विकासन्युज

मुद्धा लागेका सांसद अब स्वतः निलम्बन हुने

काठमाडौं । फौजदारी अभियोग लागेका सांसदहरु अब स्वतः निलम्बनमा पर्ने भएका छन् । प्रतिनिधिसभा नियमवालीमा फौजदारी अभियोग लाग्ने वित्तिकै सांसद निलम्बन हुने व्यवस्था प्रस्ताव गरिएको हो । एमालेका सासंद कष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा कुनै पनि सासंदलाई मुद्दा लागेमा, पुर्पक्षका लागि थुनामा राखिएमा उक्त सासंदको पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्न लागेको हो । संयोजक पोखरेलले विगतमा मुद्दा लागि सकेर जेलमै रहे पनि ससंद पद रहिरहने व्यवस्था भए पनि अबका दिनमा मुद्दा सम्बन्धमा अन्तिम फैसला नभए सम्म निलम्बन हुने व्यवस्था गर्न लागिएको बताए । फैसलाले सासंद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पद मुक्त हुने व्यवस्था गर्न लागिएको पोखरेलले बताए । कुनै सासंद पदमुक्त भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनःनिर्वाचन गराएर संसद पद पूर्ति गर्ने व्यवस्था नियमावलीले गर्ने उनको भनाई छ ।

मौरीपालक किसानका ९० क्विन्टल महले बजार पाएन

काठमाडौं । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहुदा समस्या भएको हो । स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न थालेको मेलीफेरा मौरीपालन सहकारी संस्था अध्यक्ष बोधराज खतिवडाले बताए । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको छ । किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममा भन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन भएको छ । एक दिन अघि मह काढ्नु भएका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राखेको बताए । खड्काले यो वर्ष तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फूलको मौसममा दुई क्विन्टल गरी छ क्विन्टल मह उत्पादन गरका छन् । प्राविधिक सहायक खनालका अनुसार महलाई आगोमा पकाउनु हुँदैन, तर बहुराष्ट्रिय कम्पनीको मह ८० डिग्री तापक्रममा उमालेको हुन्छ । त्यसैले, सबै फूलबाट प्राप्त मह एकै रङको हुने हुन्छ । हरेक वनस्पतिअनुसार महको पनि फरक स्वाद र रङ हुने हुनाले स्वदेशी महको प्रयोग उपयोगी हुन्छ ।-रासस

डलर र सुन कारोबारमा राष्ट्र बैंकलाई २७ अर्ब ६३ करोड घाटा, जोखिम व्यहोर्न हेजिङ फण्ड

काठमाडौं । विदेशी विनिमय र सुनको मूल्यमा भएको घटबढले नेपाल राष्ट्र बैंकले अर्बौ रकम गुमाएको छ । गत आर्थिक वर्षमा राष्ट्र बैंकले विदेशी मुद्रा र सुन कारोबारमा सामान्य घटबढ हुँदा मात्रै २७ अर्ब ६३ करोड रुपैयाँ गुमाएको हो । यसले बैंकको वित्तीय अवस्थामा ठुलो असर गरेको देखिन्छ । महालेखा परिक्षकको कार्यालयका अनुसार अमेरिकी डलरमा ३.६३ प्रतिशत गिरावट आउँदा २३ अर्ब ७५ करोड र सुनको मूल्यमा ४.०२ प्रतिशत गिरावट आउँदा ३ अर्ब ८८ करोड नोक्सान भएकोे छ । विदेशी मुद्रा र सुनको कारोबारमा भएको घटबढले राष्ट्र बैंकले अर्बो रुपैयाँ गुमाएको भन्दै महालेखाले यस्तो क्षति न्युनिकरण गर्न अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हेजिङ्ग फण्ड उपकरणको प्रयोग गर्न केन्द्रीय बैंकलाई सुझाएको छ । हेजिङ फण्ड उपकरण प्रयोग नगरे आगामी दिनमा थप दायित्व बढ्ने सुझाएको छ । यता विदेशी प्रवद्र्धंकसंग अमेरिकी डलरमा बिजुली खरिद (डलर पीपीए) गर्दा नेपाल विद्युत प्राधिकरणलाई अर्बो रुपैयाँ दायित्व थप भएको र आगामी दिनमा यसलाई व्यवस्थापन गर्न ऊर्जा मन्त्रालयले हेजिङ फण्ड स्थापनको प्रक्रिया अघि बढेको छ । हेजिङमा प्रवद्र्धक र विद्युत प्राधिकरणले जोखिम ब्योहर्ने गरी हेजिङ फण्ड स्थापनाको तयारी भइरहेको छ ।  

नेपाल सेवा लघुवित्तको आईपीओ बैशाख १२ देखि खुला, न्युनतम ५० र बढीमा ९०० कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले बैशाख १२ गतेदेखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता आईपीओ कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको संस्थाले जनाएको छ । सेयर निष्कासन बन्द छिटोमा बैशाख १६ गते र ढिलोमा जेठ २ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम् ५० र अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन पाइने छ । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ ।  

कुलेखानी सिस्नेरी सडक खण्ड ११ गतेदेखि १६ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं । कुलेखानी सिस्नेरी सडकखण्ड बैशाख ११ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । बर्खा अगावै सडकको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यलयले सडक बन्द गरेरै काम सुरु गर्न लागेको हो । सडक विस्तारको क्रममा पहाड काट्नु पर्ने भएकोले सडक बन्द गर्नु परेको कार्यलयले जनाएको छ । अब अर्को हप्ताको मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सडक बन्द हुनेछ । निर्माण अवधिभर सो रुटमा गुडने सवारीले लेन अनुसासन साथै ओभरटेक गर्दा विचार पुर्याउनु पर्नेछ । नियम अनुसार सवारी नचलाएमा कानून बमोजिम कडा कारबाही हुने कार्यलयले जनाएको छ । साथै वैकल्पिक बाटो प्रयोग गरी सक्ने सवारीले यस रुटको प्रयोग नगर्न कार्यलयले आग्रह गरेको छ ।

सिण्डिकेटको माग गर्दै व्यवसायीले यातायात ठप्प पार्ने तयारी

  काठमाडौं ।सिन्डिकेटको माग गर्दै यातायात व्यवसायीले आन्दोलन गर्ने भएका छन् । सरकारले सिण्डिकेट हटाउने भएपछि यसलाई कायम राख्न भन्दै यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने भएका हुन् । सरकारले हालै लागु गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै यायातात व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आन्दोलन गर्ने जानकारी दिए । उनले मंगलबार महासंघको बैठकले निर्णय गरी बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनको घोषणा गर्ने जानकारी दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २० गते सबै यातायातका साधन बन्द र माग पुरा नभए २६ गतेदेखि यातायात ठप्प पार्ने चेतावनी दिएका हुन् ।    

फेरी पेट्रोलियमको भाउ बढ्यो, पेट्रोल प्रतिलिटर १०६, डिजेल ८७ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।पेट्रोलको भाउ बढेर प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको भाउ बढेर प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २/२ रुपैयाँ भाउ बढाएको हो । इन्डियन आयल कर्पोरेशन लिमिटेडले भाउ बढेको मूल्यसुचि पठाएपछि निगमले बढाएको हो ।

जाइका, यूएसएड, डिएफआईडीले कामको प्रतिवेदन बुझायो

काठमाडौं । जाइका, यूएसएड, डिएफआईडी लगायत संस्थाले कामको विवरण बुझाएका छन् । भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधिहरुले आफ्ना राष्ट्र एवम् नियोग तथा साझेदार संस्थाहरुले गरेका पुनर्निर्माण कार्यहरुको प्रगति समीक्षा गरेका हन् । साेमबार राष्ट्रिय पुननिर्माण प्राधिकरणमा भएको कार्यक्रममा छिमेकी राष्ट्रहरु भारत, चीन र स्वीट्जरल्याण्डका नेपालस्थिति राजदूतावासका प्रतिनिधिहरुले नेपालको पुननिर्माणको क्षेत्रमा भइरहेका परियोजनाहरुको बारेमा विस्तृत जानकारी दिंदै तिनलाई बेलैमा सम्पन्न गर्न भइरहेका प्रयासबारे अवगत गराए । साथै, युरोपेली युनियन, विश्व बैंक, एसियाली विकास बैंक, राष्ट्रसंघीय निकायहरु यूएनडीपी र यूएनओपिएस तथा पुनर्निर्माणमा क्रियाशील विभिन्न गैरसरकारी संस्थाहरुको समन्वयकारी संस्था एचआरआरपीका प्रतिनिधिले पुनर्निर्माणको क्षेत्रमा आ–आफ्ना संस्थाहरुका तर्फबाट भइरहेका कार्य तथा आर्थिक परिचालनको स्थितिबारे जानकारी गराएका थिए ।