विकासन्युज

गोपाल पराजुली पेशी तोक्नबाट बञ्चित, न्यायाधीशहरू काममा फर्कने

काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषदले पदमुक्त गरेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई बिहीवारबाट पेशी तोक्नबाट बञ्चित गरेको छ। पराजुलीले त्यो पुष्टि गर्दै बीबीसीलाई आफूले त्यसबारे बुझिरहेको जानकारी दिए। उनले भने, मैले निवासबाटै मुद्दाको पेशी तोक्ने गरेको थिएँ, आज त्यसमा मलाई रोक लगाएर त्यसको अधिकार दीपक श्रीमान्‌लाई दिइएको रहेछ। त्यसबारे म बुझ्दैछु । बुधवार न्यायपरिष‌द्का सचिव नृपध्वज निरौलाले पराजुलीको उमेर हद गत साउनमै सकिएको भन्दै उनी पदमुक्त भइसकेको बेहोरासहितको पत्र राष्ट्रपति, प्रधानमन्त्री सहितका निकायलाई पठाएका थिए। योसँगै बिहीवारबाट वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीले मुद्दाको पेशी तोक्ने सर्वोच्च अदालत श्रोतले बीबीसीलाई बताएको छ।   विवादकाे कारण न्यायपालिकामा उत्पन्न पछिल्लो विवादका कारण इजलास नै बहिष्कार गरेका आठ न्यायाधीशहरूले समेत काममा फर्कने निर्णय लिएको बताइएको छ । जोशी स्वयंले उनीहरूलाई आफूले पेशी तोक्न लागेकाले काममा फर्कन आग्रह गरेको बुझिएको छ। सर्वोच्च स्रोतले भन्यो, दिपक श्रीमान्‌ले नै म पेशी तोक्दैछु। तपाईँहरू काममा फर्किनुपर्छ भनेपछि हामी आजबाट काममा फर्कन लागेका हौं। इजलास बहिष्कार गरेका ८ न्यायाधीशबाहेक पराजुलीले पेशी तोकेकोमा आपत्ती जनाएका न्यायाधीश चोलेन्द्रशमशेर जबरा पनि आजबाट काममा फर्कने बताइएको छ। न्याय परिषद् सचिवालयको पत्र गैरकानुनी : पराजुली  प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा न्याय परिषदको पत्रलाई चुनौती दिदै काममा फर्कन्छुु पराजुलीले बीबीसीलाई बुधवार साँझ दिएको अन्तरर्वार्तामा आफू पदमुक्त नभएको र नियमित रूपमा काममा जाने बताएका थिए। बिहीवार बिहान उनले आफूले न्याय परिषद्का सचिवको पत्रलाई बदर गराउने प्रयास गरिरहेको र त्यसका लागि न्याय परिषद्को बैठक डाक्न खोजेको बताए। उनले भने, यो विषय टुङ्गो लगाएर मात्रै म आज अदालत जान्छु।

२० वर्ष पुराना सवारी हटाउने सरकारको निर्णय व्यवसायीले नमान्ने, राेकावट भए अान्दाेलनकाे चेतावनी

काठमाडौं । २० वर्ष पुराना सवारीसाधनमाथि प्रतिवन्ध लगाउने सरकारी निर्णयलाई अवज्ञा गर्ने यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायीले सरकारी निर्णयको अवज्ञा गर्ने संकेत गरेका छन् । सरकारले बिहीबारदेखि २० वर्ष पुराना सवारीसाधनमाथि प्रतिवन्ध लगाउने जानकारी गराएको छ । पुराना सवारीसाधन सडकमा गुडेको भेटिए जफत गरी कार्वाही अघि बढाउने चेतावनी सरकारले दिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारी निर्णयको अवज्ञा गर्ने बताएका छन् । पुराना गाडी हटाउँदा व्यवसायीको अर्बौं रूपैयाँ कवाडीमा जाने भन्दै असन्तुष्ठि जनाएका हुन् । उनले फेरि खर्बौं रूपैंयाँ नया गाडी खर्च हुने भन्दै उनले यी दुवैमा राष्ट्रिय पूँजीको दुरूपयोग हुने दावी समेत गरे ।“सरकारले यी गाडीहरूमा पुनर्विचार गरिनुपर्छ । हामी गाडी यथावत रूपमा चलाउछौं । कहीँकतै रूकावट भए हामी चरणबद्ध आन्दोलन गर्नेछौं” उनले भने “हामी गाडी यथावत रुपमा चलाउछौं। कहीँ कतै रुकावट भए हामी चरणवद्ध आन्दोलन गर्नेछौं यता लामो अध्ययनपछि सो निर्णय भएको र २० वर्षको अवधिमा एउटा गाडीले लगानी भन्दा धेरै नाफा कमाइसक्ने हुनाले व्यवसायीहरू पीडित नहुने निष्कर्ष यातायात व्यवस्था विभागको छ । देशभर १० लाखको हाराहारीमा सार्वजनिक सवारी साधन रहेको विभागको तथ्यांक छ । नेपालमा २० वर्ष नाघेका गाडीहरूको संख्या झन्डै १० हजार रहेको विभागले जनाएको छ । २० वर्ष भन्दा पुराना सार्वजनिक सवारी साधन बिहीवारबाट हटाउने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने सरकारी अधिकारीहरूले बताएका छन । व्यवसायीहरूले भने सरकारको निर्णयलाई अवैज्ञानिक भन्दै सो निर्णय उल्लंघन गर्ने बताएका छन्। उनीहरूले यसले हजारौंको रोजगारीमा प्रभावित हुने तथा अर्बौं रूपैयाँको घाटा हुने दाबी गर्दै निर्णय पुनर्विचार गर्न सरकारसंग माग राखेका छन्। देशभर झण्डै १० हजार २० वर्ष नाघेका गाडीहरू सञ्चालनमा रहेको बताइन्छ ।

आतंककारी गतिविधिलाई मत्थर पार्न कडा कानूनी संरचना आवश्यक- अर्थमन्त्री खतिवडा

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले सबै प्रकारका आतंककारी गतिविधिलाई मत्थर पार्न कडा कानूनी संरचनाको आवश्यकता रहेको बताएका छन् । भारतको गुरगाउँमा आयोजित प्रति–आतंकवादसम्बन्धी चौथो सम्मेलनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आतंकवादले जनधनको नाश गर्ने मात्र नभई मानव सभ्यता र यसका मूल्यहरु नै नामेट गर्नसक्ने बताए। उनले आतंकवाद एक खास समाज, राष्ट्र र क्षेत्रमा सीमित नरही विश्वव्यापी समस्याका रुपमा रहिआएको र यसले हरेक सिमाना र हरेक समाजलाई एक न एक ढंगबाट प्रभाव पारिरहेको बताए। आतेंकवादको स्वरुप बदलिएको प्रसंग अघि सार्दै उनले भने “सुरक्षा चुनौतीसँग सामना गर्ने प्रविधि र क्षमतामा बढोत्तरी आए पनि जोखिम पनि त्यत्तिकै रहेको छ ।” “आतंकवादले समाजको प्रगति, राष्ट्रको विकास, मानवीय विशेषता र बान्धुत्वमा खलल पुर्याउने गर्छ,” उनले भने । आतंकवादसँग जुध्ने नेपालको राष्ट्रिय क्षमता र तयारीबारे जानकारी दिँदै उनले प्रति–आतंकवादसम्बन्धी अन्तर्राष्ट्रिय र क्षेत्रीय सन्धिहरुमा हस्ताक्षर गरेको र कार्यान्वयन पनि गर्दैआएको उल्लेख गरे । “काठमाडौंमा आयोजित तेस्रो सार्क शिखर सम्मेलनको निचोडका रुपमा आतंकवाद नियन्त्रणसम्बन्धी सार्क महासन्धि अस्तित्वमा आएबाट नेपाल आतंकवादविरुद्धको साझा अभियानमा सक्रियतापूर्वक लागेको प्रष्ट हुन्छ,” उनले थपे । भारतको गृह मन्त्रालय र हरियाणा प्रान्तीय सरकारको सहयोगमा नयाँ दिल्लीस्थित स्वतन्त्र बुद्धिजीवीहरुको संस्था इन्डियन फाण्डेशनले यो सम्मेलन हरेक वर्ष आयोजना गर्दै आएको छ। अर्थमन्त्री खतिवडा आजै दिउँसो नयाँ दिल्ली पुगेका हुन् ।

न्याय परिषद् सचिवालयको पत्र गैरकानुनी- प्रधानन्यायाधीश

काठमाडौं । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा बहाल नरहेको भन्दै पत्र काटे पनि उनले परिषद्का सचिवलाई त्यस्तो निर्णय लिने कुनै अधिकार नभएको र त्यो गैरकानुनी भएको दावी गरेका छन्। बीबीसीका शरद केसीसँग कुरा गर्दै उनले भने, ‘त्यो पत्रको कुनै महत्त्व पनि छैन र यस्तो काम गर्नका लागि सचिवालयलाई क्षेत्राधिकार पनि छैन। त्यो पत्र कायम हुन सक्दैन।’ ‘जसलाई निर्णय गर्ने अधिकार हुन्छ त्यसले मात्र त्यो दफा प्रयोग गर्न पाउने अधिकार हुन्छ। न्याय परिषद्ले गर्ने निर्णय न्याय परिषद्को सचिवले गर्न पाउँदैन।’ यसअघि न्याय परिषद्का सचिव नृपध्वज निरौलाले परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त प्रमाणपत्रका आधारमा पराजुलीको ६५ वर्षे हद गत साउनमै पूरा भइसकेको भन्दै उनी अब पदमा बहाल नरहेको पत्र काटेका थिए। ‘२०११ सालको जन्ममिति कायम गर्ने हो भने त अरू एक वर्ष बढ्ता खान्छु’ प्रधानन्यायाधीशले भने । यत्रो निर्णय एक जना सचिवले कसरी गरे होलान् त भन्ने प्रश्नमा उनले भने, ‘त्यो निर्णय गैरकानुनी भएको हुनाले कसरी गरे त्यो त थाहा छैन। गर्न नहुने काम गरे।’ खाँदा पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रअनुसार नै उमेर कायम हुने उनको तर्क थियो। पत्रमा भनिएको जस्तो परीक्षा नियन्त्रण कार्यालयले पठाएको जन्ममिति कायम हुने हो भने आफ्नो कार्यकाल थप एक वर्ष बढ्ने उनको भनाइ छ। ‘एघार सालको जन्ममिति कायम गर्ने हो भने त अरू एक वर्ष बढ्ता खान्छु’, उनले भने। ‘तर म २०१० वैशाख १६ गते जन्मिएको हुनाले त्यही मिति कायम गरेर जागिर पनि त्यसरी खाएको, सिटरोलपनि त्यसरी नै भरेको । मेरो न्याय परिषद्को निर्णय पनि त्यस्तै छ।’ न्याय परिषद् सचिवालयले लेखेको पत्रको वैधानिकताबारे कानुनविद्हरूले भिन्नभिन्न धारणा राखेका छन्।

चैत १ गतेदेखि २० वर्ष पुराना सवारी गुड्न नपाउने, गुडे जफत गरिने

काठमाडौ सरकारले चैत १ गतेदेखि । देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी चैत १ गते बिहीबारदेखि गुडे समातेर राखिने जानकारी दिए । २० वर्ष पुराना सवारी गुडाएमा समातेर कानूनी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको उनले सुनाए। फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएकामा थोरै सवारीले मात्र बुझाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनताको सेवा रोक भन्न नसकिने बताउँदै २० वर्ष पुराना सवारी नरोकिने जनाएको छ । मन्त्रिपरिषद्ले २०७१ भदौ २६ गते दुई वर्षभित्र २० वर्ष पुराना सवारी साधन गुड्न नदिने निर्णय गरेको थियो । यातायात व्यवसायीले निर्णयको विरोध गरेपछि राजपत्रमा सूचना प्रकाशन गर्न ढिलाइ भयो ।   विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् । ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको महानिर्देशक भट्टराईले जानकारी दिए । हाल देशभर पाँच हजार ५०० वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको तथ्यांक विभागसँग छ ।

चितवनमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माण कार्य तिब्र

काठमाडौं । भरतपुर महानगरपालिका स्थित चितवनमा निर्माधिन अन्तराष्ट्रिय स्तरको अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण कार्य तिव्र रुपमा अघि बढेको छ । नेपाल उद्योग परिसंघले परियोजनाको निर्माण कार्य तिव्र गतिमा अघि बढेको बताएको हो । प्रदर्शनी केन्द्रको क्षेत्रफल करीव ६० हजार वर्ग फिट रहेको छ । जसमा अन्तराष्ट्रिय स्तरको पोल्ट्री एक्स्पो र राष्ट्रिय सूचना प्रविधि (आइटी) प्रदर्शनी समेत उक्त निर्माणाधिन प्रदर्शनी केन्द्रमा सम्पन्न भइसकेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले चैत चौथो साता चितवनमा हुने पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७४ सम्बन्धी जानकारी गराउनेक्रममा बताए थिए । प्रदर्शनी निर्माणले देशको आर्थिक विकासमा औद्योगिकीकरणको महत्वपूर्ण भूमिका रहने तथा स्वदेशी उद्योगहरुको प्रवद्र्धन हुने संघले विश्वास लिएको छ । औद्योगिकरणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले चितवन जिल्लाकै गहनाको रुपमा रहेको भरतपुर–१०, चितवनमा उद्योग मन्त्रालयको विशेष सहयोगमा नेपालउद्योग परिसंघ र चितवन उद्योग संघकोको पहलमा सो प्रदर्शनी केन्द्र निर्माण कार्य अघि बढेको परिसंघको भनाइ छ । संघको अनुसार उक्त निर्माणधिन प्रदर्शनी केन्द्रमा कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधि लगायतका सेवाजन्य उद्योग एंव उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्न भविश्यमा विभिन्नन प्रदर्शनीहरु हुने जनाइएको छ ।  

४ महिनामै बिक्यो ५० हजार युनिट हुवावेको नोभा २–आई

काठमाडौं । चार महिनाको अबधिमा ५० हजार युनिट हुवावेको नोभा २–आई बिकेको छ । नोभेम्बर २०१७ देखियता ४ महिनाको अबधिमा ५० हजार युनिट उक्त हुवावेको नोभा २ आई बिक्री भएको कम्पनीको दावी छ । कम्पनीका अनुसार सो स्मार्टफोन नोभेम्बरमा सार्बजनिक भएको बताइएको छ । त्यसबेला देखिनै मोबाइल पारखीहरुकोको ध्यानाकर्षण उक्त मोबाइलप्रति गएको थियाे। सो फोन आफ्नो विधाको सबैभन्दा रुचाइएको स्मार्टफोन बन्न सफल भएको कम्पनीको भनाइ छ । फोन आफ्नो फोटोग्राफी र शानदार फुल भ्यू डिस्प्लेका कारण सबैभन्दा रुचाइएको कम्पनीको बुझाइ छ । फोनमा दुवैतर्फ डुवल क्यामराहरु जडान गरिएको छ । ब्लर ब्याकग्राउण्ड तथा उत्कृष्ट सेल्फीका लागि यसमा स्मार्ट सेल्फी टोनिङ फ्ल्यास जडान गरिएको छ । फोनको विशेषताहरुमा ४ वटा क्यामराको साथ स्लीम बेजेल डिस्प्ले, २ वटा १३एमपी/२ एमपीको अगाडि र १६एमपी/२एमपी पछाडिको क्यामरा रहेको छ । त्यस्तै ५.९ इन्चको फुल एचडी प्लस डिस्प्ले, मेटल फिनिस बडी, १८ः९ आस्पेक्ट रेसियो डिस्प्लेले जी४ जिबी रोमकासाथ ४ जीबी र्याम, फिङ्गर सेन्सर लगायत फोनका विशेषताहरु छन् ।  

४० मेगावाटको सुपर न्यादी आयोजनामा ६ बैंकको सवा ५ अर्ब लगानी, ३ वर्षमा बिजुली बल्ने

काठमाडौं । सिउरी न्यादी पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा ६ बैंकले ऋण लगानी गर्ने भएका छन् । एनएमबी बैंकको अगुवाइमा प्रभु बैंक, मेगा बैंक, सेञ्चुरी कमर्शियल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र कुमारी बैंकले ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । आयोजनाको प्रवर्द्धक सिउरी न्यादी पावर बैंकबीच बुधबार लगानी सम्झौतामा हस्ताक्षर भएको छ । ७ अर्ब लगानीमा निर्माण हुने आयोजनामा ६ बैंकले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने छन् । यो कुल लगानीको ७५ प्रतिशत हो । १ अर्ब ७५ करोड स्वपुँजी लगानी हुने छ । ङाडी ग्रुप पावर कम्पनी लिमिटेड मुख्य प्रवर्द्धक रहनेछ । आयोजनाको गत जेठ १९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । आयोजना २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । आयोजनाको बाँध तथा विद्युतगृह बाँहुनडाँडा गाविसमा निर्माण हुनेछ । आयोजनाबाट वार्षिक २३ करोड ५७ लाख युनिट बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत आयोजनास्थल बाहुनडाँडादेखि ११ किलोमिटर दूरीको तारी खुना १३२ केभी सबस्टेसनमा जोडिनेछ ।