विकासन्युज

जुत्ता चप्पल उद्योगी एउटै छाता मुनी, भृकुटीमण्डपमा बिजनेस एक्स्पो

काठमाडौं । नेपालका अधिकांश ठुला जुत्ता चप्पल उद्योगीले एउटै छातामुनी बिजनेश एक्स्पो आयोजना गरेका छन् । राजधानीको भृकुटीमण्डपमा सुरु भएको फुटवेयर बिजनेश एक्स्पोमा ५० भन्दा बढि जुत्ता चप्पल उद्योगहरुका उत्पादन खरिद गर्न पाइन्छ । चैत १ गतेदेखि सुरु भएको एक्स्पो २५ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पो उद्घाटन गर्दै प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेलले समृद्धिको यात्रा तय भएको बताएका थिए । एक्स्पोमा १४० भन्दा बढी स्टलहरु रहेका छ् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल तथा नेपाली जुत्ता घरको सहआयोजनामा सुरु भएको मेलाले नेपाली जुत्ता चप्पलहरुको बजारीकरणमा सहयोग पुग्ने म्यानका अध्यक्ष रविन कुमार श्रेष्ठले बताए । हाल नेपाली जुत्ता चप्पलमध्ये ८० प्रतिशत ३ नम्बर प्रदेशबाटै उत्पादन भैरहेको छ । मेलाको सहआयोजक नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले विगतमा २–४ वटा निजि उत्पादकहरुले साना तिना मेला गर्ने गरेको भए पनि अब भने एकिकृत रुपमा फुटवेयर बिजनेस एक्स्पोको रुपमा बृहत मेला सञ्चालन भएको बताए । मेलाले ५ करोड बढीको कारोबार गर्ने तथा २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।  

रसुवागढी र सान्जेन जलविद्युतको आईपीओमा ५०० प्रतिशत आवेदन, २ अर्बको मागमा १० अर्ब ७९ करोड

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा झण्डै ५ गुणा आवेदन परेको छ ।   रसुवागढी र सान्जेनले २ अर्ब ४ करोड ५९ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सेयरका लागि कर्मचारी संचय कोषका संचयकर्ताबाट १० अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । रसुवागढी र सान्जेनको सेयर खरिद गर्न सञ्चय कोषका ३ लाख ६९ हजार ४५९ सञ्चयकर्ताको आवेदन परेको छ । रसुवागढीमा १ लाख ८६ हजार ३२४ आवेदन परेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले जानकारी दिए । उनकाअनुसार रसुवागढीका लागि सञ्चयकर्ताबाट परेको आवेदनबाट ६ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ जम्मा भएको छ । रसुवागढीले सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर निष्कासन गरेको थियो । उनले बुधबार ४ बजेसम्मको विवरण हो र अझै थप हुने बताएका छन् । यसैगरी सान्जेन जलविद्युतमा १ लाख ८३ हजार २२४ सञ्चयकर्ताको आवेदन परेको छ । आवेदनबाट ४ अर्ब १७ करोड २२ लाख ५३ हजार रुपैयाँ संकलन भएको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । सान्जेनले सञ्चयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको ७१ लाख १७ हजार ५ सय कित्ता सेयर बिक्री खुल्ला गरेको थियो । दुवै कम्पनीले अब आगामी चैत ५ गतेबाट नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर बिक्री खुल्ला गर्नेछ । संस्थापक संस्थाका कर्मचारीका लागि रसुवागढीले २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँको २३ लाख ९४ हजार ७ सय ३५ किता सेयर निष्कासन गर्नेछ । यस्तै, ऋणदाता संस्थाका कर्मचारीका लागि पनि ६ करोड ८४ लाख २१ हजार रुपैयाँको ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर जारी गर्नेछ । सान्जेनले संस्थापक संस्थाका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपैयाँबराबरको १२ लाख ७७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्नेछ । ऋणदाता संस्थाका कर्मचारीका लागि ३ करोड ६५ लाख रुपैयाँ मूल्यको ३ लाख ६५ हजार कित्ता सेयर छुट्याइएको छ । संस्थापक र ऋणदाता संस्थाका कर्मचारीले चैत १३ गतेसम्म आवेदन दिन पाउने छन् ।रसुवागढीले १११ मेगाावाटको र सान्जेनले तल्लो र माथिल्लो गरी ५७ मेगावाटका २ जलविद्युत आयोजना बनाइरहेको छ ।

दैलेखको ग्यासँ हेर्न चिनियाँ टोली आउँदै, टेकुमा पाइपबाट परिक्षण गरिने

काठमाडौं । दैलेख–सुर्खेत, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका ग्यास खानीहरुको अन्वेषण तथा उत्खननका लागि चिनियाँ टोली यसै महिना नेपाल आउँदैछ । यता नेपालले पनि टेकुको प्राकृतिक ग्यासको परिक्षण प्रक्रिया अघि बढाएको छ । खानी विभागको प्राकृतिक ग्यास शाखाका प्रमुख विजयलाल श्रेष्ठले टेकुको एउटा ग्यास कुवामा ड्रिल गर्ने काम सम्पन्न भएको र बागमति र बिष्णुमति दोभानमा ड्रिल गर्नका लागि कम्पनी छनौट प्रक्रिया अघि बढेको बताए । ‘टेकुको पुरानो कुवामा ड्रिल गर्ने काम सम्पन्न भएको छ, टेकु दोभानमा ड्रिल गर्ने कम्पनी छान्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ’, प्राकृतिक ग्यास शाखा प्रमुख श्रेष्ठले विकासन्युजसँग भने । खानी विभागले २०७३ कात्तिक ५ गते ललितपुरको इमाडोलमा रहेको कुवाबाट प्राकृतिक ग्यास निकालेर परिक्षण गरेको थियो । सो कुवामा पाइपबाट घर घरमा पुर्याएर बाल्न मिल्ने ग्यास रहेको तर मात्रा थोरै भएकाले व्यवसायीक उत्पादन गर्न कठिन हुने देखिएको छ । इमाडोलको परिक्षणपछि विभागले टेकुका २ वटा कुवामा परिक्षण प्रक्रिया अघि बढाएको हो । त्यसका लागि एउटा कुवामा ड्रि गर्ने, मेसिन जोड्ने, ग्यासँ तान्ने, ग्यास र पानी छुट्याउने तथा बाल्नेसम्मको काम गर्न करिब ५० लाख रुपैंयाँ खर्च हुने पनि श्रेष्ठले जानकारी दिए । ‘पहिले नै अध्ययन सम्पन्न गरिसकेका कुवाहरुमा अहिले ग्यास निकालेर परिक्षण गर्दैछौं, कति मात्रा छ र व्यवसायीक उत्पादन सम्भव छ की छैन भनेर पनि हेर्छाै’, श्रेष्ठले भने । उनले आगामी २ महिना भित्र टेकुका दुबै कुवाँमा प्राकृतिक ग्यासको परिक्षण सम्पन्न गर्ने पनि बताए । दैलेख–सुर्खेत, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका ग्यास खानीहरुका अध्ययनका लागि चिनियाँ टोली यसै महिना नेपाल आउँदैछ । श्रोतका अनुसार चिन सरकारले नेपालमा पेट्रोलिमय उत्खननका लागि २ अर्ब २० करोडको बजेट विनियोजन गरेको छ । तर नेपालले भने ४ अर्ब रुपैंया लाग्ने प्रक्षेपण पठाएको छ । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको हो । इमाडोलमा पाइपबाट ग्यास निकालियो, टेकुमा एक महिना भित्रै

२० वर्ष पुराना ३ सवारी नियन्त्रणमा

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो । आज बिहान ११ बजेसम्म ३ वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार जिल्लाको खैरहनी र गोन्द्राबाट एक/एक वटा ट्रक र आँपटारीबाट एउटा बस नियन्त्रणमा लिइएको हो । जिल्लाका अन्य क्षेत्रमा पनि कडाइका साथ जाँच भइरहेको उनले बताए । नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा बुझाइने उनले जानकारी दिए । रासस

हवाइजहाजबाट सामान ल्याउदैं हुनुहुन्छ ? गोदामको भाउ बढ्यो यस्तो छ मूल्यसूचि

काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विमानबाट ओसारपोसार हुने ६ प्रकारका सामाग्रीको भण्डारनमा शुल्क बृद्धि गरेको छ ।    विमानबाट आयात निर्यात हुने साधारण, बहुमूल्य, नाशवान, खतराजन्य, एक्सप्रेस कुरियार व्याग र जिवित जनावर लगायत बस्तुको भण्डारनको शुल्क बृद्धि गरेको हो । कम्पनीका प्रमुख स्रोसराज भण्डारीका अनुसार साधारण मालसामानको निर्यात गर्दा प्रतिकेजी २ रुपैंया ८५ पैसादेखि २ सय रुपैंया पर्नेछ, आयात गर्दा प्रतिकेजी ५ रुपैंया ३५ पैसादेखि १ सय रुपैंया पर्नेछ । बहुमूल्य मालसामानको निर्यात गर्दा प्रतिकेजी ३ सय रुपैंया र निर्यात गर्दा २ सय रुपैंयादेखि ८ सय रुपैंयासम्म पर्नेछ । त्यसैगरी, नाशवान सामाग्री निर्यात गर्दा प्रतिकेजी ३ सय रुपैंया र आयात गर्दा ८ रुपैंयादेखि २ सय रुपैंया पर्नेछ । खतराजन्य मालसामानको निर्यात गर्दा ६ सय रुपैंया र आयात गर्दा १६ देखि ४ सय रुपैंया पर्नेछ । त्यसैगरी एक्सप्रेस कुरियर व्याग र एक्सप्रेस कुरियर पार्सल र एक्सप्रेस कार्गो लगायतको सामाग्री निर्यात गर्दा प्रतिकेजी १ सयदेखि ५ सय रुपैंया र आयात गर्दा प्रतिकेजी ५ रुपैंया देखि २ सय रुपैंया पर्नेछ । जीवित जनावर आयात निर्यात गर्दा भने बहुमूल्य मालसामानको भन्दा दोब्बर शुल्क लाग्ने भण्डारीले बताए । तर मृत सरीर वा दैविक प्रकोक मालसामानको भने कुनै दस्तुर नलाग्ने कम्पनीले जनाएको छ । निर्यात गर्दा पहिलो चौविस घण्टासम्मको लागि डिमरेज दस्तुर लाग्ने छैन । ३० दिनसम्म प्रतिकेजी १ रुपैंया, ३१ औं दिनदेखि ६० दिनसम्म प्रतिकेजी १ रुपैंया ५० पैसा र ६० दिनदेखि पछि जतिसुकै दिन भएपनि प्रतिकेजी २ रुपैंयाको दरले डिमरेज दस्तुर लाग्नेछ । त्यस्तै आयात गर्दा ५ दिनसम्म डिमरेज दस्तुर लाग्नेछैन । ३० दिनसम्म प्रतिकेजी २ रुपैंया ३१ औं दिनदेखि ६० दिनसम्म प्रतिकेजी १ रुपैंया ५० पैसा र ६० दिनभन्दा बढी जतिसुकै दिन भएपनि प्रतिकेजी ४ रुपैंयाको दरले डिमरेज दस्तुर लाग्नेछ । यसअघि आयात गरिएको बस्तुमा ५० केजीसम्म ७० रुपैया, ५१ केजी देखि ५०० केजीसम्म १४० रुपैंया ५०१ केजी देखि १००० केजीसम्म २२० रुपैंया र १ हजार भन्दामाथी जतिसुकै केजी भएतापनि २८० रुपैंया शुल्क निर्धारण गरिएको थियो । यसैगरी निर्यात गर्दा ७ दिनसम्मको निशुल्क रहेको थियो भने ८ देखि ३० दिनसम्को प्रतिकेजी ४० पैसा, ३१ देखि ६० दिनसम्म ८० पैसा र ६० दिनभन्दा बढी जतिसुकै दिन भएपनि १ रुपैंया २० पैसा शुल्क तोकिएको थियो ।  

सेञ्चुरी बैंकको सीईओमा तुलसीराम गौतम नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा तुलसीराम गौतम नियुक्त भएका छन् । फागुन ३० गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गौतमलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ गौतमले २०७५ वैशाख १९ गतेदेखी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् । गौतम अनुभवि बैंकरको रुपमा परिचित व्यक्तित्व हुन् । नेपाल बैंकबाट बैंकिङ्ग सेवा शुरु गरेका गौतमले उक्त कम्पनीमा १३ वर्ष काम गरेका थिए । त्यसपश्चात उनले नेपाल इण्डोसुइज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा सीईओको पदमा ४ वर्ष पूरा गरेका हुन् । गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर गरेका छन् । उनको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विशिष्ट पहिचान बनाउँदै अगाडी बढ्ने बैंकको विश्वास छ ।            

सानिमा ग्रुपले २८५ मेगावाटको माथिल्लो तमोर आयोजना बनाउदै, ६ वर्षमा बिजुली बाल्ने

काठमाडौं । गैरआवासिय नेपाली सानिमा ग्रुपको लगानीमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर अद्र्यजलासययुक्त आयोजना निर्माण हुने भएको छ । सानिमा ग्रुपअन्र्तगतको तमोर सानिमा इनर्जी प्राइभेट लिमिटेडमार्फत आयोजनाको निर्माण हुन लागेको हो । ऊर्जा मन्त्रालयले तमोर सानिमालाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन तयारी थालेको छ । आयोजनाबाट सन् २०२४ को जुनमा बिजुली बाल्ने लक्ष्य लिएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसंग खरिद सम्झौता (पीपीए) हुने तयारीमा छ । गैरआवासिय नेपाली र नेपाली बैंकको लगानीमा आयोजना निर्माण हुने मुख्य प्रवद्र्धक सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए । उनका अनुसार पीपीए र लगानी जुटाउने काम भइरहेको छ । “आयोजनालाई लगानीको समस्या छैन, सहजै जुट्ने छ”उनले भने । आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ । सरकारबाट विद्युत उत्पादन लाइसेन्स पाएपछि आयोजनाको काम अघि बढ्ने उनले जानकारी दिए । आयोजनाको उचाइ ४५० मिटर हुने छ । ५ वटा पेल्ट्रन टर्वाइनबाट बिजुली उत्पादन हुनेछ । विद्युतगृह भुमिगत हुनेछ । आयोजना ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका छ । विद्युतगृह साविकको लिङखिम गाउँमा पर्छ । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ढुङेसाँघुमा प्रस्तावित प्रसारणलाइनमा जोडिने छ । यस्तै सानिमाले ७३ मेगावाट क्षमताको अर्को मध्यतमोर आयोजना निर्माण गर्दैछ । यस्तै २८ मेगावाटको लिखु, ६२ मेगावाटको जुमखोला र १४ मेगावाटको मैलुङखोला आयोजना पनि निर्माण गर्ने भएको छ । लिखु आयोजनाको काम सुरु भइसकेको छ । सानिमाले २२ मेगावाटको सानिमामाई, ७ मेगावाटको माइक्यासकेड र २.५ मेगावाटको सुनकोसी साना आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । सनिमामाई हाइड्रोपावर लिमिटेडले ११५ मेगावाट क्षमताका ३ जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्नेछ । मध्यतमोर जलविद्युत आयोजनामा ४८ करोड, २८ मेगावाटको लोअर लिखुमा ४५ करोड र १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा १५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव पारित गरेको छ ।    

सर्वोच्च अदालतको कामू प्रधानन्यायधीशमा दीपकराज जोशी

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबारदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई साउनमै अवकास पाएको बुधबार नै पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्हालेका हुन् । सर्वोच्च प्रशासनले उनको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएको जनाएको छ । कामू प्रधानन्यायधीश जोशीले इजलास पनि तोकेका छन्