विकासन्युज

गरिमा विकास बैंकको नाफा २८ करोड १५ लाख

काठमाडौं । गरिमा विकास बैंकले ३ महिनामा १० करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले गत चैतसम्म २८ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १८ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आवको चैतमा बैंकले २४ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको ब्याज आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । गत चैतसम्म बैंकले ६९ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ब्याज आम्दानी गत पुसमा ४३ करोड ७९ लाख रुपैयाँ थियो । ३ महिनामा बैंकले ब्याज आम्दानी मात्रै ३० करोड रुपैयाँ बढाएको छ । पुसको तुलनामा बैंकको निष्क्रिय कर्जा बढेर ०.७८ प्रतिशत पुगेको छ । गत पुसमा बैंकको निष्क्रिय कर्जा ०.४७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ८.७५, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७८.९३, आधार ब्याजदर १२.१७ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ६ प्रतिशत छ । बैंकको संचित कोष बढेर ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै समीक्षा अवधिमा बैंकले १८ अर्ब ६३ करोड रुपैयाँ निक्षेप परिचालन गरी १७ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै

काठमाडौं । संयुक्त राज्य अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । त्यहाँको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई निकाला गर्ने भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सन् २०१५ देखि अमेरिकामा बसोबार गर्दै आएका करिव ९ हजार नेपालीलाई फिर्ता गर्ने तयारी थालेको अमेरिकाको द वासिङट्न पोष्ट दैनिकको अनलाइन संस्करणमा उल्लेख गरिएको छ । सो अनलाइनले होमल्याण्ड सेक्युरिटिजका सचिव क्रिस्टजेन नेल्सनले फिर्ता जानका लागि १ वर्ष थप समय दिएको जानकारी दिएको छ । जसअनुसार आगामी वर्षको जुन २४, २०१९ सम्मको समय दिएको हो । विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।  २०७२ को विनासकारी भूकम्पको कारण देखाउँदै ३ वर्षअघि अमेरिकाले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएपछि हजारौ संख्यामा नेपाली बसोबार गर्दै आएका थिए । नेपालीहरु अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका छन् । ७.८ म्याग्नीच्युटको भूकम्पबाट ९ हजार बढी नेपालीको ज्यान गएपछि अमेरिकी सरकारले नेपालीका आफन्तलाई त्यहाँ बस्न अनुमति दिएको हो । आप्रवासीलाई अमेरिकामा बस्न दिन नुहुने कडाधारका राष्ट्रपति ट्रम्पको यो निर्णयले नेपालीलाई समस्यामा पार्नेछ । अमेरिकाले २ लाख एलसाल्भडोर, ५० हजार हैटी र केही संख्यामा निकारागुवा र सुडानका नागरिकलाई देश निकाला गरिसकेको छ ।

अब न्युरोडमा स्मार्ट पार्किङ, पहिले नै बुकिङ गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ, कोही व्यक्ति न्यूरोड जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिलेनै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ । कुनै कारणवस अन्य व्यक्तिले पहिलेनै बुक गरिसकेको भए सो स्थानमा सवारीसाधन पार्किङ गर्न लगेमा सवारीसाधन त्यस स्थानमा राख्न सकिने छैन । दर्ता गरेको सवारीको नम्बर सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारीसाधन मात्र पार्क सर्न सकिन्छ । जुन सवारीसाधनको नम्बर दर्ता भएको छ उक्त सवारीसाधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले जानकारी दिए । यस पार्किङ निर्माणबाट सहजरुपमा सवारीसाधनको व्यवस्थापन गर्न सकिने कामपाले विश्वास लिएको छ । न्यूरोडमा विशालबजार अगाडि रहेको खाली स्थानमा पार्किङ निर्माण गर्ने तयारी कामपाको छ । रासस

९ महिनामा ओम डेभलपमेन्ट बैंकको नाफा २६ करोड ६२ लाख

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले ३ महिनामा खुदनाफा ११ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म २६ करोड ६२ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १५ करोड रुपैयाँ मात्र नाफा गरेको थियो । ब्याज आम्दानी बढेपछि यसको सकरात्मक प्रभाव नाफामा परेको हो । बैंकले चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरी नाफा, कर्जा लगानी र निक्षेप परिचालन सन्तोषजनक रहेको जानकारी दिएको छ । चालु आवको ९ महिनामा बैंकले ५३ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा ब्याज आम्दानी ३२ करोड २८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा घटेर ०.८२ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ९.२२, सीडी रेसियो ७६.६२, आधार ब्याजदर १२.२० र स्प्रेड दर ४.५५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १२ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले १९ अर्ब १४ करोड रुपैयाँ निक्षेप परिचालन गरी १७ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार बढेर ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।  

नेको इन्स्योरेन्सको ९९ हजार कित्ता हकप्रद लिलामीमा, बोलपत्र पेश गर्ने अन्तिम दिन बैंशाख २६ मा

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्ने भएको छ । कम्पनीको संस्थापक र सर्वसाधारणको गरी ९९ हजार ९४९ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको हो । हकप्रद सेयर खरिद गर्नका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति बैंशाख २६ गतेलाई तोकिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । सर्वसाधारणको ९५ हजार ८८५ र संस्थापकतर्फ ४ हजार ६३ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । हकप्रद सेयर किन्न अंकित मूल्य १ सय रुपैयाँ भन्दा बढी दर प्रस्ताव गर्नुपर्ने छ । बोलपत्र न्युनतम १०० कित्तालाई गर्नुपर्ने छ । कम्पनीले चुक्तापुँजी बढाउन गत माघ २६ देखि चैत १ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेको हकप्रद सेयर लिलामी गर्न लागेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लोभलाग्दो प्रगति, २८३ करोड नाफा, ३ महिनामा बढायो १०० करोड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३ महिनामा खुदनाफा १ अर्ब रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत पुसमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको चैतमा बैैंकले २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले समीक्षा अवधिमा लोभलाग्दो प्रगति गरेको उसले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । पछिल्लो ३ महिनामा बैंकको ब्याज आम्दानी झण्डै दोब्बर बढाएर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत पुसमा बैंकको ब्याज आम्दानी २ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ थियो । ब्याज आम्दानी झण्डै १०० प्रतिशत बढेपछि नाफामा वृद्धि भएको हो । बैंकले बुधबार चालु आवको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको जानकारी दिएको छ । ३ महिनामा बैंकले निष्क्रिय कर्जा घटाएर ०.७६ प्रतिशतमा झारेको छ । गत पुसमा बैंकको यस्तौ कर्जा १.१२ प्रतिशत थियो । निक्षेप र कर्जा अनुपात (सीडी रेसियो) ७८, निक्षेप लागत ६.३५, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.२८ प्रतिशत छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६० पैसा छ । बैंकले ९ महिनामा १ खर्ब ३० अर्ब १९ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ । बैंकको संचित कोष विस्तार भई १० अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

भलबारीले लागू गर्याे तेल बोक्ने ट्यांकरमा सुरक्षात्मक लकिङ प्रणाली

काठमाडौं । नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलबारीले तेल बोक्ने ट्यांकरमा मंगलबारबाट सुरक्षात्मक लकिङ प्रणली लागू गरेको छ । बीच बाटोबाट चुहावट तथा चोरी हुन नदिन भन्दै नेपाल आयाल निगमले भलबारी डिपोका लागि ट्यांकरमा सिलका साथै ताला लगाएर मात्रै पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएको हो । निगमको भलबारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर पुग्ने ट्यांकरमा पेट्रोलियम पदार्थ लोड गरेपश्चात् ताला लगाएर ढुवानीको शुरुआत गरिएको थियो । बैतालपुरबाट सुरक्षात्मक लकिङ सिस्टम लागू गरी आएका ट्यांकरको तोला खोलेर उक्त प्रणालीको शुरुआत गरिएको हो । आयाल निगमले शुरु गरेका सुरक्षात्मक लकिङ प्रणालीले आयल निगमको आन्तरिक सुधारलाई महत्वपूर्ण योगदान पुग्ने निगमका कार्यकारी निर्देशक ई‍ सुशील भट्टराईले जानकारी दिए । ‘ढुवानीका क्रममा बीच बाटोबाट हुन सक्ने पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण र चोरी–निकासी तथा अन्य खालका बदमासी हुन नदिन निगमले यो कार्य सञ्चालन गरेको हो,’ उहाँले भने, ‘पहिलो चरणमा भारतको सिलुगुढी डिपोदेखि झापा डिपोसम्म यो प्रविधि लागू गरिएको र आजदेखि भारतको बैतालपुर डिपोदेखि भलबारी डिपोसम्म सञ्चालनमा आएको ट्यांकरमा ताला लगाएर ढुवानी शुरु गरिएको छ ।’ यसभन्दा अघि पेट्रोलियम पदार्थ लोड गरिसकेपछि ट्यांकरमा सामान्य एउटा मात्र तारले सिल गरेर ढुवानी गर्ने गरिन्थ्यो । खाल्टाखुल्टी र भत्केको सडकमा तार सहजै चुँडिने सम्भावना रहेकाले भरपर्दो थिएन । पेट्रोलिययम पदार्थ ढुवानी गर्न गएका ट्यांकरलाई लोड गरिसकेपछि बैतालपुर र मुगलसरायमा रहेको भारतीय आयल कर्पोरेशनका कर्मचारीले विशेष खालको ताला लगाइदिने गर्छन् । भलबारी डिपोमा अनलोड गर्ने बेलामा उक्त ताला नेपाल आयल कर्पोरेशनका कर्मचारीले खोल्नेछन् । एउटा ट्यांकरमा लगाइएको ताल्चाको चाबी नेपाल आयल कर्पोरेशन र भारतीय आयल कर्पोरेशनका कर्मचारी दुवैतर्फ रहनेछन् । भलबारी डिपोमा सञ्चालनमा रहेका ट्यांकरमध्ये अहिले ३३ वटामा तत्काल सुरक्षात्मक लकिङ प्रणली (ताला लगाउने कार्य) लागू गरिएको र बाँकी ट्यांकरमा असार मसान्तभित्र लागू गरिसक्ने आयाल निगम क्षेत्रीय कार्यालय भलबारीका प्रमुख अशोक शाहले जानकारी दिए । उनका अनुसार भारतको बैतालपुर र मुगलसरायबाट भलबारी डिपोका लागि कूल १९३ वटा ट्यांकरले पेट्रोलियम पदार्थको ढुवानी गर्ने गर्छन् । जसमध्ये तत्काल ३३ वटा ट्यांकरमा ताला लगाएर पेट्रालियम पदार्थ बोक्नेछन् । अन्य ट्यांकरमा पनि ताला लगाउन मिल्ने गरी ट्यांकरधनीले तयारी गरिरहेका छन् । तीन महिनाभित्र सबै ट्यांकरमा तालाबन्दी गरी ढुवानी गरिने गरी आन्तरिक तयारी थालिएको कार्यालयका प्रमुख शाहले जानकारी दिएका छन् । कतिपय ट्यांकरबाट चालक आफैँले र चालकसँगको मिलेमतोमा अन्य व्यक्तिले निगमको डिपोमा अनलोड हुनु अगावै पेट्रोलियम पदार्थको चोरी हुने गर्दथ्यो । ताला लगाउने प्रणाली गर्दा यो समस्या हटेर जाने उहाँको भनाइ छ । निगमको भलबारी डिपोका लागि दैनिक बैतालपुरबाट ८०० केएल डिजेल र मुगलसरायबाट २०० केएल पेट्रोल ढुवानी हुने गर्छ । पश्चिामाञ्चल पट्रोलियम डिर्लस एशोसिएशनले पनि यस कार्यको स्वागत गरेको छ । एशोसिएशनका अध्यक्ष प्रेम न्यौपानेले सुरक्षात्मक लकिङ प्रणालीका कारण पेट्रोलियम पदार्थको गुणस्तरमा कुनै समस्या नआउने भएकाले आफूहरुलाई पनि तेल बेच्न सजिलो हुने बताए। पेट्रोलियम ढुवानी एशोसिएशन रूपन्देहीका अध्यक्ष राकेश कसौधनले सुरक्षात्मक लकिङ सिस्टमले सबैलाई फाइदा पुग्ने बताउँदै बीच बाटोमा चुहावटको समस्या देखापर्ने भएकाले ताला लगाउने काम गरिएको र यसले सबैलाई सहज हुने धारणा व्यक्त गरे । रासस  

ब्रिटिश अल्फाबिटा कप २०१८मा ‘द ब्रिटिस कलेज’ विजयी

काठमाडौँ । ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कलेज फुटसल टोर्नाेमन्ट’ प्रतियोगितामा ‘ब्रिटिश कलेज विजयी भएको छ । प्रतियोगिता ‘द ब्रिटिस कलेज’ र ‘अल्फाबिटा इन्सिट्युट प्राइभेट लिमिटेड’को संयुक्त आयोजनामा यही बैशाख १० र ११ गते धन्यन्तरी फुट्सल्, धुमबराहीमा भएको हो । उक्त कार्यक्रमलाई ‘अल नेपाल फुटबल एशोसियसन’ र ‘रेडबुल’ लगायत अन्य प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरुले प्रायोजित गरेका थिए । मुख्य प्रयोजकहरुमा एनआइसि एसिया बैंक (बैंकिङ पार्टनर), टर्किस एयरलायन्स (एयरलायन्स पार्टनर), दराज नेपाल (अनलाइन सपिङ पार्टनर), इन्टरनेट सेकुरिटी पार्टनर, भायानेट (इन्टरनेट पार्टनर), सुलुक्स सेन्टर (स्टाइल पार्टनर) रहेका थिए । विभिन्न विश्वविद्यालयका १६ अण्डर ग्रयाजुएट कलेजहरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतिस्पर्धी टीमबाट शीर्ष विजेता‘ब्रिटिश कलेज’ र उपविजेता ‘किङ्ग्स् कलेज’ घोषित भएका छन् । टूर्नामेन्टको सर्वश्रेष्ठ खेलाडी ‘ब्रिटिश कलेज’ का धीरज थापा भए भने सर्वश्रेष्ठ किपरमा तेन्जीङ सामडुप घोषित भएका छन् । प्रतियोगितामा बिजेता हुने टोलीलाई नगद पुरस्कार सहित गिफ्ट ह्याम्परहरु अल्फा बेटा, टर्किस एयरलाइन्स, दराज नेपाल, इसेट, जुजु वर्यस, सुलक्स सेन्टरले प्रदान गरिएको थियो । टर्किस एअरलाइन्सका साहायक प्रवन्धक अब्दुल्ला ट्युन्सर केसीसीले पुरस्कार वितरण गरेका थिए ।