अपडेटः नेप्से ५० अंकले झरेर १३०० अंक तल
काठमाडौं । आइतबारको सेयर बजारमा तीव्र गिरावट देखिएको छ । कारोबार खुलेको पौने ३ घण्टामा नेप्से परिसूचक ५० अंकले ओरालो लागिसकेको छ । दिउँसो करिब १ बजेर ४१ मिनेट जाँदा बजारमा नेप्से परिसूचक ३.७६ प्रतिशतले घटेर परिसूचक १२९५ अंकमा झरेको छ । सबैभन्दा बढी बीमा समूह ३०२ अंकले घटिसकेको छ । बाँकी कारोबारमा आएका सबै सूचक राताम्मे छन् । सो अवधिसम्म अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताले ९.३१ प्रतिशत गुमाएका छन् । बजारमा जम्मा ४ वटा कम्पनीले करिब २ प्रतिशत कमाएका छन् भने कारोबारमा आएका बाँकी सबै कम्पनीले गुमाएका छन् ।
विश्वकप छनौट खेलमा जिम्बावेको ब्याटिङ सुरु
काठमाडौं । विश्वकप छनोटअन्तर्गतको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ गर्न थालेको छ । क्विन्स स्पोट्र्स क्लबमा नेपालले बलिङ गर्न अवसर पाएको छ । नेपाली टोलीमा ललित नारायण राजवंशीले पहिलो बलिङ गगर्दैछन् । क्रमशः सोमपाल कामी र पारस खड्काले सुरुवाती बलिङ गर्नेछन् । सन्दिप लामिछाने र बसन्त रेग्मी पनि छन् । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल पनि छन् ।
लगानीयोग्य पुँजी अभाव भएपछि बैंक पैसा लिन ग्राहकको दैलोमा
म्याग्दी । जिल्लामा रहेका बैंकका शाखामा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न बैंकले घरदैलो गर्न थालेका हुन् । विप्रेषणमा आश्रित जिल्लाको अर्थतन्त्रमा विप्रेषण घट्न थालेपछि बैंकहरूमा तरलता अभाव देखिन थालेको गण्डकी विकास बैंकका बेनी शाखा प्रबन्धक कुमार ढुङ्गानाले बताए।“विप्रेषण घटेको र सरकारी खर्च अपेक्षाकृत नहुँदा बजारमा तरलता अभाव भएको हो”, उहाँले भने, “निक्षेप संकलनमा लक्ष्य पूरा गर्न सहकारीका बजार प्रतिनिधिको भन्दा धेरै दौडधुप छ ।” बेनीस्थित विभिन्न बैंकका १८ वटा शाखाले चालू आवको पहिलो छ महिनामा २ अर्ब ३२ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २८ करोड २० लाख रुपैयाँ कर्जा लगानी भएको जनाएका छन् । यो निक्षेप संकलनभन्दा ४१ प्रतिशतले बढी हो । बैंकमा जम्मा भएको निक्षेप संकलन लक्ष्यको ४० प्रतिशतको हाराहारी रहेको बैंकहरूले जनाएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा असार मसान्तमा १५ करोड निक्षेप रहेकामा पुस मसान्तसम्ममा उल्टो ऋणात्मक भएर १२ करोड ९५ लाख रुपैयाँमा खुम्चिएको छ । कृषि विकास बैंकको अवस्था पनि उस्तै छ । विप्रेषणको अधिकांश रकम खाद्यान्न र विलासी उपभोग्य क्षेत्रमा खर्च हुने गरेको छ । नेपालीको प्रमुख श्रम गन्तव्य खाडी मुलुक कतारको समस्याका कारण घटेको विप्रेषण जापान, अस्टे«लियालगायत देशमा अध्ययनका लागि जाने विद्यार्थीमार्फत फिर्ता हुने क्रम बढेकाले जिल्लामा तरलताको अभाव भएको गरिमा विकास बैंकका बेनी शाखा प्रबन्धक कमल ढुङ्गानाले जानकारी दिए । जिल्लामा रहेका सबै बैंकको पहिलो कर्जा लगानी फेन्सी पसल, किराना पसल, गाडी र व्यक्तिगत ऋणमा गरेको अवस्था छ । कुनै पनि बैंकले ठूलो लगानी भएको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा लगानी गरेका छैनन् । एकाध बैंकले कृषि, घर निर्माण, ठेक्कापट्टा र शैक्षिक कर्जामा लगानी गरेका छन् । कृषि क्षेत्रमा लगानी गरिएको भनिए पनि जिल्लामा व्यावसायिक कृषि फार्म नगन्य संख्यामा छन् । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास गतिविधि बढ्ने र अर्थतन्त्र चलायमान हुने अपेक्षा विपरीत सरकारी बजेट कम भयो । विप्रेषणबाट आएको रकम पनि बैंकको च्यानलमा नआई बाहिरिएपछि वित्तीय प्रणाली प्रभावित भएको हो”, माछापुच्छ्े बैंकका शाखा प्रबन्धक श्रीधर ढुंगानाले भने, “वित्तीय साक्षरता न्यून र सानो बजारमा सीमित ग्राहक तानातानको अवस्था छ ।” जिल्लामा भित्रिने विप्रेषणमध्ये बचेको रकम जिल्लाबाट पोखरा, चितवन र विदेशतर्फ पलायन भएकाले बैंकमा निक्षेप घटेको हो । बैंकको ब्याजभन्दा बचत तथा ऋण सहकारीले बढी ब्याज दिने भएकाले बचतकर्ता बैंकमा भन्दा सहकारीतर्फ आकर्षित छन् । सहकारीबाट कर्जा लिनसमेत सजिलो हुने भएकाले साना व्यवसायी बैंकको पहुँचमा छैनन् । म्याग्दी बहुमुखी क्याम्पसको अर्थशास्त्र विषयका प्रध्यापक भोलानाथ घिमिरेले तरलता अभावको समस्या समाधानका लागि सरकारी निकायले पूँजीगत खर्च वृद्धिसँगै वैदेशिक रोजगारीमार्फत भित्रिने विप्रेषणलाई जिल्लामै उत्पादनशील क्षेत्रमा परिचालन हुने वातावरण बनाउनुपर्ने बताउछन् । रासस
प्राइम लाइफ इन्स्योरेन्सले १२.५ प्रतिशत बोनस र ९८ लाख रुपैयाँ नगद लाभांश दिने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ९८ लाख ९४ हजार १०३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई हाल कम्पनीले निष्काशन गरिरहेको हकप्रद सेयर बाँडफाँड पश्चात कायम हुने चुक्ता पुँजीमा सो मात्राको लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल १६० प्रतिशत हकप्रद जारी गरिरहेको छ । उक्त हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । सो पुँजीमा १२.५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ७८ करोड रुपैयाँ नाघ्ने छ । इन्स्योरेन्सले साधारणसभामा जाने प्रयोजनको लागि फागुन ३० गते कम्पनीको बुक क्लोज गर्दै छ । यस इन्स्योरेन्स आगामी चैत १४ गते कम्पनीको ११ औँ वार्षिक साधारणसभामा जाँदै छ ।
वैशाखदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाइने
काठमाडौं । तपाईसंग व्यवसाय गर्ने योजना छ, तर पैसा नभएर अघि बढाउन सक्नु भएको छैन ? अब चिन्ता नगर्नुस तपाईसंग स्नातकोत्तर तहसम्मको प्रमाणपत्र धितोमा राखेर कर्जा पाइने छ । तर त्यसका लागि आफनो व्यवसायीक योजना पेश गर्नुपर्ने छ । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा आउदो बैशाखदेखि उद्यम गर्न ऋण दिने भएको छ । नेपाल युवा तथा खेलकुद मन्त्रालय, नेपाल युवा परिषदले शैक्षिक प्रमाण पत्रको आधारमा उद्यम खोल्नलाई ऋण दिने अन्तिम तयारी गरेका छन् । स्वदेशमै स्थानीय स्रोत तथा साधनको प्रयोग गरी विदेशिनबाट युवाहरुलाई रोक्न विगतनै सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा उद्योग खोल्न ऋण दिने घोषणा गरेको थियो । त्यसलाई मूर्तरुप दिन लागेको परिषदले बताएको छ । परिषदको प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले फागुनभित्रै उक्त कार्यक्रमको लागि कार्यविधि तयार हुने बताए । उनका अनुसार वैशाखदेखि कार्यक्रम सुरु गरिनेछ । यसवर्ष ‘पाईलट प्रोगाम’को रुपमा कार्यक्रम सञ्चालन गरिनेछ । ‘वैशाखमै उद्यम खोल्न प्रस्तावनाको लागि ३५ दिने सूचाना निकाल्ने तयारी गरिहेका छौं’, उनले भने ‘त्यसपछि आएको प्रस्तावलाई छनौट गरि ३५ जनालाई ऋण उपलब्ध गराउनेछौं ।’ विशेषज्ञहरुको सिफारिस र राष्ट्रिय कार्यकारी समिति रहेको छनौट समितिले मुलुकभरबाट आएको प्रस्ताव, शैक्षिक प्रमाण पत्र, सम्भावना लगायतको मूल्याङ्कन गरेर उद्योगको छनौट गर्ने उनको भनाइ छ । स्थानिय स्रोत साधान उपयोग गरिएको उद्योगहरुलाई प्राथमिकतामा राखिनेछ । ‘छनौटमा परेका युवालाई उद्योग सञ्चालनको लागि १ देखि ३ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ,’ उनले भने ‘ऋणमा ब्याज लाग्दैन । किस्तामार्फत क्रण तिर्नु पर्ने व्यवस्था छ ।’ सुरु हुन लागेको कार्यक्रमको आधारमा आगामी वर्षहरुमा उक्त कार्यक्रमलाई विस्तार गर्दै लैजाने सरकारको योजना रहेको उनले जानकारी दिए । परिषदको अनुसार सञ्चालन गर्न लागिएको यस कार्यक्रमको लागि चालु आर्थिक वर्ष ७५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । प्रदान गरिएको ऋणबाट युवाहरुले कृषि तथा पशुपन्छी, वन तथा जडिबुटी, पर्यटन, निर्माण, कला संस्किृति लागायतका उद्योगहरु सञ्चालनमा आउने विश्वास गरिएको छ ।
अपडेटः सेयर बजार ३.०४ प्रतिशतले ओरालो, सबै समूह राताम्मे
काठमाडौं । आइतबार बजार खुलेको २ घण्टामै सेयर बजार ३.०४ प्रतिशतले ओरालो लागेको छ । सो दिन करिब १ बजेर ७ मिनेट जाँदा नेप्से परिसूचक ४० अंकले घटेको छ । भारी अंकले घटेको बजारमा सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३४ अंकले ओरालो लागेको छ । बजारमा परिसूचक सँगै काराबार रकममा पनि गिरावट आएको छ । सो अवधिसम्म कूल १३८ कम्पनीको २३ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।
सिटिजन्स म्युचअल फण्डको आइतबार बाँडफाँड, १७ हजार आवेदकले ८२ करोड पाए
काठमाडौं । सिटिजन्स बैंकले ल्याएको सिटिजन्स म्युचअल फण्ड १ को आइतबार बाँडफाँड भएको छ ।१७ हजार आवेदकलाई ८२ करोड रुपैयाँको सिटिजन्स फण्ड बाँडफाँड भएको हो । प्रति एकाई १० रुपैयाँ दरको १ अर्ब रुपैयाँको १० करोड कित्ता फण्ड निष्कासन भएको थियो । निष्कासन भएको मध्ये १८ करोडको बिक्री नभएको सीबीआईएलले जनाएको छ । लगानीकर्तालाई वार्षिक २२ प्रतिशत भन्दा बढी लाभांश दिने सीबीआईएलले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्धन र सीबीआइएल आयोजना व्यवस्थापक रहेको म्युचअल फण्डले आउदो ७ वर्षमा औसत २२.३ प्रतिशत लाभांश दिने भएको हो । म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ । म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ ।
धेरै कम्पनीको सेयर मूल्य १०० नजिक, म्यूचल फण्डको मूल्य १० भन्दा कम
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको सेयर आईतबार १०३ रुपैयाँमा किनबेच भयो । पछिल्लो दुई सातामा यस कम्पनीको सेयर मूल्य ११५ बाट १०३ मा झरेको छ । आइतबार खरिद आदेशमा यस कम्पनीको मूल्य १०१ राखिएको छ । आज भोली नै यस कम्पनीको सेयर मूल्य ९९ भन्दा तल आउने छ । १०० रुपैयाँ मूल्य अंकित यो सेयर ९९ सयमा करोबार हुँदा यस पटकको सेयर बजारको मन्दीमा नयाँ रेकर्ड बन्ने छ । हुन त यसअघि नै केही म्यूचल फण्ड अंकित मूल्यभन्दा कममा कारोबार भईराखेका छन् । १० रुपैयाँ अंकित एनआईबीएल प्रगति फण्ड ९ रुपैयाँ ४० पैसामा कारोबार भईरहेको छ । त्यस्तै, १० रुपैयाँ अंकित मूल्य रहेको सिद्धार्थ इक्विटि फण्ड ९ रुपैयाँ ४७ रुपैयाँमा, नविल इक्वीटी फण्डको मूल्य पनि ९ रुपैयाँ ७० पैसामा झरेको छ । १० रुपैयाँ अंकित एनआईबी आईव्रिड फण्ड पनि ९ रुपैयाँ ८० पैसामा कारोबार भईरहेको छ । बजारमा ख्याति कमाईसकेको पुराना म्यूचल फण्डहरु अंकित मूल्यभन्दा कममा कारोबार हुन थालेपछि पछिल्लो समय एनआईसी क्यापिटल र सिविआइएल क्यापिटले निष्काशन गरेको म्यूचल फण्डमा प्रयाप्त आवेदन परेन । प्राथमिक निष्काशनमा समेत प्रयाप्त आवेदन नपर्नुले सेयर बजारमा जारी मन्दी अझै गरिरिने संकेतको रुपमा हेरिएको छ । केही फाइनान्स कम्पनीहरुको सेयर मूल्य पनि १०० को नजिक पुगिसकेको छ । बेष्ट फाइनान्सको सेयर मूल्य १२० रुपैयाँमा झरेको छ । गोर्खा फाइनान्स र रिलाईन्स फाइनान्सको सेयर १३० रुपैयाँमा कारोबार हुन थालेको छ भने सेन्ट्रल फाइनान्सको सेयर १३१ रुपैयाँमा झरेको छ । वाणिज्य बैंकहरुको सेयर मूल्य पनि २०० बाट तल झर्न थालेको छ । सिभिल बैंकको सेयर १६१ रुपैयाँमा झरेको छ । जनता बैंकको सेयर १७० रुपैयाँमा झरेको छ भने सेन्चुरी बैंकको सेयर १९० रुपैयाँमा कारोकार हुन थालेको छ । विहीबार लक्ष्मी बैंकको प्रमोटर सेयर प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भयो । जलविद्युत कम्पनीहरु, लघुवित्त कम्पनीहरु, फाइनान्स कम्पनीहरु मध्ये धेरैको सेयर मूल्य प्रतिकित्ता २०० भन्दा तल पुगिसकेको छ ।