एनआईसी एशिया बैंककोे पाचौं शाखारहित बैंकिङ्ग सेवा बनेपामा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पाचौं शाखारहित बैंकिङ्ग सेवा बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सन्तकुमार तामाङलाई नियुक्त गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग बानिको विकाश हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवाको (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । हाल बैंकले १९६ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ५ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि राष्ट्र बैंकले बुधबार बजारमा २० अर्ब पठाउदैं
काठमाडौं । तरलतको अवस्था कम भएर अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले अल्पकालिन तरलताको समस्या समधान गर्न रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता कम भई अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजार हस्तक्षेप गर्न सो रकम पठाउन लागेको हो । अधिक तरलता घटेर ११ अर्ब रुपैयाँमा सीमित भएपछि अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेको हो । राष्ट्र बैंकले लागु गरेको ब्याजदर करिडोर नीतिअनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि थप रकम बजारमा पठाएर हस्तक्षेप गर्दै आएको छ । २ साताका लागि बजारमा पठाउन लागेको सो रकमको ब्याजदर ५ प्रतिशत छ । रिपो खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले बैशाख २६ गते फिर्ता गर्नुपर्ने छ । चालु आर्थिक वर्षको आठ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पmत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पmत् ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ ।
कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमद्धारा पदबहाली
काठमाडौं । नेपाल सरकारका सह–सचिव तुलसीप्रसाद गौतम कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त भएपछि सोमबार कोषमा पदबहाली गरेका छन् । गौतम अागामी ५ (पाँच) वर्षको लागि प्रशासकमा नियुक्त भएका हुन् । सह-सचिव गौतमलाई नेपाल सरकार (मन्त्रीपरिषद) को बैठकले कोषको प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रशासक गौतमले आगामी एक महिनाभित्र नेपाल सरकार, अर्थमंत्रालयसँग आगामी ५ वर्षका लागि सम्पादन गर्नुपर्ने कामको मापनयोग्य लक्ष्य र सूचकहरु सहितको कार्य सम्पादन सम्झौता गर्नुपर्ने छ । उनले नेपालको सार्वजनिक प्रशासनमा २७ वर्षदेखि नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही अनुभव प्राप्त गरेका छन् । आफ्नो पद बहालीका क्रममा प्रशासक गौतमले कोषमा कार्यरत रहुञ्जेल सञ्चयकर्ताको उच्चतम हित र कोषको छवी उच्च राख्न तथा उच्चस्तरको सँस्थागत सुशासन कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पदबहाली कार्यक्रममा कोषमा कार्यरत उच्च पदस्थ अधिकारी, कोषमा कार्यरत ट्रेड युनियनका पदाधिकारी लगायत अन्य कर्मचारीहरुले प्रशासक गौतमको सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।
१३ सय कर्मचारीले स्वेच्छिक अवकास पाए, अरुले नपाउने
काठमाडौं । १३ सय जना निजामति कर्मचारीले स्वेच्छिक अवकास पाएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन् र उनीहरुको पेन्सन पट्टा धमाधम बनिरहेको छ । उनले भने,‘अब बाँकीको जतिपनि निवेदन आएका छन्, तीनीहरुको स्वेच्छिक अवकाश स्विकृत हुँदैन, नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न ।’ मन्त्री बनेदेखि नै आक्रमक रुपमा काम गर्दै आएका मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई राष्ट्रसेवकको रुपमा नहेरिने चेतावनी समेत आज दोहोर्याए । उनले भने,‘मन र व्यबहार अलि फरक कुरा हुन, मन छिटो दर्गुछ, व्यबहार विस्तारै देखिन्छ, हामीले धेरै कामका बारेमा आफूलाई क्रियाशिल बनाएका छौँ ।’ कर्मचारीको हकमा स्वेछिच्क अवकास लिने व्यवस्था आफूहरुले हटाएको उनको दाबी थियो । उनले भने, ‘नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न, सरकारले खटाएको ठाउँमा काम गर्न जानुपर्छ, अहिलेको अवस्थामा सरकारले कर्मचारीलाई पैसा साथमा राखेर घर पठाउन सक्ने स्थिति नै छैन्, राष्ट्रसेवकले राष्ट्रको काम गर्नुपर्छ, समृद्धिको अभियानमा साथ दिनुपर्छ ।’
मेगा बैंकले पनि विदेशी वित्तीय संस्थाबाट ऋण लिने, आईएफसीसंग थाल्यो छलफल
काठमाडौं । लगानीयोग्य पुँजीको समस्या समाधानका लागि मेगा बैंकले पनि विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने भएको छ । बैंकले विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) संग ऋण लिनका लागि प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपछि मेगा बैंकले पनि प्रक्रिया अघि बढाएको हो । आईएफसीसंग ऋण लिनका लागि छलफल थालेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुन्जेलीले बताइन् । बैंकलाई थप लगानी गर्न पुँजीको आवश्यकता भएको छ’, उनले भनिन्, नेपाल राष्ट्र बैंकले समेत ऋण लिने नीतिगत व्यवस्था गरेकोले यसको फाइदा हामी पनि लिने छौं ।’ उनका अनुसार मेगाले पहिलो चरणमा आईएफसीबाट ऋण लिने भएको छ । उनले विदेशबाट लिने ऋणको डलर जोखिम हुने भएकाले यसलाई न्युनिकरण गर्नका लागि हेजिङ फण्ड स्थापना गर्नुपर्ने बताइन् । डलरमा ऋण लिँदा जोखिम धेरै भएकाले यसको न्युनिकरण हुने गरी ऋण लिने तयारीमा रहेको छाै’, उनले भनिन् । आईएफसीसंग समझदारी गरेपछि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि निवेदन दिने उनले जानकारी दिइन् । राष्ट्र बैंकका अनुसार मेगाको प्राथमिक पुँजी ८ अर्ब ९६ करोड ४० लाख रुपैयाँ रहेकाले न्युनतम् २ अर्ब रुपैयाँ बराबर विदेशी बैंकबाट ऋण लिन पाउनेछ । प्राथमिक पुँजीको २५ प्रतिशत मात्र ऋण लिने व्यवस्था भएकाले मेगाले २ अर्ब रुपैयाँ ऋण लिन पाउने भएको हो । प्राथमिक पुँजी ८ अर्ब रुपैयाँ भएका बैंकले मात्र विदेशी संस्थाबाट ऋण लिन पाउने छन् । यस्तै, एनएमबी बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र सनराइज बैंकले विदेशबाट ऋण ल्याउनका लागि राष्ट्र बैंकमा निवेदन दिइसकेका छन् । विदेशबाट ऋण लिनका लागि एनएमबी बैंक र एनआईसी एसिया बैंकले मात्र स्वीकृति मागेका छन् । एनएमबीले डेढ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति मागेको छ । उसले विश्व बैंकअन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) संग ऋण सम्झौता गरेको छ । चुक्तापुँजी, संचित कोष (रिजर्भ) प्रस्तावित बोनस सेयर, सेयर प्रिमियम, साधारण जगेडा कोष, संचित नाफा–नोक्सान, पुँजी समायोजन कोष र अन्य स्वतन्त्र कोष जोडेर प्राथमिक पुँजीको गणना गरिन्छ । २८ वाणिज्य बैंकको प्राथमिक पुँजी ३ खर्ब ११ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । नेपालका बैंकले ७८ अर्ब रुपैयाँ विदेशबाट ऋण लिन पाउने छन् । ८ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकले पनि २ अर्ब रुपैयाँसम्म ऋण लिन पाउने छन् । सबैभन्दा बढी ऋण लिन कृषि विकास बैंकले पाउने भएको छ । कृषि विकासले साढे ५ अर्ब रुपैयाँ विदेशबाट ऋण लिन पाउने छ । १२ अर्ब रुपैयाँ प्राथमिक पुँजी भएको बैंकले ३ अर्ब रुपैयाँसम्म विदेशी बैंकबाट ऋण लिन पाउने छन् । ७ वटा बैंकको प्राथमिक पुँजी १२ अर्ब रुपैयाँ भन्दा बढी छ । यी बैंकले न्युनत्म ३ देखि बढीमा साढे ५ अर्ब रुपैयाँसम्म ऋण लिन पाउने छन् । गत वर्षदेखि लगानीयोग्य पुँजीको संकट बढेपछि यो समस्या समधानका लागि राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो ।
औषधी व्यवस्था विभागका अधिकृत तपेन्द्र भट्टराई ५० हजार लिदैं गर्दा अख्तियारको फन्दामा
काठमाडौं । औषधी ब्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई भ्रष्ट्राचारको अभियोगमा पक्राउ परेका छन् । मेडिकल स्टोर दर्ता प्रकृयामा सहजता बनाइदिने भनि सेवाग्राहीसँग ५० हजार लिने क्रममा भट्टराई पक्राउ परेका हुन् । अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियारले उनलाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको हो । उनीमाथी थप अनुसन्धान भैरहेको आयगले जनाएको छ ।
‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट’ वैशाख १४ गतेदेखि शुरू, बिजेतालाई गाडी उपहार
काठमाडौं । नेपालको लागी हुण्डार्ई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले बिगतका वर्ष झैँ यस वर्ष पनि ‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट २०१८’ को आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट ग्लिनियग्लेस डिजाइन गोकर्ण गल्फ क्लबमा यही आगामी वैशाख १४ र १५ गते हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फर्म्याटमा र ३/४ ह्यान्डी क्यापमा खेलीने छ । यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । यस टुर्नामेन्टमा टाइटल विनर(नेट), फष्ट रनरअप, सेकेण्ड रनरअप, बेष्ट ग्रस, लेडिज विनर, सिनियर विनर(६० वर्ष उमेर माथिको), जुनियर विनर(१७ वर्ष उमेर मुनीको), हुण्डार्ई वनर्स क्याटेगोरी विनर, लङ्गेष्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मष्ट विरडाइज क्याटेगोरीमामा बिजेता घोषित गरिने छ । यसको साथै होल इन वान बिजेतालाई उपहार स्वरुप एक थान हुण्डाई ग्राण्ड आई १० गाडी प्रदान गर्ने घोषणा गरीएको छ । हुण्डाईले विश्वभर नै गल्फखेलको विकास र प्रबर्धन गर्ने हेतुले बिभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जस मध्ये पीजिए टुरको टुर्नामेन्टस् अफ द क्यापियनस् एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्पराज कँडेल नियुक्त
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर पुष्पराज कँडेल नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषदको निर्णयबाट कडेल उपाध्यक्षमा नियुक्त भएका हुन् । यसअघि कडेल नेकपा एमाले लेखा समितीका संयोजक रहेका थिए । उनीसँगै ६ जना योजना आयोगका सदस्यमा नियुक्त भएका छन् । सदस्यमा नियुक्त हुनेहरुमा दिलबहादुर गुरुङ, रामकुमार फुयाँल, सुशील भट्ट, मीनबहादुर शाही कृष्णप्रसाद ओली, र उषा झा रहेका छन् ।