विकासन्युज

टाटा मोटर्सद्धारा फेसबुक अभियानको ५ जना विजेता घोषित, पाए १/१ तोला सुन

काठमाडौं । टाटा मोटर्स् नेपालले आफ्नो फेसबुक अभियान “टाटा नेक्सन नाम कन्टेस्ट” को विजेताहरु घोषित गरेको छ । यस फेसबुक अभियानमार्फत ५ जना भाग्यशाली विजेताहरुले १ तोला सुन जित्न सफल भएका थिए । फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को पेज लाईक गरी सहभागी भएका प्रतियोगीहरु मध्ये ५ जना भाग्यशाली विजेताहरुः सुरज नेक्सन निरौला, महेश नेक्सन भट्टराई, हरि नेक्सन खड्का, राधा कृष्ण नेक्सन पाठक र सापकोटा नेक्सन सुबोध विजयी भएका थिए । कार्यक्रममा टाटा मोटर्सका जेनेरल म्यानेजर प्रविन खतिवडाले भने, “यस क्याम्पेनको आइडिया सिप्रदी मार्केटिङ्ग टीमले सिर्जना गरेको हो र यस प्रकारको क्याम्पेन नेपालमै पहिलो पटक आयोजना भएको हो जहाँ प्रोडक्टको नामलाई नै आफ्नो बीचको नाम बनाउनु पर्ने थियो । विशेष गरी प्रयोगकर्ताहरुलाई कसरी योजनामा समावेश गर्न सकिन्छ भन्ने अवधारणामा यो क्याम्पेन लन्च गरिएको हो । प्रभावकारी यस क्याम्पेनका सहभागीहरुले अन्य ब्राण्डहरुद्धारा आयोजित यस्तै अन्य प्रतियागिताहरुमा आफ्नो नामको बीचमा नेक्सन राखी सहभागी र विजयी समेत भएका थिए । पछिल्लो २ महिनामा, ६१८ जना सहभागीहरुले आफ्नो बीचको नाम परिवर्तन गर्नुभएको थियो । हामीले ५ जना भाग्यशाली विजेता घोषित गरेतापनि ६१८ जना सहभागीहरु नै हाम्रो लागि विजेताहरु हुनुहुन्छ र निकट भविष्यमापनि टाटा मोटर्स्ले यस्ता प्रतियोगिताहरु निरन्तर रुपमा ल्याउनेछ ।” टाटा नेक्सनको यस फेसबुक अभियान जनवरी २०१८ देखि शुरु भई फेब्रुअरी २०१८ मा सम्पन्न भएको थियो ।

कतार एयरलाइन्सले काठमाडौंदेखि ग्रीसको थेसालोनिकीसम्म उडान भर्ने

काठमाडौं । कतार एयरलाइन्सले नेपाल देखि ग्रीसको थेसालोनिकीसम्म उडान भर्ने भएको छ । प्रत्येक महिना विभिन्न देशको नयाँ शहरहरुमा उडान भर्दै आएको एयरलाइन्सले यो महिना ग्रीसको थेसालोनिकीमा उडान भर्न लागेको हो । अब नेपालीहरुले ग्रीसको पर्यटकिय स्थल थेसालोनिकी जान कतारको दोहा ट्रान्जिट भएर सजिलै जान सक्नेछन् । नेपालीहरुको घुम्ने आनी बानीमा वृद्धि भएसँगै अन्य पर्यटकिय मुलुक जस्तै ग्रीस नेपालीका लागि रोजाइको गन्तव्य बन्ने एयरलाइन्सले विस्वास लिएको छ । एयरलाइन्सकाे अनुसार नेपालदेखि थेसालोनिकीसम्म १ जनाको ७ सय अमेरिकी डलर करिब ७२१०० नेपाली रुपैंया पर्नेछ । एयरलाइन्सले यसै साताबाट काठमाडौंदेखि थेसालोनिकीसम्मको उडान सुरु गर्ने तयारी गरेको छ ।  

पिपल्स हाइड्रोले चीनबाट नौ अर्ब भित्र्याउँदै, दुई आयोजनामा लगानी गर्ने

काठमाडौं । पिपल्स हाइड्रो लिमिटेडले चीनबाट नौ अर्ब रुपैयाँ जलविद्युत् आयोजनाका लागि भित्र्याउने भएको छ । कम्पनीद्धारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु) ले करीव नौ अर्ब रकम खिम्ती दुई जलविद्युत् आयोजनामा लगानी गर्न लागेको हो । कूल ४८.८० मेगावाट क्षमताको सो आयोजना २०७८ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत १० अर्ब रुपैयाँ रहेको छ । चीनबाट भित्रिने रकमबाहेक अरु रकम भने प्रवद्र्धक पिपल्स हाइड्रोले स्वपूँजीमार्फत लगानी गर्नेछ । चिनियाँ कम्पनीले इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपिसिएफ) ढाँचामा निर्माण गर्नेछ । उक्त कम्पनीले आयोजना निर्माण सम्पन्न भएको ७०० दिनभित्र आफ्नो लगानी फिर्ता लैजाने गरी सहमति भएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । दोलखा र रामेछापको जिरीखिम्ती भन्ने स्थानमा बाँध बाँधेर कूल ६.६ किलोमिटर लामो सुरुङमार्फत खिम्ती आयोजनाको बाँधस्थल नजिक निर्माण हुने विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको देवीटार सवस्टेशनमा जोडिनेछ । आयोजनाको हाल पहुँच मार्ग, आवासस्थल निर्माण तथा निर्माणका लागि आवश्यकपर्ने विद्युत् जोड्ने प्रसारण लाइन निर्माणको काम भइरहेको आयोजना प्रमुख रामहरि शर्माले जानकारी दिए । नेपालका जलविद्युत् आयोजनामा इपिसिएफ ढाँचामा निर्माण गर्न लागिएको यो पहिलो परियोजना हो । यसअघि बूढीगण्डकी जलविद्युत् आयोजनासमेत यही ढाँचामा निर्माण गर्न खोजिएको थियो । विवाद उत्पन्न भएपछि बूढीगण्डकी सरकार आफैँले निर्माण गर्ने निर्णय गरिसकेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी वैशाखदेखि आयोजनाको निर्माण शुरु हुनेछ । चिनियाँ कम्पनीले निर्माण शुरु गरेको तीन वर्ष्भित्र आयोजना सम्पन्न गर्नेछ । शुरुमा सहकारीको ढाँचामा आयोजना निर्माण गर्न खोजिए पनि सहकारीलाई कम्पनी रजिस्ट्रार कार्यालयमासमेत दर्ता नहुने र धितोपत्रको कारोबारसमेत नहुने भएपछि कम्पनी बनाइएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष आचार्यले बताए । नेपालको जलविद्युत् आयोजना निर्माणमा नयाँ खालको ढोका खुलेको जानकारी दिँदै उनले अरु आयोजनासमेत आगामी दिनमा यही ढाँचामा अगाडि बढ्ने विश्वास व्यक्त गरे । आयोजनाको वित्तीय व्यवस्थापन यसअघि नै भएको थियो । सानिमा बैंकको नेतृत्वमा अन्य नौवटा बैंकले आयोजनामा लगानी गर्ने सहमति गरेका थिए । तर बैंकमा देखिएको तरलता अभावका कारण तत्काल रकम उपलब्ध गराउन नसक्ने भएकाले वैकल्पिक उपाय अपनाइएको कम्पनीले जानकारी दिएको छ । आयोजना सम्पन्न भएपछि मात्रै बैंकसँग ऋण लिइने र चिनियाँ कम्पनीलाई भुक्तानी दिइने कार्यकारी अध्यक्ष आचार्यको भनाइ छ । आयोजनाबाट हिउँदमा ४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ भने वर्षाकालमा २२३ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाकालमा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ । सो कम्पनीले यसअघि रुदी ए ८.८ मेगावाट र रुदी बी ६.६ मेगावाट क्षमताका दुई आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

बजार ५१ अंकले घट्दा दुई कम्पनीको सेयर मूल्यमा वृद्धि, १३ कम्पनीका लगानीकर्ताले गुमाए ९ प्रतिशत बढी

काठमाडौं । सोमबारको बजारमा भारी गिरावट आएको छ । कारोबार खुलेको एक घण्टामै ३ प्रतिशत ओरालो लागेर सकिर्ट ब्रेक लागेर खुलेको बजार त्यसपछि पनि निरन्तर ओरालो लागेको छ । अन्ततः सोमबारको नेप्से परिसूचक ५१.८९ अंकले ओरालो लागेर ११६८.५५ अंकमा झरेको छ । भारी अंकको गिरावट आएको बजारमा २ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । प्रोगेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले ९.८६ प्रतिशत कमाएका छन् । त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सामान्य १.९२ प्रतिशतले बढेको छ । त्यस्तै, सोमबार कारोबारमा आएका अन्य १५५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सो मध्ये १३ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी गुमाएका छन् । सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बजारमा परिसूचकमा गिरावट आएता पनि केही दिनदेखि सेयर कारोबारमा भने सुधार भइरहेको छ । सोमबार ४७ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा करिब ४ करोड रुपैयाँ बढी हो । अघिल्लो कारोबार अर्थात बिहीबारको बजारमा ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार कारोबारमा आएका १५७ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस कम्पनीको दिनभर ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीको पनि २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यसैगरी, बीमा समूहको परिसूचकमा उच्च गिरावट आएको छ । यस समूहको सूचक ३८३ अंकले ओरालो लागेको छ । फाइनान्स समूह ४.७२ अंकले ओरालो लागेको छ भने अन्य बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् ।

घट्दो सेयर बजारबारे अर्थविद केशब आचार्य भन्छन्- माग भन्दा आपुर्ति बढेपछि मूल्य घट्नु स्वभाविक

काठमाडौं । अहिले राजनीतिक कारणले बजार घट्नुपर्ने होइन् । अहिले बनेको र अब बन्ने कुनै पनि सरकारले खुल्ला बजार अर्थतन्त्रको मर्म विपरित काम गर्न सक्दैनन् । अहिले बजार घट्नुको मुल कारण भनेको सेयरको अधिक आपुर्ति नै हो । बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुको पुँजी वृद्धि योजना आयो । अधिकांश कम्पनीहरुले बोनस र हकप्रद सेयरबाटै पुँजी वृद्धि गरे । यसले बजारमा सेयरको आपुर्ति अनावश्यक मात्रामा बढायो । ‘माग भन्दा आपुर्ति बढेपछि मूल्य घट्नु स्वभाविक हो ।’ केशब आचार्य, अर्थविद अर्काे कारण भनेको बैंकहरुबिच ब्याजदरको प्रतिष्पर्धा छ । ३/४ प्रतिशतको मुद्रास्फिती दर भएको देशमा निक्षेपको ब्याजदर १२ प्रतिशत छ । मुद्रास्फ्रिती कटाएर पनि ८ प्रतिशत आम्दानी हुने भएपछि मान्छेहरुले बैंकमा पैसा राख्नु स्वभिावक हो । सेयर बजारका लगानीकर्ताले पनि त्यता भन्दा बैंकमा पैसा राख्दा नै बढि आम्दानी हुने देखेपछि सेयर बेच्नु स्वभाविक नै हो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा मलाई अर्थमन्त्रालयमा काजमा बोलाइएको थियो । त्यतिबेला सरकारलाई मैले धेरै सल्लाह पनि दिएको थिए । त्यतिबेला पनि सेयर बजार घटाइएको थियो । खासगरी मारवाडी मुलका लगानीकर्ता बामपन्थी सरकारसँग डराएका थिए । पछि हामीले कन्भिन्स गरेका थियौं । त्यसपछि प्रचण्ड २ पटक, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई प्रधानमन्त्री बनिसकेका छन् । केपी ओली पनि दोश्रो पटक प्रधानमन्त्रीको कुर्सिमा हुनुहुन्छ । बामपन्थीहरुले कसरी सरकार चलाउँछन र कस्ता आर्थिक नीति लिन्छन् भन्ने कुरा छर्लंगै भैसकेको छ । त्यसकारण बामपन्थी सरकारसँग सेयर बजारका लगानी कर्ता डराउनुपर्ने अवस्था छैन् । सम्पति सुद्धिकरण विभाग, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग र समाज कल्याण परिषदलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएपछि निजी क्षेत्र त्रसित भएको मैले बुझेको छु । यसले त झन असल रुपमा काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन दिन्छ । तर व्यवसायीहरु पारदर्शी हुनुपर्ने भयो भनेर डराईरहेको जस्तो देखिन्छ । त्यसरी डराउनु आवश्यक छैन् । अर्काे तर्फ केपी ओलीले प्रधानमन्त्री बन्नु अघि हामी जिम्मा लिन्छौं भनेका थिए । तर अर्थमन्त्रीले त्यसरी जिम्मा लिने कुरा गरेनन् । अर्थमन्त्रीका पछिल्ला अभिव्यक्तिहरु प्राविधिक रुपले ठिक छन् । तर उनले आश्वासन दिएनन् । गभर्नर भएका बेला वर्तमान अर्थमन्त्रीले बैंकहरुलाई गलत बाटोमा जानबाट रोका थिए । केन्द्रिय बैंकदेखि योजना आयोगको समेत जिम्मेवारी सम्हाली सकेका वर्तमान अर्थमन्त्रीसँग लगानी कर्ता अलिअलि डराएका हुन सक्छन् । तर त्यसरी डराउनुपर्ने कुनै कारण छैन् । निजी क्षेत्र अलि पारदर्शी छैन। त्यसकारण बुझेका अर्थमन्त्रीसँग डराएको हुन सक्छ । तर निजी क्षेत्रलाई निषेध गरेर होइन बिस्तारै पारदर्शी बनाउँदै लैजाने हो ।-कुराकानीमा आधारित

लगानीका लागि १४ खर्ब आवश्यक- अर्थमन्त्री खतिवडा

मोरङ/मस । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा लगानीका लागि अहिले १४ खर्ब रुपैयाँ आवश्यक रहेको बताएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्धारा संयुक्त रुपमा आइतबार विराटनगरमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीका लागि १४ खर्ब रुपैयाँ आवश्यक रहेको बताएका हुन् । अर्थमन्त्री खतिवडाले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि १४ खर्ब रुपैयाँ आवश्यक भएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको प्रष्ट पारे । वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए । उनले ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्दै यसको निर्माणमा देखिने विभिन्न समस्या समाधान गर्न सरकारले फाष्ट ट्रयाकबाट कार्य गर्ने बताए । अर्थमन्त्री खतिवडाले सार्वजनिक निजी मोडलमा औद्योगिक विकास क्षेत्र निर्माण गर्न उद्योमीलाई आग्रह गर्दै यसमा सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले बैंकको व्याजदर परिवर्तनले उद्यमीलाई मर्का परेको बताउँदै उद्योगमा बैंकले लगानी गर्दा एउटा निश्चित समय तोकी व्याजदर निर्धारण गर्नुपर्नेमा जोड दिए । उनले स्वदेशी गुणस्तर उत्पादन हुने वस्तु विदेशवाट आयात नगर्न व्यापारीलाई आग्रह गर्दै यसबाट यहाँ संचालित उद्योगका काम गर्ने नेपालीको रोजगारी खोसिने बताए । प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपालमा रहेको प्रतिबन्धित पाँच सय र एक हजार भारतीय रुपैयाँका समस्या समाधानका विषयमा कुरा हुने उनले बताए । मन्त्री खतिवडाले असमान कार्य गर्नेबाट असमान कर नै असुल हुने र असल करदाता राज्यको सम्मानित नागरिक भएकाले उनीहरुको सम्मान हुने बताए । उनले भन्सारका कर्मचारीले मुस्कानसहितको काम गर्ने भएकाले सोहीअनुसार व्यापारीले इमान्दारीका साथ कर बुझाउन पर्नेमा जोड दिँदै कुनै अन्य दस्तुर नबुझाउनसमेत आग्रह गरे । भन्सारको कारणले व्यापारीले आयात गरेको सामान ढिलाई नभएको स्पष्ट गर्दै उनले पूर्वाधारको कमी र एकीकृत भन्सार जाँच चौकीको निर्माणमा ढिलाइले समस्या उत्पन्न भएकोले चाँडै नै समस्या समाधान हुने प्रष्ट पारे । अर्थमन्त्री खतिवडाले बजारको माग र पूर्तिको सिर्जनाका कारण शेयरको समस्या उत्पन्न भएको बताउँदै लहडवाजीमा शेयर लगानी नगर्न आग्रह गरे । उनले निजी क्षेत्रबाट निर्माणाधीन पूर्वाधारमा विदेशी होइन स्वदेशी गुणस्तरीय सामाग्रीको प्रयोग गर्नु पर्नेमा जोड दिए ।

बाजागाजा सहित त्रिशुली नदिमा र्याफ्टिङ, विश्व किर्तिमान राख्ने लक्ष्य

काठमाडौं । त्रिशुली नदिमा बाजागाजा सहित र्याफ्टिङ आयोजना हुने भएको छ । विश्व किर्तिमान कायम गर्नका लागि र्याफ्टिङ आयोजना गर्न लागिएको हो । प्राकृतिक सम्पदा संरक्षण समिति अन्तर्गत त्रिशुली बचाउ महाअभियानले चैत्र १७ गते शनिबार गिनिज बुक रेकर्ड राख्न ‘त्रिशुली नदि महोत्सव’ ूआयोजना गरेको हो । महोत्सवमा पन्चैबाजा, लोक दोहोरी सहितको र्याफ्टिङ हुनेछ । यस्तो कार्यक्रम इतिहासमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । महोत्सवमा २५ देखि ३० वटासम्म डुङगा र २ सय जनालाई समावेश गरिने आयोजक निर्मल थपलियाले जानकारी दिए ।

अपडेटः नेप्से ४४ अंकले झर्यो, बीमा समूह ३०० अंक तल

काठमाडौं । तीन दिनपछि खुलेको सोमबारको बजार शुरुवात देखि नै निरन्तर ओरालो लागेको छ । एक पटक सर्किट ब्रेक लागेर खुलेको बजारले पनि राम्रो गति लिन सकेको छैन । सो दिन बजार खुलेको एक घण्टामै ३ प्रतिशतले घटेर सकिर्ट ब्रेक लागेको थियो । त्यसपछिको बजार पुन दोहोरो अंक अर्थात ३.६४ प्रतिशत ओरालो लागिसकेको छ । त्यस्तै, २ बजे नेप्से परिसूचक ४४.४० अंकले घटेर ११७६ अंकमा झरेको छ । सो अवधिसम्म सबैभन्दा बढी बीमा समूह तेहेरो अंक अर्थात ३०० अंक तल झरिसकेको छ । फाइनान्स समूह सामान्य अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेर राताम्मे भएका छन् ।