नारायणगढ–मुग्लिङ सडकमा पहिरो रोक्ने काम शुरु भएन, वर्षादमा पनि उच्च जोखिममा
चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै सुरु हुन नसक्दा आउँदो वर्षाद समयसम्म काम सम्पन्न नभएमा पहिरोको उच्च जोखिम देखिएको छ । नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकको ३३ ठाउँ पहिरोको दृष्टिले उच्च जोखिममा छ । पाँचवटा ठाउँमा बायो–इन्जिनियरिङपश्चात् पहिरो रोकिएको छ । अन्य नौ ठाउँमा अहिलेको ठेक्काअन्तर्गत नै बायो–इन्जिनियरिङ हुनेछ भने बाँकी १९ ठाउँमा छुट्टै बजेटमार्फत काम गर्नुपर्ने खनालले बताए । ती ठाउँ पहिरोका दृष्टिले निकै जोखिमयुक्त छन् । सो सडकको जलविरेदेखि मुग्लिङसम्मको सात किलोमिटरको दूरीमा ८० प्रतिशत ठाउँ जोखिमयुक्त छ । चारकिलो, पाँचकिलो, कालीखोलाका तीन ठाउँ र चोरखोला पहिरोका दृष्टिले उच्च जोखिममा रहेको खनालले जानकारी दिए। ती चट्टानयुक्त ठाउँमा जाली ठोकेर ग्यामिन मेटिङ, छुट्टिएका चट्टान जोड्ने (रकबोल्टिङ), झर्न लागेको चट्टानलाई पछाडि रहेको ठूलो चट्टानमा तारले बाँध्ने (रक एन्करिङ) र नाङ्गो डाँडामा रहेका साना ढुंगामा सिमेण्टको छिटो जम्ने घोला छर्ने सर्किट गर्नुपर्ने खनालले बताए । ठेक्काभन्दा बाहिरको काम भएकाले विभागले ठेक्का वा अरु प्रक्रियाबाट काम गराउने खनालले जनाए । सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले अहिले काम गरिरहेका ठेकेदारले बढी रकम माग गरेपछि काममा ढिलाइ भएको स्पष्टपारे। ठेक्का प्रक्रियाबाट समयमा काम सक्न नसकिने भएकाले त्यससम्बन्धी कामको दक्षता राख्नेहरुलाई सोझै कामको जिम्मा दिने तयारी भइरहेको उनको भनाईछ । चैत महिनाभित्रमा काम थालिने उनले बताए। समयमा काम शुरु नभएकाले यस वर्षको वर्षात्मा पहिरोको उच्च जोखिम हुन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । हालसम्म सो सडकको ७९.३ प्रतिशत काम सम्पन्न भएको छ । सो सडकको मुग्लिङतर्फको खण्डमा भित्तो काट्ने काम वर्षात्अघि नसकिने अवस्था एकातिर छ भने अर्कोतर्फ पहिरो रोक्न गर्नुपर्ने काम शुरु नहुँदा वर्षात्मा सडक जोखिमयुक्त बन्न सक्ने देखिएको छ । सडकको भित्तो काटिएका ठाउँमा जुटको जालीबाट पहिरो रोक्ने काम (जुटमेटिङ) भने शुरु भएको छ । सेती दोभान, घुमाउनेलगायतका क्षेत्रमा ठेकेदार कम्पनीले ठेक्काभित्रका ती काम भने शुरु गरेका छन । रासस
प्रधानमन्त्री ओली भन्छन्–३ नम्बर प्रदेशको राजधानी कि नुवाकोटमा हुन्छ कि काभ्रेमा
काठमाडौं । ३ नम्बर प्रदेशको अधिकांश सांसदहरु प्रदेश राजधानी हेटाैंडा अपाएक भएको भन्दै स्थान्तरण गर्ने पक्षमा उभिएका छन् । राजधानी स्थान्तरण हुने नै भएपछि यस प्रदेशमा रहेका १३ जिल्लाका ११० सभासदहरु आफूलाई पाएक पर्ने क्षेत्रमा राजधानी बनाउने दौडदूपमा लागेका छन् । यस प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल मकवानपुर जिल्ला कै सांसद हुन् । उनको व्यक्तिगत चाहाना राजधानी हेटौंडा नै रहोस् भन्ने छ । तर अधिकांश सांसद्ले राजधानी दवाव दिएपछि उनी पनि राजधानी सार्ने पक्षमा देखिएका छन् । प्रदेश सांसद केशब पाण्डेका अनुसार राजधानीको कुन ठाउँ उपयुक्त हुन्छ भनेर मुख्यमन्त्री पौडेलले अध्यायन र परामर्श गरिरहेका छन् । ‘राजधानीको लागि उपयुक्त स्थानको खोजी गर्ने क्रममा हालै मुख्य मन्त्रीले नुवाकोटको भ्रमण गर्नु भएको छ । भूगोल, भौतिक पूर्वाधार, स्रोत साधानको बारेमा जानकारी लिनु भएको छ’ पाण्डेले भने–‘पहिला प्रदेश राजधानी नुवाकोटमा राख्ने पक्षमा उहाँ त्यति सकारात्मक हुनुहुन्न थियो, अध्यायन भ्रमणपछि उहाँ सकारात्मक हुनु भएको छ’ पाण्डेले भने । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ३ नम्बर प्रदेशको राजधानी नुवाकोट बनाउने पक्षमा भएको पाण्डेले बताए । आइतबार नुवाकोटका पत्रकारहरुसँगको अन्तरक्रियामा उनले भने–‘‘नुवाकोटका जनप्रतिनिधिको हैसियतमा हामीले प्रधानमन्त्रीलाई भेटेर ३ नम्बर प्रदेशका राजधानी नुवाकोटमा राख्दा उपयुक्त हुने बताएका छौं । त्यसको आधारहरु पनि प्रस्तुत गरेका छौं । उहाँले पनि ‘प्रदेश राजधानी कि नुवाकोटमा कि काभ्रेमा राखिन्छ, काठमाडौं, भक्तपुर र ललितपुरमा हुन्न’ भन्नु भएको छ ।’’ यस प्रदेशमा नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्दुपाल्चोक, दोलका, रामेछाप र सिन्धुली जिल्लाहरु छन् । ‘नुवाकोट वा काभ्रे मध्ये एक जिल्लामा राजधानी राख्ने विषयमा बहस केन्द्रीत भएको छ । मतविभाजन हुँदा नुवाकोटको पक्षमा रसुवा, धादिङ, चितवन र मकवानपुर हुनेछन् । काभ्रेको पक्षमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली हुनेछन्’ पाण्डेले भने ‘निर्णयक मत काठमाडौं हो । हामी काठमाडौंलाई विश्वासमा लिने प्रयासमा छौं ।’ निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार यस प्रदेशमा ६६ र समानुपातिकबाट ४४ गरी ११० जना प्रदेश सांसद् छन् । काठमाडौं उपत्यकाका ३ जिल्लाका मात्र ५२ जना सांसद छन् । भूगोलको हिसावले १३ जिल्ला मध्ये करिब मध्य भागमा रहेको, काठमाडौं–छहरे– विदुर, काठमाडौं–ककनी–विदुर, गल्छी–विदुर, मध्यपहाडी राजमार्ग गरी ठूला चार सडकले नुवाकोट जोडेको, समथर जमिन प्रयाप्त भएको, तत्काल प्रदेश राजधानी सञ्चालन गर्न सुविधा सम्पन्न सरकारी भवनहरु रहेको, प्रयाप्त पानीको स्रोत भएको, मध्यमखालको हावापानी रहेकोले नुवाकोटमा राजधानी राख्न उपयुक्त हुने सांसद बद्री मैनालीले बताउँछन् । नुवाकोटमा प्रदेश राजधानी राख्न लविङ गर्दै यस जिल्लाका जनप्रतिनिधिहरु, नुवाकोट सरोकार समाज र नुवाकोटका अगुवाहरु यतिबेला निकै सक्रिय भएका छन् ।
नुवाकोट महोत्सवमा दुई करोडको कारोबार
नुवाकोट । ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनपछि आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा सांसद बहादुरसिंह लामाले महोत्सवले जिल्लाको आर्थिक गतिविधि र व्यावसायिक विस्तारमा सकारात्मक प्रभाव पार्ने बताए । महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको र करीब रु दुई करोडको आर्थिक कारोबार भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । जिल्लाको स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु गरिएको महोत्सवले जिल्लाको समृद्धिका लागि भूमिका खेलेको संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए । ११ दिनसम्म सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि महोत्सवमा सहभागी व्यवसायीको मागलाई ध्यानमा राखी एक दिन थप गरिएको आयोजकले जनाएको छ । महोत्सवमा पछिल्ला दिनमा दर्शकको संख्यामा उलेख्य मात्रामा वृद्धि भएको थियो । महोत्सवमा विभिन्न चर्चित कलाकारले आ–आफ्नो प्रस्तुति दिएका थिए ।-रासस
नलगाड हाइड्रोपावर कम्पनी मुआब्जा दिन सहमत
जाजरकोट । लामो समयदेखि विवाद भइ रोकिएको नलगाड हाइड्रोपावर कम्पनीको निर्माण कार्य अब मुआब्जा वितरणको समस्या समाधान भएपछि सञ्चालन हुने भएको छ । विद्युत्गृह निर्माणस्थल नलगाड नगरपालिका–१ दल्लीमा बसोबास गरिरहेका १८ घरधुरी वादी समुदायले जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत वितरण गर्ने गरी सहमति भएपछि विवाद समाधान भएको हो । जिल्ला प्रशासन कार्यालय जाजरकोटको खातामा रकम जम्मा गरिएको र अब केही दिनभित्रै सो रकम स्थानीय व्यक्तिलाई वितरण गरिने सहमति भएको जाजरकोट क्षेत्र १ का सांसद गणेसप्रसाद सिंहले जानकारी दिए । त्रिभुवन उच्च मावि दल्लीको जग्गामा घर बवाई बसेका वादी समुदायले मुआब्जा पाउने भएका हुन् । विद्यालयको नाममा जग्गा हुनुभन्दा पहिले त्यहाँ वादी समुदाय बस्दै आएका थिए । कम्पनीका चित्रबहादुर केसीले दिएको जानकारीअनुसार पावर हाउस निर्माणका लागि चाहिने कच्चा पदार्थ भण्डारण गर्न, जनशक्तिको तथा उपकरणका लागि क्याम्प निर्माण गर्न र सुरक्षाका लागि नेपाली सेनालाई बस्ने ठाउँ निर्माण गर्नका लागि केही जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्नुपर्ने काम सहजताका साथ अगाडि बढेको छ । स्थानीय राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला सबैलाई राखेर भएको छलफलले त्यो विषय टुंग्याएपछि आयोजनाले मुआब्जा रकम स्थानीय जिल्ला प्रशासनको खातामा जम्मा गरिसकेको छ । डिपिआरको कामले पनि अहिले गति लिएको छ । विद्युत्गृहस्थल नलगाड नगरपालिका–१ दल्लीबाट बाँधस्थल रहेको बारेकोट गाउँपालिका अधेरीखोला सम्मको पहुँच मार्ग निर्माण कार्य रोकिएकामा अहिले पूर्ण सञ्चालन भएको छ । करीब ६ महिनासम्म विस्फोटक पदार्थ नहुँदा पहुँच मार्ग निर्माण कार्य रोकिएको थियो । भौगर्भिक अध्ययनका लागि विस्फोटक पदार्थ नेपाली सेनाले उपलब्ध गराएपछि सडक निर्माण र अध्ययनको काम पनि अगाडि बढिसकेको केसीले बताए ।-रासस
रकम अभाव भएपछि विकास बजेट शिक्षकको तलबमा खर्च
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको हो । शिक्षकका लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताए । अर्थ मन्त्रालयले रु दश करोड मात्रै निकासा दिएकाले नगरपालिकाले रु चार करोड ३५ लाख ३ हजार १६० विकास बजेटबाट थपेर शिक्षकलाई तलबभत्ता वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले जानकारी दिए। दशरथचन्द नगरपालिकाअन्तर्गत ५६ वटा सामुदायिक विद्यालय रहेका छन् ।-रासस
मंसिरदेखि माथिल्लो तामाकोसीको बिजुली बाल्न पाइने, ९४ प्रतिशत काम सकियो
काठमाडौं । आगामी मंसिरदेखि माथिल्लो तामाकोसीको बिजुली बाल्न पाइने भएको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत उत्पादन गरेर मंसिर अन्तसम्म राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । आयोजनाको ९४ प्रतिशत काम सम्पन्न भैसकेको छ । तामाकोसीको काम सकिन अब ६ प्रतिशत मात्र बाँकी छ । आयोजनाको काम अब अन्तिम चरणमा पुगेको छ । ६ प्रतिशत मात्र काम बाँकी भएपनि आयोजनाबाट आउदो मंसिर अन्तिमसम्ममा मात्र बिजुली उत्पादन गर्ने प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवत्ता गणेश न्यौपानेले बताए । आगामी डिसेम्बर १८ सम्म पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुने कार्यतालिका तय भएको उनले जानकारी दिए । आउदो असार अन्तिमसम्म आयोजनाको ५ मध्ये १ युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको थियो । मंसिरसम्म आयोजनाको सबै युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा विभिन्न कारणले प्रभावित भएको छ । ०७५ सालभित्र माथिल्लो तामाकोसीको काम सम्पन्न हुने देखिएको छ । हाल मुहान, बाँध, सुरुङ, प्रसारणलाइन र इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल गरी ४ वटै लटको काम तिब्र गतिमा भइरहेको उनले जानकारी दिए । हाइड्रोमेकानिकलको कामले पनि अहिले गति लिएको छ । प्रसारणलाइनअन्र्तगत ४ वटा टावरको संरचना निर्माण गर्न बाँकी रहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युतगृह गौंगरबाट २२० केभी क्षमताको प्रसारणलाइनबाट न्युखिम्ती जोडिने छ । आयोजनाको काम ९४ प्रतिशत सकिदा ३६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकाबन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजना निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । निर्माण अवधिको ब्याज मात्रै ६ अर्ब रुपैयाँ बढी हुने छ । आयोजनाको गत मंसिर ४ गते छेडिएको थियो । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको पहिलो वर्षको आम्दानी ९ अर्ब रुपैयाँ हुने छ । माथिल्लो तामाकोसीको आईपीओ चैतभित्रै माथिल्लो तामाकोसीको साधारण सेयर (आईपीओ) आउदो चैतभित्रै आउने भएको छ । आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । प्रवद्र्धक अपरतामाकोसीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । जिल्ला समन्वय समितिबाट आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरी सेयर वितरण गर्ने समहमति भएको छ । दोलखावासीले न्युनतम ३० देखि बढीमा ३ सय कित्तासम्म सेयर भर्न पाउने भएका छन् । स्थानियबासिन्दालाई निष्कासन गरिसकेको सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन हुनेछ । पहिलो चरणमा सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन हुनेछ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको साधारणसभा चैत ४ मा, ६५ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा चैत ४ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । संस्थाले चुक्तापुँजीको ५० प्रतिशत अर्थात १० करोड रुपैया बराबरको बोनस सेयर र १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । यस्तै संस्थाको चुक्तापुँजी बढाउने प्रस्ताव पनि पारित हुने छ ।
साना किसान बैंक १७ करोड नाफामा
काठमाडौँ । साना किसान विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा १७ करोड १६ लाख नाफा गरेको र सो नाफा चालु आर्थिक वर्षको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तमा यस बैंकको कूल सम्पत्ति १७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । रासस