विकासन्युज

बार्षिक ४० प्रतिशत नाफा पुर्याउने कुमारी बैंकको योजना, ३ वर्षपछि १४७ करोड कमाउने

काठमाडौं । आउदो ३ वर्षमा कुमारी बैंकले नाफा १२२ प्रतिशत बढाउने भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा बैंकले खुदनाफा बढाएर १ अर्ब ४७ करोड रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको ३ वर्षको वित्तीय प्रक्षेपणमा वार्षिक औसत ४० प्रतिशतका दरले नाफा बढाउने उल्लेख गरेको छ । गत आर्थिक ०७३/०७४ मा बैंकले ६६ करोड रुपैयाँ खुदनाफा गरेको थियो । चालु आर्थिक वर्षमा १ अर्ब ४ करोड र आगामी वर्ष १ अर्ब २९ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्षको ९ महिनामा कुमारी बैंकले नाफा १०० प्रतिशत बढाएको छ । ३ वर्षमा बैंकले प्रतिसेयर आम्दानी बढाएर १८ रुपैयाँ ३९ पैसा पुर्याउने भएको छ । गत आवमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ थियो । यो वर्ष बढाएर १३ र आगामी वर्ष १६ रुपैयाँ पुर्याउने भएको छ । बैंकले ब्याज आम्दानी बढाएर ३ वर्षमा ३ अर्ब २३ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आवमा २ अर्ब ३४ करोड र आगामी वर्ष २ अर्ब ८२ करोड रुपैयाँ ब्याज आम्दानी गर्ने लक्ष्य लिएको छ । जगेडा कोषको आकार २ अर्ब ११ करोड रुपैयाँबाट बढाएर ५ अर्ब ३ करोड रुपैयाँ पुग्ने बैंकको प्रक्षेपण छ । बैंकले निक्षेप परिचालन बढाएर ९५ अर्ब ९८ करोड रुपैयाँ पुग्ने बैंकको अनुमान छ । चालु आर्थिक वर्षमा निक्षेप बढेर ६८ अर्ब ३५ करोड र आगामी वर्ष ८१ अर्ब ३४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । बैंकले चालु आवको चैतसम्म ७० करोड ५ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले चुक्तापूँजी बढाउन १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्ने छ । बैंकले बैंशाख २८ गतेदेखि हकप्रद निष्कासन खुला गर्नेछ । हकप्रद निष्कासन बन्द जेठ ३१ गतेसम्मलाई तोकिएको छ ।  

सामसङका ग्राहकहरूलाई माइक्रोवेभ ओभन कुकिङ क्लास

काठमाडौँ । सामसङको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिद्वारा आफ्नो ग्राहकहरूका लागि माइक्रोवेभ ओभन ‘कुकिङ क्लास’ आयोजना गर्ने भएको छ। क्लास बैशाख १७ गते देउसो २ बजेदेखि दरबार मार्गको सामसङ प्लाजामा शुरु हुने जनाइएको छ । सामसङका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न मिठा परिकारहरू बनाउन सिकाउने उद्देश्यले कम्पनीले उक्त कुकिङ क्लासको आयोजना गर्न लागेको जानकारी दिएको छ । क्लास सामसङका प्रतिनिधिहरूले प्रदान गर्नेछ । क्लासको सहायताले सहभागीहरूले सामसङको माइक्रोवेभ ओभन प्रयोग गरेर विविन्न परिकारका खानेकुराहरू पकाउन सक्नेछन् विश्वास कम्पनीको छ । साथै सो अवसरमा पकाउँदा अपनाउनु पर्ने सम्पुर्ण सेफ्टीका विषयमा समेत जानकारी दिने आयोजकको भनाइ छ ।  

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु, एकै छानामुनी धातुकलादेखि पश्मिनासम्मकाे प्रदर्शनी

काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपमा १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ शुरु भएको छ । शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेलाको उद्घाटन गरेका हुन् । उनले उद्घाटनको क्रममा मुलुकमा लघु, घरेलु तथा साना उद्योगहरुको विकास आवश्यक रहेको बताए । ती उद्योगहरुको विकासलेनै मुलुकको आर्थिक समृद्धि हुने उनको भनाइ छ । लघु, घरेलु तथा साना र महिला उद्यमीका उत्पादनहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार सम्बद्र्धन, प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले मेलाको आयोजना गरेको हो । मेलामा एकै छानामुनी लघु घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादित एवम् छरिएर रहेका मौलिक वस्तुहरुको प्रदर्शनी रहेकाे छ । साथै  मेलामा बैंक तथा वित्तिय संस्था लगायत व्यवसायीक विकास प्रदायक स‌स्थाहरुको प्रदर्शनी, अन्तरक्रिया, सेमिनार लगायतका कार्यक्रमहरु रहनेछ । मेलामा काठ/ढुङ्गा/धातु कला, गलैँचा, राडीपाखी, अल्लो, लोक्ता लगायतका नविन तथा परम्परागत हस्तकला सामाग्रीहरुको प्रर्दशनी रहेका छन् । गलबारसम्म सञ्चालन हुने  मेलामा विभिन्न २५० स्टलहरु रहेको आयोजकले जानकारी दिएको छ ।

उच्च शिक्षाका लागि विदेश जानेको लर्काे, यो वर्षमात्रै ५६ हजार विद्यार्थी विदेशिदै

काठमाडौँ । नेपालमा नै उच्च शिक्षाका लागि अध्ययन गर्न विश्वविद्यालय भएपनि विदेशि जाने विद्यार्थीको लर्को लागेको छ ।यो वर्ष मात्रै नेपालबाट ५६ हजार २१६ जना विद्यार्थी विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान लागेका हुन् । विदेशमा अध्ययन गर्न जान शिक्षा मन्त्रालयबाट ५६ हजार बढी विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । नेपाल राष्ट्र बैंकबाट डलर सटही गर्नका लागि नोअब्जेक्सन लेटर चहिन्छ । नेपालमा विभिन्न १० वटा विश्वविद्यालय हुदाहुदै उच्च शिक्षाका लागि विदेशिनेको संख्या दिनानुदिन बढिरहेको सरकारी तथ्याँकले देखाएको छ । अध्ययनका लागि वर्षेनी अर्बौ रुपैयाँ विदेशिने गरेको छ । शिक्षा मन्त्रालयबाट आर्थिक वर्ष २०७४ भित्र अस्ट्रेलियाका लागि २८ हजार ६२४ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । जुन संख्या पछिल्ला वर्षहरुमा क्रमशः उकालो चढिरहेको छ । विभिन्न ७२ वटा देशमा ५६ हजार २१६ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । अस्ट्रेलियापछि जापान पनि विद्यार्थीहरुको रोजोराइमा परेको छ । यो वर्ष १० हजार ८४० जनाले नो अब्जेक्सन लेटर लिएका छन् । अमेरिका २ हजार ३४९, भारतमा १ हजार ९३३, र चीनमा १ हजार ९२२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । यस्तै युक्रेन, रोमानीया, कोरिया गणतन्त्र, लगायतका ६ वटा देशमा १/१ जनाले मात्र नो अब्जेक्सन लेटर लिएका छन् । दक्षिण एसियाका देशहरुको तुलनामा केही महंगो भए पनि अस्ट्रेलियामा सन् २०१२ यता अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या उकालो लागिरहेको छ । जुन अस्ट्रेलियामा पढ्न जाने नेपाली विद्यार्थीहरुको नो अब्जेक्सन लिने संख्याले पनि देखाउँछ । सो तथ्यांकमा नेपाल चीन, भारत र भियतनामपछि चौथो ठूलो अन्तर्रािष्ट्रय विद्यार्थी आउने देशमा परेको छ । नेपालपछि दक्षिण कोरिया र थाइल्याण्ड रहेका छन । नो अब्जेक्स लेटर दिने विभाग (एनओसी) का उपसचिव देविप्रसाद उपाध्याय अस्ट्रेलियामा सबै प्रकारको शिक्षा लिन पाइने भएका कारण त्यहाँ नेपाली विद्यार्थीको आकर्षण भएको बताउँछन् । अस्टे«लियामा सबै प्रकारको शिक्षाको ब्यवस्था र राज्य अनुसार फरक फरक शिक्षा प्रणाली छ,उनी भन्छन ’ब्यवसायिक, प्राविधिक र प्राज्ञिक शिक्षा सबै प्रकारका शिक्षाका अवसर पनि छ । त्यसैले धेरै नेपाली विद्यार्थीहरुको पहिलो रोजाइमा अस्ट्रेलिया पर्ने गरेको छ । उनका अनुसार अस्ट्रेलियामा विद्यार्थी क्षमता अनुसारकै शैक्षिक संस्था पाउने भएकाले पनि सबै विद्यार्थीहरु अटाउने गर्छन् । स्ट्रीमलाइन भिसा प्रणालीमा विश्वविद्यालयलाई नै धेरै अधिकार दिइएकाले पनि नेपाली विद्यार्थीहरुको अस्ट्रेलिया जाने संख्या बाक्लिएको हो । किनभने, यो प्रक्रियामा हाइ कमिसनले विद्यार्थीबारे धेरै खोजीनीति गर्दैन । उसले विश्वविद्यालय र कलेजहरुले आवेदन स्वीकृत गरेका विद्यार्थीहरुलाई निगरानी गर्न समेत आवश्यक ठान्दैन । जसका कारण विद्यार्थीहरुले भिसाका सबै प्रक्रियाहरु राम्रोसँग पूरा गरेमा भिसा लाग्ने सम्भावना सतप्रतिशत रहन्छ । अस्ट्रेलियामा भिसा लाग्ने शुनिश्चित जस्तै हुनु, अस्ट्रेलियामा नेपालीहरुको बढ्दो जनसंख्या, सहज भिसा प्रोसेसिङ, पोष्ट स्टडिज भिसा, राम्रो कमाईं, रोजगारीको अवसर र पीआर आकर्षणजस्ता कारण पनि अस्ट्रेलिया नेपाली विद्यार्थीहरुको शैक्षिक गन्तब्यको पहिलो सूचीमा पर्ने गरेको छ । अस्ट्रेलियापछि क्रमश जापान र संयुक्त राज्य अमेरिका पर्छन । उत्कृष्ट डिग्री, स्थायी बसोबास अवसरस र राम्रो आम्दानीका कारण नेपालीहरु अस्ट्रेलियातर्फ ओइरिनुका प्रमुख कारणहरु हुन् । यस बाहेक धेरै विद्यार्थीहरुले अस्ट्रेलियन सरकारले दिने अस एडमार्फत पनि अस्ट्रेलियामा उच्च शिक्षा लिने अवसर पाइरहेका छन् । के पढ्न जान्छन्  विदेशमा ? खासगरी अस्ट्रेलिया जाने विद्यार्थीहरुको छनोटको दायरा उति डाइर्सिफाइड छैन् । नेपालमा विज्ञान र मानविकी पढेकाहरुभन्दा कमर्स पढेकाहरुलाई बढी छनोटका अवसरहरु अस्ट्रेलियामा पाइन्छ । यसबाहेक नर्सिङ पढ्न जानेहरुको संख्या पनि उतिकै छ । नर्सिङमा अस्ट्रेलियामा आकर्षक कमाइ हुने र पिआर आवेदनका लागि पनि सहज नर्सिङ गरिरहेकाहरुका आकर्षण अझ बढी देखिन्छ ।  

१०० रुपैयाँमा पढ्न सकिने स्कूल भोजपुरमा पनि खुल्दै

काठमाडौं । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ । समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताए । विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिनेछ । यसअघि आवश्यक प्रक्रिया पूरा नभएको भन्दै भोजपुर नगरपालिकाले विद्यालय सञ्चालनमा रोक लगाएको थियो । पछिल्लो समय सञ्चालनको अनुमति पाएपछि व्यवस्थापनका लागि संस्थापक उत्तम सञ्जेल र विद्यालयका संरक्षक हास्यकलाकार हरिवंश आचार्य बिहीबार भोजपुर आइपुगेका थिए । यस विद्यालयले मासिक रु १०० मा नै अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ । स्थापना हुने स्कूल देशको ७५ औँ स्थानमा परेको छ । रासस

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुल्ने, शुल्क हजारदेखि साढे ३ हजारसम्म

काठमाडौं । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ ।   आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । अघिल्लो वर्षमा जेठ पहिलो र दोस्रो साताबीचको अवधिमा प्रवेशका लागि खुला गरिएको भएपनि यस वर्ष भने सम्पूर्ण सरोकारवालाको सल्लाहअनुसार जेठ १ गतेदेखिनै पाटन प्रवेशका लागि खुला गरिने निर्णय भएको संरक्षण अधिकृत रामदेव चौधरीले बताए । यार्सागुम्बा पाटन संकलन इजाजत पत्र वितरणका लागि निकुञ्ज र सम्बन्धित मध्यवर्ती क्षेत्रका कर्मचारीलाई विभिन्न नाकामा पठाउने तयारी भइरहेको समेत चौधरीले जानकारी दिएका छन् । यार्सागुम्बा संकलनका लागि तीन प्रकारका संकलन इजाजत पत्र वितरण गरिने भएकाले मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रु १ हजार, मध्यवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि रु २ हजार ५०० र जिल्ला बाहिरका सर्वसाधारणका लागि रु ३ हजार ५०० रकम तिर्नुपर्ने निकुञ्जले जनाएको छ । डोल्पामा रहेका यार्सागुम्बा पाटनमा पुगेर यार्सागुम्बा संकलन गर्नका लागि रुकुम, जाजरकोट, सल्यानलगायतका विभिन्न जिल्लाबाट वर्षेनि दशौँ हजार सर्वसाधारण डोल्पा पुग्ने गर्दछन् । यार्सागुम्बा पाटन खुला गरिएको एक महिने अवधिका लागि मात्रै प्रवेश संकलन इजाजत पत्र वितरण गरिनेसमेत निकुञ्जले जनाएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रहँदै आएको छ । रासस

निजी स्कुलकाे मनोमानी विरुद्ध विद्यार्थी संगठनले गुहारे स्थानीय सरकार, यसपाली वार/पारको संघर्ष

काठमाडौं । निजी विद्यालयहरुको चर्को शुल्क असुली विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरुले स्थानीय सरकार गुहारेका छन् । संबिधानले नै शिक्षा क्षेत्रको नियमन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएपछि विद्यार्थी संगठनहरुले आफ्नो आन्दोलनलाई स्थानीय सरकार तर्फ मोडेका हुन् । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल(छैठौं) र नेक्राबिसंघले संयुक्त रुपमा ७५३ वटै स्थानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएका हुन् । ‘संबिधानले नै स्थानीय तहले नै शिक्षा सम्बन्धी अधिकांश काम गर्ने जिम्मा दिएको छ, त्यसैले स्थानीय तह मार्फत नै शुल्क निर्धारण र नियमनको काम होस भनेर ज्ञापन पत्र बुझाएका हौं’, अनेरास्ववियुका सचिव सुदेश पराजुलीले भने । अर्का सचिव आरसी लामिछानेले केहि दिनभित्रै ७५३ वटै स्थानीय सरकारका प्रमुखलाई ज्ञापन पत्र बुझाईसक्ने बताए । निजी विद्यालयहरुको अनाधिकृत शुल्क असुली विरुद्ध स्थानीय सरकारसँग विद्यार्थी संगठनहरु पनि छन् भन्ने सन्देश दिनका लागि ज्ञापन पत्र बुझाएको उनले बताए । यसपालीको आन्दोलनले निजी विद्यालयहरुको अनाधिकृत रकम असुलीलाई निस्तेज पारेरै छाड्ने दावी पनि लामिछानेले व्यक्त गरे । भक्तपुरका मेयर सुनिल प्रजापतिलाई ज्ञापन पत्र बुझाएर केन्द्रिय अभियानका सुरुवात गरेका छन् । पोखरा, बिराटनगर, नेपालगञ्ज, बिरगञ्ज, हेटौँडा लगायतका मुल शहरका स्थानीय सरकार प्रमुखहरुलाई उनीहरुले आजै ज्ञापन पत्र बुझाएका छन् ।  

ओडारबाट घर सरे ८० वर्षे रुपसिंह चेपाङ

काठमाडौ‌ । नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ (प्रजा) बिहीबार बिहानसम्म उनी ओडारमै थिए । दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई सारेर नयाँ घरमा भित्र्याए । पिँडीमा हँसिलो मुद्रामा देखिएका रुपसिंहका सबै दाँत किराले खाएर कालै देखिन्थ्यो । आगन्तुकसँगै मज्जाले गफिँदै पनि थिए । ‘घर त बनायो, के खाएर बाँच्ने, खानेकुरो दिनुपर्यो, पैसा दिनुप¥यो, घर त टोक्न सकिन्दैन हजुर’ राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, वडाध्यक्ष, पत्रकारका अगाडी, उनले भने । ओडारमा बस्दा जंगली कन्दमुल खाने र छोरी ज्वार्इंले दिएको अनाज खाएर बस्थे रुपसिंह । माटोको गाह्रो र जस्ताको छाना भएको घर बनेको छ । घर उद्घाटनका लागि बिहीबार ध्वजा पताकासहित बेलुन फुलाएर रंगिन पारिएको थियो । अतिथिहरुका लागिसमेत गाउँमा भोज थियो । चितवनको विकट क्षेत्र राप्ती नगरपालिका–११ मा पर्ने साविक लोथर गाविसको युर्ती भन्ने स्थानमा पाखो बारीको कान्लोमा घर छ । माथि सडकबाट ढुंगो गुल्टियो भने सिधै घरको धुरीमा पुग्छ । पहिरो गयो भने घर नै पुरिने अवस्थाको छ । यसअघि पनि ओढारमा बस्दा पहिरोले पुरेकाले सानो प्वालबाट निस्किएको अनुभव स्थानीयवासी सुनाउँदै थिए । दशकौँदेखि ओडारमा बस्दै आएका रुपसिंहलाई यसपटक बेल्जियममा बस्ने चितवनका कृष्णप्रसाद रेग्मीलगायतले संकलन गरेर पठाएको करीब रु पाँच लाख लागतमा नयाँ घर बनाइएको थियो । बिहानसम्म ओडारमा बस्दै आएका उनी दिउँसोदेखि त्यही नयाँ घरमा सरेका थिए । उनललाई राप्ती नगरपालिकाकी प्रमुख बरालले घर सारीन् । रिबन काटेर बरालले घरको उद्घाटन समेत गरेकी थिइन् । घर निर्माण गरेकामा प्रशंसा गर्दै नगरप्रमुख बरालले अब गाउँ–गाउँमा सस्तोमा जग्गा बेच्नबाट रोक्न स्थानीयवासीलाई आग्रहसमेत गरिन् । चेपाङका लागि शिक्षा क्षेत्रमा आवासीय रुपमा स्थानीय सरकारले लगानी गर्ने समेत उनको भनाइ छ । घरमाथि खोरिया फाँडेकाले अब भने पहिरोको जोखिम भएको भन्दै उनले यसतर्फ सचेतसमेत गराइन् । घर भए पनि वृद्ध रुपसिंहलाई खाने अन्नको समस्या रहेको स्थानीय रुपेश चेपाङको भनाइ छ । ‘बास त दियो तर खाना छैन, अस्तिदेखि नै त्यही भन्दै हुनुहुन्छ”, रुपेशले दुखेसो पोखे । घर सरेपछि रुपसिंहको बस्ने ओडारमा बाख्रा र सुँगुर पनि सारिएको छ । चेपाङका अगुवा भ्mयापुराम प्रजाले ओडारमा बस्ने चेपाङका लागि घर बनेकामा खुशी व्यक्त गरे । यस्तै सहयोग अन्तबाट पनि आउनुपर्ने उनको भनाइ थियो । घर सार्ने कार्यक्रममा स्थानीय चेपाङले गिँठा, भ्याकुर र चिउरीको माला लगाइ दिएर अतिथिलाई स्वागत गरेका थिए । सोही क्रममा चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्मा र पत्रकार तुलमान गुरुङलाई सम्मान गरिएको थियो । जोखिम क्षेत्रका भूकम्पपीडितले पाए जग्गाधनी पूर्जा भूकम्पबाट जोखिममा परेको चितवनको विकट बस्ती एसिखाई र तापाङका १३ घरपरिवारले कालिटारको सुरक्षित स्थानमा जग्गाधनी पूर्जा प्राप्त गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनले विकट क्षेत्र राप्ती नगरपालिका–१३ कालिटारमा पुगेर जग्गाधनी पूर्जा वितरण गरेको हो । सो इकाइका आयोजना प्रमुख पुष्कर पोखरेलले यहाँको जोखिम बस्ती एसिखाईका ११ र तापाङका दुई गरी १३ परिवारलाई घर निर्माणका लागि जग्गाधनी पूर्जा उपलब्ध गराइएको बताए । उनकाअनुसार विभिन्न ऐलानी जग्गामा राहत वितरणमा समस्या परेको भन्दै स्थानीय तहले सूचीकृतका लागि समन्वय गर्नु आवश्यक छ । जग्गा धनी पूर्जा लिन चेपाङ जोखिम बस्तीबाट झरेर बिहीबार कालिटार आएका थिए । जग्गाधनी पूर्जा लिँदै भीमबहादुर प्रजाले घडेरी पाएपछि अब घर कसरी बनाउने भन्ने चिन्ता भएको बताए । यसरी पूर्जा पाउनेमा भीमबहादुरसहित सन्तलाल प्रजा, दिलबहादुर प्रजा, भीमलाल प्रजा, रामबहादुर प्रजा, आइतराम प्रजा, मनिलाल प्रजा, लालीमायाँ प्रजा, फूलमायाँ प्रजा, इन्द्रलाल प्रजा, चन्द्रबहादुर प्रजा, विमायाँ प्रजा रहेका छन् । राप्ती नगरपालिकाको प्रमुख बरालले उनीहरुलाई पूर्जा वितरण गर्दै समयमै घर निर्माण गर्न आग्रह गरिन्। उनीहरुलाई प्रतिघर १२ दशमलव ८५ धुर जग्गा उपलब्ध गराइएको छ । हरेक घडेरी रु दुई लाखका दरले आयोजनाले खरिद गरेर उपलब्ध गराइएको हो । आगामी असारसम्ममा घरको डिपिसी गरेर भूकम्प लाभग्राहीले दोस्रो किस्ता बराबरको रु एक लाख ५० हजार रकम पाउने भएकाले घर निर्माणलाई तीव्र बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले आग्रह गरे । उनले उक्त जग्गा १० वर्षसम्म बेचबिखन गर्न नपाउने बताए । उनका अनुसार जिल्लाका १०३ घर स्थानान्तरण गर्नुपर्नेमा २१ घरले जग्गाको पूर्जा पाएको र ४२ परिवारको प्रक्रियामा रहेको छ । प्राधिकरणका इन्जिनियर सुजन नेपालले करीब रु साँढे ४ लाख मुल्यमा नक्साअनुसारको घर तयार हुने भएकाले रु ३ लाखको अनुदानबाहेक अरु पैसा भने स्वयंले नै व्यहोर्नुपर्ने बताए । रासस