विकासन्युज

सार्वजनिक विदामा व्यापक कटौतीको प्रस्ताव, चाडबाड विदा २१ दिन घट्ने

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदामा व्यापक कटौतीको तयारी गरेको छ । गृह मन्त्रालयले हाल बार्षिक रुपमा दिइँदै आएको सार्वजनिक विदामा २१ दिन कटौती गर्ने योजना अघि सारेको हो । धेरै दिन सार्वजनिक विदा दिँदा सेवा प्रवाहमा असर परेको र देश विकासमै नकारात्मक प्रभाव परेको भन्दै मन्त्रालयले कटौती अभियान अघि सारेको हो । सरकारले हाल बर्षेनी औषत १०५ दिन विदा दिँदै आएको छ । त्यसमा २१ दिन कटौती गरेर ८४ दिनमा झार्न लागेको हो । गृहले प्रस्ताव तयार पारेर सरकार समक्ष पेश गरेपछि सरकारले २०७५ सालका लागि सार्वजनिक विदाहरु तोक्नेछ । निजी क्षेत्रले पनि अत्याधिक सार्वजनिक विदाले उत्पादकत्व घट्ने भन्दै त्यस्तो विदाहरु कटौती गर्न माग गर्दै आएको थियो । हालस सरकारले ५३ दिन चाडपर्व विदा र ५२ दिन शनिबारका लागि विदा दिँदै आएको छ । त्यस बाहेक सरकारले थप ५२ वटा शुक्रबारमा आधा छुट्टी दिने गरेको छ । गृहमन्त्रालयले चाडबाड विदालाई घटाएर ३२ मा झार्न लागेको हो । (अन्नपुर्ण पोष्टबाट)

१४ जिल्लामा शीतभण्डारण गृह बनाइँदै, सरकारले ७० प्रतिशतसम्म अनुदान दिने

काठमाडाैं । सरकारले १४ जिल्लामा शीत भण्डार (कोल्ड स्टोरेज) निर्माण गर्ने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लागत सहभागिताका आधारमा प्रत्येक जिल्लामा ५ हजार टन क्षमताको शीत भण्डार निर्माण गर्न लागेको हो । आउदो २ वर्षभित्र सबै भण्डारको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजनाले भण्डार निर्माणका लागि प्रस्ताव समेत आब्हान गरेको छ । नुवाकोट, काभ्रे, बाँके, सिन्धुली, कपिलवस्तु, सर्लाही, धादिङ, मोरङ, कैलाली, कास्की, झापा, सुनसरी र धनुषामा शीत भण्डार स्थापनाको तयारी थालिएको हो । जिल्लागत प्रतिस्पर्धाका आधारमा निजी कम्पनीसंगको साझेदारीमा शीत भण्डार स्थापना हुन लागेको परियोजनाले जनाएको छ । भण्डार स्थापनाका लागि सरकारले ७० प्रतिशतसम्म पुँजीगत अनुदान दिने भएको छ । ३० प्रतिशत निर्माण कम्पनीले लगानी गर्नुपर्ने परियोजनाले जानकारी दिएको छ । ३० प्रतिशत लगानीको प्रत्याभूति भएको बैंकबाट जारी लगानीको आशयपत्र समेत पेश गर्नुपर्ने छ । चैत २५ गतेभित्र शीत भण्डार निर्माणका लागि प्रस्ताव मागेको छ । एक संस्थाले एक जिल्लामा मात्र प्रस्ताव पेश गर्न पाइने छ ।सम्झौता भएको २ वर्षभित्र शीत भण्डार निर्माण नगरे सरकारले अनुदान नदिने परियोजनाले जनाएको छ । शीत भण्डार निर्माणस्थलसम्म बिजुली र सडकको पंहुच हुनुपर्ने छ । कृषि उपजहरुको उत्पादनको क्षति न्युनीकरण , गुणस्तर प्रवद्र्धन , आवश्यक परिमाणमा उपलब्धता सुनिश्चितता गर्न र व्यवसायीक तथा औद्योगिक उत्पादन एवं बजारीकरण पुर्याउनका लागि भण्डारण गृह निर्माण गर्न लागिएको परियोजनाले जनाएको छ । शीत भण्डार नहुदा वस्तु नष्ट हुने गरेको छ ।स्याउ, सुन्तला, जुनार, आलुलगायत कृषि उपजलाई भण्डारण गरिने छ ।

गोल्डस्टारद्धारा सडक बालकहरूलाई सहयोग, पहिलो पटक अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुँदै

काठमाडौं । नेपालको लोकप्रिय जुत्ता गोल्डस्टारको निर्माता, वितरक तथा बजार व्यवस्थापक कम्पनी किरण सुम्यानुफ्याक्चरर्सले नेपाली सडक बालकहरूको टोलीलाई सहयोग गर्ने भएको छ । कम्पनीले आगामी २०७५ वैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुन लागेको सडक बालकविश्वकप फुटबल २०१८ मा सहभागी हुने उक्त टोलीलाई सहयोग घोषणा गरेको छ । नेपाली सडक बालकहरूको टोलीले कुनै पनिअन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो । सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था सेल्टर आश्रय नेपालसँग आबद्ध भई गोल्डस्टारले यो अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेका सडक बालकहरूलाई सहयोग गर्न लागेको हो । किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले भने, “खेलकुदको कार्यक्रम भन्ने बित्तिकै नै जुत्ताको कुरा सबैभन्दा अग्रणी स्थानमा हुन्छ । यस्तो परिस्थितिमा नेपालमा सर्वाधिक बिक्री हुने र रुचाइएको जुत्ता गोल्डस्टारको जिम्मेवारी र बोध दुवै पक्कै पनि छ । त्यसमाथि नेपालका सडक बालकहरू पहिलो पटक सडक बालकविश्वकप फुटबलमा सहभागी हुन लागेका छन् । यस्तो गर्वको क्षणमा हामीले आफू आबद्ध हुनुलाई गरिमामय मानेका पनि छौँ ।” सडक बालकविश्वकप फुटबलले पिछडिएका, हेपिएका, छुट्याइएका, र दुत्कारिएका सडक बालकहरूप्रति समाजले हेर्ने नजरिया र दृष्टिकोणलाई परिवर्तन गर्ने हेतुले हरेक विश्वकप फुटबल हुने मौकामा यो खेलकुद कार्यक्रम गर्दै आएको छ । यसबाट बालबालिकाको शिक्षा, समाजमा स्तर, र सुरक्षणमा बढावा दिने लक्ष्य सडक बालकविश्वकप फुटबल २०१८को पनि रहेको छ ।

तीन तहको सरकारका तीनै तहका सडक, धमाधम हस्तान्तरण हुँदै

काठमाडौं । मुलुक संघिय संरचना रुपान्तरित भएसँगै सडकहरु पनि रुपान्तरित भएका छन् । तीन तहका सरकार गठन भएसँगै सडकहरुको विभाजन पनि सोही अनुरुप हुन लागेको हो । अब केन्द्र सरकारको मातहतमा राष्ट्रि सडक रहनेछ भने प्रदेश सरकारको मातहतमा प्रदेश सडक र स्थानीय निकायले स्थानीय सडकको निर्माण, सञ्चालन तथा रेखदेख गर्नेछन् ।   हाल मुलुकभर ७५ हजार किलोमिटर सडक सञ्जाल रहेको छ । तीमध्ये करिब १३ हजार किलोमिटर सडक राष्ट्रिय सञ्जालमा रहेको छ । राष्ट्रिय सडकलाई केन्द्र सरकार अन्तर्गत सडक विभागले निर्माण, सञ्चालन तथा रेखदेखको काम गर्नेछ । करिब १० हजार सडक भने प्रदेश सरकारले हेर्नेछ । हाल सम्भावित रणनीतिक सडकका रुपमा अघि सारिएका ५ सय सडक प्रदेश मातहत रहने देखिएको हो । ती सडकहरुको निर्माण, सञ्चालन तथा रेखदेख प्रदेश सरकारहरुले गर्नेछन् । बाँकी करिब ६ हजारको संख्यामा रहने ५२ हजार किलोमिटर सडक स्थानीय तहमा गैसकेको छ । ती सडकहरुको निर्माण, सञ्चालन र रेखदेख स्थानीय तहले नै गर्नेछ । सडक विभागका प्रवक्ता मुक्ति गौतमका अनुसार हाल ठेक्का लागि सकेका सडक तथा पुलहरु निर्माण सम्पन्न गरेर मात्रै हस्तान्तरण हुने सम्भावना रहेको बताए । तर भर्खरै काम सुरु हुने चरणमा रहेका सडकहरु भने सिधै प्रदेश तथा स्थानीय तहहरुलाई बजेट सहित हस्तान्तरण गरिने बताए । प्रदेशहरुलाई करिब ३ अर्ब रुपैंयाँ बजेटमा निर्माण हुने चरणमा रहेका ५ सय वटा सडकहरु हस्तान्तरण गर्ने विभागका प्रवक्ता गौतमले बताए । विभागले ५ अर्ब रुपैंयाँ लागतका ५३ हजार भन्दा बढि सडक स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।

रिलायन्स लाईफ इन्स्योरेन्सको पहिलो शाखा पाटनमा, चैतभित्रै १६ वटा शाखा खोल्ने तयारी

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पहिलो शाखा पाटनमा विस्तार गरेको छ । कम्पनीले जीवन बीमा व्यवसाय फराकिलो पार्न शाखा तथा उप-शाखाहरु विस्तारलाई प्राथमिकतामा राख्ने उद्देश्यले सो स्थानमा नयाँ शाखा खोलेको हो । कम्पनीले चैत मसान्तभित्र १६ वटा शाखा विस्तार गर्ने भएको छ । साथै, कम्पनीले यस आर्थिक वर्षको अन्त्यसम्ममा नियामक निकायको स्विीकृति लिई करिब २५ वटा शाखा खोल्ने लक्ष्य लिएको छ । यस इन्स्योरेन्सले सुरूवातबाट ३ वटा जीवन बीमा योजना संचालनमा ल्याएको छ । साथै, निकट भविष्यमा थप ४ बीमा योजना संचालनमा ल्याउने भएको छ ।

ओम डेभलपमेन्ट बैंकको १७.६९ प्रतिशत बोनस पारित, सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको १७.६९ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले आ.व. २०७३/७४ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव पारित गरेको हो । उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । बैंकले गत आ.व.मा १६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन, १४ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै, बैंकले सो अवधिमा ३९ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले गत आर्थिक वर्षमा निक्षेपमा ३५.५ प्रतिशत, कर्जामा ४१.६३ प्रतिशत र खुद मुनाफामा ३३ प्रतिशतको वृद्धि गरेको हो । सभाले बैंकको संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना गरि ६ जना सञ्चालकहरु निर्वाचित गरेको छ । बैंकले सुशीलकुमार गोशली, राजेन्द्रकुमार बाटाजु र बिजय मल्ल, योगेन्द्रलाल प्रधान, श्रीकृष्ण रेग्मि र कर्मकुमारी गुरुङ्गलाई सर्वसम्मतिले निर्वाचित गरेको हाे। निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सुशीलकुमार गोशलीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताएका छन् ।

सेञ्चुरी बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ । शुक्रबार बैंकले कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा आफ्नो प्रधान कार्यालय पुतलीसडकमा उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । उक्त शिविर चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. बाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्द्रको सहयोगमा सम्पन्न भएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आखाँ, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा १०० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ७० जनाभन्दा बढीको सहभागी थियो ।

डडेल्धुरामा १२ वटा पक्की मोटरेवल पुल निर्माण हुँदै, आगामी असारभित्रै सम्पन्न हुने

डडेल्धुरा । डडेल्धुराका विभिन्न नदी र खोलामा गरी करिब एक दर्जन पक्की मोटरेवल पुलःनिर्माण भइरहेका छन् । जिल्लाको धनगाड खोला, सेरागाड, खुल्लाखेत, परछेटा, ठूलीगाड, पारिखेत लगायतका स्थानमा निर्माणाधिन त्यसका पुलको निर्माणकार्य अन्तिमचरणमा पुगेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ । तीमध्ये दुई वटाको निर्माणकार्य सम्पन्न भइसकेको र बाँकी १० पुलमध्ये सात वटाको निर्माणकार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएका छन् । पुल निर्माणपछि डडेल्धुराका ग्रामीण सडकमा यातायात सञ्चालनमा सहजता आउने र त्यसपछि जिल्लाका सम्पूर्ण स्थानीय तह सदरमुकामसँग जोडिने छन् । वर्षयाममा खोला तथा नदीमा पानीको मात्रा बढ्ने बित्तिकै गाडी सञ्चालनमा समस्या हुने गर्दथ्यो । यो आर्थिक वर्षबाट भने पुलका कारण सवारी साधन नरोकिने जिल्ला प्राविधिक कार्यालय डडेल्धुराका सहायक इञ्जिनियर टेकबहादुर भण्डारीले जानकारी गराएका छन् । पुलःनिर्माणसगैं स्थानीयस्तरबाट सडक सुधारको कार्यलाई पनि तीव्रता दिएको अजयमेरु गाउँपालिकाले जनाएको छ । रासस