इजिप्टमा रेल दुर्घटना, १५ को मृत्यु ४० घाइते
कायरो । इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन् । राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ताले घाइतेहरूलाई एम्बुलेन्समार्फत नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको जानकारी दिएका छन्। रासस/सिन्ह्वा
राष्ट्रिय वाणिज्य बैंकलाई ९ करोड हानी पुर्याएको आरोपमा दुई पक्राउ
विराटनगर । रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई ९ करोड ६१ लाख रुपैयाँ हानी नोक्सानी पुर्याएको आरोपमा दुई कर्मचारी पक्राउमा परेका छन् । सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरिएको हो । यही फागुन २ गते सोही बैंकका भन्सार काउन्टर इन्चार्ज वरिष्ठ सहायक तोरणराज राउतलाई पक्राउ गरिएको थियो । सोही घटनामा संलग्न भन्सार एजेन्ट सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसका विराटनगर–७ को सातघुम्ती बस्ने ४६ वर्षीय सुरेश बोहरा र ललित बोहरा फरार भएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए। भन्सार कार्यालयको भन्सार काउन्टरमार्फत प्रज्ञापनपत्र बमोजिमको भन्सार दस्तुरबापतको रकम भन्सार क्लियरिङ प्रयोजनार्थ भन्सार कार्यालयको खातामा जम्मा गर्ने र बैङ्कले भन्सार तिरेको रसिद दिने चलन छ । तर बैङ्कका ती कर्मचारी र भन्सार एजेन्ट मिलेर डिपोजिट गर्ने प्रयोजनार्थ गत पुस ९ देखि माघ १९ गतेका बीच सात दिनमा आठ वटा एकाउन्टपेयी चेक लिएर भन्सार क्लियरेन्स रसिद दिइएको कारण सो बरावरको रकम बैंकलाई हानी नोक्सानी हुन गएको नायब प्रहरी उपरीक्षक कोइरालाले जानकारी गराए। ती आठ एकाउन्टपेयी चेकमा नबिल बैंकको एक, सिटिजन्स इन्टरनेशनल बैंकको तीन, एभरेष्ट बैंकको एक, नेपाल एसबिआई बैंकको एक, सिद्धार्थ बैंकको एक र नेपाल बंगलादेश बैंकको एउटा छन् । बैंकका कर्मचारीले ‘गुड फर पेमेन्ट चेक’ वा ‘मेनेजर चेक’ लिनुपर्नेमा सो नलिएको देखिएको छ । पक्राउ परेका दुवै जनामाथि उच्च अदालतबाट म्याद थप गरी बैकिङ कसूर तथा सजाय ऐनअन्तर्गत कारबाही थालिएको प्रहरी जनाएको छ । जाहेरीको आधारमा नगद रसिदको अध्ययन गर्दा उक्त काउन्टरबाट झापा, मोरङ, सुनसरी, पर्सा र काठमाडौँलगायतका ४६ कम्पनी र व्यवसायीको नाममा सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसबाट कारोबार भएका देखिएकाले ती कारोबारको भुक्तानी सम्बन्धमा विवरण माग गरिएको बताइएको छ । रासस
सरकारले विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव सन् २०२१ मा लाने
काठमाडौ । सरकारले सन् २०२१ मा हुने संंयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुलुकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आयजस्ता महत्वपूर्ण सूचकांकमा सुधार ल्याउन अझै समय लाग्ने भएकाले उक्त प्रस्ताव सन् २०२१ मा लान लागिएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । विकासशील राष्ट्र हुन कूल राष्ट्रिय आय, मानवीय संसाधनको विकास र आर्थिक जोखिमको अवस्था गरी तीन मुख्य सूचकांक रहेका र तीमध्ये मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएकाले तत्कालै विकासशील राष्ट्रमा स्तरोन्नति हुनसक्ने अवस्था विद्यमान नरहेको उनले जानकारी दिए । नेपाललाई अझै पनि सहुलियतपूर्ण अन्तर्राष्ट्रिय सहयोग तथा व्यापारमा सहजीकरणको आवश्यकता भएकाले मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको मन्त्री खतिवडाले बताए। राष्ट्रसंघमा आर्थिक स्तरोन्नति सम्बन्धमा प्रत्येक तीन÷तीन वर्षमा समीक्षा बैठक हुने गर्दछ । सरकारले सन् २०१८ को समीक्षा बैठकमा उक्त प्रस्ताव लैजाँदा जोखिम बढ्ने देखिएकाले सन् २०२१ मा मात्रै लैजान खोजिएको हो । यसअघि राष्ट्रिय योजना आयोगले पनि सन् २०२१ मा उक्त प्रस्ताव लैजान तत्कालीन सरकारलाई सुझाव दिएको थियो । रासस
विप्लवकाे चेतावनीपछि भारतीय मिडियाले सलमान खानलाई नेपाल नजान दिए दवाव
काठमाडौं । मदिराको प्रवद्र्धन गर्नका लागि नेपाल नजान भारतीय सञ्चार माध्यमले वलिउडस्टार सलमान खानलाई दवाव दिएका छन् । भारतको चर्चित मिडिया हिन्दुस्तान टाइम्स, बम्बे टाइम्स, स्टार अफ वलिउड र न्युज वल्र्ड इण्डियाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले खानलाई नेपाल नआउन दवाव दिएको समाचारलाई प्राथमिकतासाथ प्रकाशित गरेका छन् । खानको फागुन २६ गते हुने द वङ टुर नेपाल कन्सर्ट भाड्ने घोषणा गरेको भन्दै ती मिडियाले सलमानलाई नेपालमा नजान सुझाएका हुन् । मंगलबार नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विज्ञप्ति प्रकाशित गरी कन्सर्ट नरोकिए भयानक परिणाम आउने चेतावनी दिएपछि भारतीय मिडियाले पनि सुरक्षाको कारण देखाउदै सलमान खानलाई नेपाल नजान भनेका छन् । आउदो २६ गते खान सहितका भारतीय कलाकारहरुले सैनिक मञ्च टुँडीखेलमा विशेष सांस्कृतिक कार्यक्रम गर्दैछन् । उनको यो क्रियाकलापले नेपालको संस्कृतिमाथि हस्तक्षेप हुने कलाकर्मीको भनाई छ । बहुराष्ट्रिय वियर उत्पादक काल्सवर्गको ८० प्रतिशत लगानी रहेको गोरखा ब्रुअरीले मदिराको बजार प्रवद्र्धनका लागि सलमानलाई नेपाल ल्याउन लागेको हो । नेपाली कलाकारको अवमूल्यन गरी मदिराको प्रवद्र्धन गर्न गोरखा ब्रुअरीले भारतीय कलाकार ल्याएर नेपालको संस्कृतिमाथि अतिक्रमण गरेको छ । गोरखा ब्रुअरी कर छलीको काण्डमा पर्दै आएको छ । द वाङ टुर नेपाल कार्यक्रममार्फत रक्सीको प्रवद्र्धनको लागि नेपाल आउने र प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट मूल्य राखिएको छ । यो कार्यक्रम ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो । खानका लागि नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात भएको र नेपाली कला संस्कृतिमा माथीको ठूलो अपमान समेत भएको बताइएको छ ।
काठमाडौं महानगर र म्याड्रिड महानगरबीच भगिनी सम्बन्ध स्थापित
काठमाडौं । काठमाडौं महानगरपालिका र म्याड्रिड महानगरबीच भगिनी सम्बन्ध कायम भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र म्याड्रिड सिटी काउन्सिलका उपप्रमुख लुइस क्यूटोले समझ्दारी पत्रमा हस्ताक्षर गरेका हुन् । म्याड्रिड काठमाडौंको भगिनी सम्बन्ध भएका शहरहरुमध्ये १५ औं शहर हो । समझ्दारी पत्रमा उल्लेख भए अनुसार खेलकुद, प्रर्यटन प्रवर्धन, सूचना तथा सञ्चार प्रविधि तथा ज्ञानको आदान प्रदान क्षेत्रमा सहकार्य हुनेछ । दुई शहरबिचको यस सम्बन्धले दुई देशका नागरिकहरु मात्र नभई दुई देशबिचको सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने आयोजकले विस्वास लिएको छ ।
स्पेन र जजिर्यालाई लगानी गर्न चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले दुई छुट्टा–छुटै देशका प्रतितिधिहरुसँंग भेटवार्ता गरी आर्थिक विषयमा छलफल गरेको छ । नेपालका लागि जजिर्याका राजदूत आर्चिल डजोलिसभिल र स्पेनको म्याड्रिड नगरपालिकाका कार्यबाहक मेयर लुईस कार्लाेस क्युटो अलभरेज डे सोटोमेयरलाई बुधबार चेम्वरको आफ्नै भबनमा गरेको छुट्टाछुटै भेट गरी नेपालमा लगानी गर्न आग्रह गरे । ती भेटवार्ताहरुमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले लामो राजनीतिक संक्रमणकाल अन्त भइ नेपालमा लगानीको लागि सुरक्षित वातावरण बनेको सम्बन्धमा जानकारी गराएका थिए । चेम्बरले कृषि, पर्यटन, हाडड्रो, खनिज तथा खनिजजन्य वस्तुहरुलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकोले लगानी गर्न आग्रह गरे । नेपालका लागि जजिर्याका राजदूत डजोलिसभिलले नेपालसँंग सहकार्य गरी अगाडि वढ्न आफूहरु तयार रहेको बताइएको छ । उनले नेपालमा प्रविधि, आर्थिक लगानी लगायतका विषयमा सहकार्य गरी अगाडी वढ्न सक्ने सम्भावना औल्याएका थिए । त्यस्तै स्पेनको म्याड्रिड नगरपालिकाका कार्यबाहक मेयर सोटोमेयरले सहरको आर्थिक विकासमा नगरपालिकाहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै काठमाडौं महानगरपालिकासँंग मिलेर सहकार्य गर्न र्दुइपक्षीय समझदारी भएको जानकारी गराएका थिए ।
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले शुक्रबार ५ अर्ब बजारमा पठाउदै
काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आउदो शुक्रबार बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकमा अधिक तरलताको अवस्था कमजोर हुदै गएपछि राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थासंगको सरकारको ट्रेजरी बिल सोभै खरिद बोलकबोल गरी पैसा पठाउन लागेको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा कम भएकाले रिपो जारी गर्न नपाउदा केन्द्रीय बैंकले सिधै बोलकबोलमार्फत ट्रेजरी बिल्स खरिद गर्न लागेको हो ।
एक लाख बढी गुनासोलाई प्रमाणीकरण गर्न स्थानीय तहमा पठाउने
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासोलाई यही फागुन मसान्तभित्र अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य डा.हरिराम पराजुलीको संयोजकत्वमा बुधवार बसेको केन्द्रीय गुनासो व्यवस्थापन समितिको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षण गरिएका विवरणको विश्लेषण गरी सम्भावित पुनर्निर्माण लाभाग्राही, प्रबलीकरण लाभग्राही र लाभग्राहीमा नपर्ने गुनासोकर्ताको सूचि तयारी पारी स्थानीय तहमा प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो । विगतमा विभिन्न कारणले छुटेका र लाभग्राही सूचिमा पर्न नसकेका भूकम्प पीडितहरुलाई मध्यनजर गर्दै प्राधिकरणले केन्द्रबाटै इञ्जिनियर परिचालन गरी प्रभावित जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण गरेको थियो । उक्त नामावलीलाई स्थानीय तहले अन्तिम प्रमाणीकरण गरी सिफारिस गरे प्राधिकरणले उनीहरुको सूचीलाई अन्तिम रुप दिने प्राधिकरणका सहसचिव नेत्र सुवेदीले जानकारी दिएका छन् । छुट तथा पुनःजाँच सर्वेक्षणका क्रममा भूकम्प अति प्रभावित १४ जिल्लाबाट करिब १ लाख ३० हजार गुनासोकर्ताको विवरण संकलन गरिएको थियो । जोखिमयुक्त वर्गका पीडितको घर निर्माणमा पहल त्यसैगरी, प्राधिकरणले चार वर्गका जोखिमयुक्त भूकम्प पीडितहरुको घर निर्माणको पहललाई अगाडि बढाएको छ । प्राधिकरणले ७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका असक्त एकल महिला, दृष्टिविहीन लगायतका रातो तथा निलो कार्डधारी अपांगता भएका व्यक्तिहरु तथा १६ बर्ष मुनिका नाबालिकाहरुको घरबासको व्यवस्था गर्न एक कार्यविधि तयार गरी लगत संकलनको कार्य अघि बढाइएको छ । प्राधिकरणको एमआईएस शाखाले १४ अति प्रभावित जिल्लामा करिब १६ हजार २ सय ५ जोखिमयुक्त वर्गका लाभग्राहीको प्रारम्भिक आंकडा निकालेको छ । प्राधिकरणले स्थानीय सरकारहरुमार्फत् यी वर्गका लाभग्राहीको लगत माग पनि गरेको छ । लाभग्राहीको संख्या निश्चित भएपछि प्राधिकरणले विभिन्न परोपरकारी संस्थालाई घर निर्माणका लागि आह्वान गर्ने योजना बनाएको छ । यसैक्रममा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसाल तथा अन्य उच्च अधिकारीले बेलायती विकास नियोग ‘डिफिड’का प्रतिनिधिहरुसँग यसबारेमा छलफल गरेका छन् । प्राधिकरणमा आएको डिफिड, नेपालका पुनर्निर्माण सल्लाहकार म्याग्नस मुरे तथा भूकम्पपछिको पुनर्निर्माण टिमका प्रमुख लियोनार्ड टेडसहितको टोलीले ती वर्गको भूकम्प पीडितको घर निर्माण गर्ने ढाँचाबारे आफ्नो धारणा राखेको थियो । प्राधिकरणले यी वर्गका पीडितको घर निर्माण गर्न आफ्नो कार्यविधि र अन्तिम सूचीअनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग बृहत् छलफल गर्ने योजना पनि बनाएको छ ।