सिण्डिकेट माग गर्दै यातायात व्यवसायी हड्तालमा, जनजीवन प्रभावित
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ । महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ । महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले यातायात राम्रो बनाउनका लागि सरकार, व्यवसायी र उपभोक्ता रहने गरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारले अकस्मात् ढंगले निर्देशिका जारी गरेको भन्दै आफूहरुले सवारी संचालन बन्द गर्नुपरेको दावी गरे । “यातायात क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्ने हाम्रो पनि उद्देश्य हो, तर सरकार बिना छलफल चल्न खोजेपछि उक्त कदम चाल्न बाध्य भएका हौँ,”– उनले भने । महासचिव सिटौलाले आफ्नो माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्नेसमेत जानकारी दिए । अर्कातिर, कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने आफ्नो सेवालाई आज पनि निरन्तरता दिने भएका छन् । बिहीबार कम्पनीमा आबद्ध व्यवसायीको यातायात व्यवस्था विभागमा भएको छलफलपछि सेवा दिन तयार रहेको टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का महासचिव कृष्ण आचार्यले जानकारी दिए। “हामीलाई राज्यले सुरक्षा दिन्छ भने हाम्रो कम्पनीअन्तर्गतका सबै सवारीसाधन सडकमा गुडाउँछौँ,”– उनले भने। महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै ४ लाख सार्वजनिक यातायात सञ्चालनमा छन् । रासस
स्पेनमा नेपाली दुताबासद्वारा सेवा शुरु, पहिलाे सेवा झरना थापाले पाइन्
काठमाडौं । मेड्रीड स्थित नेपाली दुताबास स्पेनले सेवा दिन थालेको छ । नेपाली दुताबास स्पेनले कार्यालय स्थापना गरी बिहीवारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन शुरु गरेको हो । मेड्रीडमा नेपाली दुताबासले आफ्ना कर्मचारी बाहेक कागज बिहिन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गिरएको जनाइएको छ । नेपाली दुताबास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ । स्पेनका लागि नेपाली राजदुत भरत बहादुर रायमाझीले कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरे ।
कृषि, उर्जा, पर्यटन र जडिबुटी क्षेत्रमा उपराष्ट्रपति पुनको जोड
काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले २०७५ को वर्ष आर्थिक समृद्धिको बर्ष भएको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा ‘व्यवसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा’ प्रस्तुत गर्न बिहीबार उपराष्ट्रपतिको कार्यालय कान्तिपथ काठमाण्डौं पुगेको प्रतिनिधि मण्डलसँंग उपराष्ट्रपति पुनले यसका लागि निजी क्षेत्रको सहयोगको आशा गरेका थिए । स्थायी सरकारको निर्माण, लोडसेडिंग मुक्त मुलुक, बन्द हडतालको अन्त भएसँंगै मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको उनले बताए । आर्थिक समृद्धिको आधारको रुपमा रहेका कृषि, उर्जा, पर्यटन र जडिबुटीको क्षेत्रलाई विषेश महत्वकासाथ अगाडी वढाउनु पर्नेमा उनले विषेश जोड दिए । नेपाल चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकले लामो समयदेखि भोग्दै आएको राजनीतिक संक्रमणकालको अन्त भएसँंगै अवको गन्तव्य आर्थिक समृद्धि हुनु पर्ने धारणा व्यक्त गरे । स्थायी सरकारको निर्माणसँंगै लगानीको वातावरण बनेको चर्चा गर्दै उनले अब लगानी भित्राउनेतर्फ सरकारको ध्यान जानु पर्ने बताए । व्यापार घाटा न्युनीकरण गर्न आयात प्रतिस्थापन गर्दै निर्यात बढाउन पर्ने उनको जोड छ । उनले विभिन्न निर्यात योग्य वस्तुहरुलाई सहुलियत दिनु पर्ने उपराष्ट्रपति पुन समक्ष राखे ।
व्यापारीमाथिको चन्दा आतंक अन्त गर्छु–महानिरीक्षक सर्वेन्द्र खनाल
काठमाडौं । पछिल्लो समय उद्योगी तथा व्यवसायीहरुले मुलकमा चन्दा आतंक बढीरहेको बताएका छन् । सोही समस्यालाई मध्यनजर व्यवसायिक शान्ति सुरक्षामा नेपाल प्रहरीको नयाँं सुरक्षा रणनीति विषयक बिहीबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सले गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यापारीमाथि हुने अनावश्क दवाब, दुरव्यवहार एवं चन्दा आतंकको अन्त गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसको लागि सुरक्षाकर्मीलाई उद्योगी व्यापारीहरुले पनि सत्य तथ्य जानकारी दिनुपर्ने बताए । गुण्डागर्दी, उद्योग व्यापारीलाई हतोत्साहित गर्ने जोसुकैलाई कानून बमोजिम कारबाही गर्ने उनको भनाइ छ । आफूले निष्पक्षतापूर्वक सवैलाई सेवा दिने जानकारी दिए । राम्रो व्यवसायी र नागरिकका लागि मैत्रीपूर्ण व्यवहार गर्ने भन्दै अपराध गर्ने व्यक्ति जुनसुकै नाम, भेषमा आए पनि प्रहरीले नछोड्ने बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले निर्धक्कका साथ व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरिदिन सम्पूर्ण व्यापारी व्यवसायीहरुकोतर्फबाट अनुरोध गरे । आर्थिक समृद्धिका लागि शान्ति सुरक्षाको प्रत्याभुति पहिलो आधार भएको भन्दै उनले शान्ति सुरक्षा विना आर्थिक समृद्धि सम्भब नहुने बताए । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य एवं पूर्व नेपाल प्रहरीका एआईजी नवराज ढकालले शान्ति सुरक्षा कायम गर्नका लागि विना वर्दीका प्रहरी (नागरिक) को भूमिका महत्वपूर्ण हुने चर्चा गरे ।
वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा
महेन्द्रनगर, धनुषा, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं। २ मा सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । प्रदेश नं २ मन्त्रिपरिषद्को आज बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँलले जानकारी दिए। जनकपुरमा सम्बोधन गर्ने भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रममा सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट ५० हजार मानिस सहभागी गराउने निर्णय गरेको छ । बैठकले दुई वटा थप विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णयसमेत गरेको छ । नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत व्यवस्थापन विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । रासस
‘मानसखण्ड’ ग्रन्थ अब नेपाली भाषामा, धर्म संस्कृति र प्रण इतिहास अनुसन्धानको लागि उपयुक्त
काठमाडौं । संस्कृत ग्रन्थ स्कन्द पुराण अन्तर्गतको मानसखण्ड नेपाली भाषामा प्रकाशित भएको छ । महर्षि वेदव्यासले संस्कृतमा लेखेको यस ग्रन्थमा नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्राग ऐतिहासिक धार्मिक स्थलहरुको विस्तृत विवरण छ । अद्वैत वेदान्ताचार्य रामचन्द्र शर्मा पौडेल ‘रम्घाली’ र शास्त्री, प्रधानाचार्य लक्ष्मीकान्त जोशी रेग्मीले अनुवाद गरेका हुन् । साथै, यस ग्रन्थको सम्पादन र हिन्दी भाषामा अनुवाद ठाकुरदेव सिंह विष्ट राजकीय स्नातकोत्तर महाविद्यालय, नैनीतालको संस्कृत विभागका पूर्व अध्यक्ष आचार्य गोपालदत्त पाण्डेले गरेका छन् । विष्णुप्रसाद खत्रीको अध्यक्षतामा स्थापित रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङ प्रकाशक रहेको उक्त ग्रन्थ बुधबार(बैशाख १९ गते) आयोजित एक समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सार्वजनिक गरेका हुन् । भारत वर्षको कूर्माञ्चल (उत्तराखण्ड) र नेपालको सुदूर पश्चिमका प्रागऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरु र भूगोलको युगौं पुरानो विस्तृत विवरण समेटिएको यो ग्रन्थबाट विभिन्न राष्ट्रको सीमा सम्बन्धी जानकारी लिन सकिन्छ । नेपाल र भारतबीचको कालापानी सीमा विवाद समाधान गर्नका लागि पनि यो पौराणिक ग्रन्थ आधार बन्न सक्छ । धर्म संस्कृति र प्रण इतिहासको अनुसन्धानको लागि यो ग्रन्थ अत्यन्त उपयोगी हुनेछ । मानसखण्डमा हजारौं पहाड, तिनबाट निस्केका नदी, त्यहाँ रहेका तीर्थस्थलहरु, पहाडका गुफा, ओढार, तपश्यागर्ने ठाउँ, समथलभूमिका बस्ती र धार्मिक स्थलहरुको विस्तृत विवरण यसमा छ । यसमा वैदिक पुराणका सारभूत कुराहरु पनि समेटिएको छ । रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङले विभिन्न सामाजिक कार्य अन्तर्गत निःशुल्क न्याय सेवा दिने जेहेन्दारहरुलाई छात्रवृति प्रदान गर्ने बझाङ जिल्लामा धर्मशाला निर्माण गरेको छ भने क्षेत्रिय स्थरमा कानून विदहरुलाई पुस्कृत र सम्मान समेत गर्दछ यस ग्रन्थको बिक्रीबाट हुने आम्दानीबाट बझाङ जिल्लामा पुस्तकालय निर्माण गर्ने योजना राखेको छ ।
साझा र मयुर सहित २१० कम्पनीको ५५ हजार सवारी शुक्रबार सडकमा, कति सवारीसाधन ग्यारेजमा ?
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनका विरुद्ध निजी क्षेत्रका व्यसायीले शुक्रबार सडकमा गाडी गुडाउने भएका छन् । महासंघको आन्दोलनलाई निस्तेज पार्न निजी क्षेत्रबाट स्थापना भएका २१० कम्पनीका ५५ हजार भन्दा बढी सार्वजनिक सवारी सडकमा गुड्ने भएका हुन। महासंघले पुर्वनिर्धारित कार्यक्रमअनुसार आफ्नो मातहतमा रहेका सबै सवारी घर तथा ग्यारेजमा थन्काउने भएपछि सिन्डिकेटको विरोधमा रहेका यातायात कम्पनीले सवारी चलाउन लागेका हुन् । नेपाल राष्ट्रिय यातायात सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीका अनुसार महासंघको मातहतमा रहेका सबै सवारी सञ्चालन हुनेछन् । “हामीले पनि सरकारसँग ६ बुँदे माग राखेका छौं, त्यसका लागि २५ गतेसम्म समय दिएका छौं,”तर त्यो भन्दा अघिसम्म सवारी सञ्चालन गर्नेछौं,” शिवाकोटीले विकासन्युजसँग भने । सर्वोच्च महासंघले पञ्जिकरण, २० वर्ष पुराना गाडी र सर्वोच्चको सुनुवाईलाई आधार मानेर ६ बुँदे माग यातायात मन्त्रीसँग राखेका छन् ।यसैगरी बामपन्थी यातायात व्यवसायीहरुले समेत यस आन्दोलनमा सहभागी नहुने जनाइसकेको छ । व्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले वार्ताबाटै सबै समस्याको समाधान गनुपर्नेमा जोड दिएका छन् । यो हिसाबले हेर्ने हो भने झन्डै १ लाख भन्दा धेरै सार्वजनिक सवारी सञ्चालनमा आउने देखिन्छ । हाल देशभर करिब २ लाख सार्वजनिक सवारी सञ्चालमा रहेका छन् । नयाँ सञ्चालनमा आएका व्यवसायीहरुले पनि सवारी सञ्चालन गर्ने बताइसकेका छन् । साझाको ३९ र मयुर यतायातको २४ ठुला बस सहित बन्दको बेलामा पनि सेवा दिने बताइसकेका छन् ।यस्तै गृहमन्त्रालयले पनि सवारी नियम उल्लङघन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिइसकेको छ । उता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पुर्वनिधारित कार्यक्रम अनुसार नै आन्दोलनमा जाने तयारी गरेको छ । महासंघको सचिव सरोज सिटौलाले बैशाख २१ गते सबै सार्वजनिक सवारी घर तथा ग्यारेजमा थन्काइने जानकारी दिए । “सरकारले एकतर्फी रुपमा आफ्नो कुरा मात्र लादेको छ, यातायातका निर्देशिका तथा नियामावली संशोधन गर्दा कुनैपनि यातायात व्यवसायीसँग छलफल गरिएन यसको विरुद्धमा हामी अझ कडा आन्दोलनमा जानेछौं,”सिटौलाले भने । सिण्डीकोटको पक्षमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघ नेपाल महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । नेपाल आयल निगम लिमिटेड पेट्रोलियम ट्याङकरले ढुवानी सेवा बन्द गरे अनुमतिपत्र रद्ध गर्ने चेतावनी दिएको छ ।
जनता बैंकको ईलाम शाखाबाट कारोबार शुरु, शाखा संख्या १०८ पुग्यो
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले ईलाम शाखाबाट कारोबार शुरु गरेको छ । बिहीबार(आज)बाट सञ्चालनमा आएको यस शाखा बैंकको १०८ औं शाखा हो । यस शाखाबाट आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र बैंक्यासुरेन्स सेवा लिन सकिने छ । यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै यस पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् । ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले यस स्थानमा नयाँ शाखा खोलिएको हो । यस सँगै बैंकको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।