विकासन्युज

९ अर्ब खर्चेर ६४ हजार युवालाई सीप सिकाइँदै, बन्लान त स्वरोजगार ?

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ६६ हजार युवालाई लक्षित गरी सीप प्रमाणिकरण कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । सीटीईभीटी अन्तर्गतको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) ले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यो कार्यक्रमका लागि ९ अर्ब रुपैयाँ लगानी हुने सीटीईभीटीले जनाएको छ । यो कार्यक्रम दुई चरणमा विभाजन गरी संचालन हुने भएको छ । पहिलो चरण सन् २०१९ देखि २०२० सम्म र त्यसपछि २०२६ सम्म दोस्रौ चरण सञ्चालन हुने छ । पहिलो चरणमा ३६ हजार लाभान्वित हुने छन् । दोस्रौ चरणमा ३० हजार लाभान्वित हुनेछन् । तालिममा सरकारले १० प्रतिशत लगानी गरेको छ । पहिलो चरणको तालिम नेपालगन्ज र विराटनगरमा संचालन हुने छ । इन्स्योरले उद्योग, कलकारखाना, होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने सुविधाविहीन कामदारलाई लाक्षित गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । योजनामार्फत इलेक्ट्रिकल–इलेक्ट्रोनिक, मेकानिकल, अटोमोबाइल, होटल र पर्यटन क्षेत्रमा काम गरिरहेका कामदारलाई लक्षित गरी तालिम तथा प्रमाणपत्र वितरण गर्नेछ । रोजगारीमा रहेका तर सीपको प्रमाणपत्र नभएका रोजगार कामदारलाई समेट्ने परियोजनाको लक्ष्य छ । परियोजनाका लागि स्वीट्जरल्यान्ड सरकारले करिब ९ अर्ब रुपैयाँ सहयोग गरेको छ । परियोजना १० वर्षका लागि सञ्चालन गरिने भए पनि हालको कार्यक्रम भने ४ वर्षको रहनेछ । परियोजनाले सञ्चालन गर्ने कार्यक्रममा १३ हजारभन्दा बढी हाल काम गरिरहेका कामदारको सीपको पहिचान गरी त्यसको प्रमाणीकरण गर्ने र आवश्यक थप सीप अभिवृद्धि गरिने सीटीईभीटीका सूचना अधिकारी मनोज न्यौपानेले जानकारी दिए । यसैगरी ४० हजार युवाले वृत्तिविकास परामर्श प्राप्त गरी चाहनाअनुरूपको आवश्यक सीप छनोट गर्न तयार हुने परियोजनाको अनुमान छ । परियोजनाबाट खासगरी कामको खोजीमा रहेका युवा तथा काम गर्दै गरेका तर सीपको मान्यता प्राप्त नगरेका कामदार लाभान्वित हुनेछन । तालिम परियोजनाले सुरुका दिनमा निर्माण व्यवसाय र पर्यटन क्षेत्रमा कार्यक्रम सुरु गरेको थियो ।  

अखिलका कार्यवाहक अध्यक्ष भन्छन्ः महंगो शुल्क लिने विद्यालय सञ्चालकलाई इन्काउण्टर गर्नुपर्छ

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले महंगो शुल्क असुल्ने निजी विद्यालयका सञ्चालकहरुलाई इन्काउण्टर गर्न माग गरेका छन् । उनले कानुन हातमा लिने गुण्डा नाइके र शुल्क आतंक मच्चाउने निजी विद्यालय सञ्चालक उस्तै अपराधी भएकाले इन्काउण्टर गर्नुपर्ने र्तक अघि सारेका हुन् । उनले शनिबार बिहानै आफ्नो फेसबुकमा लेखेका छन्–कानुन हातमा लिएर समाजमा आतंक फैलाउने गुण्डा नाइके हरुलाइ इन्काउटर गर्ने सरकारले शिक्षा पनि कानुन लाई हातमा लिएर शुल्क आतंक मच्चाउनेहरुको सस्थालाई इन्काउन्टर गरोस् । उनले कानुन हातमा लिने गुण्डा नाइके र कानुनकै उल्लंघन गरेर शुल्क आतंक मच्चाउने निजी विद्यालय सञ्चालक उस्तै अपराधी भएकाले गुण्डा नाइकेलाई इन्काउण्टर गर्ने सरकारले विद्यालय सञ्चालकलाई पनि इन्काउण्टर गर्नुपर्ने धारणा राखेका हुन् । फेसबुकमा बर्ताैलालाई धेरैले खुट्टा नकमाउने आग्रह गरेका छन भने कतिपयले विद्यार्थी नेतालाई नै इन्काउण्टर गर्नुपर्ने समेत लेखेका छन् । बर्तौलाको फोष्टमा राजेन्द्र बिष्टले लेखेका छन्–तिनै शिक्षण संस्थालाई मलजल गर्ने विद्यार्थी नेताहरुलाई पनि इन्काउण्टर गरियोस् ।

मेगा बैंकको संचालन मुनाफा १ अर्ब ४ करोड, ५२ प्रतिशतले बढ्यो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको संचालन मुनाफा १ अर्ब ४ करोड रुपैँया पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा मेगा बैंकको संचालन मुनाफा ६८ करोड १९ लाखबाट बढेर १ अर्ब ४ करोड पुगेको हो । जुन ५२ दशमलव ९७ प्रतिशतको वृद्धि हो । कुल संचालन आम्दानी ५३ दशमलव ३४ प्रतिशतले बढेको मेगा बैंकले जनाएको छ । यसैगरी, दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद ब्याज आम्दानी ५३ दशमलव ७१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी दोस्रोमा ८४ करोड ६३ लाख रहेकोमा तेस्रो त्रैमासिकमा १ अर्ब ३० करोड पुगेको हो । तेस्रो त्रैमासिकसम्म आइपुग्दा बैंकले ५२ करोड ४९ लाख मुनाफा आर्जन गरेको छ । पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख कमाएकोमा दोस्रोमा पुग्दा ३९ करोड ३६ लाख मुनाफा पुगेको थियो । मर्जरकै कारण केही बैंकहरुको वित्तीय विवरणहरुमा सुधार देखि रहँदा टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको वित्तीय आकार र सूचकहरु पनि थप सुदृढ हुने देखिएको छ । नेपाल राष्ट्र बैंकका साथै कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेको मेगा बैंक र टुरिजमबीच यथाशिघ्र संयुक्त कारोबारको तयारी भइरहेको बैंक स्रोतले बताएको छ । ‘मर्जरपछि मेगा बैंक पुँजीका आधारमा नेपालकै ठूलो बाणिज्य बैंक मध्येको एक बन्नेछ, हाम्रो नेटवर्क र व्यापार पनि बढ्नेछ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भनिन्, ‘हाम्रो पहिलो प्राथमिकता मर्जर नै हो । संयुक्त कारोबारमा केही ढिलाई नभएको भए बैंकको नाफा तथा अन्य सूचकांकमा अझ सकारात्मक प्रभाव पर्ने थियो, अब मर्जरपछि बैंकले नयाँ गति पाउने छ ।’

प्रधानमन्त्रीले भने: टेलिकम प्रतिष्पर्धामा पछाडि पर्ने लक्षण देखिइसकेको छ, सेवामा सुधार गर्नुहोस्

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले टेलिकमभित्र मुसा वा सो प्रवृत्तिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद् रहेको उल्लेख गर्दै भने, “टेलिकमभित्र यस्ता प्रवृत्ति हावी भएको देखिन्छ । यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।” प्रधानमन्त्री ओलीले टेलिकमका प्राविधिक शाखामा २४ सै घण्टा सेवा कर्मचारी खट्नुपर्ने र त्यस्ता शाखामा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । टेलिकम नाफाका लागिमात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाए । “यस कामका बारेमा गुनासा आएका छन् । यसको काम जहाँ पुगेको छ त्यहीँ रोक्नुहोस्”, प्रधानमन्त्री ओलीले भने, “यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौँला ।” प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिष्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिए। “टेलिकम प्रतिष्पर्धामा पछाडि पर्ने लक्षण देखिएका छन्”, उहाँले भनृ, “त्यस्तो हुनु भएन । सेवामा सुधार गर्नुहोस् ।” टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गरे । “सेवा सुधारको प्रस्ताव ल्याउनुहोस्, चुहावटको प्रस्ताव ल्याउनुहोस्”, प्रधानमन्त्री ओलीले भने, “अनियमितता नगर्नुहोस् । गर्नेलाई नछोड्नुहोस् ।” छलफलमा प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलगायतको उपस्थिति थियो । रासस

नारायणगढ–मुग्लिन सडकको लागत बढेर ३ अर्ब पुग्यो

चितवन, १४ वैशाख । नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्य बढेको छ । निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य ३१ करोड ५२ लाख ६ हजार १८१ रुपैयाँ बढेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार शुरुमा २ अर्ब ८८ करोड ७० लाख १४ हजार २१० रुपैयाँमा ठेक्का दिइएकोमा लागत मूल्य बढेसँगै ३ अर्ब २० करोड २२ लाख रुपैयाँ पुगेको छ । खनालका अनुसार तीन भागमा विभाजन गरेर ठेक्का दिइएको उक्त सडकखण्डको पहिलो खण्डको करीब ६० करोड ६१ लाखबाट बढेर ६८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । खण्ड खमा करीब ९७ करोड ६७ लाखबाट वृद्धि भएर १ अर्ब १० करोड र खण्ड गमा सबैभन्दा बढी १ अर्ब ३० करोडबाट बढेर १ अर्ब ४१ अर्ब पुगेको खनालले बताए । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु र कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार थपिएको भित्तो कटाइ, पहिरो पन्छाइ, पर्खाल लगाउने काम, बोलपत्रभन्दा स्तरीय नाली निर्माण र कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो । लागत मूल्य बढेसँगै प्रगति प्रतिशत भने घटेको छ । हालसम्म सडकको ८० प्रतिशत मात्रै सम्पन्न भएको देखिन्छ । यसअघिको कूल लागत मूल्यका आधारमा ९० प्रतिशत काम भए पनि लागत मूल्य बढेपछि प्रगति प्रतिशत घटेको हो । हालसम्म पहिलो खण्ड ७९.७५ , दोस्रो खण्ड ९१ र तेस्रो खण्ड ७७.८ प्रतिशत काम सम्पन्न भएको छ । ३३.२ किमीको उक्त सडकखण्डको हालसम्म ३० किमी कालोपत्रे भइसकेको छ । सो सडकको नारायणगढबाट १६ किमीसम्म ११ मिटर फराकिलो कालोपत्रे गरिँदैछ भने त्यसउता नौ मिटर फराकिलो हुँदैछ । विसं २०७२ वैशाखतिर २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस

प्राइम कर्मर्शियल बैंक रसुवाको कालिकामा, शाखा संख्या ६१ पुग्याे

काठमाडौं । प्राइम कमर्शियल बैंकले रसुवाको कालिका गाउँपालिकामा शाखा विस्तार गरेको छ । सो शाखाको सञ्चालक गजेन्द्र विष्टले उद्घाटन गरेका छन् । यो समेत गरी बैंकको शाखा संख्या ६१ पुगेको छ । बिहीबार मात्रै बैंकले विभिन्न स्थानमा ४ वटा शाखा कार्यलय सञ्चालनमा ल्याएको थियो ।

गभर्नर भन्छन्-वित्तिय क्षेत्रमा अनुशासन कायम गराउन सफल भएँ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तिय क्षेत्रमा अनुशासन कायम गराउन सफल भएको दावी गरेका छन् । राष्ट्र बैंकको ६३ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले वित्तिय क्षेत्रमा अनुशासन कायम गराउन केन्द्रिय बैंक सफल भएको बताएका हुन् । यसो भने गभर्नर डा. नेपालले मौद्रिक व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र आधुनिक बनाउने कार्य भएको छ । ब्याजदर करिडोरमा गरिएको सुधारसँगै अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको परिधीमा कायम गरिएको छ । कृषिमा व्यवसायीकीकरण बढाउन युवालाई दिइने ब्याज अनुदान सम्बन्धी कार्यबिधीलाई थप सुधार गरिएको छ, उत्पादनशिल क्षेत्रलाई प्राथमिकतता प्राप्त क्षेत्रका रुपमा पुनः परिभाषित गरिएको छ । सट्टेबाजीमा वित्तिय साधन केन्द्रित नहोस भनेर रियलस्टेट कर्जा उपत्यकाभित्र बढिमा ५० प्रतिशत कायम गरेका छौं । सेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जालाई प्राथमिक पुँजीको ४० प्रतिशत मात्र प्रवाह गर्न पाउने र एउटै कम्पनीमा आफ्नो प्राथमिक पुँजीको १० प्रतिशत मात्रै दिन पाउने व्यवस्था गरिएको छ । १० अर्ब ८४ करोडको पुनकर्जालाई बढाएर २५ अर्ब पुर्याउने व्यवस्था गरिएको छ । यसले रणनीतिक क्षेत्रमा प्राथमिकता क्षेत्रमा सहुलियत कर्जा प्रवाह गर्न सहयोग पुग्नेछ । त्यस्तै, कानुनी तथा नियामकिय सुधारहरु पनि हामीले गरेका छौं । देशमा स्वच्छ र सुरक्षित भुक्तानी प्रणालीको विकास र नियमन तथा सुपरिवेक्षेत्रका लागि भुक्तानी तथा फर्र्याैट ऐनको मस्यौदा अर्थमन्त्रालय पठाईसकेका छौं । वित्तिय क्षेत्र विकास रणनीतिमा उल्लेख भएको र यस बैंकसँग सम्बन्धीत नितीहरु चरणगत रुपमा कार्यान्वयनमा ल्याउँदैछौं । बाफिया अनुसार बैंक तथा वित्तिय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखहरुको योग्यता तोकेका छौं । पुर्वाधार विकास बैंकको इजाजत सम्बन्धी नीति लागु भएर बंक स्थापनाको प्रक्रिया अघि बढेका छ र एक महिना भित्र पुर्वाधार विकास बैंक स्थापना हुनेछ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका १६ वटा संस्थामध्ये १० वटाको सुधार सकेर अघि बढिसकेका छन् भने बाँकी ६ वटाको आवश्यकता अनुसार नयाँ लगानी कर्ता ल्याएर सुधारको काम अघि बढिरहेको छ । चैत मसान्त अवधीमा २८ वटा बाणिज्य बैंक, ३६ वटा विकास बैंक र ग वर्गका २५ बैंक तथा घ वर्गाका ६४ गरि १५३ वटा बैंक तथा वित्तिय संस्था कायम छन् । ५ हजार ८ सय ४८ वटा शाखा संख्या पुगेको छ भने ७५३ मध्ये ३ सय ९४ वटा स्थानीय तहमा बाणिज्य बैंकहरुको शाखा पुगिसकेको छ । बाँकी स्थानीय तहमा पनि चालु आर्थिक बर्षभित्रैमा कर्जा बाणिज्य बैंकहरुको शाखा स्थापना भैसक्नेछ । वित्तिय साक्षरता नितीको मस्यौदा तयार भएको छ । राष्ट्र बैंकले विभिन्न संस्थाहरुमा गरेको लगानी फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको छ । एनएफआरएस अनुसार चालु आवको वित्तिय विवरण पेश गराउने प्रक्रिया पनि अघि बढिसकेको छ । मर्जर तथा प्राप्ति विनियमावली लागु भएपछि चैत समान्तसम्ममा क, ख, ग र घ वर्गका १५८ वटा संस्था गाभिएर ४० वटा बनेका छन् । सम्पति सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नयाँ नियमावली लागु गरिएको छ । भुक्तानी सेवा प्रदायकको काम गर्ने गरि बैंक तथा वित्तिय संस्थालाई कार्ड सेवा, इन्टरनेट बैंकिङ, एसएमएस, मोबाइल बैंकिङ सेवाको लाइसेन्स दिईरहेका छौं । हालसम्म्म भुक्तानी सेवा प्रदायकका लागि ५ वटा संस्थाले अनुमति पाएका छन भने भुक्तानी सेवा सञ्चालनका लागि १६ वटा कम्पनीले आसय पत्र दिएका छौं । विद्युतिय भुक्तानीलाई सुरक्षित, विश्वसनिय र व्यवहारीक बनाउन बैंक तथा वित्तिय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरि जारी गरिएका कार्ड, मापदण्ड, प्रक्रिया र सिमाबारे थप कडाई गरिएको छ । नेपाल नागरिक तथा संस्थाले केन्द्रिय बैंकको स्वीकृतिमा पाँच लाख अमेरिकी डलर र पाँच करोडसम्म भारतीय रुपैंयाँ विदेशस्थित आफन्तसँग ऋण लिन सकिने व्यवस्था गरेका छौं । बाणिज्य बैंकहरुले विदेशी बैंकबाट आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा ऋण लिन पाउने व्यवस्था गरिएको छ । यस बैंकसँग चैत मसान्तसम्ममा ४ खर्ब ७४ अर्ब ९७ करोड पुगेको छ । नगद मौज्दात ५२ अर्ब रहेको छ । आवश्यकता अनुसार नोट उपलब्ध गराउने ३.२५ बर्षका लागि पुग्ने नोट एक खर्ब ३१ अर्ब ५६ करोड बराबरको ७८ कराड ७६ लाख नयाँ नोट चैतसम्ममा बैंकमा भित्रिएका छन् ।  सात वटै प्रदेशको जनसांख्यिक, सामाजिक र आर्थिक बिषय समेटिएको प्रोफाइल तयार पारेका छौं । त्यसले सरकारलाई नीति निर्माण तथा योजना कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।  

विराटनगरको बरगाछीमा पियाजियो थ्री ह्विलर्सको पहिलो शाखा खुल्याे

काठमाडौं । नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक बिक्रेता औधोगीक तथा ब्यापारीक घराना एमभी दुगड़ ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले बिहीबार बिराटनगरको बरगाछीमा आफ्नो पहिलो पियाजियो शोरुमको उद्घाटन गरेको छ । नेपालको विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधनलाई लिने गरिएको छ । सो सवारी सानो पूँजी लगानी बाटै सञ्चालन गर्न सकिन्छ र सोही सरल सेवा सुविधाका लागि पियाजियो थ्रि ह्विलर्सको पहिलो साखा बिराटनगरको बरगाछीबाट शुरु गरेको कम्पनीले जानकारी गराएको छ । शाखाको उद्घाटन पियाजियो भेइकल्स इण्डियाका मेनेजर दिपककुमार र नेपालका लागि पियाजियोका हेड अफ अपरेशन विजय महतोले सम्युक्त रुपमा गरेका थिए ।