सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको होइनः अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र नभनेको बताएका छन् । उनले सेयरबजार अनुत्पादक क्षेत्र भएको कुरा कुनै पनि सञ्चार माध्यममा नबोलेको जिकिर गरेका हुन् । बीबीसीसंगको अन्तरवार्तामा खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको सार्वजनिक भएको थियो । तर उनले भने सेयर बजारलाई अनुत्पादक क्षेत्र नभएको दावी गरेका हुन् । आफुले नभनेको कुरालाई लिएर सेयर बजारमा चलखेल भएको आरोप पनि उनले लगाएका छन् । गोरखापत्र दैनिकबाट
अर्थमन्त्री खतिवडासँग सेयर बजारले डराउनु पर्दैन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाका कारण सेयर बजार घट्यो भन्ने आरोपमा कुनै दम छैन । खतिवडा अर्थतन्त्र बुझेका व्यक्ति हुन् । उनी अर्थतन्त्र सुधार्न र देश बनाउन भनेरै आएका हुन् । अहिले उनैलाई देखाएर सेयर बजार घट्यो भन्न थालिएको छ जसको कुनै तुक नै छैन । अहिले सेयर बजारमा सेलरको चाप पनि खासै छैन। कुनै पनि बाणिज्य बैंकको ४ करोड कित्ता सेयर बेच्न लायक हुन्छन् । तर बजारमा बेच्ने तयारी गरिएको सेयर भनेको करिब २० प्रतिशत मात्रै हुन्छ । एक दिनमा एउटा बाणिज्य बैंकको ८० लाख कित्ता सेयर बेच्न तयार हुन्छ । अहिले त्यसको २० प्रतिशत पनि बेच्ने सूचिमा आईसकेको छैन । लगानीकर्ताहरुले बैंक वा अन्य ठाउँबाट ऋण लिएर लगानी गरेका होलान् । त्यस्तो अवस्थामा अलिकति बजार घट्ने वित्तिकै डराउँछन् । बैंक भन्दा अलि राम्रो प्रतिफल आउँछ भनेर सेयरमा लगानी गरेका हुन् । कर बाहेक बार्षिक ४ प्रतिशत सेयरबाट मुनाफाबाट आउनु पर्छ भन्ने मान्यता छ । खतिवडालाई देखाएर बजारमा चलखेल भयो । अब कुरा रह्यो उत्पादक र अनुत्पादक क्षेत्रको । प्राइमरी सेयर उत्पादक हो तर दोश्रो बजारको सेयर सट्टेबाजी मात्रै हो । दोश्रो बजारको सेयर कारोबार र लगानी उत्पादक होइन । त्यो सेयरको पैसा कम्पनीमा जाँदैन । प्राथमिक सेयर चाँही उत्पादक नै हो । अर्थमन्त्रीले पनि त्यहि भन्नु भएको हो । लगानीकर्ताले प्रतिफललाई र कम्पनीको गुडविल हेर्नु पर्ने थियो । २ रुपैंयाँ पनि नकमाउने कम्पनीको सेयर मूल्य २ सय गुणा बढेको छ । त्यहाँ लगानीकर्ताले कुरा बुझेनन् । फेरी पुस देखि चैतसम्म बजार घट्ने समय नै हो । अहिलको बजारमा देखिएको गिरावट स्वभाविक प्रक्रिया हो । हामीले पनि बजार घट्ने नै अनुमान गरिरहेका थियौं । यस अघि अधिकांश कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेको थियो । बैंकहरुले ऋण नदिएर बजार घट्यो भन्नु पनि गलत नै हो । बैंकहरुले आफ्नो प्राथमिकता र केन्द्रिय बैंकको गाइडलाईन अनुसार कर्जा प्रवाह गर्ने हो । सेयर बजारमा धेरै लगानी गर्न पनि पाइँदैन र त्यस्तो जोखिम उठाउनु पनि बैंकहरुका लागि ठिक हुन्न । नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक लगायतले त सेयर कर्जा नै दिँदैनन् । त्यो बैंकहरुको व्यवसायीक योजना भित्रको कुरा हो । सेयर बजार जुवाघर होइन, यहाँ सबैले कमाउने नै हो । सेयरमा गरिएको लगानी कहिल्यै पनि शुन्य हुँदैन । राम्रो कम्पनी हेरेर लगानी गर्ने हो भने कहिल्यै नोक्सानी हुन्न । यतिबेला लगानी गर्ने सुवर्ण अवसर छ । अर्काको कुरा सुनेर लगानी गरियो त्यसैले बजारमा अस्थिरता देखिएको हो । ‘हम तो मरेंगे सनम तुम्को भी साथ ले चलेंगे’ जस्तो भैरहेको छ । लगानीकर्ताले आत्तिनु पर्दैन, खतिवडाले बजार घटाएका होइनन् । यीनले अर्थतन्त्र सुधार नै गर्छन् । खतिवडासँग सेयर बजार डराउनु पर्दैन । खतिवडाले गर्ने कामहरुले सेयर बजारलाई दिर्घकालिन फाइदा नै गर्छ । पुर्वाधारमा लगानी बढ्यो भने रोजगारी बढ्ने आयात प्रतिस्थापन हुने अवस्था आउँछ जसले अर्थतन्त्रलाई फाइदा नै गर्छ । आज अर्थमन्त्रीलाई गाली गर्नेहरुले सेयर किन्दा खतिवडालाई सोधेर किनेको हो र ? अर्थमन्त्रीले स्टक एक्सचेञ्ज बन्द गर्न भनेका छन् र ?(दाहालसँग गरिएको कुराकानीमा आधारित)
पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै
काठमाडौ । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र द्विपक्षीय चासोका विषयमा विचारविमर्श गर्नुहुनेछ । उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा आज रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नेछन् । रासस
लगातार बढेको पेट्रोलको मूल्य घट्यो, निगमलाई १५ करोड नाफा हुने
काठमाडौं । पछिल्लो समय लगातार बढेको पेट्रोलको मूल्य १ रुपैयाँ घट्ने भएको छ । भारतबाट मूल्य घटेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार नेपाल आयल निगमले मूल्य घटाएको हो । प्रतिलिटर १०४ रुपैयाँ रहेको पेट्रोलको मूल्य घटेर अब १०३ रुपैयाँमा पाइने भएको छ । बाँकी पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताए । उनको अनुसार घटेको मूल्य आइतबार राति १२ बजेदेखि लागु हुनेछ । उनले उपत्यका ‘बेस’ अनुसार मूल्य जानकारी दिए । त्यस्तै निगमको अनुसार आगामी पाक्षिक(१५ दिनको अबधि)मा १५ करोड रुपैयाँ नाफा हुने भएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकोले पछिल्लो समय लगातार घाटामा गएको निगमलाई नाफा हुने भएको उनको भनाइ छ । गएको पाक्षिक मात्रै निगमलाई ७ करोड १५ लाख रुपैयाँ निगमलाई घाटा भएको थियो ।
४५ लाख धरौटीमा चुडामणि शर्मा जेलमुक्त
काठमाडौं । अकूत सम्पत्ति कमाएको आरोपमा मुद्दा लागेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् । ४ करोड २९ लाख रुपैयाँको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख ंरुपैयाँ धरौटी मागेको थियो । शर्माले नेपाल इन्भेस्टमेन्ट बैंकको ग्यारेन्टीमा धरौटी बुझाएर जेलमुत्त भएका हुन् । ४ करोड २९ लाख सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियार ुदुरुपयोग अनुसन्धान आयोगले गत माघ १५ गते शर्माविरुद्ध विशेष अदालतमा मुा हालेको थियो ।शर्माविरुद्ध कर फछ्र्यौट आयोगले गरेको फैसलाबारे पनि मुद्दा विचाराधीन छ । उनले साढे २० लाख कर छुट दिएर मुलुकलाई नोक्सान पुर्याएको आरोप अख्तियारले लगाएको छ ।
विश्वकप छनोट : नेपाल जिम्बाब्वेसँग पराजित
काठमाडौ । आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग १६१ रनले रनले पराजित भएको छ ।३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३२, दिलिप नाथले दुई, कप्तान पारस खड्काले ४०, दिपेन्द्रसिंह ऐरीले २३, शरद भेषवाकरले ५२, अरिफ शेखले ५०, रोहित कुमारले ३०, सोमपाल कामीले ११, वसन्त रेग्मीले २ र सन्दिप लामिछानेले छ रन बनाएका थिए । यसअघि जिम्बाब्वेस्थित क्वीन्स स्पोटरस क्लबमा टस जितेर पहिले व्याटिङ रोजेको आयोजक जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनाएको थियो । जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गरे । शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए । त्यसैगरी, जिम्बाब्वेका सोलोमन मिरेले ५२ रन बनाए । त्यसैगरी, सेफास झुवाओले ४१, क्रेग एर्भिनले ३४ तथा ह्यामिल्टन मासाकाड्जाले १७ रन जोडे । नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक÷एक विकेट लिए । हारसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना झनै क्षीण हुँदै गएको छ । नेपालले अर्को खेल आगामी विहीबार स्कटल्याण्डसँग खेल्नेछ । रासस
सिभिल बैंक ‘कमर्ज बैंक ब्यापार अवार्ड’ द्वारा सम्मानित
काठमाडौं । सिभिल बैंक लिमिटेडलाई कमर्ज बैंकको ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’ द्वारा सम्मानित गरिएको छ । कमर्ज बैंक, फ्रान्कफर्ट जर्मनीका दक्षिण एशीया प्रतिनिधि स्टेफनमन्दोभिट्सद्वारा सो सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई गरेका हुन् । एक कार्यक्रमबीच बैंकलाई उक्त अवार्ड प्रदान गरीएको थियो । सो बैंकले अन्तराष्ट्रिय ब्यापारमा कमर्ज बैंकसँग उत्कृष्ठ साझेदारी गरेबापत अवार्ड प्रदान गरिएको जनाइएको छ ।
पुल्चोकमा सिटिजन लाइफ इन्स्योरेन्सले खोल्यो शाखा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ । आईतबार कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए । शाखा कार्यालय सञ्चालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने उनको भनाइ छ । उक्त शाखा खोलेसँगै कम्पनीले मुलुकभर ३५ शाखा कार्यालय तथा ४ वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्र भएको जनाएको छ । ती शाखा र केन्द्रहरुमार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको जनाइको छ । कम्पनीले सबै थरीका जीवनबीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याइरहेको जानकरी दिएको छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ अर्ब ५० लाख रहेको छ । जसमध्ये संस्थापकबाट ७० प्रतिशतले हुने रकम रू. १ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको जनाएको छ । कम्पनीको अनुसार निकट भविष्यमा रू. ७५ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ ।