विकासन्युज

केपी ओलीलाई माधव नेपालको सुझाव-कान चिरेको जोगी नबन्नुस्, गणेश प्रवृत्तिबाट बच्नुस्

काठमाडौं । एमाले बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कान चिरेको जोगी नबन्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । ‘जनताले जुन जोगी आएपनि कानै चिरेको भन्ने गरेका छन्, अब प्रधानमन्त्री ओली त्यस्तो जोगी नबन्नुस, यो देश बनाउने अन्तिम अवसर हो’, नेता नेपालले भने । ओलीलाई विश्वासको मत दिन आग्रह गर्दै नेता नेपालले ओलीलाई आफ्ना वरिपरि घुम्ने गणेश प्रवृत्तिलाई त्यागेर राम्रा मान्छेलाई अघि सार्न पनि सुझाव दिएका हुन् । उनले देशलाई बनाउने अन्तिम अवसर ओलीको काँधमा आएकाले उचित सदुपयोग गरेर देश बनाउन आग्रह पनि गरे । उनले फोहर मैला व्यवस्थापनलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताए । शिक्षा, स्वास्थ्य, पुर्वाधार र नागरिकको चेतनास्तर बढाउन पनि सरकारले काम गर्नुपर्ने बताए । ओलीसँग चुस्त दुरुस्त राम्रो टिम रहेकाले देश निर्माण नै हुने अपेक्षा पनि व्यक्त गरे ।

गोकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द, पर्यटन र व्यापारमा घाटा

दार्चुला । गाकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् । विसं २०४८ देखि २०७४ सालसम्म दार्चुलाबाट निर्वाचन जित्ने र हार्ने कुनै पनि नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुँदैन भनेका छैनन् । उनीहरुले जसरी पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । विडम्बना, छिमेकी जिल्ला बैतडीको पाटनमा रहेको विमानस्थल कालोपत्र हुँदा गोकुलेश्वर विमानस्थलमा गाईवस्तु चरिरहेका छन् । विमानस्थलको सुरक्षाका लागि करिब २७ वर्षदेखि खटिँदैआएका कार्यालय सहयोगी रामदत्त विष्ट यी सबै कुरा हरेर बसिरहेका छन् । दार्चुलाबाट निर्वाचित दिलेन्द्रप्रसाद बडू, प्रेमसिंह धामी, लक्ष्मीदत्त जोशी र गणेशसिंह ठगुन्नाले विमानस्थलमै आयोजना गरिएको आमसभामा विमानस्थल सञ्चालन गर्ने भाषण गरे । मतदाताले उनीहरुलाई विश्वास गरे । विमानस्थल सञ्चालन हुन्छ र जिल्लाको पर्यटन, व्यापार र भौतिक निर्माणको क्षेत्रमा परिवर्तन हुन्छ भन्ने आशा थियो तर विमानस्थल सञ्चालनमा आएन । तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले टुइनेटर विमान अवतरण नै गराएर विमानस्थल सञ्चालनमा ल्याउने वाचा गरे । एउटा टोली अध्ययनका लागि आयो, तर विमानस्थल सञ्चालन भएन । रातिराति टिकट काटिन्थ्यो त्यतिबेलाको शाही नेपाल वायु सेवा निगम (आरएनएसी)को टुइनेटर विमानले साप्ताहिक रुपमा यहाँबाट महेन्द्रनगर हुँदै नेपालगञ्जको उडान भर्दथ्यो । “सामान्य अवस्थामा कहिल्यै टिकट नपाइने हुँदा रातिराति लाइन बसेर टिकट लिनुपथ्र्यो,” गोकुलेश्वरका बासिन्दा मानबहादुर भण्डारीले भनेका छन् । आरएनएसीसँग थप विमान नभएकाले त्यतिबेला दार्चुलाबाट उडान भर्ने विमान थप गर्न नसकिएको स्मरण गर्दै कार्यालय सहयोगी विष्ट निरन्तर विमान सञ्चालनमा रहेको भए दार्चुलावासीलाई देशका अन्य क्षेत्रसम्म आवागमन गर्न सजिलो हुने थियो भन्छन् । विसं २०५० देखि विमान सञ्चालन बन्द भयो । विसं २०५५ मा दुईजना नायब सुब्बालाई कर्मचारीका रुपमा खटाइयो । नायब सुब्बा गणेश सिंह र भीमदत्त पन्तले २०६० सालसम्म यहाँ काम गर्नुभयो । पछि द्वन्द्वका कारण उनीहरुले अन्तै सरुवा मिलाए । पर्यटन र व्यापारमा घाटा अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको जिल्लाको पर्यटन प्रबद्र्धन नहुनुको पछाडि विमानस्थल सञ्चालन नहुनु पहिलो कारण बनेको छ । कैलालीको धनगढीबाट ३४५ किलोमिटर सडक दूरी पार गरेर दार्चुला सदरमुकाम खलंगा पुगिन्छ । यात्रा निकै कष्टप्रद हुन्छ । विमानस्थल सञ्चालनमा आउँदा पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, यहाँ आउने कर्मचारीलाई पनि सहज हुनेछ । कष्टप्रद यात्रा देखेर कर्मचारी, विकास साँझेदार र विज्ञहरु यहाँ आउन मान्दैनन् । “हवाई उडान शुरु भए यी सबै समस्या समाधान भएर जान्छन्,” सहायक वन अधिकृत अमरसिंह धामीले भने । टिकटका लागि राति लाइनमा लाग्नुपर्ने बेला सम्झिदै उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य मंगलसिंह ठगुन्ना अहिले त दिनमै दुई दुई विमानले उडान भर्न मिल्ने यात्रु पाउने अवस्था रहेको बताउँछन् । जडीबुटी व्यापार गर्न निकै सहज हुने उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गर्न प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिएका छन् । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको उक्त विमानस्थल सञ्चालन गर्न दक्षिणतर्फ रहेका घर तथा चमेलिया नदीमाथि बनेको पुल बाधक देखाएको बताउँदै प्रशासकीय अधिकृत विष्ट उक्त समस्यालाई समाधान गर्न सकिने बताउँछन्। रासस

भ्रष्टाचार गर्दिन र हुन पनि दिन्नः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नगर्ने र हुन पनि नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने–‘म प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री बनेको होइन, देश बनाउने आएको हुँ । भ्रष्टचार गर्दिन र हुन पनि दिन्न ।’ संसदमा विश्वासको मत माग्दै ओलीले यस्तो भने सरकार दम्भि बन्दैन्, प्रतिपक्ष सहयोगी बनोस । सरकार र प्रतिपक्षी भनेर बस्ने सुबिधा छैन् । देशविकासको अभियान सत्तापक्षको मात्रै होइन् । सबैको साझा अभियान हो । विकास र समृद्धिको नेतृत्वले सत्ता पक्षले गर्ला । प्रधानमन्त्री भएकाले मैले गरौंला । तर प्रतिपक्षी पनि यसको महत्वपुर्ण हिस्सा हो । बोक्सी र धामी झाक्री मान्ने हामी कहाँ छौं ? देश कहाँ छ ? समाज किन हेरिबसेको छ ? हाम्रो चेतना कहाँ छ ? आठ बर्षको बालिका बलत्कृत भएर हस्पिटलमा छिन् । यो देश बनाउने उपयुक्त वातावरण हो । साझा घोषणा पत्रले आफ्ना नीति कार्यक्रम र उदेश्य स्पष्ट छ । त्यसलाई जनताले बहुमतका साथ अनुमोदन गरेका छन् । म निर्वाचनको बनोटबाट प्रधानमन्त्री बनेको हुँ । म प्रधानमन्त्रीको हिसाबले तपाईहरुलाई भन्न चाहान्छु, म प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री बनेको होइन, देश बनाउने आएको हुँ । भ्रष्टचार गर्दिन र हुन पनि दिन्न । मलाई जनताले दमनकारी शासक बनाउन जिताएका होइनन् । म जनताको रक्षक हुँ । राष्ट्रियताको पहरेदार हुँ । सदाचारको अभियान्त हुँ । देश भक्त, विकासवादी, सुशासनका पक्षपातीलाई भोट नदिएर कता हाल लैजानु हुन्छ ? मेरो इतिहास र वर्तमानले पनि मलाई भोट नदिनुपर्ने कारण छैन् । हामीले प्रदेश नम्बर २ मा प्रतिपक्षमै बसेर पनि सरकारलाई भोट दिएको छ । यहाँ पनि प्रतिपक्षीले भोट दिन पाउँछन सक्छन र दिनुपर्छ । अब जसले सक्छ उसले गर्छ भन्ने होइन नसक्नेहरुका लागि पनि सरकार बन्नेछ । कोहि भोकै मर्नेछैनन् । केहि बर्षभित्र कोही पनि नेपाली पासपोर्ट देखाउँदा सम्मानपुर्वक व्यवहार गर्ने दिन आउँछ । त्यसकै लागि म प्रधानमन्त्री बनेको हुँ र मत दिनका लागि पनि अनुरोध गर्दछु । मलाई मत दिनु होला ।

सेयर बजार ३१ अंकले घट्यो, दुई कम्पनीका लगानीकर्ताले गुमाए ९ प्रतिशत बढी

काठमाडौं । आइतबारको सेयर बजार निरन्तर ओरालो लागेको छ । सो दिन बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक बजार बन्द हुँदा ३१.०४ अंकले घटेर १२८४.०९ अंकमा झरेको छ । बजारमा परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । आइतबार जम्मा १६० कम्पनीको ३२ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । आइतबार २ कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशत गिरावट आएको छ । सबैभन्दा बढी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । सो दिन यस संस्थाका लगानीकर्ताले ९.३८ प्रतिशत गुमाएका हुन् । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि अघिल्लो दिनको तुलनामा ९.३३ प्रतिशत गुमाएका छन् । सो दिन कारोबारमा आएका सबै समूहका परिसूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक २४३ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले घटेको छन् । फाइनान्स समूह ८ अंकले ओरालो लागेको छ । आइतबार गुमाउने १० कम्पनी

चुनावको प्रतिद्धन्द्धिता छाडेर विकास र समृद्धिमा लागौं- ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चुनावको प्रतिष्पर्धालाई भुलेर देश विकासमा जुट्न आग्रह गरेका छन् । संसदमा विश्वासको मत माग्न आफ्ना कुरा राख्दै प्रधानमन्त्री ओलीले चुनावको प्रतिष्पर्धालाई छाडेर विकास र समृद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका हुन् । ओलीले निर्वाचनमा प्रतिष्पर्धाका क्रममा देखिएका तिक्तताहरुलाई भुलेर सरकार र प्रतिपक्ष दुबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले राष्ट्रियता र गौरवलाई उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले बामपन्थी घोषणा पत्रमा अघि सारिएका प्रतिवद्धताहरुको कार्यान्वयनमा प्रतिवद्ध रहेको समेत बताएका थिए ।

गण्डकी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी २ अर्ब ७५ करोड पुग्ने

काठमाडौं । गण्डकी विकास बैंकले सेयरधनीलाई १९ दशमलब ३१०६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको फागुन २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैंकले गत आवको संचित मुनाफा र हाल जारी गरेको हकप्रद पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश वितरण गर्न लागेको हो । कम्पनीले जारी गरेको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको प्रस्तावित उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

बेलबारी नगरद्धारा ३२ विद्यालयमा ई-हाजिरी सेवा र बिरामीलाई २५ हजार सहयोग

काठमाडौं । बेलबारी नगरपालिका उर्लाबारी मोरङले नगरपालिका भित्रका ३२ वटा विद्यालयमा ई-हाजिरी प्रक्रिया सुरु हुने भएको छ । नगरपालिकाको समन्वयमा ई हाजिरी मेसिन खरिद प्रक्रिया अघि बढेको हो । ३२ विद्यालयका लागि ३२ वटै ई हाजिरी मेसिन खरिद प्रक्रिया अधि बढेको नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ई-हाजिरी सेवाबाट विद्यालयमा काम गर्ने सम्पुर्ण कर्मचारीको हाजिर हुनेछ । तर विद्यार्थीको हकमा भने यो लागू हुने छैन । ‘नगरपालिकाले विकासका कार्यक्रमलाई अगाडी बढाइरहेको छ, नगरपालिकामा रहेका ११ वटै वडामा इन्टरनेट सेवा पुगिसको छ, अब अन्य विकासका पुर्वाधार विकास गर्न आर्थिक स्रोतको व्यवस्थापन गरिरहेका छौं’, सुवेदीले विकासन्यूजसँग भने । नगरपालिकाले विभिन्न पाँच रोगका बिरामीलाई जिवनयापन सहज बनाउँनका लागि २५ हजार रुपैंयाका प्रतिव्यक्तिदरले रकम प्रदान गर्ने भएको छ । नगरले अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउन लागेको हो । अहिले पाँच रोगबाट पीडित व्यक्तिहरुको तथ्यांक संकलन भैरहेको नगरले जनाएको छ । ११ जना पीडितको विवरण आइसकेको र आउनेक्रम जारी रहेको छ । रकम लिनको लागि बिरामीले उपचार गराएको अस्पताल वा चिकित्सकले प्रमाणित गरेको कागजातको नगपालिकामा पेश गर्नु पर्ने छ । बिरामीलाई प्रदान गर्ने रकम नगरपालिकाको कोषबाटै उपलब्ध गराउने मेयर सुवेदीले जानकारी दिए । नगरपालिकाले विशेषगरी सडक, स्वास्थ्य र शिक्षालाई जोड दिएको उपमेयर ढाकादेवी पराजुलीले बताइन् । नगरमा सपिङ कम्पेक्स, बसपार्क निर्माण लागि आवश्यक कोष नहुँदा विभिन्न दाताहरुसँग सहयोग लिने विषयमा छलफल भैरहेको उपमेयर पराजुलीले बताइन । नगरपालिकाले स्पस्ट कानूनी कार्यआदेश नपाउँदा सुकुम्बासी समस्या र नदिनालाको व्यवस्थापनमा कठिनाई रहेको मेयर श्रेष्ठले बताए । नगरको ११ वडामा करिब ७३ हजार जनसंख्या बसोबास गर्दै आएका छन् । नगरको सबै वडाहरुमा खानेपानी को सुविधामा भने पुगेको छैन ।

चैत पहिलो हप्ता सार्क विजनेश लिडर्स कनक्लेभ

काठमाडौं । चैत २, ३ र ४ गते छैठौं ‘विजनेश लिडर्स कनक्लेभ’ हुने भएको छ । नेपालसहित विभिन्न सार्कमा आबद्ध मुलुकहरुको व्यापपार व्यवसाय बढाउन सहयोग पुर्याउने उद्देश्यले उक्त कनक्लेभ सार्क चेम्बर आफ कमर्श एन्ड इण्डस्ट्रिज (सार्क सीसीआई) ले गर्ने भएको हो । राजधानीमा आइतबार सार्क सीसीआईले पत्रकार सम्मेलन गरी उक्त सञ्चालन हुने सभाको बारेमा जानकारी दिएको थियो । सम्मेलनमा सार्क सीसीआईका अध्यक्ष सुरज वैद्यले नेपालको लागि उक्त सभा महत्वपूर्ण हुने बताए । सभामा सार्क मुलुकका वाणिज्य मन्त्रालयको प्रतिनिधि, विभिन्न सार्क स्थित चेम्बरका प्रतिनिधि, विजनेश कमिटी, नीति निर्माता लगायतको महत्वपूर्ण उपस्थिति रहने जानकारी दिए । ‘सार्क क्षेत्रको कृषि, उर्जा, सडक लगायतको विकासको सम्बन्धमा छलफल हुनेछ,’ उनले भने ‘हाम्रो टिमले सार्क क्षेत्रका युवाहरुबाट धेरै नै अपेक्षा गरेको छ ।’ नेपाल, भारत, बंगलादेश, भुटान लगायत सार्कमा आबद्ध आठ मुलुकको विभिन्न आर्थिक मुद्धाहरुमा विस्तृत छलफल गरिने उनको भनाइ छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले मुलुकको सबैभन्दा ठूलो बजार सार्कसँगको रहेको बताए । नेपालको व्यापारमा उक्त सभाले नयाँ कोर्ष लिने उनको विश्वास छ । ‘सभालाई हामीले अवसरको रुपमा लिन पर्दछ,’ उनले भने ‘सार्क मुलुकहरुको विजनेश टप लिडरहरु आउने भएका छन् । वीटुवी मिटिङ सञ्चालन हुनेछ ।’ नीति निर्माण गर्नेदेखि त्यसको कार्यान्वयनसम्म सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको उनको भनाइ छ । आयोजकले सभामा मुलुकबाहिरबाट करिब २ सयको संख्यामा डेभलपर, डेलिगेटर, स्पीकर लगायतको उपस्थिति हुने जनाएको छ ।