विकासन्युज

दैनिक ९० लिटर दुध बेच्दै कृष्ण अर्याल कमाउछन् मासिक डेढ लाख

काठमाडौं । विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल भएका छन् । उनले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्दै आएका छन् । उनले उत्पादन गरेको दूध स्थानीय रामपुर बजारमा खपत हुन्छ । पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनतअनुसार आम्दानी हुन्छ भन्ने उनी नमुना साबित भएका छन् । कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रमार्फत अर्यालले भैँसीपालन गरिरहेका छन् । भैंसीपालन केन्द्रमा भैँसीको दूधसँगै मुर्रा जातका भैँसीका पाडापाडीसमेत उत्पादन हुदैं आएको छ । केन्द्रमा अहिले २२ वटा मुर्रा भैँसी रहेका छन् । हाल नौवटा भैँसी र दुईवटा गाई दुहुना छन् । केन्द्रमा रहेको एउटा भैँसीले तीन पटकसम्म दिनमा दूध दिँदै आएको उनले बताए । पचास रोपनी जग्गामा भैसीका लागि आवश्यकताअनुसार घाँस खेती गर्दै आउनुभएका अर्यालको भैंसीपालन केन्द्र यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । यसबाट अहिले पाँच जनाले रोजगार पाएका छन् । स्थानीय सीताकुण्ड दुग्ध सहकारी संस्था रामपुरले सहुलियत दरमा ऋण, भैँसी तथा गाईको बीमा, घाँसको बीउ तथा प्राविधिक सहयोग गर्दै आएको सहकारीका अध्यक्ष कमल भट्टराईले बताए । सहकारीको सहयोगकै कारण रामपुर क्षेत्रमा करीव १०० भन्दा बढी युवा पशुपालन व्यवसायमा संलग्न रहेका छन् । पछिल्ला वर्षमा रामपुरमा दूधको खपत हुँदै आएको छ । सहकारीले सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्न थालेपछि विपन्न समुदायका महिला तथा पुरुष पशुपालनमा जुटेका छन् ।-रासस

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा दाङ्को तुलसीपुरमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ शाखा दाङ्को तुलसीपुरमा विस्तार भएको छ । उक्त शाखाको विस्तारसँगै दाङ क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको मन्तव्य राखेका थिए । केसीले यस क्षेत्रमा वित्तीय संस्थाहरुबीच प्रतिस्पर्धा धेरै भएतापनि यस विकास बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकोले सबैले खाता खोली कारोबार गर्न अनुरोध गरे । साथै, अबको राष्ट्रिय एजेण्डा आर्थिक समृद्धि भएको हुनाले बैंक जस्ता वित्तीय संस्थालाई तुलसीपुरमा स्वागत गर्न पाउँदा खुसी भएको र सफलताको शुभकामना व्यक्त गरेका छन् ।  

नगरपालिकाले बनायो मदिराको कारोबारसम्बन्धी कार्यविधि

काठमाडौं । भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ । नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानून उलंघन गरेमा सम्बन्धित निकायलाई इजाजत खारेजीका लागि सिफारिस गर्ने कानूनी व्यवस्था गरेको हो । भीमदत्त नगरपालिकाले मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि– २०७४ मा कारबाही सम्बन्धी यस्तो व्यवस्था गरेको छ । कार्य विधिमा मदिरा सेवन गरी अशान्ति फैलाउने कार्यमा संलग्न व्यक्तिलाई पनि जरिवानाको व्यवस्था गरिएको छ । पहिलो पटक रु एक हजार, दोस्रो पटक रु दुई हजार, तेस्रो पटक रु पाँच हजार र त्यसभन्दा माथि रु १० हजार जरिवाना तोकिएको छ । नगर कार्यपालिकाबाट पारित भएर कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मदिरा कारोबारलाई व्यवस्थित गर्नका लागि कार्यविधि बनाएर लागू गरिएको बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत स्थानीय तहले पाएको अधिकारका आधारमा मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि बनाइएको उनले बताए । कार्य विधिको दफा १२ को उप दफा ३ मा जरिवाना तिर्न आनाकानी गरिए वडा र नगरपालिका कार्यालयबाट प्रदान हुने सेवा सुविधा रोक्का गरी कारबाही गर्ने प्रावधान राखिएको छ । नगरपालिकाले मदिरा कारोबारलाई व्यवस्थित गर्न नगर प्रमुखको संयोजकत्वमा मदिरा बिक्री वितरण व्यवस्थापन तथा नियमन मूलसमिति गठन गरिने व्यवस्था कार्यविधिमा छ । मदिरा कारोबारका लागि समय अवधि पनि तोकिएको छ । थोक बिक्रेताले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म, खु्द्रा बिक्रेताले ९ बजेदेखि साँझ ८ बजेसम्म, बिर्को खोली बिक्री गर्ने व्यवसायीले दिउँसो २ बजेदेखि राति ९ बजेसम्म कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । भीमदत्त नगरपालिकाको बजार क्षेत्र बाहेक सार्वजनिक स्थान, विद्यालय, स्वास्थ्य संस्था, मन्दिर लगायतका धार्मिक स्थानबाट दुई सय मिटर टाढा मात्रै कारोबार गर्न पाउने नियम बनाइएको छ । कार्य विधिले किराना, खाद्यान्न, तरकारी, औषधि, मासु, कपडा, फलफूल पसलमा मदिरा कारोबार गर्न नपाइने प्रावधान कार्य विधिमा छ । यसैगरी, होटल रेस्टुरेन्टमा बाहिर प्रदर्शन नहुने गरी मदिरा राख्न समेत नपाइने नियम बनाइएको छ । १८ वर्ष मुनिका व्यक्तिलाई मदिरा कारोबारमा लगाउन नपाइने र अनुमति लिएका होटलमा खाना र बास क्षेत्र बाहेक छुट्टै मदिरा रेस्टुरेन्ट राख्नुपर्ने नियम बनाइएको छ ।-रासस

सर्पोट माइक्रोफाइनान्सको चैत १६ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी चैत १६ देखि २९ गतेसम्म बुक क्लोज हुँदैछ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १४ दिन बुक क्लोज गर्नको लागेको हो । यस संस्था चैत २९ गते तेश्रौँ वार्षिक साधारणसभामा जाँदै छ ।

५ बैंकको ऋण नतिर्ने ९ जनालाई अदालत उपस्थित गराउँदै न्यायाधिकरण

काठमाडौं । ऋण असुली न्यायाधिकरणले ५ बैंकको ऋण नतिर्ने ९ जनालाई अदालत उपस्थित गराउने भएको छ । नविल, प्रभु, एनआइसी एसिया, माछापुच्छ्रे र सनराइज बैंकको ऋण नतिर्ने ९ जनालाई न्यायाधिकरणले अदालत उपस्थित हुन गराउन लागेकाे हो । बैंकहरुले ऋण असुली गर्न न्यायाधिकरणमा उजुरी गरेपछि प्रतिवादीहरुलाई १५ दिन भित्र अदालत उपस्थित हुन आग्रह गरिएको न्यायाधिकरणका श्रेस्तेदार भेषराज कोइरालाले बताए । ५ बैंकहरु वादी रहेको मुद्दामा नविल बैंकको चेतन खतिवडा, कुमार खतिवडा सहित ४ फरक मुद्दाका प्रतिवादी रहेका छन् । त्यसैगरी प्रभु बैंकको सुरेन्द्र बहादुर थापा क्षेत्री नेपाल ट्रेड कन्र्सन प्राली सहित ३ फरक मुद्दाका प्रतिवादी रहेका छन् । एनआइसी एसिया बैंकको भुलकुन यादव, कमार यादव प्रतिवादी रहेका छन् । यस्तै माछापुच्छ्रे बैकको सन्दिपमान श्रेष्ठ सहित २ फरक मुद्दाका प्रतिवादी रहेका छन् । सनराइज बैंकका सरोजा राजभण्डारी सहित २ फरक मुद्दाका प्रतिवादी रहेका छन् । न्यायाधिकरणका लेखा शाखा प्रमुख प्रकाश पराजुलीका अनुसार तोकिएको मितीमा प्रतिवादीहरुले प्रतिउत्तर पेश नगरेमा उनीहरुको कानूनी उपचारको बाटो सकिनेछ । साथै ऋण असुली ऐन अनुसार कारवाहि प्रक्रिया अघि बढ्नेछ ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा यस्ता छन्  रेलका तीन एजेण्डा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा रेलमार्ग सम्बन्धी तीन एजेण्डा उच्च प्राथमिकतामा पर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले नेपाल भारत जोड्ने रेलमार्गका तीन वटा एजेण्डालाई प्रमुखताका साथ उठान गराउने तयारी थालेको हो । श्रोतका अनुसार ओलीको भ्रमणमा जनकपुर–जयनगर रेलमार्गको सञ्चालन मोडालीटी, काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्गको निर्माण र गड्डाचौकी–खटिमा रेलवे लाइन जोड्ने बिषयमा छलफल हुनेछ । ‘प्रधानमन्त्रीको भारत भ्रमणमा रेलमार्ग सम्बन्धी एजेण्डा उच्च प्राथमिकतामा छन्, हामीले रेलका तीन वटा एजेण्डा प्राथमिकताका साथ उठाउने तयारी गरिरहेका छौं’, श्रोतले भन्यो । परराष्ट्र मन्त्रालयले भौतिक पुर्वाधार मन्त्रालय तथा रेल विभागका अधिकारीहरुसँग प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्ने एजेण्डाबारे ब्रिफिङ लिइसकेको श्रोतले बतायो । भारत सरकारले १० अर्बको लागतमा जयनगर-जनकपुर-कुर्तासम्मको ३६ किलोमिटर रेलवे निर्माण गरिदिएको छ । सो रेल वे लाइनमा ६ वटा डब्बा तान्न सक्ने गरि २ वटा इञ्जिन राख्ने तयारी भैरहको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सो रेल वे सञ्चालनको मोडालिटीबारे छलफल हुनेछ । नेपालले इञ्जिन र जनशक्ति आउट सोर्सिङ गरेर २ बर्षभित्र आफ्ना जनशक्ति तयार पार्न प्रस्ताव अघि सार्ने श्रोतले बतायो । त्यस्तै, काठमाडौं-बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका बिषयमा पनि महत्वका साथ कुरा उठाउने तयारी नेपालको छ । हाल रेल विभागले काठमाडौं-बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौटको काम अन्तिम चरणमा पुर्याइसकेको छ । त्यस बाहेक कञ्चनपुरको गड्डा चौकी–खटिमा जोड्ने रेलवे लाइनको अनुमति पनि नेपालले माग्नेछ । भारतले पुर्वश्चिम रेलमार्गका लागि जलपाइगुडी–काकडभिट्टा जोड्ने लाइनको अनुमति दिएको छ । तर नेपालबाट बाहिरिने गड्डाचौकी–खटिमा लाइनमा भने अझै अनुमति दिएको छैन् । हाल नेपाल र भारत जोड्ने बिभिन्न पाँच नाकामा रेलमार्ग निर्माण अघि बढिसकेको छ ।

अस्थायी शिक्षकको परीक्षा नसर्ने, अब के गर्छन आन्दोलनकारी विद्यार्थी संगठन ?

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक व्यवस्थापनका लागि यही चैत २३ गते हुने परीक्षा नरोकिने स्पष्ट पारेको छ । आयोगले पत्रकार सम्मेलन गरि परिक्षा कुनै हालतमा नरोकिने स्पष्ट पारेको हो । आयोगका अध्यक्ष ताना गौतमले परीक्षा अब कुनै हालतमा नसर्ने बताए । परीक्षामा कूल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुनेछन् । शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थानुसार १५ हजार ६८९ शिक्षक र नवौंँ संशोधनले पछि थप गरेको सात हजार ५९७ दरबन्दी गरी कूल २२ हजार ७६ पदका लागि परीक्षा हुने भएको छ । परीक्षाका लागि देशभरका पाँच जिल्लामा ११६ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिँदै कानूनले गरेको व्यवस्थानुसार आयोग परीक्षा तयारीमा जुटेको अध्यक्ष गौतमले बताए । परीक्षामा झापामा २६, काठमाडौंमा ३०, कास्कीमा ३२, बाँकेमा १७ र कञ्चनपुरमा ११ परीक्षा केन्द्र कायम गरिएको छ । विद्यार्थी संगठनहरुले अस्थायी शिक्षकको परिक्षा रोक्न माग गर्दै आन्दोदन गरिरहेका छन् ।

१७ ब्राण्डका मदिरा उत्पादक युनाईटेड स्प्रिट्स्को सेयर स्वामित्व फेरियो, कारोबार रकम गोप्य

काठमाडौं । भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमी राजेशवीर सिंह तुलाधारको पूर्ण स्वामित्वमा आएको छ । मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादन गर्दै आएको छ । उक्त कम्पनीको सेयर कारोबारको मूल्य भने गोप्य राखिएको छ । उद्यमी तुलाधरको पूर्ण स्वामित्वमा आएसंगै कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भइरहेको छ । युवा उद्यमी तुलाधर स्व. भक्तविर सिंह तुलाधरका छोरा हुन् । उनका बुवाले भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेडसंगको व्यवसायीक साझेदारको रुपमा ४० बर्षअघि सो व्यवसाय शुरु गरेका थिए ।