विकासन्युज

नुवाकोट राजधानी बनाउने ऐतिहासिक, भौगोलिक, रणनीतिक आधार

काठमाडौं । नुवाकोटलाई प्रादेशिक राजधानी बनाउन नुवाकोटका प्रदेश सदस्य, जिल्ला समन्वय समिति, राजनीतिक दल र पर्यटन व्यवसायी र नागरिक समाजले ऐतिहासिक, भौगोलिक, रणनीतिक र पूर्वाधारका आधार प्रस्तुत गरेका छन् । जिसस नुवाकोट र नुवाकोट सरोकार समाजले ‘नुवाकोटको विगत, वर्तमान र भविष्य’शीर्षकमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिहरुले काठमाडौंदेखि नुवाकोट पुग्न हाल तीन वटा डबल लेनका मार्ग कायम रहेको र मध्यपहाडी मार्ग नुवाकोट भएर जाने तथा भविष्यमा सुरुङ मार्ग पनि बन्ने भएकाले छिटो नुवाकोट पुग्न सक्ने देखिएको बताएका छन्। औद्योगिकीकरणका लागि जमीन, विद्युत् र पानी पर्याप्त रहेको नुवाकोट चीन र भारतको पारवहन विन्दु भई रणनीतिक महत्वको स्थान पनि भएको बारे छलफल गरेका छन्। ३नं प्रदेश सभाका सभामुख माननीय सानुकुमार श्रेष्ठ प्रमुख अतिथि र उप सभामुख राधिका तामाङ बिशिस्ट अतिथि रहेको उक्त कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख शन्तमान तामाङको सभापतित्वमा संचालित कार्यक्रममा विदुर नगर पालिकाका मेयर सन्जु पंडित, प्रदेशसभा सदस्य, केशव पाण्डे, बद्री मैनाली र हीरानाथ खतिवडा (नुवाकोट)ले प्रदेशका बाँकी १२ जिल्लाबाट नुवाकोट सजिलैसँग पुग्न सकिने र यहाँ प्रशस्त भवन, भवन बनाउन मिल्ने खाली जग्गा तथा समथर फाँट भएको बताए । प्रदेशसभा सदस्य(काठमाडौं) नरोत्तम वैद्यले आफूहरु हेटौँडाको पक्षमा नरहेको र पार्टीले पनि आफूहरुलाई स्वविवेक प्रयोग गर्न दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसका नेता रमेश महतले राजधानीको फोहर राख्ने डम्पिङ साइट हाल नुवाकोटको ओखरपौवामा रहेको तथा खाद्यान्न र तरकारी पनि काठमाडौं निर्यात भइरहेको बताउँदै उद्योगका लागि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट प्रशस्त विद्युत उत्पादन भइरहेको जानकारी दिएका छन् । पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटकीय जिल्ला नुवाकोट भारत चीन व्यापारमार्ग पनि भएको बताउनुभयो । सरोकार समाजका अध्यक्ष रामलाल श्रेष्ठले पृथ्वीनारायण शाह र गीर्वाणयुद्धविक्रम शाहका पालामा दुई पटक राजधानी बनिसकेको नुवाकोट अन्य जिल्लाका तुलनामा नुवाकोट कम विकसित भएकाले भविष्यमा विकास गर्नका लागि पनि यसलाई राजधानी बनाउनुपर्ने तर्क दिएका छन् । सो अवसरमा नुवाकोटलाई राजधानी बनाउन सकिने आधारहरु झल्काइएको जिसस नुवाकोटबाट निर्मित वृत्तचित्र प्रस्तुत गरिएको थियो । नुवाकोटका समग्र विकास र समृद्ध नुवाकोटको निम्ति यस्तो कार्यक्रमहरु आगामी दिनमा नियमित गरिने र यस्को निम्ति सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको साथै सबै नुवाकोटका बासिन्दाहरु एकजुट हुनु पर्ने बारे सरोकार समाजका सचिव अनुजकुमार श्रेष्ठले बताए ।

भारतबाट आठ महिनामा एक हजार ७९ मेट्रिक टन माछा आयात

विराटनगर । भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । आयातित् माछामा रहुँ, नैनी, भाकुरका साथै अन्य जातको रहेको छ । सिद्रा माछा १४ दशमलव ६ मेट्रिक टन, एक्युरियम माछा तीन हजार ९०० गोटा र ८० हजार माछाको भुरा आयात गरिएको कार्यालयका स्वास्थ्य प्राविधिक नीरज कट्टेलले जानकारी दिएका छन् । यसका साथै सो अवधिमा १० हजार ९६६ वटा सुँगुर, एक हजार ३२९ घोडा खच्चर, राँगाभैँंसी एक हजार ५३६ तथा गाईगोरु ६२ आयात गरिएको छ । भारतबाट आयातित् माछा खानयोग्य छ कि छैन् भनेर विराटनगरस्थित खाद्य प्रविधि प्रयोगशालामा जाँच गराउने गरिएको प्राविधिक कट्टेलले बताउनुभयो । खसीबोकालगायत जनावर रोगी भए नभएको विराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जाँच गराउने गरिएको उनले बताए । सोही अवधिमा सिरहाको माडर नाकाबाट १०६ मेट्रिक टन दूध, १०२ मेट्रिक टन दही र ९१ किलो घ्यू निर्यात भएको छ । रासस

नेपाली अदुवा पहिलाे पटक युरोप निर्यात हुँदै, इटालियन व्यवसायीले किन्ने

काठमाडौं । नेपाली अदुवा अब युरोपमा पनि निकासी हुने भएको छ । युरोपको इटालीका व्यवसायीले नेपाली अदुवा खरिद गर्न लागेका हुन् । भारतले विभिन्न वाहानामा अदुवा निकासी रोक्न थालेपछि नेपाली व्यवसायीले इटालीमा अदुवा निकासीका लागि पहल थालेका हुन् । इटालीका व्यवसायीले अदुवाप्रति चासो देखाउदै केही दिनभित्रै अदुवाको खरिदका लागि नेपाल आउने भएका छन् । इटालिका व्यवसायीले अदुवा खरिदका लागि चासो देखाएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले बताए । उनका अनुसार पछिल्लो समय थोरै भएपनि अन्तर्राष्ट्रिय बजारमा नेपाली अदुवाको प्रसार प्रचार भएको कारण इटलीका व्यापारीहरुको ध्यान नेपाली अदुवाप्रति तानिएको हो । ‘ती व्यापारीहरुसंग नेपाली अदुवाको निर्यात सम्बन्धमा विस्तृत छलफल हुनेछ,’ उनले भने ‘नेपाली अदुवा पहिलो पटक इटाली पुग्ने छ ।’ इटाली निर्यातका लागि इलाम जिन्जर एक्स्पोर्ट प्रालिले तयारी गरिहेको कम्पनीकाे सञ्चालक समेत रहेका उनले जानकारी दिए । ‘यो नेपालको लागि सुखद अवसर हो,’ उनले भने । संघकोअनुसासर हालसम्म नेपालबाट भारत र बंगलादेश अदुवा निर्यात हुदै आएको छ । गएको तीन महिनाअघिदेखि मात्र बंगलादेशमा नेपाली अदुवा निर्यात हुन थालेको हो । अन्तर्राष्ट्रिय बजारमा नेपाली अदुवाको सम्भावना राम्रो भएपनि सरकारले अझै पनि अदुवाको बजारीकरणमा ध्यान पुर्याउन सकेकाे छैन।  

इन्भेष्टर्स फोरम तातेपछि सेयर बजारमा सुधार, सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको काराेबार

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सोमबार सेयरधितो कर्जा सीमा बढाउन सरकारसँग माग गरेपछिको मंगलबारको सेयर बजारमा सुधार भएको छ । फोरमले सेयर बजार निरन्तर घट्दै गएपछि सोमबार सेयरधितो कर्जा सीमा बढाउन माग गरेको थियो । खुलेदेखि नै सुधारको संकेत देखिएको मंगलबारको सेयर बजार अन्तत हरियो नै भएर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४.८९ अंकले उकालो लागेर १२८१.९० अंकमा पुगेको छ । कुल १५६ कम्पनीको २३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७२० रुपैयाँ रहेको छ । त्यसैगरी, नबिल बैंक, यूनिलिभर नेपाल र एभरेष्ट बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका ३ समूह बाहेक अन्य बाँकी समूहको सूचक हरिया देखिएका छन् । सबैभन्दा बढी होटल समूहको सूचक ६१ अंकले उकालो लागेको छ भने सबैभन्दा बढी उत्पादनमूलक समूह ३२ अंकले ओरालो लागेको छ ।

विमान दुर्घटनाबारे जानकारी लिन बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडाैंमा

काठमाडौं । सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल मंगलबार काठमाडौंआइपुगेको छ । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो । उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए । बंगलादेशको उच्चस्तरीय टोली केहीबेरअघि काठमाडौं आइपुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् । यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपीशर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।

रसुवाको प्राङ्से पात्ले सडक सञ्जालमा जोडियो, स्काभेटर र डोजर खरिदमा सांसदकाे व्यक्तिगत लगानी

काठमाडौं । रसुवा जिल्लाको प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको छ। रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यको व्यक्तिगत प्रयासमा रसुवाको गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको हो। रसुवा जिल्लाका सबै स्थानलाई सडक सञ्जालमा जोड्ने अभियान स्वरुप सांसद आचार्यले आफ्नो व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरि गत माघ २७ गते जिल्लालाई उपलब्ध गराएका थिए। गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडकको लम्वाई ३ किलोमिटर रहेको छ। रसुवा जिल्लाका सबै स्थानलाई सडक संञजालमा जोड्ने अभियान अन्तर्गत हाल सम्म ७ किलो मिटर ग्रामिण सडक निर्माण भैसकेको छ। यस अघि कालीका गाँउपालिकाको लामाटोल देखि चित्रेपानी जोड्ने ४ किलोमिटर सडक निर्माण गरिएको थियो। बाटो निर्माणका लागी स्काभेटर र डोजर संञ्चालन गर्न आवश्यक ईन्धनको व्यवस्था उपभोक्ता समितिले गराएको थियो। अब सो मेसिनले पार्वतीकुण्ड गाँउपालिकाको हाकुलाई सडक सञ्जालसँग जोड्न बाटो खन्ने काम शूरु गर्ने सांसद आचार्यले बताएका छन्।

आइएमई जनरल इन्स्योरेन्सको ३३औं शाखा काठमाडौंकोे टेकूमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाडौंकोे टेकू स्थित अम्बे कम्पलेक्समा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन मंगलबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन् । यस शाखा सहित कम्पनीले ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ । उक्त अवसरमा बीमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो उपस्थिती जनाउने कम्पनीले जनाएको छ । साथै, कम्पनीले लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ । सोही अवसरमा अध्यक्ष चापागाईले सबैले आआफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यावसाय विस्तार गर्न पनि आग्रह गरेका छन् । कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सम्पूर्ण बीमा सेवा प्रदान गर्ने जानकारी गराएका छन्। कम्पनीले आ.ब. २०७४/०७५ को दोश्रो त्रैमास सम्ममा ४३ करोड बीमा शुल्क आर्जन र कूल लगानी ८५ करोड रुपैयाँ गरेको छ । सो अवधिमा कम्पनीले खुद नाफा ४ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको जानकारी दिइएको छ ।

स्प्रेडदर ५ प्रतिशत नाघेका बैंकका लगानीकर्ताले लाभांश नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले औसत ब्याजदर अन्तर (स्प्रेड) ५ प्रतिशत बढी हुने बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाएको छ । केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी स्प्रेडदर ५ प्रतिशत भन्दा बढी भएमा कारावाही गर्न लागेको हो । केन्द्रीय बैंकले बोनस सेयर र नगद लाभांश वितरणमा बन्देज लगाउने चेतावनी दिएको छ । बैंक तथा वित्तीय संस्थाले स्प्रेडदर तोड्न लागेपछि केन्द्रीय बैंकले लगाम लगाएको हो । सीमा भन्दा बढी स्प्रेडदर भएका बैंक तथा वित्तीय संस्थाले कार्यालय नभएका स्थानीय तह बाहेक अन्य स्थानमा शाखा विस्तार गर्न बन्देज लगाउने भएको छ । यस्तै भूकम्प पीडितलाई बाहेक अन्यलाई पुनर्कर्जा सुविधा दिन बन्देज लगाउने भएको छ । कर्जा स्रोत परिचालन अनुपात (सीसीडी) रेसियो दैनिक अनुगमन गरिने तर महिनाको अन्त्यमा पनि ८० प्रतिशत कटेमा हर्जाना लगाउने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक महिनाको १ देखि मसान्तसम्म विदा बाहेक सीसीडी रेसियो निर्धारण गरिने भएको छ । बैंक तथा वित्तीय संस्थाले प्रतिवद्धता जनाएको क्षेत्रमा चालु आर्थिक वर्षभित्र शाखा खोल्नुपर्ने छ ।