बजारमा २३ करोड ३७ लाखको कारोबार, चार कम्पनीको एक करोड बढीको सेयर किनबेच
काठमाडौं । अघिल्लो दिनको तुलनामा बिहीबारको सेयर कारोबारमा सुधार आएको छ । बिहीबारकोे बजारमा कुल २३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिन(अर्थात बुधबार)काे तुलनामा ५ कराेड रूपैयाँ बढी हाे । बुधबार १८ करोडको सेयर किनबेच भएको थियो । कारोबारमा आएका कुल १५१ कम्पनीमध्ये ४ कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएका छन् । सबैभन्दा बढी नेपाल बैंकको एक करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । त्यस्तै, नबिल बैंकको एक करोड १५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एशियाको १/१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक २.४० अंकले उकालो लागेर १२८८.३७ अंकमा पुगेको छ । सो दिन उत्पादनमूलक समूह बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूह ७५ अंकले बढेको छ ।
२ अर्ब पूँजीका उद्योग प्रदेशमै, घरेलु उद्योगलाई स्थानीय तहमा
काठमाडौं । २ अर्ब रुपैयाँसम्म पूँजी लगानी भएका ठूला उद्योगलाई प्रदेश सरकारमा लैजाने तयारी भइरहेको छ । संघिय संरचनाअनुसार २ अर्ब रुपैयाँसम्म लगानी भएका ठूला उद्योगहरु प्रदेश सरकारले हेर्ने तयारी उद्योग, वाणिज्य तथा अापूर्ति मन्त्रालयले गरेको हो । ‘अहिले २ अर्ब रुपैयाँसम्मको उद्योग प्रदेशमा जाने तयारी भएपनि सो रकम अझै बढ्न सक्ने सम्भावना रहेको छ,’ मन्त्रालयका प्रवक्ता गोपिकृष्ण खनालले भने, ‘त्यस सम्बन्धमा समेत मन्त्रालयमा व्यापक छलफल भइरहेको छ ।’ विगतमा ठूला लगानी भएका सबै उद्योग केन्द्रले हेर्ने गरेकोमा अब प्रदेश सरकारमा पनि जाने भएको छ । यद्यपि विदेशी लगानी भएका र अनुमति लिन पर्ने मदिरा, खरखजाना, बारुद लगायतका साना, मझौला तथा ठूला उद्योगहरु भने सम्पूर्ण केन्द्र सरकारले नै हेर्ने उनकोे भनाइ छ । त्यस्तै, उनले लघु, घरेलुु तथा साना उद्योगहरु स्थानीय तहमा जाने बताए । १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मका मझौला उद्योगहरु प्रदेश सरकारमा दर्ता गरिने उनको भनाइ छ । तीबाहेक निश्चि रकमका ठूला उद्योगहरु समेत प्रदेश सरकारले हेर्ने सम्बन्धमा छलफल भइरहेको हो । विभागको प्रवत्ता दुर्गाप्रसाद भुसालले २ अर्ब रुपैयाँसम्मको पूँजी भएका उद्योग दर्ता प्रदेश सरकारमा गर्न उपर्युक्त हुने भएकोले उक्त प्रस्ताव मन्त्रालयमा लगेको बताए । ‘त्यस्तै घरेलु तथा साना उद्योग विभागको काम समेत स्थानिय तहमा जाने र उक्त विभाग उद्योग विभागमै मिसिने तयारी भइरहेको छ,’ उनले भने । संविधानमा सबै किसिमको उद्योग प्रदेशमा दर्ता हुने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार अहिले २ अर्ब रुपैयाँसम्म पूँजी भएका उद्योगहरु प्रदेश सरकारमा दर्ता गर्ने तयारी गरिरहेको उद्योग विभागले जनाएको छ । योभन्दाअघि १० करोड रुपैयाँभन्दा माथि पूँजी भएका सम्पूर्ण उद्योगहरु विभागमै दर्ता हुदै आएको थियो ।
जनता बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता, नयाँ शाखा सञ्चालनमा
काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । बिहीबार सम्पन्न उक्त सम्झौतामा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त इन्स्योरेन्सको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले बुधबारदेखि गोरखाको सुलिकोट गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप कम्पनीले सो स्थानमा नयाँ शाखा खोलेको हो । उक्त शाखा बैंकको ९६औं शाखा हो ।
सगरमाथा इन्स्योरेन्सको एकैदिन थप ९ वटा शाखा सञ्चालनमा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले एकैदिन थप ९ वटा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबार(आज)देखि ६ वटा शाखा तथा ३ वटा उपशाखा गरी सो मात्राको कार्यालयबाट ग्राहकलाई बीमा सुविधा दिने भएको छ । कम्पनीले आजबाट सिमरा लगायत सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको हो । त्यसैगरी कम्पनीले चितवनको टांढी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु एकसाथ संचालनमा ल्याएको हो । कम्पनीले बीमा सेवाको पहुँचलाई देशका ग्रामिण क्षेत्रसम्म पुर्याउने उद्देश्यका आफ्नो सेवालाई विस्तार गरेको हो । कम्पनीका सञ्चालक पद्म ज्योतितथा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रले बारा जिल्लाको सिमरास्थित नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याई निर्जिवन बीमा सेवाको क्षेत्रमा कम्पनीको व्यवसाय विस्तार गर्न कम्पनी सक्षम भएको जानकारी दिएका छन् ।
ललितपुरमा शुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसरमा पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा पाँच दिने ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७४ शुरु भएको छ । मेला बुधबारदेखि सुरु भएको हो । मेलाको एक समारोहकाबीच प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए । सो अवसरमा उनले प्रदेशको आर्थिक विकास गर्न लगानी मैत्री वातारण बनाउने, निर्यात बढाउने र औद्योगिक र भूउपयोग नीति कडाईसाथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकार र निजी क्षेत्रको सहकार्यलाई अघि बढाउने उनको जोड छ । संघकाले सरकार एवं निजी क्षेत्रको संयुक्त पहलमा समग्र जिल्लालाई नै हस्तकला क्षेत्रको रुपमा घोषणा गर्नुपर्नेमा जोड दिएको छ । हस्तकलाको प्रवद्र्धन गरी ललितपुर नमूना हस्तकला ग्राम निर्माण गर्नु पर्ने, जसको माध्यमबाट ललितपुर जिल्लालाई पर्यटन प्रवद्र्धनको रुपमा विस्तार गर्न सकिने संघको भनाइ छ । मेलामा पाकिस्तान, बंगलादेश, भारत लगायतको २२ र स्वेदशी ५८ गरी ८० वटा स्टलहरु राखिएको आयोजकको भनाइ छ ।
एनआईसी एशियाको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त भएका छन् । गत माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो । नवनियुक्त कार्कीले सचिवमा नियुक्त भएकै दिनदेखि कम्पनी सचिवको कार्यभार सम्हालिसकेका छन् ।
अखिल महासचिवमा वसिम आलम
काठमाडौं । अनेरास्ववियु पुनर्गठनको बहस शिखरमा पुगेका बेला महासचिवमा भने वसिम आलमको चर्चा बढेको छ । उनी अनेरास्ववियु केन्द्रिय कमिटी सचिवका साथै प्रदेश नम्बर १ का इञ्चार्ज पनि हुन् । अल्पसंख्यक मुस्लिम समुदायका प्रतिनिधी समेत रहेका उनलाई अनेरास्ववियु भित्र वौद्धिक व्यक्तित्व मानिन्छ । प्रदेश नम्बर १ को इञ्चार्ज बनेपछि उनले त्यहाँ संगठनलाई गुट भन्दा माथी उठाएर बिधिमा सञ्चालनको प्रयास गरिरहेका छन् । लामो समयदेखि सम्मेलन हुन नसकेको झापा जिल्लाको सम्मेलनलाई त्यसकै उदाहरण मान्न सकिने अखिलकै कार्यकर्ताहरुको दावी छ । मिलनसार, वौद्धिक र सन्तुलनकारी भूमिका प्रस्तुत हुने आलमले प्रदेश नम्बर १ मा गुट न्युनीकरणमा ठुलो योदान दिँदै आएका छन् । हाल सात वटा प्रदेशमध्ये एक नम्बर प्रदेश नै सबै भन्दा सक्रिय रहेको अनेरास्ववियु भित्रै चर्चा हुने गरेको छ । गुटगत असन्तुलन मिलाएर संगठनलाई बिधीबाट सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्ने आलमलाई पार्टी अध्यक्ष केपी ओली देखि बरिष्ठ नेता माधव नेपालसम्मले विश्वास गर्ने बताइन्छ । उनलाई महासचिव बनाउन सकिए संगठनमा चरम गुटबन्दी न्युनिकरणमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।
जुत्ता चप्पल उद्योगी एउटै छाता मुनी, भृकुटीमण्डपमा बिजनेस एक्स्पो
काठमाडौं । नेपालका अधिकांश ठुला जुत्ता चप्पल उद्योगीले एउटै छातामुनी बिजनेश एक्स्पो आयोजना गरेका छन् । राजधानीको भृकुटीमण्डपमा सुरु भएको फुटवेयर बिजनेश एक्स्पोमा ५० भन्दा बढि जुत्ता चप्पल उद्योगहरुका उत्पादन खरिद गर्न पाइन्छ । चैत १ गतेदेखि सुरु भएको एक्स्पो २५ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पो उद्घाटन गर्दै प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेलले समृद्धिको यात्रा तय भएको बताएका थिए । एक्स्पोमा १४० भन्दा बढी स्टलहरु रहेका छ् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल तथा नेपाली जुत्ता घरको सहआयोजनामा सुरु भएको मेलाले नेपाली जुत्ता चप्पलहरुको बजारीकरणमा सहयोग पुग्ने म्यानका अध्यक्ष रविन कुमार श्रेष्ठले बताए । हाल नेपाली जुत्ता चप्पलमध्ये ८० प्रतिशत ३ नम्बर प्रदेशबाटै उत्पादन भैरहेको छ । मेलाको सहआयोजक नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले विगतमा २–४ वटा निजि उत्पादकहरुले साना तिना मेला गर्ने गरेको भए पनि अब भने एकिकृत रुपमा फुटवेयर बिजनेस एक्स्पोको रुपमा बृहत मेला सञ्चालन भएको बताए । मेलाले ५ करोड बढीको कारोबार गर्ने तथा २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।