एनसीसी बैंक पुग्यो म्याग्दीको बेनीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले म्याग्दी जिल्लाको बेनी बजारमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले गरेका हुन् । अध्यक्ष न्यौपानेले यस शाखा मार्फत बैकिङ्ग सेवा विस्तार गरी यस क्षेत्रको आर्थिक प्रगतिको लागि बैंक सहायक हुने बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा ५९ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सोही अवधिमा बैंकको खूद नाफा ५४ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सो अवधिको खूद नाफा १६ करोड ७६ लाख रुपैयाँ मात्र रहेको बैंकले जनाएको छ ।
लुम्बिनी इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठबीच उक्त सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट कम्पनीको बीमा सम्बन्धी सम्पूर्ण सेवा लिन सकिने बैंकले जानकारी दिएको छ । कम्पनीको बीमा योजना बिक्री गर्ने एवं बीमीतहरुलाई छिटो छरितो तथा भरपर्दो सेवा पुर्याउने उद्देश्यले सो सम्झौता भएको कम्पनीले जनाएको छ ।
मोबाइलबाटै राजस्व तिर्नसक्ने क्लियरिङ्ग हाउसको ब्यवस्था, कसरी गर्ने कर भुक्तानी ?
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अनलाइनबाट राजश्व लिने प्रणालीको सुरुवात गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर तिर्ने प्रणालीलाई अनलाईन मार्फत लगेपछि हाउसले १ लाख रुपैयाँसम्म ई-पेमेन्ट प्रणाली शुरु गरेको हो । विद्युतीय राजस्व भुक्तानी प्रणालीलाई सबैभन्दा पहिले ठमेल करसेवा दाता कार्यालबाट शुरु गरिएको छ । हाउसका व्यवसाय तथा विकास अधिकृत विवेक गिरीका अनुसार यस प्रणालीबाट राजस्व मात्र नभएर फिल्मको टिकट, अनलाईन सपिङ, जहाजको टिकट इत्यादी सामाग्रीहरु समेत खरिद गर्न सकिनेछ । अहिले क्लियरिङ हाउसमा ७३ वटा बैंक तथा वित्तिय संस्थाहरु अाबद्ध छन् । यसरी गर्ने कर भुक्तानी सरकारको वेवसाइटमा गएर सम्बन्धित मेनुमा गई आवश्यक विवरणहरु भरी नयाँ भौचर बनाउने र भुक्तानी विकल्पहरु मध्ये कोनेसटल्पस भुक्तानी विकल्प छनोट गर्ने युजरनेम र पासवर्ड प्रयोग गरी कनेक्ट आइपिएसमा लगइिन गर्ने भुक्तानी विवरणलाई रुजु गरी भुक्तानी गर्न बैंक खाता छनोट गर्ने आफ्नो मोबाइल नम्बर वा इमेलमा प्राप्त ओटीपी प्रयोग गरी समिट गर्ने राजस्वको वेभसाइटमा भुक्तानीको कारोबारको सूचना प्राप्त गर्ने हाउसमा आवद्ध भएका सबै संस्थाहरुको सजिलै सेवा लिन सकिनेछ । अहिले हाउसले ग्राहकलाई अन्य सेवा प्रदान गर्नका लागि थप व्यापारमुखी तथा सेवामुखी संस्थाहरुसँग परामर्श गरिरहेको छ । यस प्रणालीमा नेपाल राष्ट्र बैंक लगायत क ख ग तीनै वर्गका बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी गर्न सकिनेछ । कनेक्ट आइपीएस प्रणाली कसरी शुरु गर्ने ? कनेक्ट आइपीएस प्रणाली शुरु गर्न सबैभन्दा पहिले डब्ल्युडब्ल्यु डट कनेक्टि पस डट कम मा व्यक्तिगत तथा संस्थागत विवरण भर्नुपर्छ । त्यसपछि प्रयोग गर्ने व्यक्ति वा संस्थाको नाम, मोबाइल नम्बर र इमेल राख्ने । व्यक्तिको कुन बैंकको कतिवटा खाता प्रयोग गर्ने हो सो को विवरण खुलाउनु पर्छ । यसरी विवरण भरेको फारम डाउनलोड गरी बैंकमा आफुले बनाएको डकुमेन्टको मिले नमिलेको जाँच गर्नुपर्छ ।
नेपाल र बंगलादेश जोड्ने सुरुङमार्ग बनाइँदै
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताए । दक्षिण एसियाली मुलुकका साना तथा मझौला व्यावसायी मञ्चको तेस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको जानकारी दिए । उनले भने, ‘नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दुरीमा टनेल बनाउने विषयलाई आगाडी बढाएका छौं, यो टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउँछ ।’ नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाई भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपीशर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडी बढाउने सहमति भएको बताएका छन् । नेपालको चीनसँग पनि राम्रो सम्बन्ध रही आएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिका बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले दक्षिण एसियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वान गरे । मन्त्री यादवले भने, ‘निर्धक्क भएर लागनी गर्नुहोस्, हामी नेपालमा लगानीको वातावरण बनाउन तयार छौं र सबै किसीमको सुरक्षा दिन तयार छौं ।’ उनले छिमेकी मुलुकलाई समृद्धिको बाटोमा सँगसँगै लैजान आग्रह समेत गरे । त्यस्तै उनले साना तथा मझौला व्यवसायीलाई उत्पादन बढाउन आग्रह गर्दै भने, ‘हाम्रो देश सबैको बजार भएको छ, अन्य देशमा हामीले बजार खोज्न सकेका छैनौं, हामीले बजार प्रवद्र्धन गरेर चुलिएको व्यापारघाटा कम गर्नुपर्छ ।’ कार्यक्रममा दक्षिण एसियाली मुलुकका १५० जना साना तथा मझौला व्यावसायीको सहभागीता छ । मञ्चले दक्षिण एसियामा व्यापार सहजीकरण तथा विस्तार, पारवाहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ । एक दिने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने विषायमा छलफल भएको थियो ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, ४० करोडको सेयर किनबेच
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबारको सेयर बजार ८.२१ अंकले घटेर १३४९.०१ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन १६१ कम्पनीको ४० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा ६ कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर, नेपाल बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीकाे साे मात्राकाे काराेबार भएकाे हाे । सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.७७ प्रतिशत गुमाएका छन् । त्यस्तै, जानकी फाइनान्स र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ६.५ र ६.१९ प्रतिशत घटेको छ । उता स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकताकर्ताले भने ९.९४ प्रतिशत कमाएका छन् । बजारमा होटल, उत्पादनमूलक, विकास बैंक, बीमा र ट्रेडिङ समूहको सूचक हरिया छन् भने बाँकी समूहको सूचक राताम्मे छन् । होटल समूह ३५ अंकले उकालो लागेको छ भने बैंकिङ् समूह ११ अंकले ओरालो लागेको छ ।
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिनः प्रधानमन्त्री
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए। प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई आइतबार बुटवलमा सम्बोधन गर्दै तीनवटै तहका सरकारको ध्यान अब आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने बताए । उनले संविधानले दिएको तीन तहको सरकार गठन गरेपछिको पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्तो खुशीको अनुभूति प्रत्येक नागरिकलाई दिलाउन पहल गर्नुपर्ने जनाएका छन् । लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको बताउँदै राष्ट्रसंघले अगाडि सारेको सन् २०३० सम्मको दिगो विकासको लक्षलाई पूरा गर्न वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रममा महत्वपूर्ण कार्यक्रमलाई अगाडि बढाउने जानकारी गराएका छन् । नेपालको व्यापार घाटामा असन्तुलनमात्र नभएर निकै ठूलो अन्तर रहेको बताउँदै यसलाई घटाउन हरेक कुराको सदुपयोग गरेर निर्यातमूलक उत्पादन बढाउने र उत्पादन, रोजगारी, आयमूलक कार्यक्रम लागू गरेर जनताको जीवनस्तर बढाउने काम वर्तमान सरकारले अगाडि बढाउने ओलीले बताए । उनले विगतमा छिमेकी देशसँगको सम्बन्ध केही समस्या भए पनि अहिले वर्तमान अवस्थामा ती समस्याको समाधानको बाटोमा रहेको बताउँदै हिजोको जस्तो अवस्था नभएर हाम्रा छिमेकीसँगको सम्बन्ध सुमधुर रहेको बताउँदै भने, “हामीले छिमेकीसँगको सम्बन्ध र अन्य देशसँगको सम्बन्ध एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा बराबरी छ र आफ्ना आन्तरिक मामिलामा अरुको रुचि, चासो, स्वार्थ घुस्न दिनुहुन्न भन्ने कुरालाई हामीले स्थापित गरेका छौँ ।” प्रधानमन्त्री ओलीले नेपालको संविधानले सबैभन्दा धेरै उपलब्धि दिलाएको भन्दै सरकारको अबको ध्यान सामाजिक न्याय र समानतातर्फ केन्द्रित रहेको बताए । उनले लोकतन्त्रलाई वास्तविक अर्थमा व्यवहारमा कार्यान्वयन गर्नेतर्फ लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो आचरणमा र समाजको जीवनपद्धतिका रुपमा अपनाइने बताएका छन् । उनले लोकतन्त्रलाई राजनीतिक अधिकार प्राप्तिको मात्र नभएर प्रत्येक जनताको खान, लाउन, बस्न पाउने, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार र उन्नति र प्रगतिका लागि आर्थिक जीवन, समाजमा समान हैसियत कायम गर्नका लागि सामाजिक समानता कायम गर्ने विषयमा पनि व्यावहारिक रुपमा कार्यान्वयन गर्ने प्रष्ट पारेका छन् । उनले महिला पछाडि परेका वर्ग र समुदायबीचमा रहेको असमानता हटाउन संविधानमा व्यवस्था भएअनुसारका क्रियाकलाप गर्न र वास्तविक रुपमै असमानता हटाउनसमेत लाग्न आग्रह गरेका छन् । साथै, उनले प्रदेशलाई बलियो बनाउन सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले जनता बलियो भएमा मात्रै लोकतन्त्र बलियो हुने भएकाले सुशासन र स्वच्छतालाई प्राथमिकतामा राखी आर्थिक समृद्धिको दिशामा सरकार अघि बढेको पनि बताए । ओलीले कुनै पनि नेपाली अब खान नपाएर र चिसोले कठ्याँग्रिएर मरे भन्ने सुन्न नपर्ने बताएका छन् । उनले जनतालाई सुशासन दिन आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताउँदै भने, “म भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन र भ्रष्टाचारको मामलामा को पर्छ भनेर अनुहारतिर हेर्दिनँ ।” ‘सिण्डिकेट’ तोड्न खोज्दा निकै ठूलो प्रतिरोधको सामना गर्नुपरेको बताउँदै प्रधानमन्त्री ओलीले अनुचित कुराहरुमा सरकारको कुनै सम्झौता नहुने र कानूनको राज्यमा विभिन्न खाले सेटिङ मिलाउने र अनुचित बल प्रयोग गरेर जनतालाई दुःख दिनेजस्ता कार्यसँग सम्झौता नगरिनेसमेत स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आकाशको अधिकार लिने र विमानहरु चल्ने बताउँदै आफूले भारत भ्रमणमा जाँदा पनि यो कुरा राखेको बताए । रासस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने तयारी, काभ्रेको नागीडाँडामा अध्ययन शुरु
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गरिने भएको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलका अनुसार आन्तरिक उडान अलग गर्न काठमाडौंबाट नजिक पर्ने स्थानहरुमा प्राधिकरणले अध्ययन गरिरहेको छ ।‘पहिले काभ्रे जिल्लाको ठुली चौरमा विमानस्थल निर्माणको सम्भावना रहेको थियो तर स्थानीय वासिन्दा र नगरपालिकाले असहयोग गरेपछि अहिले काभ्रे जिल्ला बनेपाको नागी डाँडामा अध्ययन गर्ने टोली खटाइएको छ’, पौडेलले विकासन्युजसँग भने । बनेपाको नागी डाँडामा प्रारम्भिक अध्यायनको प्रतिवेदन आइसकेको एरिड्रोम इन्जिनियरिङ विभागका इन्जिनियर नलविक्रम थापाले बताए । ‘नागीडाँडामा विमानस्थलको सम्भावना रहेको छ अहिले प्रारम्भिक चरणको अध्ययन सकिएको छ, सो स्थानमा विमानस्थल निर्माणको लागि स्थानीय वासिन्दा लगायत सबै पक्षले सहयोग गर्नु पर्छ’, थापाले भने । इन्जिनियरिङको रिपोर्टमा नागरिक उड्डयन तथा मन्त्रालयले छलफल गर्नेछ । छलफलबाट पारित भएपछि विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्नेछ । नागी डाडामा विमानस्थल निर्माणको लागि सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेको छ । नागीडाँडा ठुलीचौर भन्दा उत्तम स्थल हो तर यसलाई काठमाडौंसँगको यातायात सञ्जालमा जोडिनुपर्ने अधिकृत पौडेलले बताए । दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा हेरिएको निजगढ विमानस्थलको काम ढिलो हुने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न लागिएको हो । अहिले निजगढ अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले २ वर्षभित्र सम्पन्न गर्नेगरी विमानस्थल चार किल्ला वरिपरी सडक निर्माण, रुख कटानी र सुरक्षाको काम भैरहेको छ । विमानस्थल अहिले त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टासम्म सञ्चालनमा रहेको छ । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न ४५ देखि १ घण्टासम्म आकासमै पर्खनु पर्ने समस्या छ ।
एभरेष्ट बैंकद्धारा लुम्विनी विकास कोषलाई खानेपानी स्थल हस्तान्तरण
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्विनीको मायादेवी मन्दिर परिसर बाहिर रहेको खानेपानी स्थललाई व्यवस्थित गरी लुम्विनी विकास कोषलाई हस्तान्तरण गरेको छ । बैंकले संस्थाथत सामाजिक उत्तरदायित्व अन्तर्गत परिसर बाहिर रहेको २००० लिटर क्षमताको शुद्धिकरण गरीएको खानेपानी स्थललाई व्यवस्थित गरी एक कार्यक्रमका बीच उक्त कोषलाई हस्तान्तरण गरेको हो । कार्यत्रममा प्रमुख अतिथी पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्री रविन्द्र अधिकारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठद्धारा पानी ख्वाई हस्तान्तरण गरेकाे बैंकले जनाएको छ । बैंकले हाल ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।