नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण
काठमाडौँ । धितोपत्र बजारमा यस साता ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडका अनुसार यस साता कूल १८२ कम्पनीको १ करोड १ लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १४.८६ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको ४ अर्ब ८ करोड ८७ लाख ५७ हजार बराबरका ८८ लाख ५९ हजार ४१० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१.२७ अंकले घटेर अन्तिम दिन १३५७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १७ अंकले घटेर २८७ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १९ करोड १५ लाख १० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा राम्रो नाफा गरेपछि प्रतिफल पाइने आशामा लगानीकर्ताले नेपाल बैंकको सेयर किनेका हुन् । ९ महिनामा बैंकले २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ । यस्तै बैंकको सेयर सस्तो भएको र जोखिम पनि न्यन देखिएपछि नेपाल बैंकको सेयर बढी कारोबार भएको ब्रोकरको भनाई छ । बैंकले सर्वसाधारणलाइ लक्षित गरी थप निष्कासन (एफपीओ) ल्याउदै छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ७ लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ । रासस
पूर्वाधारमा एक करोड ५० लाख बढी लगानी, पर्यटनकाे विकासमा जाेड
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले सौराहा र कुमरोजको पर्यटनलाई जोडेर पर्यटन पूर्वाधार विकासमा लगानी बढाएको छ । खैरहनी नगरपालिकाको धेरै क्षेत्र पर्यटकीय सम्भावना बोकेकाले यसतर्फ ध्यान केन्द्रित गरी पर्यटन पूर्वाधारमा लगानी बढाएको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिएका छन् । उनका अनुसार अहिले पहिलो चरणमै नगरपालिकाले यहाँका विभिन्न क्षेत्रको पर्यटकीय पूर्वाधारको विकासका लागि एक करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्न लागेको छ । पर्यटकलाई एकरात खैरहनीमै राख्ने योजनाका साथ पर्यटन पूर्वाधारमा लगानी बढाइएको हो । केही योजना शुरुसमेत भइसकेका छन् । “कतिपय कार्यक्रम शुरु भए, कतिपय शुरु हुन बाँकी छ, नगरप्रमुख चौधरीले भने, अब एकदिन पर्यटकको बास खैरहनीमै राख्ने गरी पर्यटकीय पूर्वाधार बनाइन्छ ।” चितवनको खैरहनी नगरपालिकाको कुमरोज क्षेत्र सौराहापछिकै पर्यटकीय केन्द्रका रुपमा विकास भइरहेको छ । पर्यटकले सौराहामा पाउने मनोरञ्जन लगभग सबै कुमरोजमा नै पाइने कुमरोज वनका अध्यक्ष हिराबहादुर गुरुङ बताउँछन् । त्यसैले सौराहासँग जोडेर खैरहनीको कुमरोज, कठार लोथर र कंकालीकोटसम्मको पर्यटक पूर्वाधार विकासमा खैरहनी नगरपालिका लागेको छ । नगरपालिकाले दिएको जानकारीअनुसार पूर्वी चितवनको कंकाली क्षेत्रमा यसअघि निर्माण भएको वनभोज स्थलको स्तरोन्नति गरी पर्यटकीय पूर्वाधार निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएकोे छ । यहाँ भइरहेको संरचनालाई मर्मत सम्भार गरी आकर्षक पार्क बनाइने नगरप्रमुख चौधरीले बताए । यस्तै ५९ लाख रुपैयाँमा कंकाली सामुदायिक वनको माथि दुईवटा भ्यू टावरसमेत बनाइँदै छ । कंकाली पार्कबाट कंकालीगढी जानका लागि पर्यटकलाई आगामी वर्ष घोडा सयर गराउने योजना रहेको चौधरी बताउँछन् । कंकाली र अजिङ्गरे क्षेत्रमा आकर्षक पोखरीसमेत निर्माण गरेर डुंगा सञ्चालन गर्ने योजनासमेत खैरहनी नगरपालिकाले अघि सारेको छ । पर्यटकीय क्षेत्र कुमरोजमा अहिले पनि पर्यटकले हात्ती, जिप तथा डुंगा सफारीमा पर्यटक रमाउँदै आएका छन् । यहाँ आएका पर्यटक बाघ, गैँडा, हात्ती, चित्तललगायत संरक्षित वन्यजन्तु अवलोकन गर्न सक्छन् भने राप्ती नदीमा डुंगा सयर गरेर सुतिरहेका गोही र पानी खान आएका वन्यजन्तु सजिलै देख्न सक्छन् । कुमरोजमा अझै पर्यटकीय पूर्वाधार विकासका लागि भनेर अहिले खैरहनी नगरपालिकाले ४० रुपैयाँ लाख बजेट विनियोजन गरेको छ । उक्त रकमले टावर निर्माण गरिने छ । यहाँ रहेको बोटे ताल र दराई तालको पुनःनिर्माणका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको नगरपालिकाले जानकारी दिएको छ । यस्तै कठारको कुचकुचे मध्यवर्ती सामुदायिक वनमा समेत पर्यटन प्रवद्र्धनका लागि जिप सफारी शुरु भइरहेको नगरप्रमुख चौधरीले बताए । अब कुमरोज, कुचकुचेर कंकालीलाई जोडेर खैरहनीको पर्यटकमा नयाँ आयाम थपिने विश्वास नगरपालिकाको छ । पूर्वाधार निर्माणपछि खैरहनीले होमस्टेको विकासमा ध्यान दिने जनाइएको छ । हाल पनि चितवनको कुमरोज, कठार क्षेत्रमा दुई दर्जन होमस्टे सञ्चालन भइसकेका छन् । बूढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिनाले यहाँको होमस्टेमा पर्यटक आएर बस्ने गरेको बताएका छन्। कुमरोजमा ठूला होटल निर्माणको क्रमसमेत शुरु भएकाले पर्यटकीय गतिविधि बढ्दो रहेको कुमरोज वनका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिए । उता जिप सफारी र शुरु भएपछि कठार क्षेत्रमा समेत पर्यटकीय चहलपहल बढेको स्थानीय संरक्षणकर्मी एवं नेचर गाइड रामेश्वर चौधरीले बताए । रासस
शनिबार मात्रै उपत्यकाबाट ३४ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौं । शनिबार(आज) उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३४ मेट्रिक टन फोहर व्यवस्थापन भएकाे छ। वाग्मती सफाइ महाअभियानको २५९औँ हप्तामा आज सिनामंगलअघिको नदी क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाईलगायत संस्थाका गरी २५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले जानकारी दिए । सफाइमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलगायतका अभियानकर्मीको सहभागिता थियो । वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२०औँ हप्ताको कार्यक्रमअन्तर्गत आज कागेश्वरी मनोहरा नगरपालिकास्थित कोलमतेश्वर महादेव मन्दिर र त्यसअघिको नदी किनारमा सफाइ गरियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले बताए । फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गर्यो । सफाइमा पुडासैनीमैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत स्थानीयवासी गरेर १०० भन्दा बढीको सहभागिता थियो । सफाइमा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख बिन्दु सिम्खडा, विभिन्न विद्यालयका विद्यार्थीको पनि सक्रिय सहभागिता थियो । रुद्रमती सफाइको २१४औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा २०० भन्दा बढी अभियन्ता सक्रिय थिए । तिलगंगाखण्डको वाग्मती सफाइको १६२औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सो अवसरमा घर घरमा गएर जनचेतनामूलक अभियानसमेत गरिएको थियो । विष्णुमती सफाइ अभियानको १८६औँ हप्तामा टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित मनमैँजु पुल क्षेत्र सफाइ गरियो । आजको सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता अनिल धरेलले जानकारी दिएका छन् । चक्रपथ सफाइको ५५औँ हप्तामा आज तिलगंगाबाट गौशालासम्म सफाइ गरियो । सफाइमा क्रममा सडक र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा पनि भत्काइयो । तिलगंगा आँखा केन्द्रले सार्वजनिक जग्गा मिचेर बनाएको टहरा भने आजैदेखि आफैँ भत्काउन शुरु गरेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए । सफाइ शुरु गर्ने समयमा पानी परे पनि आजको चक्रपथ सफाइबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको जनाइएको छ । काठमाडौं महानगरपालिका वडा नं ३१ स्थित आलोकनगर सफाइको ५५औँ हप्तामा मातृशक्ति सफाइ समूहले डष्टबिन व्यवस्थापन, घरदैलो जनचेतनामूलक अभियान सञ्चालन गर्यो । वर्षाद्सँगै गरिएको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक प्रमिला पौडेलले जानकारी दिएका छन् । चक्रपथ बाफल खण्ड सफाइको ३७औँ हप्तामा सीतापाइलाचोकमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ । रासस
राष्ट्रिय वाणिज्य बैंकले कमायो सबैभन्दा बढी नाफा, ९ महिनामै ३ अर्ब ८ करोड
काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ । जुन रकम अघिल्लो वर्षको तुलनामा एक अर्ब रुपैयाँ बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणका अनुसार बैंकको ब्याज आम्दानी बढेर ८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १९ करोड रुपैयाँ रहेको छ । गत त्रैमासमा बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । त्यस्तै, बैंकको कूल निष्क्रिय कर्जा घटेर १३५.४५, कर्जा/स्वदेशी निक्षेप तथा प्राथमिक पूँजी अनुपात (सीसीडी रेसियो) ७३.६२ र आधार ब्याजदर ६.२०० प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । हाल कम्पनीले एक खर्ब ५३ करोड रुपैयाँ निक्षेप परिचालन गरी एक खर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
मोनोरेल सञ्चालनमा चिनियाँ कम्पनी सीआरसीसीको प्रस्ताव, काठमाडौंमा २ वर्षभित्र कुदाउने
काठमाडौ । काठमाडौंमा मनोरेल सञ्चालनका लागि आवश्यक पुर्वाधार निर्माण गर्न एक चिनियाँ कम्पनीले प्रस्ताव गरेको छ । काठमाडौँ महानगरापालिकामा मोनोरेल सञ्चालनका लागि सीआरसीसीले काठमाडौँं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए । उहाँले भने “चक्रपथको २८ किलोमिटर सडकमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि कामपाका प्रमुख विद्यासुन्दर शाक्यसँग छलफल भइरहेको छ ।” उक्त योजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न माग प्रस्तावमा गरिएको छ । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्र्याक र आठ वटा पुल बन्ने प्रस्ताव गरिएको छ । रासस
योजना आयोगले अव पैसा बाड्दैन- उपाध्यक्ष कँडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले योजना आयोगले पैसा बाँड्ने भन्दा पनि अब निति र योजना बाँड्ने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय ब्यवस्थापन बिभागद्धारा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. कँडेलले योजना आयोगलाई पुरानो ढर्रा भन्दा माथि उठेर समावेशी तरिकाले अघि बढाउने स्पष्ट पारेका हुन् । उनले अब सिहंदरवारमा बसेर योजना बनाउने प्रबृत्ति भन्दा माथि उठेर मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र निति निर्माण गरिने बताएका हुन । उनले त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापन बिषयमा उच्च अध्ययन गरेका जनशक्तिलाई सम्वोधन गदै मुलुकमा कुशल ब्यवस्थापकको खाँचो रहेको औल्याए । उनले केन्द्रिय विभागले आयोजना गरेको म्याराथुन दौडमा उत्कृष्ट धावकलाई पुरस्कार बितरण गदै बिभिन्न प्रतियोगिताका सहभागीहरुलाई सम्मान पनि गरेका थिए । कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय ब्यवस्थापन बिभागका प्रमुख प्रा डा भोजराज अर्यालले बिश्वबिद्यालयको ब्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समय सापेक्ष बनाउन सरकारले आावश्यक स्रोत साधनको ब्यवस्थापन गर्नु पर्ने बताए । मध्य पश्चिमाञ्चल बिश्वबिद्यालयका उपकुलपति डा उपेन्द्र कोइरालाले ब्यवस्थापन शिक्षालाई नेतृत्व तह सम्म पुर्याउन शिक्षा प्रणालीलाई थप जिम्मेवारपुर्ण बनाउनु पर्ने बताए ।
नेपाल–भारतबीच व्यापार–पारवहन सन्धि पुनर्विचार हुने
काठमाडौं । मंगलबारदेखि राजधानीमा जारी नेपाल र भारतबीचको उच्चस्तरीय आईजीएससी र आईजीसी वैठक सकिएको छ । वैठकमा दुई देशबीचको व्यापार र पारवहन सन्धिलाई पुनर्विचार गर्नेदेखि जोईन्ट विजनेश फोरम अघि बढाउनेसम्मको सम्झौता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले मुख्यगरी दुई देशबीच हालसम्मको व्यापार र पारवहन सन्धिलाई पुनर्विचार गर्ने सम्झौता भएको बताए । नेपाल र भारतसँगको व्यापार तथा पारवहन क्षेत्रमा भएको ग्यापलाई भर्ने, मुलुकको व्यापार घाटालाई सम्बोधन गर्दै आवश्यक मोडालीटी तय गर्न पनि दुई देशबीचको व्यापार र पारवहन पुनर्विचार गर्नु पर्ने उनको भनाइ छ । त्यस्तै वैठकमा पछिल्लो समय नेपाल र भारतको सिमानामा भोग्नु परेको अदुवा लगायतको कृषिजन्य वस्तुको अवरोध हटाउने, भारतबाट आउने रेलवे र्याकको समस्या समाधान गर्न नेपालको लागि छुट्टै र्याकको कोटा निर्धाराण गर्ने, जडिबुटीजन्य पदार्थको निर्यातमा लाग्दै आएको अनावश्य शुल्क हटाउनु पर्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रिय मान्यता प्रप्ता प्रयोगशालाबाट पिरिक्षण गरिएको प्रोडक्टहरुको परिक्षणलाई मान्यता दिनु पर्ने विषयमा सम्झौता भएको छ । भारतमा रहेको नेपाली विद्यार्थी, पेन्सन होल्डर लगायत नेपालीहरुको बैंक खाता खोल्न सहजता प्रदान गर्ने, नेपालगन्ज, भैरवा, विराटनगरको एकिकृत जाँच चौकी (आईसीपी)को चाँडो निर्माणकार्य गर्न पर्ने, भारतको रेल प्रमुख भन्सार नाकासम्म ल्याउनु पर्ने, सीमा क्षेत्रको खराब सडकको सुधार गर्नुपर्ने सम्बन्धि समेत सम्झौता भएको मन्त्रलायको भनाइ छ । मन्त्रालयको अनुसार लगानी आकर्षण गर्न, वातावरण बनाउन लगायतका लागि नेपाल र भारतबीच जोईन्ट विजनेश फोरम आगडी बढाउने समेतको सम्झौता भएको छ । साथै नेपालमा रहेको ५ सय र १००० को साढे ४ करोडभन्दा बढी भारु नोटलाई साट्ने सम्बन्धमा पनि भारतीय उच्च अधिकारीहरुको ध्यानाकर्षण वैठकमार्फत गराइएको वैठकमा सहभागी मन्त्रालयका उच्च अधिकारीहरुको भनाइ छ । वैठकमा भारतले भने नेपालमा गरिने लगानीको सुरक्षामा जोड दिएको थियो । भारतीय लगानी घट्दै गएको महशुस गर्दै लगानी सम्बन्धि उचित कानून ल्याउन पर्ने समेत भारतीय उच्च अधिकारीहरुको भनाइ थियो । मन्त्रालयका अनुसार वैठकमा भारतीय श्रमिकहरुलाई श्रम स्वीकृति दिन सहज बनाउन पर्ने लागयतका सम्बन्धमा समेत छलफल भएको थियो । वाणिज्य मन्त्रालयको सचिव स्तरिय (आइजीसी)को वैठक हुदै आएपनि लामो समयपछि मात्र सह–सचिव स्तरिय (आइजीएससी)को वैठक सम्पन्न भएको छ । ६ वर्षअघि सन् २०११ यता आइजीएसको वैठक हुन सकेको थिएन ।
केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गः ओली सरकारले चीन पठायो कर्मचारीको लक्की सेभेन टोली
काठमाडौं । केरुङ–काठमाडौं–पोखरा लुम्बिनी रेलमार्गबारे चिन सरकारसँग छलफल गर्न उच्चस्तरिय नेपाली टोली चीन प्रस्थान गरेको छ । भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा ७ सदस्यिय टोली चीन गएको हो । टोलीमा भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्राबिधिक तथा रेल विभागका कर्मचारी समेत सहभागी रहेका छन् । उनीहरुले चीन सरकारको उच्च नेतृत्वसँग केरुङ–काठमाडौं–पोखरा लुम्बिनी रेलमार्ग निर्माणबारे छलफल गर्नेछ । २०७४ भदौ अन्तिम साता तत्कालिन परराष्ट्र मन्त्री कृष्ण बहादुर महराको चीन भ्रमणका क्रममा सो रेलमार्ग निर्माणबारे सहमति भएको थियो । कात्तिक अन्तिम साता चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्यययन गरेर भौतिक पुर्वाधार मन्त्रालयसँग माइन्युटमा हस्ताक्षर गरेको थियो । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भर्खरै सम्पन्न गरेको चीन भ्रमणका क्रममा पनि सो रेलमार्ग निर्माणबारे छलफल भएको थियो । मन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माण गरिदिन आग्रह गरेका थिए भने चीनले डिपिआरसम्म निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गरेको थियो । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका प्रवेश गर्नेछ । रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेको रेल काठमाडौंबाट धादिङको कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्काे लाइन लुम्बिनी लाग्नेछ । काठमाडौं-रसुवागढी यात्रा एक घण्टामै ! रेल मार्गले काठमाडौंबाट चिनियाँ नाका केरुङको दुरी एक घण्टामै सिमित गराउनेछ । यस अघि चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुरुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको थियो । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुने उल्लेख गरेको थियो । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने कम्पनीको प्रस्तावमा उल्लेख छ । यो रेल वे रसुवागढीबाट काठमाडौं आइपुग्दा ९० दशमलब २ किलोमिटर सुरुङ भित्र रहनेछ भने ६ दशमलब ५४ किलोमिटर पुलमाथी गुड्नेछ । बाँकी ८ दशमलब २६ किलोमिटर दुरी मात्रै जमिनमा रहनेछ । यसरी निर्माण हुने रेलको बिभिन्न स्थानमा ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोश्रो स्टेशन स्याफ्रुबेसीमा र तेश्रो स्टेशन ग्राङमा निर्माण हुने उल्लेख छ । चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्ने उल्लेख छ । यो रेलले बार्षिक १ करोड ५० लाख टन समान बोक्न सक्छ । रेलले दैनिक चार पटक रसुवागढी–काठमाडौं यात्रा गर्न सक्नेछ । कम्पनीले १८ अर्ब चिनियाँ मुद्रा खर्च गरेर त्यस्तो रेल बनाउन सकिने प्रस्ताव अघि बढाएको थियो । चाइना रेल वे इन्टरनेशनलको सो प्रस्ताव रेल विभागमा २०७३ पुस ११ गते २३६ नम्बरमा दर्ता गरिएको थियो । सो कम्पनीले ३० प्रतिशत नेपाल सरकारले लगानी गर्ने र ७० प्रतिशत चीन सरकारले सहुलियत ऋण उपलब्ध गराउने मौखिक प्रस्ताव गरेको थियो ।