विकासन्युज

पोखरा फाइनान्सको सी­आस्वा सेवा सञ्चालनमा

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले सी­आस्वा प्रणाली सञ्चालनमा ल्याएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त सेवा सञ्चालनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सी­आस्वा लागु गरिएकोले ग्राहकले वित्तीय संस्थाको कार्यालयमा सम्पर्क गरी सी­आस्वा रजिष्ट्रेसन नम्बर (सि.आर.एन.) लिनुपर्ने छ । त्यसपछि ग्राहक स्वयंले अनलाइन मार्फत् वा वित्तीय संस्थाको कुनै पनि शाखामा गई सोही बमोजिम आवेदन बराबरको रकम आफ्नो खातामा रोक्का राखी आवेदन दिन सक्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताएका छन् ।

४० अर्ब मास्ने राष्ट्र बैंकको योजनामाथी अख्तियारको अंकुश, अघि बढ्यो छानबिन

काठमाडौं । कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र निर्ब्याजी ४५ लाख रुपैंयाँ घर मर्मतका लागि सापटी दिने नेपाल राष्ट्र बैंकको योजनामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । राष्ट्र बैंकले कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र घर मर्मतका लागि ४५ लाख रुपैंयाँ निर्ब्याजी उपलब्ध गराउने निर्णय गरेको भन्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा आयोगले छानविन प्रक्रिया अघि बढाएको हो । अख्तियारले सो सम्बन्धमा आफ्नो राय प्रतिक्रिया मागेर अर्थमन्त्रालयलाई पत्राचार समेत गरेको छ । आयोगले अर्थमन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखालाई पत्र लेखेर आवश्यक छानविन गरि राय प्रक्रिया तत्काल पठाउन भनेको छ । श्रोतका अनुसार राष्ट्र बैंक सञ्चालक समितिले सञ्चालक रामजी रेग्मीको नेतृत्वमा गठन गरेको कर्मचारको सेवा सुबिधा पुनरावलोकन समितिले सो प्रस्ताव सञ्चालक समितिमा पेश गरेको छ । तर निर्णय भने भैसकेको छैन् । ‘सञ्चालक समितिले निर्णय नै गरिसकेको चाँही होइन तर रामजी रेग्मी नेतृत्वको समितिले त्यस्तो प्रस्ताव तयार पारेर सञ्चालक समितिमा पेश गरेको छ’, राष्ट्र बैंक श्रोतले भन्यो । रेग्मी नेतृत्वको समितिले १८ प्रतिशत भत्ता र ४५ लाख निर्ब्याजी ऋण उपलब्ध गराउने प्रतिवेदन पेश गर्दा कर्मचारीबाट पैसा असुलेको आरोप पनि उजुरीमा लगाइएको छ । आयोगले सो सम्बन्धमा पनि छानविन गरि पठाउन मन्त्रालयलाई भनेको छ ।

रजिस्ट्रारको कार्यालयले आजदेखि सुरु गर्याे ‘विन्डो सिस्टम’

काठमाडौं । कम्पनी  कार्यालयले आइतबारदेखि ‘विन्डो सिस्टम’ सुरु गरेको छ । जसअन्तर्गत सहायक रजिस्ट्रार रहेको कक्षको झ्यालबाट आवश्यक सेवाको लागि फाइल पेश गरिन्छ । उक्त फाइलको प्रक्रिया कार्यालयहरुका कर्मचारीहरुलेनै अघि बढाउछन् । अन्तमा जहाँ फाइल पेश गरिएको हो सोही सहायक रजिस्ट्रारको कक्षबाट सेवाग्राहीलाई फाइल उपलब्ध गराइने कार्यालयका सूचना अधिकारी गंगाधर पौडेलले बताए । सेवाग्राहीलाई छिटो, छरितो र सहज रुपमा सेवा प्रदान गर्नका साथै फाइलको सुरक्षा गर्ने उद्देश्यले उक्त प्रणाली सुरु गरिएको हो । गएका दिनहरुमा कार्यालयभित्र विभिन्न किसिमका सेवाग्राही प्रवेश गर्ने, भिडभाड बढाउने, फाइल अव्यवस्थित राख्ने लगायत समस्या हुने गरेकोले सो प्रणालीले सुधार आउने उनको विश्वास छ । ‘कागजात पुगेमा छिटाेमा १/२ घन्टाभित्रै काम बन्नेछ,’   उनले भने ‘बढीमा कामको प्रकृतिको आधारमा फाइल पेश गरेको २/३ दिन भित्र काम सिदिन्छ,’ उनले भने ‘प्रत्येक कामको लागि प्रत्येक कार्यालय सहायकहरु काममा खटिएका छन् ।’ कार्यालयका सहायक रजिस्ट्रार नारायण भट्टराईले कम्पनी सम्बन्धी अधिकांश काम ‘विन्डो सिस्टम’ अनुसार हुने बताए । उनका अनुसार कम्पनी दर्ता, दर्ता खारेज, सेयर लागत अभिलेख लगातका कामहरु हुन्छन् । ‘साे प्रणालीको कारण सेवा सहज बनेता पनि पर्याप्त जनशक्ति भएन भने समस्या निम्तिने देख्दछु,’ उनले भने । सेवाका लागि आएका कानुन व्यवसायी ज्ञानप्रसाद खनालले ‘विन्डो सिस्टम’ ले सेवा प्रवाह सहज बन्ने विश्वास लिए । कार्यालयमा भेटिएका विभिन्न सेवा ग्राहिहरुले उक्त प्रणालीले काम सहज हुने, फाइल नहराउने लगायतमा सहयोग पुग्ने बताएका छन् । यद्यपि पर्याप्त जनशक्ती जुटाउन नसके ढिलासुस्ती लागातयको समस्या अझ बढ्ने उनीहरुले सङ्का गरेका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकको भैरहवा शाखा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले भैरहवा शाखाको स्थानान्तरण गरेको छ । बैंकले रुपन्देही जिल्ला सिदार्थनगर नगरपालिका वडा न. ५ अवस्थित बैंकको भैरहवा शाखा कार्यालयलाई सोही नगरपालिकाको नारायणपथस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ । बैंकले स्थानीय माग अनुसार कारोबार गर्ने स्थान सानो भएकाले आवश्यकता पूर्तिका लागि बैंकले सुविधा सम्पन्न भवन निर्माण गरी शाखा सारेको हो । बैंकले हाल ६६ वटा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । हाल प्रदेश नम्वर १ मा ८ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३१ वटा, प्रदेश नम्वर ४ मा ५ वटा, प्रदेश नम्वर ५ मा ८ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा पुगेको छ । साथै, बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटीएम रहेको छ ।

सेयर बजारमा गिरावट आएपछि लगानीकर्ताको यस्ता छन् प्रतिक्रिया

काठमाडौं । भारी अंकले ओरालो लागेको आइतबारको सेयर बजारप्रति लगानीकर्ताको विभिन्न प्रतिक्रिया आएको छ । सेयर बजारका लगानीकर्ताले विभिन्न फेसबुक वालमा दिएका प्रतिक्रिया यस्ता छन् । आशिष कोइराला लेख्छन्: नाङ्लो ठटाको देखेर हात्ती तर्सिदैन, जति सुकै घटोस बजार घाटामा सेयर बेचिदैन आर पि खनालः एमालेलाई भोट दिएर ठुलो गल्ती भयो भन्ने दिन आयो जस्तो छ । केपी ओलिजी लाखौं साना लगानी गर्ने जनताहरु मारमा पर्दैछन एउटा मन्त्री बहुलाएर सिङ्गो पार्टी बिग्रेको हेर्न चाहानु हुन्छ जस्तो लाग्दैन । चुनाब फेरि पनि आउन्छ पार्टीको समर्थक हुँदा हुदै पनि एमाले पता साफ भएको हेर्न नपरोस । नरेन्द्र सिजापति :“अनुत्पादक ” शब्दको चार घन्टामा निर्धारण भएको मुल्य ४७ अर्ब । विनोद आले: घट्ने र बढ्ने क्रम हुने नै गर्छ बजारमा भन्ने थाहा हुँदाहुँदै किन रुवाबासी । राम कुमारः जब जब डा. खतिवडा साहेबको आगमन हुन्छ, मार्केटमा सयौँ अंकको गिरावट हुन्छ । उहाँको आगमनले यसपटक पनि मार्केट १०० अंकको हाराहरी घटी सक्यो, अब रोकिन्छ कि ? मुकुन्द रञ्जितः धेरै घटेपछि हामी जस्ता गरीब जनताहरुले सेयर किन्ने मौका पाउँछ होला, अहिले सबै सेयरधनी जनताहरुको हातमा छ । गाबिन्द अर्यालः सेयरका दलाल र जग्गाका दलालहरु चिच्याउँदै छन् । अनिल श्रेत्रीः काला बजारी र दलालहरुका दिन गए । हाम्रो भोट पक्कै खेर जाँदैन जस्तो छ । दलाल र माफियाहरुको केही विकल्प खोजी गरे हुन्छ । नबिन कार्कीः सधै नाफा हुन्छ भन्ने छैन, जे मा नी रिक्स छ जसले रिक्स लिन्छ उसले कमाउँछ जो डराउँछ उसले घाटा खान्छ । सेयर मार्केटबाट सधै नाफा भनेर सोच्नु ठिक हैन । योगराज लामिछानेः नेप्से भोली ९०० मा आउँछ भन्छन् भने पनि बेचिदैन। योग श्रेष्ठः खतिवडाको नाम भजाएर गिद्दले सिनो लुछे झै लुछे आज । श्रेष्ठको स्ट्याटसमा प्रतिक्रिया दिँदै एचपी खकुरेल भन्छन्ः गिद्दको अगाडि सिनो राखिदिए पछि खाइहाल्छ नि यो कुनै नौलो कुरा नै हैन, यो उसको धर्म नै हो । रङ्गनाथ श्रेष्ठः साँडे सुत्यो … साना लागनीकर्ताको मुटु काम्यो अबको केहिदिनमा किने र होल्ड गर्नेको दिन फेरिने होकि ? खगेन्द्र आत्रेयः यो अर्थमन्त्री हुन्जेल पञ्च बर्श शेयरमा लगानी गर्नु आभिसाप हुन्छ होला हौ । दिपेन्द्र बर्जाचार्यः नेपालमा कम्युनिस्टहरुको सोच आफु धनी बन्ने जनतालाई एउटै लेभलमा राख्ने हो त्यसैले शेयर किनेर मालामाल भएकालाई सडकमा सुताउन खोज्दै छ….. । अतित आचार्यः येस्तै स्पीढमा माक्रेट घट्दै गयो भने के आइपीओ, एफपीओ भर्नु सिधै जानि सेकेन्डरी किन्नी ।  रमेश राउत : अर्थमन्त्रीको भनाइ र बैंकको ब्याजदर ८% भन्दा नबढनुलाइ भोलिको सेयरबजारमा लगानीकर्ताहरुले कसरी लिन्छ्न होला र नेप्से बढला कि घटला ? शम्भुलाल मल्ल : म संग १५००० कित्ता आइ पि ओ को शेयर छ । लौ अब यस सम्बन्धि बिज्ञ ज्यु हरूले बताइदिनु परो म घाटामा छु कि नाफामा ? माधव दुवाडी : घटनुको पनि सिमा हुन्छ नि हावा मा आतिएर लगानीकर्तालाई आफ्नो शेहर नबेचन मेरो आग्रह । लगतै पछुताउनु पर्नेछ । ज्ञानबहादुर पुडासैनीः अहिले पतझडको केहि समय बाकी छ । त्यसपछि पालुवा आइ हरियाली नै हरियाली हुन्छ । हेरौ पर्खौ । -साभार फेसबुक

भोडाफोन र नोकियाले चन्द्रमामा ’फोर जी’ सञ्चालनमा ल्याउने

काठमाडौं । चन्द्रमामा पनि चौथो पुस्ता (फोरजी) मोवाइल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जर्मनीको भोडाफोन र नोकिया कम्पनीले संयुक्त रुपमा चन्द्रमामा फोरजी सेवा सञ्चालनमा ल्याउन जुटेका छन् । फोरजीको प्रयोग गरेर रोबोटले त्यहाँबाट प्रत्यक्ष तस्वीरहरू पठाउन सक्ने बीबीसीले जनाएको छ । बर्लिनको पीटी साइन्टिस्ट्स कम्पनीका लागि फोरजी नेटवर्क सञ्चालनमा ल्याउन लागेको हो । सो कम्पनीले चन्द्रमामा निजी रोबोट पठाउने योजना बनाएको छ । ’एपोलो ११ मिशन’ को ५० वर्ष पूरा भएको अवसर पारेर सो कम्पनीले चन्द्रमामा एउटा ’लञ्चर’ र दुईवटा रोबोट पठाउने बीबीसीले उल्लेख गरेको छ । ’एपोलो ११ मिशन’ अमेरिकी अन्तरिक्ष संस्था नासाको महत्त्वाकांक्षी योजना हो । यसअन्तर्गत सन् १९६९ मा नील आर्मस्ट्रङ्ग र एड्विन अल्ड्रिनले पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए । आगामी वर्ष चन्द्रमामा फोरजी नेटवर्क हुने भोडा फोनले जानकारी दिएको छ । भोडाफोनले चन्द्रमामा पहिलो फोरजी नेटवर्क स्थापना गर्ने योजना बनाइरहेको छ । यसका लागि भोडाफोनले प्राविधिक साझेदारका रूपमा नोकियालाई चयन गरेको बीबीसीले जानकारी दिएको छ । अडी कार निर्माता कम्पनीले बनाएको रोबोट पहिलो पटक निजी खर्चमा चन्द्रमामा पठाइनेछ । यस्तो हुने छ उपकरण बीबीसीकाअनुसार सामान्यतया इन्टरनेट सेवाका लागि टावर राखिन्छ । तर चन्द्रमामा त्यस्तो हुनेछैन । नोकियाले फोरजीका लागि अहिलेसम्मकै सबैभन्दा हलुका ट्रान्समिशन उपकरणको निर्माण गर्नेछ।नोकियाका अनुसार उक्त उपकरण एक किलोभन्दा पनि कम तौलको हुनेछ। फोर जीका लागि १८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डको प्रयोग गरिनेछ, जुन एचडी भिडिओका लागि आवश्यक हुन्छ । सबैभन्दा पहिला दुईवटा रोबोटले ’बेस स्टेशन’ अर्थात् लञ्चरलाई एचडी भिडिओ पठाउनेछन् र त्यसपछि ’बेस स्टेशन’ ले उक्त भिडिओलाई पृथ्वीमा पठाउनेछ । फोरजीबाट सम्पर्क स्थापित गराउन एनालग रेडियोको तुलनामा कम ऊर्जा खपत हुनेछ। पृथ्वीदेखि चन्द्रमाको दूरी ३ लाख ५८ हजार किलोमिटर छ । स्रोत : बीबीसी

अर्थमन्त्रीको एक बोलीले सेयर बजारमा पहिरो, नेप्से परिसूचक वर्षकै न्यूनतम बिन्दुमा, सोमबार के होला ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि आइतबार भारी गिरावट आएको छ । अर्थमन्त्री खतिवडाले बीबीसीसँगको अन्तरवार्तामा सेयर बजार र घरजग्गा अनुत्पादक रहेको र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने अभिव्यक्ति दिएपछि यसको असर आइतबारको सेयर बजारमा देखिएको हो । आइतबार बजार घटेर राताम्यै भएको छ । बैंकको महंगो ब्याजदर र बढी आपूर्तिले सेयर बजार घटिरहेका बेला अर्थमन्त्रीको अनुत्पादक क्षेत्र भन्ने अभिव्यक्तिले आइतबार बजार घटेको लगानीकर्ताको भनाई छ । सेयर बजारप्रति अर्थमन्त्री खतिवडा सकारात्मक नभएपछि आइतबारको नेप्से परिसूचक वर्षकै न्यूनतम बिन्दुमा पुगेको छ । एकै दिन बजारमा परिसूचक ४१ अंकले घटेर १३०४.४३ अंकमा पुगेको छ । जुन एक वर्ष यताकै न्यूनतम बिन्दु हो । एक वर्षअघि अर्थात २०७३ फागुन २२ गते परिसूचक १३५४ अंकमा रहेको थियो । एक वर्षअघिकाे नेप्से परिसूचक एकैदिनको बजार तीब्र गतिमा घटेर ४१ अंकले ओरालो लागेपछि बजारका लगानीकर्ता निरास र त्रसित भएका छन् । पछिल्लो समयमा बजार निरन्तर घट्दै गएकोमा आइतबार भारी गिरावट आउदा बिक्रेता अतालिएका छन् । वामपन्थी सरकार सेयर बजारमैत्री नभएको आरोप लागिरहेका बेला अर्थमन्त्रीको भनाईले लगानीकर्तालाई हत्तोसाहित बनाएको ब्रोकरहरुको भनाई छ । साधारण सेयर (आईपीओ) हकप्रद, थप निष्कासन(एफपीओ) र सामुहिक लगानी कोष (म्युचअल फण्ड) को बढी आपूर्ति भएपछि बजार माथि जान नसकेको लगानीकर्ता बताउछन् । यस्तै बैंकको महंगो ब्याजदरले ठुला लगानीकर्ताको बजारमा प्रवेश नभएपछि खरिदकर्ताको कमी र आपूर्ति बढी भएपछि बजार निरन्तर घट्दै गएको छ । बैंकबाट १४ प्रतिशत ब्याजमा ऋण लिएर ६ प्रतिशत भन्दा कम प्रतिफल आउने भएपछि ठुला लगानीकर्ता अहिले बजारबाट बाहिरिएका छन् । बजारमा कारोबारमा आएका सबैसमूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २८६ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् । त्यस्तै, आइतबार कारोबारमा आएका १५१ कम्पनी मध्ये १४९ कम्पनीको सेयर सेयर मूल्यमा गिरावट आएको छ । बाँकी दुई कम्पनी सूर्योदय र स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने क्रमशः ३.९३ र १.८६ प्रतिशतले बढेको छ ।

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोरङ्ग र सप्तरी जिल्लामा थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको कुशल चोकमा ७३औँ शाखा र सप्तरीको कठौना बजारमा ७४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हाे । मोरङ्ग जिल्लाको कुशल चोकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको पथरी शनिश्चरे नरपालिकाका उप–मेयर श्रीमती यमुना बिष्ट तथा बैंकका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त सेवाको लागि स्थानिय सोमनाथ आचार्यलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी, सोहि दिन सप्तरी जिल्लाको कठौनामा खोलिएको सेवाको शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्र प्रसाद चौधरी तथा बैंकका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त शाखा सेवाको लागि स्थानिय शिव नारायण चौधरीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । हाल बैंकले १२० वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ