विकासन्युज

एनएमबी बैंकको नाफा बढेर १४१ करोड पुग्यो, प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ

काठमाडौं । एनएमबी बैंकले ३ महिनामा नाफा ४१ करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १ अर्ब रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो । ब्याज आम्दानीमा भएको वृद्धिले यसको सरकात्मक प्रभाव नाफामा परेको बैंकले जनाएको छ । गत चैतमा बैंकले २ अर्ब १० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा बैंकले १ अर्ब ३९ करोड रुपैयाँ ब्याजबाट आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले ३४ करोड ९६ लाख रुपैयाँ असुल गरेको छ । बैंकको निष्क्रिय कर्जा घटेर १.१० प्रतिशतमा झरेको छ । गत पुसमा १.२४ प्रतिशत थियो । यस्तै निक्षेप लागथत ७.४७, पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो ७५.३३, आधार ब्याजदर १०.९२, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ३.१६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ छ । संचित कोष विस्तार भई ५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ८५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १५० करोड, ३ महिनामा थपियो ५० करोड

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले ३ महिनामा नाफा ५० करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा ब्याज आम्दानी बढेपछि नाफामा सकरात्मक प्रभाव परेको जानकारी दिएको छ । चैतमा बैंकले २ अर्ब २३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा बैंकको ब्याज आम्दानी १ अर्ब ४६ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले ४५ करोड ८० लाख रुपैयाँ निष्क्रिय कर्जा असुली गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य वृद्धि भई ०.२१ प्रतिशत पुगेको छ । गत पुसमा यस्तो कर्जा ०.१७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ३.८, आधार ब्याजदर ७.२०, कर्जा र निक्षेप अनुपात ७६.४४, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १२ पैसा छ । बैंकको संचित कोषको आकार बढेर ५ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निक्षेप परिचालन ६ अर्ब रुपैयाँ घटेर बैंकले ६१ अर्ब रुपैयाँमा सीमित भएको छ । गत पुसमा निक्षेप परिचालन ६६ अर्ब रुपैयाँ थियो । यस्तै ४६ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत पुसमा बैंकले ४२ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको थियो ।

ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई आगामी ४ वर्षको लागि बैंकको सीईओमा नियुक्त गरेको हो । सीईओ कृष्णबहादुर कुँबरले राजीनामा गरेपछि उनले कार्यवाहक सीईओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । नव नियुक्त सिईओ ज्ञवालीको करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेको अनुभव, करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको अनुभव, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव रहेको छ । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्षमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ भने उनी वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत हुन् ।  

प्रभु बैंक लिमिटेडद्वारा कम्प्युटर हस्तान्तरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिँदै आइरहेको छ । बुधबार एक कार्यक्रमवीच काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई बैंककोतर्फबाट ५ थान कम्प्युटर हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले विभिन्न क्रियाकलापअन्तर्गत भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निःशुल्क स्वास्थ्य जाँच, आँखा शिविर, बागमती नदी सरसफाई, वृक्षारोपण लगायतका सामाजिक कार्यहरुमा प्रत्यक्ष सहभागीता जनाउँदै आएको जानकारी गराएको छ ।

भक्तपुरमा महिन्द्रा टुह्वीलरको सर्भिस नेटवर्क

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलरहरुको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले आफ्नो आधिकारिक सर्भिस नेटवर्क भक्तपुरको जगातिमा विस्तार गरेको छ । विकाश मोटरसाईकल वर्कसपको रुपमा स्थापना गरिएको उक्त सर्भिस सेन्टरबाट भक्तपुर आसपासका सम्पूर्ण ग्राहकहरुले महिन्द्रा टुह्वीलरको सरल र सुविधायुक्त सर्भिस लिन सक्ने जनाइएको छ । सेनटरबाट सम्पूर्ण महिन्द्रा टु ह्वीलरहरुका स्कुटर तथा बाईकको गुणस्तरीय सेवा तथा जेन्युन पार्टस् सहज रुपमा उपलब्ध गराइनेछ । नेटवर्क सञ्चालनपछि सर्वसुलभ तरिकाबाट सर्भिसिङ तथा समयमै ग्राहकरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराउने, कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउने जनाइएको छ । कम्पनीले सवारी विक्री गर्न मात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ विशेष ध्यान केन्द्र्रित रहेको बताएको छ ।

यस्तो बन्दैछ राष्ट्र बैंकको नयाँ भवन, बैंककाे बजेटमा सबै काम भवन निर्माण विभागले गर्ने

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति पुगेको नेपाल राष्ट्र बैंकको दुई भवनको पुनर्निर्माण सुरु हुने भएको छ । बैंकले भूकम्प गएको ३ वर्षपछि भवन निर्माण सुरु गर्न लागेको हो । भवनकाे रेखाङ्कन गर्ने, अनुमानित लागत तय गर्ने, निर्माण गर्ने सबै कामकाे  जिम्मेवारी राष्ट्र बैंकले शहरी विकास तथा भवन निर्माण विभागलार्इ दिएकाे गभर्नर डा चिरञ्जीवि नेपालले जानकारी  दिए । भवन विभागले तयार गरेकाे  राष्ट्र बैंकको प्रस्तावित भवनको रेखाङ्कन माथिकाे भवन बाबालुवाटारमा बन्नेछ भने तलकाे भवन थापाथलिमा बन्ने छ । सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर तपेन्द्र खड्काका अनुसार भवन पुरानै ढाँचामा निर्माण हुने भएको हो । भवन निर्माणको सबै तयारी सकिसकेको इन्जिनियर खड्काले बताए । ‘भवन पहिले जस्तो छ तैस्तै बन्ने हो, भवनको उचाई आकार रंग रोगन सबै पुरानै ढाँचाको हुन्छ’ खड्काले विकासन्युजसँग भने । राष्ट्र बैंकको पूरानो भवन भवनको लागत कति लाग्ने भन्ने कुरा छलफल भैरहेको छ । भवन पुरानै शैलीमा निर्माण गर्न  पुनर्निमार्ण प्राधिकरण र पुरातत्व विभागले स्वीकृति दिइसकेका छन् । सहरी विकासको तथ्यांक अनुसार अहिले देशभर २५३ वटा सार्वजनिक भवनहरु निर्माण भैरहेका छन् । त्यस मध्ये ६ वटा भवन निर्माण सम्पन्न भैसकेका छन् । त्यसैगरी १२० वटा भवनको प्रवलीकरण गरिएको छ । राष्ट्र बैंक सहित रेडियो नेपाल, लोकसेवा आयोग, महान्याधिवक्ताको कार्यालय, राणाकालिन भवन लगायत २५३ वटै भवन पुरानै शैलिमा निर्माण हुन लागेका छन् ।

ओपोद्वारा एआई ब्यूटी प्रविधिसहितको सेल्फी एक्स्पर्ट एफसेवेन सार्वजनिक

काठमाडौं । ओपोले नेपालमा एफसेवेन सार्वजनिक गरेको छ । आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सहितको नयाँ सेल्फी एक्स्पर्टले स्मार्टफोन प्रविधिलाई नयाँ उचाई प्रदान गर्ने उद्देश्य अनुरुप उक्त स्मार्टफोन सार्वजनिक गरेको हो । सेल्फी फोटोग्राफीका लागि एफसेवेनले परिस्कृत एआई प्रविधि लगायत एआईमा आधारित अन्य वैकल्पिक फिचर्सको उपयोग गरेको छ । सुपर फुल स्क्रिन र परिस्कृत मल्टिटास्किङ सफ्टवेयर सहितको फोन प्रयोगकर्तालाई उत्कृष्ट प्रयोगको अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । बुधबार सार्वजनिक गरिएका सो फोनमा ६४ जीबी स्टोरेज, ४ जीबी र्याम रहेको जनाइएको छ । सोलार रेड, मुनलाईट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन रंगका विकल्प सहित उपलब्ध गरिएको छ । एफसेवेनमा रियल टाइम हाइ डायनामिक रेञ्ज (एचडीआर) सेन्सर सहितको २५ एमपी फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ । एफसेवेनबाट खिचिएका तस्विर राम्रो गुणस्तर भएका डिजिटल क्यामेराबाट खिचिएका तस्विर झैँ विस्तृत विवरण र उच्च गुणस्तरका हुने कम्पनीको भनाइ छ । विभिन्न उमेर र लिंगका आधारमा ब्यूटिफिकेसन ईफेक्ट प्रदान गर्ने एआई ब्युटी २.० सहितका एचडीआर तस्विरले सेल्फी प्रेमीहरुको मन जित्ने बताइएको छ । परिमार्जित १९ः९ एस्पेक्ट रेसियो सहितको एफसेवेन पहिलो मध्यको एक रहेको जनाइएको छ । त्यसले गर्दा लोकप्रिय रोल प्लेइङ तथा स्ट्र्याटिजी गेममा रहेका ईफेक्टको मज्जा लिन पर्याप्त एरिया हुन्छ । यसका लागि फोनमा फ्रण्ट क्यामेरा, नयाँ एन्टिना र लाइट सेन्सर सहितको विशेष नट्च्चको ब्यवस्था गरिएको छ । कम्पनीको अनुसार फोनमा एण्ड्रोइड ८.१ मा आधारित कलर ओएस ५.० मा उत्कृष्ट प्रणाली ब्यवस्थापनका लागि एआई ब्यूल्टईन सफ्टवेयर जडान गरिएको छ । नयाँ फोनमा कम्पनीले कलर ओएस ५.० एआई पावर म्यानेजरको प्रयोग गरेको छ । यसले एपका आधारमा आवश्यकता अनुसार उर्जा विभाजन गरी फोनलाई उत्कृष्ट अवस्थामा राख्न सघाउँछ । त्यसैगरी एफसेवेनले पछिल्लो फोन एफफाइभका तुलनमा धेरै एप एकै साथ चलाउनुपर्दा ८० प्रतिशत तिब्र कार्य सम्पादन क्षमता राख्ने कम्पनीले बताएको छ ।

‘सक्षम’ र ‘नेरुडे’ बीच वित्तीय साक्षरता कार्यक्रम सुरु गर्ने सम्झौता

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र यूकेएड, सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बीच इन्टरप्राइज डेभलपमेन्ट एण्ड डिजिटलाइजेसन अफ माईक्रोफाईनान्स सर्भिस(इन्टरप्राइजेज डेभलपमेन्ट एण्ड डिजिटलाइजेशन अफ माइक्रोफाइनान्स सर्भिस) नामक कार्यक्रमको साझेदारीमा हस्ताक्षर भएको छ । नेरुडेको तर्फबाट प्रबन्ध सञ्चालक मणिकुमार अज्र्याल र सक्षम परियोजनाकोतर्फबाट डेपूटि टिम लिडर निर्मल दाहालले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यस अन्तरगत नेरुडेको सुनसरी, झापा, इलाम, सर्लाही, रुपन्देही र अर्घाखाँची जिल्लामा रहेका १६ वटा कार्यालयहरुमार्फत उद्यम विकास कार्यक्रम वित्तीय साक्षरता कार्यक्रम र ट्यावलेट बैंकिङ्ग कार्यक्रम सञ्चालन गर्ने छ । तीन वर्षको अवधिमा ३४४२ ग्राहक सदस्यलाई उद्यमी बनाउने र २९१२० जनालाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिने उद्देश्य राखेको छ । कार्यक्रममा सक्षम परियोजनाका डेपूटि टिम लिडर निर्मल दाहालले नेपालमै पहिलो पटक वित्तीय साक्षरता सम्बन्धी जनचेतना फैलाउने कार्यलाई सफल तुल्याउन “बज नेरुडे” नामक घुमन्ते गाडीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी ग्रामीण क्षेत्रमा रहेका जनसमुदायलाई लक्षित गरि स्थानीय स्तरमै वित्तीय साक्षरता दिने उद्देश्यका साथ सडक नाटक, भिडियो प्रर्दशनी, घुमन्ते गाडी, लगायतका कार्यक्रमहरु गर्न लागिएको नेरुडेका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले जानकरी दिए ।