमा विभागको आर्थिक वर्ष ०६७/६८, ०६८/६९ को वित्तीय विवरण स्वीकृत गरी आव ०६८/६९ को वित्तीय विवरणमा हाल कायम रहेको चुक्ता पुँजीमा सो मात्राको लाभांश दिन लागेको हो । हालको कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । १२० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्ने छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले पारित गरी कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
मेची-महाकाली जोड्ने चौथो विकल्प: १२ सय किलोमिटरको चुरे राजमार्ग
काठमाडौं । पुर्व मेची र पश्चिम महाकालीलाई जोड्ने १२ सय किलोमिटर लामो चुरे राजमार्ग बन्ने भएको छ । हाल १०२८ किलोमिटर लामो मेची महाकाली जोड्ने पुर्व पश्चिम राजमार्ग सञ्चालनमा रहेको छ भने १७७६ किलोमिटर लामो मध्य पहाडी लोकमार्गको निर्माण भैरहेको छ । त्यस्तै, ९४५ किलोमिटर लामो हुलाकी राजमार्गको निर्माण पनि धमाधम अघि बढिरहेको छ । सरकारले मेची-महाकली जोड्ने चौथो विकल्पका चुरे राजमार्ग निर्माण गर्न लागेको हो । ‘विकास र समृद्धिको लाइफलाइन भनेको सडक नै हो, अब चुरे राजमार्गबाट मेची महाकालीलाई जोडेर नयाँ लाइफलाइन निर्माणको प्रक्रिया अघि बढाउन लागेका छौं’, सडक विभागका प्रवक्ता मुक्ति गौतमले भने । धरान चतरा गाइघाट सिन्धुली हेटौँडा सडकलाई नै चुरे राजमार्गका रुपमा विकास गर्न लागिएको हो । ५० किलोमिटर स्पीड लिमिट कायम गरिएको ३१८ किलोमिटर लामो यो सडक आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न हुँदैछ । त्यस बाहेक धरानदेखि काकडभिट्टासम्मको ९० किलोमिटरको काम पनि अघि बढिसकेको छ । हेटौँडा पश्चिम खण्डका लागि भने सम्भाव्यता अध्ययनका लागि आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गराउने प्रक्रिया अघि बढेको छ । ‘३१८ किलोमिटरको काम धमाधम अघि बढेको छ, ९० किलोमिटरमा पनि ट्रयाक खुलिसकेको छ, हेटौँडा पश्चिम खण्डको सम्भाव्यता अध्ययनका लागि आगामी बजेटमा रकम विनियोजन हुनेछ’, सडक विभागका प्रवक्ता गौतमले भने । उनका अनुसार चुरे राजमार्ग दाङ–लमही–तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै अघि बढ्नेछ । मेची महाकाली जोड्ने १२ सय किलोमिटरको चुरे राजमार्गको काम अघि बढेको छ । महेन्द्र राजमार्ग मार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको बिचभागमा निर्माण हुने यो सडकले लाखौं नेपालीलाई सडक सञ्जालमा जोड्ने विभागले दावी गरेको छ । संघिय संरचना कार्यान्वयनमा आएसँगै अब १२ हजार किलोमिटर सडक मात्रै विभागको अख्तियारी क्षेत्रमा परेको छ । बाँकी सडक भने प्रदेश र स्थानीय तहमा गएको छ ।
उपमहानगरले उठायो ५ करोड ७१ लाख राजश्व
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधिमा रु चार करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो । यस अवधिमा गत वर्षभन्दा रु ७३ लाख ७५ हजार ४८० बढी राजश्व संकलन भएको हो । राजश्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट रु एक करोड २८ लाख ४७ हजार ३०३ राजश्व संकलन गरिएको छ । गत वर्ष बनिसकेका घर प्रमाणित गर्नेको संख्या बढी भएका कारण सो अवधिमा बढी राजश्व उठेको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माको भनाइ छ । नगरका साबिकका १८ देखि २८ सम्मका वडालाई घर नक्सा प्रमाणितमा छुट दिइएको छ । उपमहानगरपालिकाका अनुसार आव ०७४ साउनदेखि माघ मसान्तसम्म नक्सा दर्ता ७१३, प्लिन्थ लेवल स्वीकृति २२८, सुपर स्ट्रक्चर इजाजत ३३१, नयाँ घर निर्माण २२६ र पुरानो घरको प्रमाणित २९५ वटा गरिएको छ । गत वर्ष रु १२ करोड राजश्व लक्ष्य रहेकामा चालु आवमा उपमहानगरपालिकाको रु १६ करोड राजश्व लक्ष्य रहेको राजश्व शाखा प्रमुख भूपति खत्रीले जानकारी दिए ।-रासस
बरुण हाइड्रोपावरको नाफा सावा २ करोड
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षमा नाफा बढेको छ । गत पुससम्म कम्पनीले २ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिम कम्पनीले १ करोड ३३ लाख रुपैयाँ नाफा गरेको छ । समीक्षा अवधिमा कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । २५ करोड ५१ लाख रुपैयाँ सेयरपुँजी भएको बरुणको संचित कोष बढेर २ करोड ३३ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्जा अझै २३ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
प्रभु बैंकको हकप्रद बिक्री १० दिन थप, फागुन २३ गतेसम्म हकप्रद भर्न पाइने
काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर बिक्री १० दिनका लागि थप भएको छ । बैंकको सञ्चालक समितिले १० दिनका लागि हकप्रद बिक्रीको म्याद थप गर्ने निर्णय गरेको छ । हकप्रद बिक्री खुला फागुन २३ गतेसम्म हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । गत पुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिने पाउने छन् । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ८ अर्ब २३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी ५ अर्ब ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ ।