विकासन्युज

काठमाडौं महानगर र म्याड्रिड महानगरबीच भगिनी सम्बन्ध स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिका र म्याड्रिड महानगरबीच भगिनी सम्बन्ध कायम भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र म्याड्रिड सिटी काउन्सिलका उपप्रमुख लुइस क्यूटोले समझ्दारी पत्रमा हस्ताक्षर गरेका हुन् । म्याड्रिड काठमाडौंको भगिनी सम्बन्ध भएका शहरहरुमध्ये १५ औं शहर हो । समझ्दारी पत्रमा उल्लेख भए अनुसार खेलकुद, प्रर्यटन प्रवर्धन, सूचना तथा सञ्चार प्रविधि तथा ज्ञानको आदान प्रदान क्षेत्रमा सहकार्य हुनेछ । दुई शहरबिचको यस सम्बन्धले दुई देशका नागरिकहरु मात्र नभई दुई देशबिचको सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने आयोजकले विस्वास लिएको छ ।

स्पेन र जजिर्यालाई लगानी गर्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले दुई छुट्टा–छुटै देशका प्रतितिधिहरुसँंग भेटवार्ता गरी आर्थिक विषयमा छलफल गरेको छ । नेपालका लागि जजिर्याका राजदूत आर्चिल डजोलिसभिल र स्पेनको म्याड्रिड नगरपालिकाका कार्यबाहक मेयर लुईस कार्लाेस क्युटो अलभरेज डे सोटोमेयरलाई बुधबार चेम्वरको आफ्नै भबनमा गरेको छुट्टाछुटै भेट गरी नेपालमा लगानी गर्न आग्रह गरे । ती भेटवार्ताहरुमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले लामो राजनीतिक संक्रमणकाल अन्त भइ नेपालमा लगानीको लागि सुरक्षित वातावरण बनेको सम्बन्धमा जानकारी गराएका थिए । चेम्बरले कृषि, पर्यटन, हाडड्रो, खनिज तथा खनिजजन्य वस्तुहरुलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकोले लगानी गर्न आग्रह गरे । नेपालका लागि जजिर्याका राजदूत डजोलिसभिलले नेपालसँंग सहकार्य गरी अगाडि वढ्न आफूहरु तयार रहेको बताइएको छ । उनले नेपालमा प्रविधि, आर्थिक लगानी लगायतका विषयमा सहकार्य गरी अगाडी वढ्न सक्ने सम्भावना औल्याएका थिए । त्यस्तै स्पेनको म्याड्रिड नगरपालिकाका कार्यबाहक मेयर सोटोमेयरले सहरको आर्थिक विकासमा नगरपालिकाहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै काठमाडौं महानगरपालिकासँंग मिलेर सहकार्य गर्न र्दुइपक्षीय समझदारी भएको जानकारी गराएका थिए ।

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले शुक्रबार ५ अर्ब बजारमा पठाउदै

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आउदो शुक्रबार बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकमा अधिक तरलताको अवस्था कमजोर हुदै गएपछि राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थासंगको सरकारको ट्रेजरी बिल सोभै खरिद बोलकबोल गरी पैसा पठाउन लागेको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा कम भएकाले रिपो जारी गर्न नपाउदा केन्द्रीय बैंकले सिधै बोलकबोलमार्फत ट्रेजरी बिल्स खरिद गर्न लागेको हो ।

एक लाख बढी गुनासोलाई प्रमाणीकरण गर्न स्थानीय तहमा पठाउने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासोलाई यही फागुन मसान्तभित्र अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य डा.हरिराम पराजुलीको संयोजकत्वमा बुधवार बसेको केन्द्रीय गुनासो व्यवस्थापन समितिको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षण गरिएका विवरणको विश्लेषण गरी सम्भावित पुनर्निर्माण लाभाग्राही, प्रबलीकरण लाभग्राही र लाभग्राहीमा नपर्ने गुनासोकर्ताको सूचि तयारी पारी स्थानीय तहमा प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो । विगतमा विभिन्न कारणले छुटेका र लाभग्राही सूचिमा पर्न नसकेका भूकम्प पीडितहरुलाई मध्यनजर गर्दै प्राधिकरणले केन्द्रबाटै इञ्जिनियर परिचालन गरी प्रभावित जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण गरेको थियो । उक्त नामावलीलाई स्थानीय तहले अन्तिम प्रमाणीकरण गरी सिफारिस गरे प्राधिकरणले उनीहरुको सूचीलाई अन्तिम रुप दिने प्राधिकरणका सहसचिव नेत्र सुवेदीले जानकारी दिएका छन् । छुट तथा पुनःजाँच सर्वेक्षणका क्रममा भूकम्प अति प्रभावित १४ जिल्लाबाट करिब १ लाख ३० हजार गुनासोकर्ताको विवरण संकलन गरिएको थियो । जोखिमयुक्त वर्गका पीडितको घर निर्माणमा पहल त्यसैगरी, प्राधिकरणले चार वर्गका जोखिमयुक्त भूकम्प पीडितहरुको घर निर्माणको पहललाई अगाडि बढाएको छ । प्राधिकरणले ७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका असक्त एकल महिला, दृष्टिविहीन लगायतका रातो तथा निलो कार्डधारी अपांगता भएका व्यक्तिहरु तथा १६ बर्ष मुनिका नाबालिकाहरुको घरबासको व्यवस्था गर्न एक कार्यविधि तयार गरी लगत संकलनको कार्य अघि बढाइएको छ । प्राधिकरणको एमआईएस शाखाले १४ अति प्रभावित जिल्लामा करिब १६ हजार २ सय ५ जोखिमयुक्त वर्गका लाभग्राहीको प्रारम्भिक आंकडा निकालेको छ । प्राधिकरणले स्थानीय सरकारहरुमार्फत् यी वर्गका लाभग्राहीको लगत माग पनि गरेको छ । लाभग्राहीको संख्या निश्चित भएपछि प्राधिकरणले विभिन्न परोपरकारी संस्थालाई घर निर्माणका लागि आह्वान गर्ने योजना बनाएको छ । यसैक्रममा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसाल तथा अन्य उच्च अधिकारीले बेलायती विकास नियोग ‘डिफिड’का प्रतिनिधिहरुसँग यसबारेमा छलफल गरेका छन् । प्राधिकरणमा आएको डिफिड, नेपालका पुनर्निर्माण सल्लाहकार म्याग्नस मुरे तथा भूकम्पपछिको पुनर्निर्माण टिमका प्रमुख लियोनार्ड टेडसहितको टोलीले ती वर्गको भूकम्प पीडितको घर निर्माण गर्ने ढाँचाबारे आफ्नो धारणा राखेको थियो । प्राधिकरणले यी वर्गका पीडितको घर निर्माण गर्न आफ्नो कार्यविधि र अन्तिम सूचीअनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग बृहत् छलफल गर्ने योजना पनि बनाएको छ ।

भत्केको धरहरा बन्नुपर्नेमा व्यापारिक भवनको जग खनियो, स्थानीयहरु आन्दोलित

काठमाडौं । २०७२ साल वैशाख १२ गते भत्केको नेपालको ऐतिहासिक धरोहर धरहरा निर्माण हुनुपर्नेमा यसकै मापदण्ड क्षेत्रभित्र धमाधम व्यापारिक भवन उठाउन जग खनिएको छ । काठमाडौं वडा नं ११ मा अवस्थित धरहराको कम्पाउण्डसँगै सडकको मापदण्डलाई समेत मिचेर भवनको जग खनिएको भन्दै स्थानीय तथा व्यापारीहरु यतिबेला आन्दोलित बनेका छन् । कुनै सूचना नै नदिई रातारात राष्ट्रिय सम्पदा नै नाश्नेगरी धरहराको मापदण्ड क्षेत्रभित्र बन्न लागेको संरचना निर्माण कार्य तत्काल रोकेर धरहराको निर्माण अगाडि बढाइनुपर्ने भन्दै उनीहरु विभिन्न निकाय धाईरहेका छन् । धरहरा बचाउ अभियान संघर्ष समिति नै बनाएर स्थानीयहरु आन्दोलित भएका हुन् । मंगलबार उनीहरुले पुरातत्व विभागका महानिर्देशकसहित पदाधिकारीहरुलाई भेटेर उक्त निर्माण संरचनाबारे अवगत गराउँदै ध्यानाकर्षण गराएका थिए । त्यस्तै बुधबार उनीहरुले वडा नं ११ का अध्यक्ष तथा जनप्रतिनिधिहरुलाई उक्त कार्यबारे ध्यानाकर्षण गराएका छन् । पुरातत्व विभागले धरहराको आसपासमा रहेको गुठी संस्थाले पार्किङगरी गुठीलाई आम्दानी गराउनसक्ने मौखिक स्विकृति दिएको तर संरचना बनाउन नदिएको बताएपनि बलजफ्तरुपमा राष्ट्रिय धरोहर मास्ने खेल भईरहेको उनीहरुको आरोप छ । यसबारे पुरातत्व विभागले रिपोर्ट पनि लिएर गईसकेको स्थानीयहरु बताउँछन् । ‘मेरो धरहरा मै बनाउँछु भन्नेहरुले खोई चासो दिएका धरहरा बनाउन शुरु गर्नुपर्नेमा घर बनाउन शुरु गरेर हुन्छ ।’ संघर्ष समितिका वेदप्रकाश गौतमले भने । ‘अब धरहरा बन्दा खुला स्थान राखेर बनाईनुपर्छ । यो राष्ट्रको धरोहरलाई नमूना पर्यटकीय स्थल बनाईनुपर्छ, कम्पाउण्डभित्र व्यापारिक भवन बनाउने होईन ।’ ‘अन्य स्थानमा सडक छेउका करोडौं भवन भत्काउने सरकार के हेरेर बसेको छ, गुठीको जग्गा भन्दैमा सडक मिचेरै संरचना बनाउन पाउँछ ।’ आक्रोशित स्थानीयले भने, ‘विना सूचना अरुको घर अगाडि खालडो खन्न पाउँछ ।’ स्थानीयले धरहरा अगाडि फागुन ३ गते जस्ता बारेपछि मात्र व्यापरिक भवन बन्न लागेको थाहा पाएको बताए । त्यसको सात दिनपछि डोजर ल्याएर खाल्डो खनेको र रातिको समय पारेर निर्माण कार्य अगाडि बढाईंदै लगेको उनीहरुले बताएका छन् । स्थानीय सुशिल विक्रम थापाले भने, ‘विभिन्न विवादकाबीच यो जग्गा गुठीको नाममा आएको भन्ने बुझेको छु । तर नगरपालिकाले संरचना निर्माणमा कसरी स्विकृति दियो, अचम्ममा छौं ।’ भू-माफियासँगको चलखेलका कारण उक्त निर्माण कार्य भईरहेको भन्दै आक्रोशित स्थानीयहरुले व्यापारिक भवन निर्माण कार्य रोकिएर तत्काल राष्ट्रिय सम्पदा धरहरा बनाईनुपर्ने माग गरेका छन् । पहिले भिमसेन स्तम्भको नामले प्रचलित धरहरा १९९० को भूकम्पले भत्काएपछि १२ तलाबाट धरहरा ९ तल्लामा सीमित गरिएको थियो । दोस्रोपटक निर्माण भएको धरहरा २०७२ वैशाख १२ को भूकम्पले भत्काएको थियो ।

एक्सेल डेभलपमेन्ट बैंक झापाको दुधेबजारमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २०औं शाखा झापा जिल्लाको दुधेबजारमा स्थापना गरी उद्घाटन गरेको छ । शाखाको उद्घाटन मंगलबारका दिन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख चन्द्रकुमार शर्मा र यस बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका छन् । बैंकले उक्त शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्ने छ । हाल बैंकले विभिन्न २२ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै, चालु आ.व.मा आफ्नो कार्यक्षेत्र भित्रका थप केहि ठाउँहरुमा शाखा विस्तार गर्ने बैंकको लक्ष्य रहेको छ ।

जापान सरकारद्धारा एन्फालाई आर्थिक सहयोग, फुटबलका मुख्य प्रशिक्षक कोजीको कार्यकाल थप

काठमाडौं । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । जापानी दूतावासद्धारा बुधबार यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धीरेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुट्स प्रोजेक्टअन्तर्गतबाट नेपाललाई अनुदान स्वरुप सो रकम दिन लागेको हो । एन्फा महासचिव प्रधानले उक्त रकमबाट एन्फा कम्प्लेक्समा रहेको मैदानमा दर्शकका लागि शौचालय, निर्माण, चेन्जिङ रुमको स्तर उन्नति र टेक्निकल डाइरेक्टरका लागि कार्यालय निर्माण गर्ने योजना रहेको बताउनुभयो । फुटबलका मुख्य प्रशिक्षक कोजीको कार्यकाल थप त्यस्तै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातोकु कोजीको एक वर्षका लागि कार्यकाल थप गरेको एन्फाले जनाएको छ । सन् २०१६ मार्चदेखि मुख्य प्रशिक्षकका रुपमा रहेका कोजीको आगामी महिनामा म्याद सकिँदै थियो । रासस

यातायात व्यवस्था कार्यालयका नासु लेखनाथ भुसाल घुस सहित रंगेहात पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालयमा कार्यरत नायब सुब्बा लेखनाथ भुसाल ३२ हजार घुष रकम सहित पक्राउ परेको छ । गोप्य सूचनाको आधारमा अख्तियारको टोलले भुसाललाई पक्राउ गरेको हो । भुसालले सवारी चालक अनुमति पत्र बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको अवस्थामा पक्राउ गरेको हो । त्यसैगरी औषधि ब्यवस्था विभाग, कार्यालय बाँकेमा कार्यरत फार्मेसी निरीक्षक पुष्प राना क्षेत्री पनि २८ हजार घुस लिदाँलिदै पक्राउ परेकी छिन् । मेडिकल सेन्टर अनुगमनको क्रममा विभन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिइ गएको टोलीले रानालाई पक्राउ गरिएको हो । भुसाल र रानामाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।