विकासन्युज

गण्डकी विकास बैंकको एकैसाथ आठवटा शाखाबाट कारोबार शुरु, १८ वटा थप्ने तयारी

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुरु गरेको छ । बैंकले बुधबार(अाज)देखि नयाँ शाखाहरु मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको नयाँ वानेश्वरबाट काराेबार शुभारम्भ गरेकाे हाे । यससँगै बैकका ५९ वटा शाखाहरुबाट पुर्ण बैंकिङ सुविधा प्रदान हुने छ ।बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, इसीसी/आईपीएस, सीआश्वा, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरिएको छ । साथै बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा कार्यालयहरु हुने छन् ।  

वृद्धभत्ता र कर्मचारीको पेन्सन घटाउन विश्व बैंकको सुझाव

काठमाडौं । विकास साझेदार विश्व बैंकले नयाँ संघीय प्रणालीले आगामी दिनमा थप वित्तीय दायित्व सिर्जना भई खर्चको दवाव बढ्ने भन्दै खर्च कटौती गर्न सरकारलाई सुझाएको छ । बैंकले बुधबार नेपाल विकास परिदृष्य सार्वजनिक गर्दै खर्च व्यवस्थापन नगरे समस्या आउनेतर्फ सचेत गराउदै खर्च कटौती नै अहिलेको समधान भएको उल्लेख गरेको छ । दायित्व बढ्दै गएर बजेट घाटा कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ५.९ प्रतिशत पुगेको बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बैंकले खर्च व्यवस्थापन गर्न अनावश्यक खर्च कटौती, पेन्सन प्रणालीमा सुधार र सामाजिक सुरक्षा खर्च व्यवस्थापन गर्न सुझाएको छ । पेन्सन र सामाजिक सुरक्षा खर्च वर्षेनी बढ्दै गएर थप दायित्व सिर्जना गरेको उल्लेख गर्दै यसलाई व्यवस्थापन गर्न सुझाएको हो । यी ३ कुरामा सरकारले सुधार गरे आगामी दिनमा देशको अर्थतन्त्र सही दिशामा जाने विश्व बैंकको ठहर रहेको छ । अवकासपछि कर्मचारीलाई वितरण हुने पेन्सनले थप दायित्व सिर्जन गरेको बताउदै यसलाई पुनसंरचना गर्न बैंकले सुझाएको हो । बैंकले एक दशकअघि कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ०.५ प्रतिशत अंश रहेको पेन्सन अहिले बढेर १.५ प्रतिशत पुगेको भन्दै यसलाइै व्यवस्थापन गर्न सुझाएको हो । बैंकका वरिष्ठ अर्थशास्त्री ड्यामिर कसिकले पछिल्ला ३ वर्षयताका वजेट वास्तविक धरातलबाट बाहिर गएर तर्जुमा गरिएको बताउदै यसले गर्दा वित्तीय क्षेत्रमा केही संकट आएको जानकारी दिए । यसले बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर र ब्याजदर बढाउन सहयोग पुर्याएको उनको ठहर छ । बैंकको ब्याजदरले उत्पादन लागत बढाएको बताउदै यसले पनि अर्थतन्त्रमा केही असर गरेको उनले बताए । पछिल्लो समयमा सेयर, गाडी र रियलस्टेट कर्जा खुम्चिएको ठहर गरेको छ । बैंकले आगामी दिनमा नेपालले वृहत संक्रमणकालिन योजना बनाएर लागु गर्नुपर्ने सुझाएको छ । यस्तै यो योजना भरपर्दौ र विश्वसनिय हुनुपर्ने र नयाँ संक्रमणकालिन योजना सफलतापुर्वक लागु गर्नुपर्ने बताएको छ । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा कमी, आयातमा वृद्धिले गर्दा समग्र शोधानान्तर घटामा गएको बैंकको ठहर छ । बैंकका अर्का अर्थशास्त्री सुदम्यन दाहालले यो वर्ष नेपालको आर्थिक वृद्धिदर खुम्चिएर ४.६, आगामी वर्ष ४.५ र अर्को वर्ष ४.२ प्रतिशत हुने प्रक्षेपण गरेको जानकारी दिए । वाढी र डुवानले कृषि उत्पादनमा गिरावट आउदा आर्थिक वृद्धिदर घटेको उनको सुझाव छ । आगामी केही वर्ष नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत तल हुने बैंकको प्रक्षेपण छ ।  

सी-आस्वा सेवा प्रभावकारी बनाउँन यस्तो छ बोर्डको नयाँ निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सी-आस्वा सेवालाई थप प्रभावकारी बनाउँन नयाँ निर्देशन जारी गरेको छ । उक्त सेवा प्रभावकारीका साथै अावेदन गरेबमाेजिम रकम खातामा उपलब्ध नभएको भन्दै लगानीकर्ताहरूकाे गुनासो अाएपछि बोर्डले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस्ता छन् निर्देशन: १. सार्वजनिक निष्काशनमा सेयर खरिदका लागि प्राप्त आवेदन सी–आस्वा सफ्टवेरमा रुजु गरी ग्राहकको पहिचान एकिन गरेपश्चात् मात्र बुझि लिने । २. आवेदनकर्ताको खातामा आवेदन गर्दाको बखत आवश्यक रकम उपलब्ध भएमा माग आवेदन स्वीकार गरी आवेदन रकम रोक्का गर्ने । ३. सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्ने । ४. सी–आस्वा सेवा अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीहरुलाई तालिम प्रदान गर्ने । बैंक तथा वित्तीय संस्थाका कतिपय शाखा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी नरहेको र लगानीकर्ताहरुको खातामा धितोपत्र खरिद आवेदनमा उल्लेख भए बमोजिम यथेष्ट रकम उपलब्ध भए नभएको एकिन नगरिकनै आवेदन बुझिलिने गरेको गुनासो आएपछि बोर्डले उक्त निर्देशन दिएको हो ।

त्रिशूली-काठमाडौं २२० केभी प्रसारण लाइन दश महिना भित्रै पूरा हुने

नुवाकोट । निर्माणाधीन त्रिशूली-काठमाडौं २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन, २०६८ देखि निर्माण शुरु भएको उक्त प्रसारण लाइन निर्माणमा पछिल्लो समय तीव्रता दिइएको हो । दुई सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १४२ वटा टावरमध्ये ११० को फाउण्डेशन तयार भइसकेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका उपप्रबन्धक इ.सत्यराम ज्याख्वाले जानकारी दिए । “फाउण्डेशन बनाइएकामध्ये ६४ वटामा तार जोड्ने काम सकिएको छ ।” ज्याख्वाले भने, “मातातीर्थस्थित केन्द्रीय प्रसारण लाइन पुर्याउन भूमिगत प्रसारण लाइनका लागि एक किमी सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।” उनको अनुसार प्रसारण लाइनको निर्माण अहिले ५५ प्रतिशत पूरा भएको र तेस्रो पटक थप भएको म्यादअनुसार माघ २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य पूरा गर्न काममा तीव्र बनाइएको छ । थ्री ‘ए’ आयोजनाले २०७५ माघ २६ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले सोही समय अगाडि नै प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता छ । तोकिएको समयमा प्रसारण लाइन पूरा नभएमा थ्री ‘ए’ ले उत्पादन गर्ने विद्युत् खेर जाने जोखिम देखिन्छ । नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत्लाई एकै ‘हब’ मार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किमी प्रसारण लाइन निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन लि (सिडब्लुई)ले गर्दै आएको छ । यो प्रसारण लाइनमार्फत यहाँका दुई जिल्लामा निर्माण भइरहेको रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली-१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’, मध्ये त्रिशूली गंगा, गल्छी-त्रिशूलीसहित सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना बनाइएको छ । दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको प्रसारण लाइन विस्तारको कामको अनुगमन तथा व्यवस्थापन थ्री ‘ए’ आयोजनामार्फत भइरहेको छ । रासस

विल गेट्सलाई साक्षी राखेर बिनोद चौधरीले भने-पहिले पैसा कमाउँ अनि समाज सेवा गरौंला भन्ने सोंच त्याग्नुस्

काठमाडौं  । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले पहिले पैसा कमाएर अनि मात्र समाज सेवा गर्नु पर्छ भन्ने भावना त्याग्न संसार भरका उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । बेलायतको लण्डनमा आयोजित कमनवेल्थ विजनेश फोरममा बोल्दै अध्यक्ष चौधरीले पहिले पैसा कमाउँ अनि मात्र समाज सेवा गरौंला भन्ने सोंच त्याग्नु पर्नेमा विश्वका विजनेश लिडरहररूको ध्यानाकर्षण गराएका हुन् । बेलायती राजकुमार विलियम र माइक्रोसफ्टका मालिक विल गेट्सलाई साक्षी राखेर चौधरीले भने, ‘विजनेश र सामाजिक कामहरू एकपछि अर्को होइन सँगसँगै अगाडि बढाउनुपर्छ । जुन समाजले हामीलाई विजनेश गर्ने वातावरण दिएको छ, त्यसका लागि हामीले मुनाफाको निश्चित अंश फिर्ता गर्न सक्नुपर्छ ।’, उनले परोपकारलाई पैसासँग नजोड्न आग्रह पनि गरे । ‘परोपकार पैसा होइन, समाजका लागि दिगो योगदान गरौं भन्ने व्यक्तिगत प्रतिवद्धता हो’ अध्यक्ष चौधरीले भने– समाजिक कामलाई पैसामा नाप्नु भन्दा त्यसबाट समाजको सकारात्मक रूपान्तरणमा के योगदान पुग्न सक्यो भन्ने दृष्टिकोणबाट हेरिनुपर्छ ।’ समाज सेवामा गरिएको खर्चको प्रतिफलका विषयमा पनि गम्भिरता पूर्वक समिक्षा आवस्यक देखिएको धारणा उनले राखे । गैर सरकारी सस्थाहरूमार्फत् अतिकम विकसित मुलुकमा गरिएको लगानीबाट अपेक्षित उपलब्धी हासिल हुन नसकिरहेको महसुस गरिएको बेला अध्यक्ष चौधरीले विश्वब्यापी फाउण्डेसनमा योगदान पु¥याइरहेका विजनेश लिडरहरूको ध्यानाकर्षण गराएका हुन् । विश्वका प्रभावशाली विजनेश लिडरहरू उपस्थित कमनवेल्थ विजनेश फोरममा नेपालबाट अध्यक्ष चौधरी सहभागी छन् । कमनवेल्थमा आवद्ध विश्वका ५२ मुलुकका राष्ट्र प्रमुखहरूको बैठकसँगै विजनेश फोरम आयोजना गरिदै आएको छ । यसपटक बेलायती महारानीले यो बैठकको आयोजना गरेकी थिइन् । अप्रिल १६ मा शुरू भएको विजनेश फोरम १८ तारिखमा समापन हुने कार्यक्रम छ । चौधरी ग्रुप कमनवेल्थ इन्टरप्राईज एण्ड इन्भेष्टमेन्ट काउन्सिलको सदस्य हो ।  

बेनी-कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै, ३० महिनाभित्र सम्पन्न हुने

म्याग्दी । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो । अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । उनका अनुसार, आगामी ३० महिनाभित्र सबै पुलको निर्माण सम्पन्न लक्ष्यसहित काम भइरहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत पर्ने १६९ किलोमिटर बेनी-जोमसोम-कोरला सडकको अहिले स्तरोन्नति कार्य भइरहेको छ । अहिले बेलिब्रिजमार्फत सवारी साधन वारपार हुँदै आएकामा ती बेलिब्रिजलाई विस्थापित गरी पक्की पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख सुवेदीले बताए । आयोजनाका अनुसार म्याग्दीको दानास्थित घट्टेखोलामा रु पाँच करोड ७६ लाखको लागतमा फेवा नयाँजाय जेभी, मुस्ताङको घासामा खहरेखोलामा पाँच करोड ९७ लाख रुपैयाँमा सिर्वा कन्स्ट्रक्सन, मार्फा र जोमसोमको बीचमा साढे १० करोड रुपैयाँमा मुक्तिनाथ गीता जेभीले पुल निर्माण गरिरहेको छ । त्यस्तै, कागबेनी खोलामा दुई करोड ८८ लाख रुपैयाँलागतमा गल्फा एण्ड रेविना जेभी र लोप्रा पाण्डखोलामा लोकप्रिय शंकरमनी जभीले रु तीन करोड नौ लाखमा ठेक्का लिएको छ । सडक विभागअन्तर्गत पुल सेक्टर नं ३ पाल्पाले म्याग्दीको तिब्ल्याङ र पोखरेबगरमा कालीगण्डकीमाथि पुल निर्माणको जिम्मा लिएको छ । दुवै स्थानमा बेलिब्रिजलाई विस्थापित गरिनेछ । तिब्ल्याङमा निर्माण कार्य तीव्र रहे पनि पोखरबेगरमा भने शुरु भएको छैन । गलेश्वरस्थित राहुघाट खोलाको ठेक्का भने कालिका गजुरमुखी जेभीले लिएको छ । गजुरमुखीले तातोपानीदेखि कोबाङसम्म ३८ किलोमिटर सडक स्तरोन्नतिको कार्य पनि गरिरहेको छ । आयोजनाले मुस्ताङको चराङखोला, घमीखोला, छुसाङखोला र ढुंगाखोलाका लागि एकहप्ताअघि टेण्डर आह्वान गरेको छ । नेपाली सेनाले मार्ग खोलेको ७६ किलोमिटर बेनी–जोमसोमखण्डमा गलेश्वर, तिब्ल्याङ, पोखरेबगर, स्याङ, खहरेखोलामा बेलिब्रिज जडान गरिएको थियो । तर, मर्मतसम्भारको अभावमा बेलिब्रिजहरु जीर्ण भएका छन् । रासस

४० प्रतिशत हकप्रद पछि सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८७४ रुपैयाँ रहेको छ ।

सेञ्चुरी बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र यूनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले हस्ताक्षर गरेका छन् । हाल बैंकले ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।