विकासन्युज

एभरेष्ट बैंकको शाखा कावासोतीमा

काठमाडौं । देशको विभिन्न स्थानमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले एभरेष्ट बैंकले आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरर्ता दिदैं बैंकले नवलपुरको कावासोतीमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको जनाएको छ । कावासोती शाखाको उद्घाटन नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा कावासोती नगरपालिकाका मेयर चन्द्रा पुन, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष दासुराम पोखरेल लगायतका उपस्थिति रहेको बैंकले जानकारी गराएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएम तथा बृहत बाह्य सञ्जालमार्फत सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।

बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्ने ओमको शाखा अब कावासोती र बर्दघाटमा

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको नवलपरासीको कावासोती र बर्दघाट शाखाको बिहिबार बिधिवत उद्घाटन भएको छ । कावासोती शाखा उद्घाटन कावासोती नगरपालिका मेयर चन्द्र कुमारी पुनले कुमारवती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै गरेकी थिइन् । बिहिबार नैे बर्दघाट शाखा उद्घाटन बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बसेलले गरेका थिए । उनले सो अवसरमा बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा समेत गरेका छन् । बैंकको शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटीएम संख्या ११ रहेको जानकारी दिएको छ । ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको उक्त बैंकले बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले कार्यक्रममा जानकारी गराएका थिए । बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरि १६ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएकाे छ ।  

कैलाश विकास बैंकको शाखा गुल्मीमा

काठमाडौं । कैलाश विकास बैंकले गुल्मी जिल्लाको पुर्तिघाटमा आफ्नो ४६ औँ शाखा स्थापना गरेको छ । उक्त शाखाको बिहीबार कालीगण्डकी गाँउपालकिा प्रमुख वेदबहादुर थापाले शुभारम्भ गरेका थिए । नयाँ शाखासहित बैंकको शाखा संख्या ४६ पुगेको छ भने एटीएम संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक, बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा समेत शाखा संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । राष्ट्रिय स्तरको उक्त बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाईल बैंकिङ, एसएमएस बैंकिङ लगायत सेवाहरु सञ्चालन गर्दै आइरहेको छ

जनता बैंक र बुम रेमिट्यान्सबीच सम्झौता, १० हजार सब–ऐजेन्ट तथा शाखाहरुबाट सेवा प्रदान

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आफ्नो ‘जनता रेमीट’ को मुख्य एजेन्ट भई काम गर्न बुम रेमिट्यान्स प्रालिलाई नियुक्त गरेको छ । बिहीबार जनता बैंक नेपाल लिमिटेडकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीेले र बुम रेमिट्यान्सकोतर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले यस सम्बन्धी सम्झौतामा हस्तक्षर गरेका छन् । सम्झौता बमोजिम जनता रेमिटमाार्फत पठाएको रकम बुम रेमिट्यान्स प्रालिले आफ्नो एजेन्ट र शाखाहरुमार्फत भुक्तानी गर्नेछ भने बुम रेमिट्मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंक नेपालले आफ्नो एजेन्ट र शाखाहरुमार्फत भुक्तानी गर्नेछ । ती रेमिट्यान्स र बैंक दुबैको गरेर नेपालमा ७७ वटै जिल्लामा १० हजार वटा भन्दाबढि सब–ऐजेन्टहरु छन् भने बैंकको नेपाल भर १०७ वटा शाखाहरु छन् । बुम रेमिटले जनता बैंकसँग सहकार्य गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि विदेशमा रहेका नेपालीले विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाउने सम्झौता भएको छ । हाल बुम रेमिट्यान्सले खाडि मुलूकहरू र हङकङबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएकोछ । आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको जनता बैंक तथा बुम रेमिट दुवैले विदेशमा पनि आफ्नो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनीति लिएको जानकारी गराएको छ ।

९ हजार घुस सहित विद्युत प्रधिकरणका इन्जिनियर रत्नेश चौधरी अख्तियारको फन्दामा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कलैया, बारामा कार्यरत इन्जिनियर रत्नेशकुमार चौधरी ९हजार ५ सय घुस सहित अख्तियाको फन्दामा परेका छन् । मिटरको विद्युत क्षमता बढाउने पावर अपग्रेड प्रयोजनको लागि घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई पक्राउ गरेको हो । अख्तियार हेटौडा मकवानपुरको टोली कलैया पुग्दा चौधरी सेवाग्रहीसँग घुस रकम लिदैं रहेको अख्तियार प्रवक्ता दीर्घराज मैैनालीले जानकारी दिए । चौधरीमाथी थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

हुवावेले सार्वजिनक गर्याे अत्याधुनिक पी२० र पी२० प्रो स्मार्टफोन, मास्टर फोटोग्राफि एआईद्वारा सञ्चालित

काठमाडौं । ग्राण्ड पलाईसमा भएको एक भव्य लन्च इभेन्टमा हुवावे कन्ज्युमर बिज्नेस गु्रपले बहु–प्रतिक्षित हुवावे पी २० र हुवावे पी२० प्रो सार्वजनिक गरेको छ । हुवावे ‘पी२० प्रो’मा विश्वकै पहिलो लिईका ट्रिपल क्यामराको साथै दुवै डिभाइसमा अद्वितीय ए१ को फाइदाहरु रहेको कम्पनीको भनाइ छ । ती स्मार्टफोनमा समावेश गरिएको प्रविधि र कलाको अद्भूत संगमले एउटा छुट्टै स्मार्टफोनको अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । हुवावे पी२० सिरिजको आगमनसँग हुवावेले समस्त प्रयोगकर्ताको लागि सहज रुपमै एउटा अनुभवी फोटोग्राफरले झै फोटो खिच्ने सुविधा प्रदान गर्ने जनाएको जानकारी दिएको छ । हुवावे कन्ज्युमर बिज्नेस गु्रपको प्रमुख कार्यकारी अधिकृत रिचर्ड युले कम्पनीको डिजाइन र नवीनतालाई परिष्कृत गर्दै लग्न धेरै आर्टिष्टहरुबाट प्रेरणा लिने गरेको बताए । हुवाव पी२० प्रोमा रहेको नवीनतम ट्रिपल क्यामरा र ह्वावे पी२०मा अत्याधुनिक डुअल क्यामरा र दुवैको शक्तिशाली आर्टिफिसियल इन्टिलिजेन्सले अहिलेका ग्राहकवर्गले आफ्नो संसारको उत्कृष्टतालाई आफ्नो क्यामरामा कैद गर्न सक्ने उनको भनाइ छ । हुवावे पी२० सिरिजको मुख्य विशेषताहरुमा बढी लाईट, बढी डिटेल र बढी ब्युटी क्याप्चर गर्न एउटा आधुनिक क्यामरा सिस्टमका साथ विशेष लिईका ट्रिपल क्यामरा रहेको बताएको छ । त्यस्तै हुवावे पी२० प्रोमा ५गुणा हाईब्रीड जूम रहेको छ । साथै स्मार्टफोनहरु नवीनतम फोटोग्राफी विशेषताहरुमा समावेश गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार स्मार्टफोनमा एआईद्वारा सञ्चालित अनुभवी फोटोग्राफिका साथ मास्टर एआई र हुवावे एआइएस, एउटा शक्तिशाली स्ट्वीलाईजेशन प्रविधि जडान गरिएको छ । उक्त स्मार्टफोनमै पहिलो पटक पूरै नयाँ ग्रेडिएन्ट कलरमा उपलब्छ छ । त्यस्तै ती दुवै स्मार्टफोनमा २४मेगापिक्सेलको सेल्फी क्यामराको साथ एआई ब्यूटिफिकेशन र थ्रीडी पोट्रेट लाईटिङ समावेश छ । जसको कारण यसले सुन्दर सेल्फीहरुका साथ स्क्रीन टोन पनि राम्ररी मिलाउँछ । अनुहारको डिटेलहरुलाई राम्ररी आउटलाइन गरी वास्तविक थ्रीडी फिचर इन्हान्समेन्ट गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार पी२०मा लाईका डुअल क्यामरा छ । कम उज्यालोमा उत्कृष्ट फोटोग्राफि गर्नको लागि ४० एमपी इमेज सेन्सर राखिएको छ । अग्रसर समयको लागि कला र प्रविधिको अभूतपूर्व समायोजन स्मार्टफोनमा गरिएको कम्पनीले बताएको छ ।

एक सातामा मेलम्चीको सुरुङ ब्रेक थु्, काठमाडौंमा पानी आउने पक्का

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु) आउदो साता सकिने भएको छ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको ९ किलोमिटरमध्ये बिहीबारसम्म ३७ मिटरमात्र खन्न बाँकी छ । एक साताभित्र सुरुङ खन्ने काम सकिने मेलम्ची खानेपानी विकास समितिका प्रवत्ता राजेन्द्रप्रसाद पन्तले बताए । सुरुङ खन्नेकाम थोरै मात्र बाँकी रहेकाले एक साताभित्र सम्पन्न हुने उनले स्पष्टपारे । मेलम्चीको रिवर्मादेखि सुन्दरिजलसम्म सुरुङको लम्बाइ २७. ५ किलोमिटर छ । सुरुङ खन्ने काम सकिएपछि कंक्रिट र लाइनिङको काम हुने उनले जानकारी दिए । सन् २०१३ जुलाइमा इटालीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना (सिएमसी) सँग ७ अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको थियो । यसले पनि ढिलाइ गरेपछि पटकपटक म्याद थप गरी अन्तिम अवधि यो महिनासम्म तोकिएको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७/१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक ५ घण्टासम्म पानी आपूर्ति हुने छ । याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४ सै घण्टा पानी वितरण हुने छ । यसका लागि समितिले संभाव्यता अध्ययनको काम थालेको छ । पहिलो चरणको आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । अर्को साढे ८ करोड लिटर पानी प्रशोधनको काम २० प्रतिशत सम्पन्न भएको पन्तले जानकारी दिए ।  

गाई बाच्छा बचाउने अभियानलाई अग्नि ग्रुपले दियो महिन्द्राको पिकअप गाडी

काठमाडौं । नेपालमा महिन्द्रा गाडीको एक मात्र आधिकारिक विक्रेता अग्नि ग्रुपले हालै ‘मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान’ नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप गाडी प्रदान गरेको छ । मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाले विभिन्न पीडित, घाइते एवं छाडा छोडिएका जनावरहरुको उद्धार गर्दै आएको छ । गाडी हस्तान्तरण कार्यक्रम बुधबार होटल याक एण्ड यतिमा सम्पन्न गरिएको थियो । अग्नि इन्कर्पोरेटेड प्रालिका कार्यकारी प्रमुख सुजन वैद्यले महिन्द्रा बोलेरो गाडीको साँचो अभियानलाई प्रदान गरेका थिए । नेपालमा वार्षिक करिव ८ हजार जनावर विशेष गरी साँडे एवं बाच्छाहरु सडक तथा राजमार्गहरुमा त्यसै छोडिने गरिन्छ । करिव २५ हजार कुकुर एवं बिरालो काठमाडौंका सडकहरुमा भेटिन्छन् । यस्ता जनावरहरु खाना, पानी तथा उपयुक्त वासस्थानको कमीले गर्दा दुःख पाइरहेको अवस्थालाई मध्यनजर गरी महिन्द्राले त्यस्ता जनावरहरुको जीवन उद्धारको लागि कार्यरत संस्था मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान लाई गाडी प्रदान गरेको हो । विगतका वर्षहरुमा सो संस्थाले जनावरहरुलाई मोटर साइकलको पछाडिको सिटमा राखी उद्धार गर्दै आएका थिए । अब उपरान्त जनावरहको उद्धारमा महिन्द्राको गाडीको प्रयोग गरी त्यस्ता जनावरहरुलाई सहज एवं शीघ्र रुपमा उद्धार गरिने कम्पनीले विश्वास  लिएको छ ।