विकासन्युज

प्रथम भ्याली तेक्वान्दो च्याम्पियनसिप मनमैजु डोजाङले जित्यो

काठमाडौं । प्रथम एभरेष्ट आमन्त्रण भ्याली च्याम्पियनसिप तेक्वान्दोमा मनमैजु डोजाङ टिम च्याम्पियन बनेको छ । एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाको आयोजनामा भैंसेपाटीस्थित गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरमा भएको प्रतियोगितामा मनमैजु डोजाङ ७ स्वर्ण ३ रजत र ५ काश्यसहित टिम च्याम्पियन बनेको हो । त्यसैगरीै ६ स्वर्ण ४ रजत र ७ काश्य जितेको चुनीदेवी डोजाङ टिम द्धितिय तथा ४ स्वर्ण ५ रजत र ३ काश्य जितेको माइती नेपाल टिम तृतिय स्थान हासिल गरेको छ । च्याम्पियन बनेको मनमैजुले २० हजार पुरस्कार प्राप्त गर्यो भने दोस्रो भएको चुनीदेवीले १५ हजार तथा तेस्रो भएको माइती नेपालले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

एनआईसी एशिया बैंकको शाखा मकावानपुरको भिमफेदीमा, शाखा संख्या १८१ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा मकावानपुरको भिमफेदीमा विस्तार भएको छ । उक्त शाखाको  उद्घाटन शुक्रबार एक समारोहकाबीच भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले गरेका छन् । यस शाखा सहित बैंकको शाखा संख्या १८१ पुगेको छ । त्यस्तै, बैंकले हाल १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु मार्फत सम्पूर्ण बैंकिङ् सेवा प्रदान गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

नेउवा महासंघको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधान विजयी, आजै गोपनियताको सपथ ग्रहण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर संघको उपाध्यक्षमा किशोर प्रधान विजयी भएका छन् । महासंघको शुक्रबार सम्पन्न निर्वाचनमा प्रधानले ६५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी उपाध्यक्षका उमेदवार एवं वर्तमान कार्यकारिणी समितिका सदस्य निरक केसीले ३३ मत प्राप्त गरेका छन् । नवनिर्वाचित उपाध्यक्ष प्रधान महासंघमा यसअघि विक्रम सम्बत् २०७०–७३ को कार्यकालमा जिल्ला/नगर उपाध्यक्ष थिए ।   नवनिर्वाचित उपाध्यक्ष प्रधानलाई महासंघका अध्यक्ष भवानी राणाले आजै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् । राणाले रिक्त जिल्ला/नगर उपाध्यक्षमा नवनिर्वाचित उपाध्यक्ष प्रधानलाई बधाई दिँदै महासंघको वर्तमान पदाधिकारीले पूर्णता पाएको र अब मुलुकको आर्थिक विकासमा आफ्नो टिम पुरा समय लाग्ने प्रतिवद्धता जनाएकी छिन् । निजी क्षेत्रका अगाडी निकै धेरै चुनौतीहरू रहेको विद्यमान अवस्थामा आफ्नो टिमले सशक्त भूमिका निर्वाह गर्ने उनले बताइन् । नवनिर्वाचित उपाध्यक्ष प्रधानले महासंघमा आफ्नो लामो अनुभव र उद्योग व्यवसायलाई समेत आफूले नजिकबाट बुझेकाले आफ्नो कार्यकालमा महासंघलाई अगाडी बढाउन आफूले पुरा समय दिने बताएका छन् । उनले अव महासंघका जिल्ला/नगर उद्योग वाणिज्य संघहरु र प्रदेश उद्योग वाणिज्य महासंघलाई मुलुक नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा सोही अनुसार अगाडी बढाउने धारणा राखेका छन् ।

ब्याजदर निर्धारण गर्ने राष्ट्र बैंक, बैंकर्स संघ कि बजार ?

काठमाडौं । बजारमा लगानी योग्य पूँजीको अभाव सुरु भएदेखि नै बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप आकर्षित गर्ने प्रतिष्पर्धा चलेको थियो । त्यो प्रतिष्पर्धामा एनआइसी एसिया बैंक सबैभन्दा एग्रेसिभ देखियो र उसले निक्षेप पनि व्यापक मात्रामा वृद्धि गर्न सफल भएको थियो । तर त्यो निक्षेप अन्य बैंक तथा वित्तिय संस्थाहरुबाट तानिएको पैसा थियो । उच्चदरमा ब्याजदर दिएर निक्षेप आव्हान गरेको भन्दै शुक्रबार बैंकर्स संघले एनआइसी एसिया बैंकसँग अन्तर बैंक लगायतका कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ । अब प्रश्न उठ्छ, ब्याजदर नियमन गर्ने नेपाल राष्ट्र बैंकले हो की बैंकर्स संघले ? खुल्ला बजार अर्थतन्त्रका नाममा केन्द्रिय बैंकले नै ब्याजदरलाई सिधै नियमन नगरेर स्प्रेड दरलाई अघि सारेको छ । तर बैंकर्स संघले भने पटक पटक ब्याजदरको सिमा तोक्दै आएको छ । ‘ब्याजदर तोक्ने काम बैंकर्स संघको होइन, आपसी सहमति हो भने त्यसलाई कानुनले चिन्दैन्, नेपाल राष्ट्र बैंक त्यसबारेमा गम्भिर भएको छ’, केन्द्रिय बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले विकासन्युजसँग भने । उनले बैंकहरु आपसमा मिलेर जाँदा नै राम्रो हुने बताउँदै ब्याजदरको सिमा तोक्ने संघको निर्णय भने बाध्यकारी नहुने बताए । ‘ब्यादर कति तोक्ने भन्ने निर्णय संघले गर्न सक्दैन्, सहमतिसम्म गर्ने हो, त्यसलाई मान्न कुनै पनि संस्था बाध्य हुँदैनन्’, शिवाकोटीले भने । गत बर्ष संघले ब्याजदर नबढाउने सहमति गरेको थियो तर संघका तत्कालिन अध्यक्ष अनिल शाहकै बैंकले त्यसको उल्लंघन गर्यो । त्यतिबेला संघले मेगा बैंकलाई कारवाही गरेन् बरु सबै बैंकले ब्याजदर बढाउने प्रतिष्पर्धा पुनः सुरु गरेका थिए । तर यसपाली एनआइसी एसिया बैंकमाथी संघले अनावश्यक दबाव दिएको छ । ‘एनआइसी एसिया बैंकसँग अन्तर बैंक कारोबार नगर्ने निर्णय बैंकर्स संघले गरेको छ, हामीले सदस्यता खारेज गरेका छैनौं’, बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने । उनले एनआइसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार जोखिमपुर्ण देखिएकाले कारोबार नगर्ने निर्णय गरिएको पनि बताए । संघले फागुन १८ गतेदेखि साधारण बचतमा ८ र मुद्धति निक्षेपको ब्याजदर ११ प्रतिशत भन्दा नबढाउने निर्णय गरेको थियो । एनआइसी एसिया बैंकले सो निर्णय विपरिद मुद्धति निक्षेपमा १२ र साधारण बचतमा १० प्रतिशत ब्याज दिने योजना ल्याएपछि संघले अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको हो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकर्स संघले गरेको निर्णय नेपाल राष्ट्र बैंक वा अर्थमन्त्रालयले गर्नुपर्नेमा जोड दिए । ‘ब्याजदर सम्बन्धी निर्णय राष्ट्र बैंक वा अर्थमन्त्रालयले गरेको भए ठिक हुने थियो, बैंकर्स संघले गर्दा अलि अर्कै अर्थ लाग्न गएको हो’, दाहालले भने ।

सिभिल बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् । साथै, बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्राइम लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ता अन्तरक्रिया तालिम सम्पन्न

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सक्रिय अभिकर्ताहरुसंग अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । तालिम क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिव प्र. पौडेलको मुख्य आतिथ्यता र प्रशिक्षणमा जिल्ला कार्यालय अर्घाखाँचीका प्रमुख नारायण घिमिरे संयोजन र सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा इन्स्योरेन्स एड्भाइजर यमलाल भुसाल, व्यवसाय अधिकृतहरु, बजार प्रतिनिधिहरु र अभिकर्ताका साथै संस्थागत अभिकर्ताका प्रतिनिधिहरुको उपस्थितिमा उक्त तालिम प्रदान गरीएको कम्पनीले जनाएको छ । कम्पनीले उक्त कार्यक्रमा हालको वित्तीय अवस्थासहितको प्रगति विवरण, शाखा सञ्जाल, सेवा सुविधा, नया“ बीमा योजनाहरु, अभिकर्ता संरचनाका बारेमा जानकारी दिएको थियो ।

स्पर्स लघुवित्तको स्वतन्त्र संचालकमा मेघराज गजुरेल नियुक्त

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा मेघराज गजुरेल नियुक्त भएका छन् । संस्थाको ३१औँ संचालक समितिको बैठकले गजुरेललाई संस्थाको स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको हो । गजुरेलले विभिन्न किसिमका बैंक तथा वित्तीय संस्थामा ३८ वर्ष भन्दा बढी लामो अनुभव हासिल गरेका छन् । उनले बैंक अफ सिलोनमा (हालको एनसीसी बैंक) २ वर्ष, कृषि विकास बैंकमा २१ वर्ष तथा रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरमा १५ वर्ष व्यवस्थापकीय पदमा रही कार्यगत अनुभव हासिल गरेका थिए । उनले सेभिङ बैंक फाउन्डेशन फर इन्टरनेशनल कोअपरेशन र सहारा बचत तथा ऋण सहकारी संस्था (साकोस) झापाको कन्सलट्यान्टको रुपमा पनि काम गरेका थिए । हाल संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । संस्थाले निकट भविष्यमा २ करोड ४० लाख रुपैयाँको सार्वजनिक निष्कासन गर्ने तयारी गर्दैछ । सार्वजनीक निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी ८ करोड रुपैयाँ पुग्नेछ ।    

९ प्रतिशत ब्याज दिने २ अर्बको वचतपत्र निष्कासन चैतदेखि

काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी २ अर्ब रुपैयाँको नागरिक वचतपत्र निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले चैत १ देखि २१ गतेसम्मका लागि वचतपत्र बिक्री खुला गर्न लागेको छ । वचतपत्र निष्कासन चैत २६ गते हुने राष्ट्र बैंकले जनाएको छ । नागरिक बचतपत्र २०७९ चैत २६ गते फिर्ता हुने छ । नेपाली नागरिकले मात्र बचतपत्र खरिद गर्न सक्ने छन् । प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने छ । न्युनतम १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा पाउने केन्द्रीय बैंकले जानकारी दिएको छ । बचतपत्र धितो राखी यस बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने छ ।