विकासन्युज

होलीमा इच्छा विपरीत रङ खेल्ने र लोला हान्नेलाई कारबाही

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले फागु पर्व (होली)मा अरुको इच्छा विपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने जनाइएको छ । परिसरले पत्रकार सम्मेलनको आयोजना गरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले फागुन १७ गतेको फागुलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार पारिएको बताए । कोही कसैले बलजफ्ती गरे तत्काल प्रहरीलाई खबर गर्न उनले आग्रह गरेका थिए । त्यस्ता व्यक्तिलाई मुद्दा चलाउने उनको भनाइ छ । होलीमा ट्राफिक नियम उलंघन गर्ने तथा सामाजिक आचरणका विपरीतका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको विभिन्न स्थानमा टोली परिचालन गरिने उनले बताएका छन् । परिसरले राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न सर्वसाधारणको सहभागितामा २०० जनाको सूचनादाता समूह गठन गरेको छ । अपराधमुक्त राजधानी बनाउने उद्देश्यले गठन गरिएको समूहले प्रहरीको गतिविधिदेखि स्थानीय तहमा हुने अपराधिक गतिविधिबारे गोप्यरुपमा प्रहरीलाई सूचना दिने बताइएको छ । राजधानीको विभिन्न स्थानमा बसोबास गर्ने विभिन्न क्षेत्रमा कार्यरत करिब २ सय युवाको समूहले स्वयंसेवकका रुपमा अपराध नियन्त्रका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको परिसर प्रमुख पोखरेलको भनाइ छ । अहिलेसम्म राजधानीमा ३७२ जना अभियुक्त फरार सूचीमा रहेको जानकारी दिँदै उनीहरुको खोजी तीव्र पारिने वरिष्ठ उपरीक्षक पोखरेलले बताए । आव २०७१/७२ मा ४ हजार ७७३, आव २०७२/७३ मा ४ हजार ९०२, आव २०७३/७४ ४ हजार ५८२ र चालु आव २०७४/७५ को हालसम्म ३ हजार ३४२ मुद्धा परिसरमा दर्ता भएको जनाइएको छ । रासस

सिटामोलको माग अत्यधिक, सोमबारदेखि व्यवसायीक उत्पादन सुरु

काठमाडौं । सरकारको स्वामित्व रहेको नेपाल औषधी लिमिटेडमा सिटामोलको माग अत्यधिक आएको छ । बुधबारदेखि सिटामोल ट्याब्लेटको परिक्षण उत्पादन सुरु गरेको उद्योगमा उत्पादन सुरु भएसँगै विभिन्न स्टकिसहरुबाट सिटामोलको माग आएको उद्योगका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदीले बताए । उनकाे अनुसार उद्योगले सिटामोलको उत्पादन सुरु गएको खबर बाहिर आएसँगै विभिन्न कम्पनीहरुले लाखौं/करोडौंको संख्यामा सिटामोलको माग रहेको बताए । ‘त्यसैले ८/१० लाखभन्दा बढी संख्यामा सिटामोलको ट्याब्लेड उत्पादन गरेपछि मात्रै बजारमा लैजाने योजना बनाएका छौं,’ उलने भने ‘अहिलेसम्म परिक्षण उत्पादन सकरात्मक रुपले अघि बढिरहेको छ । यसरी नै अघि बढे सोमबारदेखि ब्यवसायीक उत्पादन थाल्ने छौं ।’ उनले सिटामोलको व्यवसायीक उत्पादन सुरु गरेपनि अत्यधिक मागलाई केही मात्रामा सम्बोधन गर्न हप्ता पन्ध्र दिनपछि मात्रै बजारमा लैजाने योजना रहेको विकासन्युजलाई जानकारी दिए । प्रतिट्याब्लेट सरकारले १ रुपैयाँ मूल्य निर्धारण गरेको सिटामोलको उत्पादन लागत बढी पर्ने भएकोले सामान्यतया निजी औषधी उत्पाक उद्योगहरुले उत्पादन नगर्ने भएकोले पनि माग सोचेभन्दा बढी आएको उनको बुझाइ छ । लामो समयसम्म बन्द रहेको उक्त उद्योग ०७४ वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा कम्पनीले जीवनजल उत्पादन सुरु गर्दै पुनः सञ्चालनमा आएको थियो । त्यसयता केही दिनअघिदेखि परिक्षण ब्याज सिटामोल उत्पादन गर्दै आइरहेको छ । एक ब्याज साईजमा ३ लाख २० हजार ट्याप्लेट सिटामोल उत्पादन गरिरहेको महाप्रबन्धक सुवेदीको भनाइ छ । विगतमा विश्व स्वास्थ्य संगठन तथा कुशल निर्माण विधि ‘जीएमपी’ लगायतको मापदण्ड पुरा नभएकोभन्दै बन्द भएको उक्त उद्योगले मापदण्ड पुरा गरेसँगै सञ्चालनमा आएको हो ।

सानिमा बैंकको सी-आस्वा प्रणाली सञ्चालनमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले सी-आस्वा प्रणाली सञ्चानलमा ल्याएको छ । सार्वजनिक निस्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिदा अनिवार्य रुपमा सी-आस्वा सेवा मार्फत मात्र आवेदन दिन पाउने हुँदा बैंकले उक्त सेवा फागुन ११ गतेबाट सञ्चालनमा ल्याएको छ । ग्राहकले बैंकका सम्पूर्ण शाखाबाट सी-आस्वा रजिष्ट्रेसन नम्बर लिन सक्नेछ । यो रजिष्ट्रेसन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्ने अथवा बैंकको कुनैपनि शाखामा गई सी–आस्वा फारम भरी आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्ने छन् । सानिमा बैंकले यो सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । त्यसैगरी, सी-आस्वा सञ्चालनमा आए संगै बैंकले पुरानो आस्वा प्रणाली बन्द गरेको छ । बैंकले सान्जेन जलविद्युत तथा रसुवागढी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर सी-आस्वा मार्फत सेयर आवेदन दिन हितग्राही खाता अनिवार्य रहेको हुँदा आवेदकले हितग्राही खाता बैंकका कुनै पनि शाखाबाट निः शुल्क खोल्न सक्नेछ । साथै, बैंकले ग्राहकहरुलाई सी–आस्वा रजिष्ट्रेस्ननम्बर लिन तथा केवाईसी अपडेट गर्नका लागि आफ्नो सम्बन्धित बैंकका शाखामा सम्पर्क राख्न आग्रह गरेको छ ।

एलजीको लिनियर र डोर कुलिङ भएको रेफ्रिजिरेटर नेपाली बजारमा

काठमाडौं । एलजीले लिनियर कुलिङ र डोर कुलिङ भएको रेफ्रिजिरेटर विशेषता भएको रेफ्रिजिरेटर बजारमा ल्याएको छ । यस रेफ्रिजिरेटरले १४ दिन सम्म खाना ताजा राख्ने कुरा कम्पनीले जनाएको छ । विशेष गरि डोर कुलिङ फिचरले गर्दा रेफ्रिजिरेटरको कुना कुनामा चिसो हावा पुग्छ जसले गर्दा भित्र ३५ प्रतिशत चाडो चिसो हुन्छ । एलजीको रेफ्रिजिरेटरमा इन्भटर लिनियर कम्प्रेसर प्रयोग गरिएको छ जसले ५१ प्रतिशतसम्म बिजुली बचत गर्दछ । साथै कम्पनीले १० बर्षको कम्प्रेसरमा वारेण्टी दिँदै आएको छ । नेपालका लागी सि. जी. ब्राण्डका आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि. जी. इम्पेक्स् प्रा. लि. हो ।

मुड फ्रेस गर्ने काठमाडौं फन पार्क, अशक्त र बालबालिकालाई नि:शुल्क प्रवेश

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा अवस्थित काठमाडौं फन पार्क मुड फ्रेस गर्ने पार्कको रुपमा विकसित हुदैँ गएको छ । काठमाडौंमा घुमफिर गर्ने धेरै ठाँउ छैन । दुरिको हिसाबले सबैतिरका काठमाडौं बासीलाई सेन्टर पर्ने यस पार्कमा सबै किसिमका उमेर समुहका मानिसहरुले मनोरञ्जन लिन सक्छन् । पार्क युवायुवतीहरुको सबैभन्दा धेरै रोजाईमा पर्ने गरेको छ । दुरीको हिसाबले यो पार्क नजिक रहेको छ, साथीहरुसँग ठुलो रोटे पिङ खेल्न रमाइलो लाग्छ, अहिलेसम्म १४ पटक यो पिङ खेलिसकेँ, राजधानीको पद्ममकन्या क्याम्पसमा स्नातकोत्तर दोस्रो सेमेस्टर अध्ययनरत मन्जु पौडेलले बताइन् । पार्कभित्र रहेको विभिन्न मनोरञ्जनात्मक खेलहरु र बाल मैत्री वातावरण पार्कको मुख्य आकर्षण हो । ‘पार्कमा दुई वटा फुटसल ग्राउण्ड र रेलले नयाँ आकर्षण थपेको फुटसल खेलाडी राम कुमार मगरले बताए । म प्राय फुटसल खेल्नका लागि फन पार्क आउने गर्छु, मैले यसभन्दा अघि रेल कहिल्यै चढेको थिइन त्यो सपना यो पार्कले परा गरेको छ’ खेलाडी मगरले भने । पार्कमा प्रवेश गर्नको लागि वयस्कलाई ६० विद्याार्थी र ५ देखी १० बर्षसम्मका बालबालिकाहरुलाई ३० रुपैंया रहेको छ । ५ बर्षभन्दा मुनिका बालबालिका, ७० बर्षभन्दा माथिका जेष्ठ नागरिक र सारिरीक रुपमा अशक्त व्यक्तिहरुका लागि भने प्रवेश नि:शुल्क रहेको छ । पार्कलाई अझ आकर्षक र आधुनिकिकरण गर्न थप निती तथा योजना बनिरहेको पार्कको व्यवस्थापक बोधराज कट्टेलले बताए । बिदाको दिन र चार्डपर्वको बेलामा १ हजार जनासम्म पार्कमा आउने गरेका छन्,सामान्य दिनमा १ सय जनासम्म मानिस आउने गरेको व्यवस्थापक कट्टेलले जानकारी दिए ।पार्कमा स्विमिङ पुल लगायत अन्य किसिमका मनोरञ्जनात्मक खेलकुद सामाग्रीको निमार्ण गर्न सकिएको खण्डमा अझै मानिसहरुले मनोरञ्जन लिन सक्ने देखिन्छ ।-प्रशिक्षार्थी

नेपाल इन्भेष्टमेण्ट बैंक ३३औँ वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले स्थापनाकालको ३२औं वर्ष पूरा गरी ३३औँ वर्षमा प्रवेश गरेको छ । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६३ वटा शाखा रहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । आ.व. २०७३–७४ मा बैंकको सञ्चालन मुनाफा ५ अर्ब २४ करोड रुपैयाँ र खुद नाफा ३ अर्ब ११ करोड रुपैयाँ रहेकोे थियो । साथै, गत आर्थिक वर्षको अन्त्यमा बैंकको शेयरधनी कोष १८ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी रहेको बैंकले जनाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ सय १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधि सम्ममा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेको छ । दोस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई १.१२ प्रतिशतमा सिमित रहेको छ । साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहकलाई अझ विस्तार गर्ने योजना बनाएको छ । बैंकले निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । साथै, बैंकले बैंक अफ दि इयर नामक उपाधि पाँच पटकसम्म प्राप्त गरेको छ ।

हिमालयन ड्राइभ त्रिदेशीय अन्तर्राष्ट्रिय मोटर र्याली जारी, ४२ कार सहभागी

काठमाडौं । हिमालयन ड्राइभ ६ त्रिदेशीय मोटर र्याली आइतबार भारतका लागि प्रस्थान गरेको भएकाे छ । त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले भारतको सिलगुडीबाट छौठौँ संस्करणको उक्त मोटर र्याली शुक्रबारदेखि सुरु भएको हो । भारतको सिलिगुडी हुदैँ शनिबार नेपालको चितवन सौराहा र्याली आइपुगेको आयोजकले जनाएको छ । र्याली भारतको जस्ट स्पोर्ट्ज म्यानेजमेन्ट प्रालि र नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटर स्पोर्ट्स क्लबको आयोजनामा भएको हो । आयोजकको अनुसार र्यालीमा नेपाल, भारत र भुटानका प्रतिस्पर्धीहरु सहभागी छन् । र्याली भुटानको फुन्सोलिङ हुदै दार्जिलिङ पुगेर सकिने नेपालकोतर्फका कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिएका छन् । १६ सय ५० किलोमिटरको दुरी पार गनुपर्ने उक्त र्यालीमा नेपालको ४ टिमसहित भारत र भुटानका गरि ४२ वटा कार सहभागी रहेको आयोजकको भनाइ छ । र्यालीका प्रतिस्पर्धी मध्ये पहिलो, दोस्रो र तेस्रो विजयीलाई पुरस्कारको समेत व्यवस्था भएको आयोजकले जनाएको छ ।

केरुङ-काठमाडौं रेलमार्गः प्राबिधिक रुपले सम्भव, ३ खर्ब २४ अर्ब कहाँबाट ?

काठमाडौं । ‘केरुङ-काठमाडौं रेलमार्गको निर्माण प्राबिधिक रुपमा सम्भव देखिएको छ, आर्थिक रुपमा कसरी सम्भव गराउने भन्ने कुरा नेपाल सरकारको हातमा छ’, यो भनाई हो रेव विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायको । २०७४ गत कात्तिकको तेश्रो साता चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्यययन गरेको थियो । सोही टोलीले रेल वे निर्माण प्राबिधिक रुपमा सम्भव भएको र लगानीको श्रोतका लागि दुबै मुलुकका सरकारबीच ठोस सहकार्य आवश्यक रहेको निष्कर्षसहितको सुझाव दिएको थियो । रेल विभागले केरुङ–काठमाडौं रेलमार्ग अनुमानित ७२ किलोमिटर लामो हुने प्रक्षेपण गरेको छ । रेलमार्गको ९० प्रतिशत खण्ड सुरुङ र पुलमा हुनेछ । बाँकी १० प्रतिशत खण्ड मात्रै जमिनमा निर्माण हुनेछ । सुरुङ र पुलमा निर्माण गरिने भएकाले केरुङ–काठमाडौं रेलमार्गको लागत प्रतिकिलोमिटर ४ अर्ब ५० करोड पर्ने अनुमान गरिएको छ । ७२ किलोमिटर लामो रेलको कुल लागत ३२४ अर्ब हुनेछ । १० प्रतिशत जमिनमा रहने रेलमार्गको सोही खण्डमा करिब ५ वटा स्टेशन निर्माण हुनेछ । नेपाल र चीन सरकारबीच हुने सम्झौता लगत्तै सम्भाव्यता अध्ययन, डीपीआर र रेल मार्ग निर्माण एकै अघि बढाईने विभागका सिडिई उपाध्यायले भने । उनले कति प्रतिशत ऋण लिने र कति प्रतिशत अनुदान लिने तथा नेपाल सरकारको लगानी कति हुने भन्नेबारेमा ठोस सहमति आवश्यक रहने बताए । ‘रेल मार्ग निर्माणका लागि कति लगानी चीन सरकारको हुने ? कति ऋण र कति अनुदान हुने हो ? नेपालले कति लगानी गर्ने हो भन्नेबारे नेपाल सरकारले ठोस निर्णय गर्नुपर्छ’, उपाध्यायले भने । उनले भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको नियुक्ती लगत्तै चीनसँग ठोस छलफल अघि बढ्ने तयारी भैरहेको बताए । ‘रेल विभागले सबै तयारी सम्पन्न गरिसकेको छ, मन्त्रीज्यु आउने वित्तिकै हामी चीनसँग ठोस छलफल गर्छाै’, उपाध्यायले भने । २०७४ साउन ३१ गते नेपाल भ्रमणमा आएका चिनियाँ राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको उपस्थितीमा तत्कालिन अर्थसचिव शान्तराज सुवेदी र चीन सरकारका सचिव सु च्यानह्वाले केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी हस्ताक्षर गरेका थिए । २०७२ साल चैत ७ गतेदेखि तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको साताव्यापी चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।