जगदम्बा सिमेन्टद्धारा विश्वस्तरीय प्रविधी भीआरएम जडान, उत्पादनमा दोब्बर वृद्धि हुने
काठमाडौं । जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएल इस्मिथ(डेनमार्क र इन्डिया)को अत्याधुनिक प्रविधि भर्टिकल रोलेल मिल्स(भीआरएम) जडान गरी उत्पादन शुरु गरेको छ । सिमेन्टले उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले उक्त विश्वस्तरीय प्रविधि जडान गरेको हो । हालको उत्पादन ४५,००० बोरा प्रतिदिन रहेकोमा भीआरएम प्रविधि जडान पश्चात कम्पनीको उत्पादन करिव करिव दोब्बरको हाराहारीमा पुग्ने कम्पनीले जनाएको छ । भीआरएम प्रविधि पश्चात कम्पनीको उत्पादन ८०,००० बोरा प्रतिदिन उत्पादन हुनेछ । भीआरएम प्रविधि नेपालमा भित्र्याउने जगदम्बा सिमेन्टको दोस्रो कंम्पनी हो भने यो प्रविधि जगदम्बा सिमेन्टको विरगञ्ज स्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रा.लि मा जडान गरिएको छ । त्यस्तै, यही प्रविधि जडान गरी कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्ट ई.प्रा.लि बाट पनि चाडै नै उत्पादन शुरु गर्ने जनाएको छ । तेस्रो उद्योग संचालन पश्चात कम्पनीको उत्पादन प्रतिदिन १,१०,००० बोरा रहने कम्पनीले जनाएको छ । देशको बढ्दो सिमेन्टको मागलाई सम्बोधन गर्दे सिमेन्ट उद्योगलाई नै आत्मनिर्भर हुन टेवा दिइरहेको छ । त्यस्तै, ग्राहक तथा उपभोक्ताको गुणस्तर प्रतिको चाहनालाई आत्मसाथ गर्दे उपलब्धताको सुनिश्चितता प्रदान गरेको छ । यसरी नै आगामी दिनहरुमा आफ्ना सम्पूर्ण उद्योगलाई प्रविधी मैत्री बनाउने कम्पनीको प्रतिबद्धता छ ।
निर्वाचन आयोगको बेरुजु फछ्र्योट ५९.८२ प्रतिशत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले आफ्नो कार्यव्यवस्था प्रभावकारी बनाउन दोस्रो रणनीतिक योजना (२०७१/०७२–२०७५/०७६) अन्तर्गत मतदाता शिक्षा र लैङ्गिक तथा समावेशीकरण नीति र रणनीति जारी गरी सोहीबमोजिम सरोकार भएकाहरुसँगको सहकार्यमा प्राथमिकताप्राप्त क्रियाकलाप सञ्चालन गरिरहेको अवगत गराएका छन् । गत आवमा आयोगले ६४ दिन मात्रै बाँकी रहेको चुनौतीपूर्ण अवस्थामा पनि स्थानीय तह निर्वाचन, २०७४ को व्यवस्थापन गर्ने क्रममा निर्वाचनसँग सम्बन्धित चार नियमावली र १६ निर्देशिका जारी गर्नाका साथै गत आवअन्तर्गत विसं २०७४ वैशाख ३१ र असार १४ गते दुई चरणमा ६१७ स्थानीय तहमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको थियो । स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी विसं २०७३ कात्तिक २६ गतेदेखि २०७४ माघ मसान्तसम्म विशेष कार्यक्रम सञ्चालनमार्फत मतदाता नामावली संकलन र अद्यावधिक तथा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली तयार गरी वेबसाइटमार्फत सार्वजनिक गरिएको उनले जानकारी दिए । गत आवमा आयोगका नाममा कायम रहेको बेरुजु ४७ करोड ८९ लाख ६३ हजार रूपैयाँमध्ये २८ करोड ६५ लाख तीन हजार रुपैयाँ फछ्र्योट गरी ५९.८२ प्रतिशत बेरुजु फछ्र्योट गरिएको जनाइएको छ । प्रतिवेदनमा गत आवमा आयोगले सम्पादन गरेका कार्य उल्लेख छन् । नेपालको संविधानको धारा २९४ अनुरुप आयोगले आफूले गरेका कामकारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने र आयोग ऐन, २०७३ को दफा ४५ बमोजिम सार्वजनिकसमेत गर्नुपर्ने व्यवस्था छ । रासस
१५ वर्ष पेट्रोलियम बजार भारतलाई सुम्पँदै प्रधानमन्त्री ओली, आफ्नै घोषणा विपरित पाइपलाइन शिलान्यासको तयारी
काठमाडौं । मुलुकलाई आत्म निर्भर बनाउने भाषण गर्दै आएका प्रधानमन्त्री केपी ओलीले १५ बर्षसम्म नेपालको पेट्रोलियम बजारमा भारतीय एकाधिकार स्विकार गर्ने भएका छन् । ओलीले आफ्नै पुर्व घोषणा विपरिद १५ बर्षसम्म भारतसँग मात्रै पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने सर्तसहित निर्माण हुने मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्न लागेका हुन् । निर्वाचन अघि यसो भनेका थिए ओलीले- वामपन्थी सरकार बनेपछि रक्सौल-अमलेखगञ्ज पाइपलाईन खारेज : केपी ओली केहि समयपछि हुने भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइनको संयुक्त शिलान्यास गराउने तयारी भैरहेको छ । ‘प्रधानमन्त्रीज्युको भारत भ्रमणका क्रममा पाइपलाइनको संयुक्त शिलान्यास गराउने तयारी भैरहेको छ’, उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले भने । उनले विश्व व्यापार संगठन (डब्ल्युटीओ)को मन्त्रीस्तरीय बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्कने क्रममा सो तथ्य उजागर गराएका थिए । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म बिछ्याइने पेट्रोलियम पाइपलाइन सिलन्यास गर्ने अवस्थामा पुगिसकेको बताए । ‘अवश्यक इक्वीप्मेन्टहरु आइसकेको छ,’ उनले भने ‘अहिलेसम्म्म ३६ किलोमिटर पाइप भित्रिसकेको छ, हामी प्रधानमन्त्रीबाटै शिलान्यास गराउने सोँचमा छौं ।’ उनले २५/३० प्रतिशत इक्वीपमेन्ट आइसकेको जानकारी पनि दिए । वर्तमान प्रधानमन्त्री ओलीले प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन पुर्व मंसिर ४ गते नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा १५ इण्डियन आयल कर्पाेरेशनबाट मात्रै पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने सम्झौता मान्य नहुने घोषणा गरेका थिए । २०१५ अगष्ट २४ मा नेपाल र भारतबीचमा रक्सौल अमलेखगञ्ज पाइपलाइन विच्छ्याउने सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त परियोजनाका लागि २ अर्ब ७५ करोड भारु लाग्ने बताइएको थियो ।
२८ हजार घुसले सहायक अधिकृत पुष्प राना क्षेत्रीको जागिर चट
काठमाडौं । २८ हजार घुस लिदा सहायक अधिकृत पुष्प राना क्षेत्रीले जागिर गुमाउनु परेको छ । औषधि व्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेमा कार्यरत क्षेत्री घुस लिदालिदैं पक्राउ परेका हुन् । मेडीकल सेन्टर अनुगमनको क्रममा विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको टोलीले उनलाई रकम सहित पक्राउ गरेको हो । उनीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसूर गरेको देखिन आएकोले उनीमाथी थप कारवाहि गर्न विशेष अदालतमा आरोपपत्र दायार गरिएको छ ।
एनसीसी बैंकको बिशेष साधारण सभा माग्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन
काठमाडौं । एनसीसी बैंकको बिशेष साधारण सभा माग गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन परेको छ । एनसीसी बैंकको लगानीकर्ता एनबी ग्रुपले बिशेष साधारण सभाको माग गर्दै चैत १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएका हुन् । एनबी समुहका तर्फबाट लक्ष्मी बहादुर, जीत बहादुर श्रेष्ठले निवेदन दिएका हुन् । उनीहरुले बैंकको पुँजी वृद्धि, नयाँ सञ्चालक समिति चयन गर्न र एपेक्स डेभलपमेन्ट बैंकको कारोबार छुट्टै राख्ने एजेण्डासहित साधारण सभाको माग गरेका छन् । ‘एनसीसी बैंकको बिशेष साधारण सभा माग गरेर एनबी समुहले निवेदन दर्ता गरेको छ, हामी अध्ययन गरिरहेका छौं’ कम्पनी रजिष्ट्रारको कार्यालयका सहायक रजिष्ट्रार राजन बस्नेतले विकासन्युजसँग भने । गत वर्ष बैंकले विशेष साधारणसभा गर्न लाग्दा लक्ष्मी बहादुर, जित बहादुर समुहले लगातार बिशेष साधारण सभा गर्न नहुने भन्दै राेक्न कर्यालयमा निवेदन दिएका थिए । यसअघि बैंकले पहिलो बिशेष साधारण सभाबाट चार वटा विकास बैंकसँग मर्जरको निर्णय गरेको थियो भने दोश्रोबाट पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । हकप्रद सेयर निष्काशन गर्ने बिशेष साधारण सभाको निर्णय भने अझै कार्यान्वयन भैसकेको छैन् ।
माछापुच्छ्रे बैंकद्धारा कैलालीमा खाद्य तथा पोषाक वितरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कैलालीको निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३मा खाद्य तथा पोषाक वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार(आज) उक्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई बैंककाे धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्टका साथैकापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत हस्तान्तरण गरेको जनाएको छ । बैंकले हालसम्म ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको एकैदिन दुई वटा शाखा स्थानान्तरण
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन दुई वटा शाखा चनौली र दलदलेमा स्थानान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले स्थानान्तरण गरिएका २ शाखाको उद्घाटन गरेका छन् । नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई एनआईबिएलले प्राप्ति गरेपश्चात भरतपूर महानगर– २० चनौलीमा र देबचूली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो । नारायणगढ र पर्सामा एनआईबिएलको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखाहरु स्थानान्तरण गरिएको हो । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
‘गोजी गोजीमा फाेरजी मोबाइल’ नारासँगै कलर्सले ल्यायो ७ हजारको फोन
काठमाडौं । कलर्स मोबाइलले आफ्नो प्राइड सिरिज अन्तर्गत एक नयाँ फोन प्राइड ‘पि ५० प्लस’ बजारमा प्रस्तुत गरेको छ । फोन अत्यन्त उच्च माग भएको फोरजि प्रविधिमा आधारित रहेको कम्पनीको भनाइ छ । फोनमा ५ इन्चको स्क्रिन, २.५ डि बक्र सिसा, २२०० एमएएच ब्याट्री, दोहोरो सिम (थ्रिजि र फोरजि), ५ मेगापिक्सेल र २ मेगापिक्सेल क्षमताका क्रमशः पछाडी र अगाडी क्यामरा जडान गरिएको छ । फोनको शुरुवाती मूल्य ६ हजार ९९५ रुपैयाँ रहेको कम्पनीले बताएको छ । टेलिटक प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले फोन सस्तो मोलको उपलब्ध गरेको बताए । ‘अब प्रयोगकर्ताहरुले फोरजि चलाउनकै लागि उच्च तथा महँगो दरको मोबाइल किनिरहनु पर्ने अवस्था रहेन,’ उनले भने ‘हामी चाहन्छौं सबको गोजीमा फोरजि फोन अटाओस् ।’ त्यसैले नेपली बजारमा ‘गोजी गोजीमा फोरजि मोबाइल भन्ने नाराकोसाथमा उक्त मोबाइल प्रस्तुत गरेको उनले जानकारी गाराए ।