जेविल्स फाइनान्सले पायो हकप्रद निष्कासनको अनुमति, २३ करोड ११ लाखको सेयर आउदै
काठमाडौं । जेविल्स फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले जेविल्सलाई चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । जेविल्सले २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । फाइनान्सको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
बर्जर रंग म्याजिकल योजना अन्तर्गत न्यौपानेले जिते रेनो क्विड कार
काठमाडौं । बर्जर पेन्ट्सले आफ्नो सफल योजना बर्जर रंग म्याजिकल योजनाका विजेताहरुको घोषणा गरेको छ । सो कार्यक्रममा योजना प्रबद्र्धक अनुपविक्रम शाहीले योजनामा सहभागी करिब ४४०० घरधनीहरुमध्येबाट २० जना भाग्यशाली विजेताहरुको नाम लक्की ड्र मार्फत निकालेका थिए । विजेताहरुमध्ये विराटनगर (पूर्वाञ्चल)का रामप्रसाद न्यौपानेले रेनो क्विड कार बम्पर उपहार स्वरुप जितेका छन् भने काठमाण्डौंका रामकुमार श्रेष्ठ र सृजना योगीले प्रथम पुरस्कार स्वरुप प्रत्येकले १–१ लाख रुपैयाँ जितेका छन् । यसैगरी, पूर्वाञ्चलकी लक्ष्मी बोहरा, र पश्चिमाञ्चलका निरक ओली र राजेन्द्रप्रसाद पन्तले दोस्रो पुरस्कार स्वरुप ५०-५० हजार रुपैयाँ नगद उपहार जितेका छन् । पूर्वाञ्चलका पुष्पलाल अधिकारी, मध्यमाञ्चलका झविलाल गैरे र शम्भु शाह, र काठमाडौंकी इश्वरी श्रेष्ठले तेस्रो पुरस्कार स्वरुप जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जिते भने १० जना विजेताले सान्त्वना पुरस्कार स्वरुप १०-१० हजार रुपैयाँ जितेका छन् । साथै, क्षेत्रगत रुपमा प्रथम हुनेले १ लाख र द्वितीय हुनेले ५० हजार तृतीय हुनेले २५ हजार र सान्त्वना स्वरुप १० हजार रुपैयाँ गरि ६ क्षेत्रका ६० उत्कृष्ट घरधनीहरुले उपहार स्वरुप नगद पुरस्कार जितेका छन् । शहरोन्मुख शहरका उत्कृष्ट २० घरधनीहरुले २०-२० हजार रुपैयाँ जितेका छन् । विजेताहरुले आफ्नो उपहार दावी गर्नका लागि बर्जर पेन्ट्स नेपालको नजिकको बिक्रि शाखामा सम्पर्क गर्नुपर्नेछ ।
बजारमा सामान्य वृद्धिसँगै ७६ करोडको कारोबार, सबैभन्दा बढी नेपाल बैंकको
काठमाडौं । बिहीबारको कारोबारमा सामान्य सुधार भएको छ । बजार समान्य अंकले बढ्दा ७६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३८ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । कूल १६९ कम्पनीको कारोबार भएको बिहीबारको बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । यस कम्पनीको कारोबार रकमका साथै सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन एक लाख ६० हजार ६३६ कित्ता सेयर ५ करोड ७३ लाख ४९ हजार ६८८ रुपैयाँमा कारोबार भएको छ । यस कम्पनीको नाफा र सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका सेयर बजारका विश्लेशकहरु बताउँछन् । नेपाल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ बराबर नाफा कमाएको छ । साथै, बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५६ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । एकैदिन यस कम्पनीको सेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । बिहीबार होटल र अन्य बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह ७५ अंकले उकालो लागेको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र उत्पादनमूलक समूह दोहोरो अंकले उकालो लागेका छन् । समग्रमा नेप्से परिसूचक ५.७७ अंकले बढेर १३६६ अंकमा पुगेको छ । सो दिन नेप्सेमा ०.४२ प्रतिशत वृद्धि भएको छ ।
नगद कारोबार निरुत्साहित गर्दै राष्ट्र बैंक,१८ कम्पनीले पाए विद्युतीय भुक्तानी सेवा सञ्चालनको आशयपत्र
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवाको काम गर्न डेढ दर्जन निजी कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई अझ व्यवस्थित र जनतामाझ पुर्याउन केन्द्रीय बैंकले निजी क्षेत्रका १८ कम्पनीलाई एलओआई दिएको हो । राष्ट्र बैंकले हालसम्म भुक्तानी सेवा प्रदाय र संचालकको काम गर्न ५ वटा संस्थालाई अनुमति दिइसकेको छ । विद्युतीय भुत्तानी सेवा सञ्चालन गर्न ई सेवा प्राइभेट लिमिटेड, आईएमई पे प्राइभेट लिमिटेड, प्रभु पे, सेलकम प्राइभेट लिमिटेड लगायतलाई इजाजत दिएको छ । आवश्यक पूर्वाधारको काम सकेपछि १८ वटैलाईलाई भुक्तानी प्रणाली सञ्चालनका लागि इजाजत दिने राष्ट्र बैंक स्रोतले बतायो । आशयपत्र पाएको एक वर्षभित्र आवश्यक पूर्वाधार तयार गरेर अन्तिम स्वीकृति लिन केन्द्रीय बैंक आउनु पर्ने स्रोतले जानकारी दियाे । एक वर्षभित्र पनि नआएमा आशयपत्र स्वतः रद्द हुनेछ । आशयपत्र लिएका कम्पनीले भुक्तानी प्रणाली सञ्चालनका लागि आवश्यक पुर्वाधार, व्यवसायीक योजना, प्रवन्धपत्र नियमावली र कर्मचारीको संख्या सहित न्युनतम पुर्वाधार तयारीको विवरण पेश गरेपछि मात्र अनुमति पाउने छन् । केन्द्रीय बैंकले कागजी नोटको प्रचलन घटाउन विद्युतीय भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको हो । राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालन गर्न अपरेट तथा क्लियरिङको काम र अर्को वालेट सेवा सञ्चालनका लागि स्वीकृति दिने गरेको छ । वालेटबाट बिजुलीको बिल, टेलिफोन, इन्टरनेटको बिललगायत सबै प्रकारको भुक्तानीका आरित्त बैंकमा रकम जम्मा गर्दा र झिक्दा समेतको जानकारी मोवाइलमार्फत आउने छ । वालेटको काम हाल ई सेवा प्राइभेट लिमिटेडले प्रभावकारी रुपमा गरिरहेको छ । केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकको काम गर्न बैंक तथा वित्तीय संस्थालाई कार्ड सेवा, इन्टरनेट बैकिङ्ग, एसएमएस बैकिङ्ग, मोबाइल बैकिङ्ग, आदि सेवा सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ । हालसम्म २८ वाणिज्य बैंक, २ वटा विकास बैंक र १ वित्त कम्पनीले इजाजत पाएका छन् । विद्युतीय भुक्तानीलाई सुरक्षित, विश्वसनीय एवम् व्यावहारिक बनाउन बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा लगायतका विद्युतीय माध्यमबाट गरिने कारोबारको मापदण्ड, प्रक्रिया र सीमाका सम्बन्धमा निर्देशन जारी गरिएको छ । सेलकम हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ : सम्पादक
सरकारले राजा महेन्द्रको पालामा स्थापना भएका जिर्ण कृषि कार्यक्रम पुनःसञ्चालन गर्ने
काठमाडौं । सरकारले राजा मेहेन्द्रको पालामा स्थापना भएका कृषि विकासका कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले राजा महेन्द्रको पालामा स्थापना भएका कृषिका कार्यक्रमहरु पुनः सञ्चालन गर्ने बताए । उनले बिहीबार मन्त्रालयमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा राजा महेन्द्र विर विक्रम शाहाको पालमा सञ्चालन भएको कृषि कार्यक्रम पुनःसञ्चालन गर्ने बताए । ‘महेन्द्रको पालामा कृषि क्षेत्रको राम्रा कन्सेप्टका कार्यक्रमहरु सञ्चालन भएका रहेछन्,’ उनले भने ‘त्यतिखेर सञ्चालन भएका ठुला कृषि फार्मिङहरु बीचमा सञ्चलन हुन नसकेर जिर्ण भएका छन् । त्यसलाई पुनः सञ्चालन गरिनेछ ।’ त्यसको अध्ययनको लागि मन्त्रालयका राज्यमन्त्री राजकुमारी चौधरिको नेतृत्वमा अध्ययन समिति बनेको उनको भनाइ छ । उनको अनुसार उक्त समितिले राजा महिन्द्राको पालादेखि कृषि क्षेत्रमा भएका कार्यक्रमहरुको अध्ययन गर्नेछ । त्यस्तै निजी क्षेत्रबाट कृषिमा भएका सकरात्मक पाटोको अध्ययन, प्याक्ट र राज्यको लगानीमा भएका दुरदसाको सम्बन्धमा अध्ययन, अनुगमन गर्ने मन्त्री खनालले जानकारी दिए । उनले ती अध्ययनको क्रममा आवश्यकता अनुसार छानविन कमिटी समेत बनाउने घोषणा गरे ।
हाम्रो विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । बिहीबार हाम्रो विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ७.३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४९.११ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता २२५.५६ रुपैयाँ रहेको थियो ।
प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय धनगढीमा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि आफ्नो प्रदेश कार्यालय धनगढीको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा मुख्य मन्त्री भट्टले प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने बताएका छन् । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा यस इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरेका छन् । ‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौ । गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं’ उनले बताए ।
‘ग्यालेक्सी जे७ डियुयो’ स्मार्टफोन नेपाली बजारमा, मूल्य २८ हजार ९९० मात्र
काठमाडौं । सामसङले हालै ‘ग्यालेक्सी जे७ डियुयो’ नामक नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । उक्त फोनको बजार मूल्य २८ हजार ९९० रुपैयाँ मात्र रहेको छ । उक्त फोेन यही अप्रिल ३०(अर्थात वैशाख १७गते)देखि नेपालका सम्पूर्ण रिटेल्सहरुमा सहजै उपलब्ध हुँदै आएको छ । ब्ल्याक तथा गोल्ड कलरमा उपलब्ध यस फोन नेपालको सबैंभन्दा प्रसिद्ध स्मार्टफोन सिरिज हो जुन ३ वटा मोबाइलको बिक्रीमा १ वटा बिक्री हुने गर्दछ । यस मोबाइलमा भएको रियर क्यामरा १३ मेगापिक्सल देखि ५ मेगापिक्सलसम्ममा सेटप गर्न सकिने सुविधा रहेको छ । यसको फ्रन्ट क्यामरा ८ मेगापिक्सल रहेको छ । दुबै क्यामरा एफ/१.९ युक्त अपरचर तथा एलइडी फ्यास रहेको छ । लो लाईट फोटो ग्राफिको लागि ग्यालेक्सी जे७ डियुयो उच्चस्तरीय स्मार्टफोन रहेको कम्पनीले जनाएको छ । सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले, ‘ग्यालेक्सी जे७ डियुयोमोबाइल फोन जे सिरिज अन्तर्गत नयाँ आविष्कार हो, यो नेपाली ग्राहकहरुको मनमनमा वस्ने छ । यसमा भएको डुयल क्यामराले जुनसुकै वेला उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सकिन्छ । यो स्मार्ट फोनमा सहज रुपमा आवद्ध हुन् तथाआफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको छ र यसले आगामी दिनहरुमा आफ्नो पकड सहजै जमाउने छ । ” ग्यालेक्सी जे७ डियुयोमा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको हुँदा पृथक किसमले सेल्फि खिच्न सकिन्छ । फ्रन्ट क्यामरामा पनि एफ/१.९ युक्त अपरचर तथा एलइडि फ्यास रहेको हुँदा कम उज्यालको अवस्थामा पनि सफाफोटो खिच्न सकिन्छ । फ्रन्ट क्यामराका भएको विभिन्न विशेष मोडहरुले व्याक ग्राउन्डलाई ब्लर बनाई फोटो खिच्न सकिन्छ । यसमा भएको ब्युटी मोडले वास्तवमा नै जीवन्त फोटो खिच्न सकिन्छ । यसमा फेस अनलक सुविधा पनि रहेको छ । जसबाट सहजै फोनलाई अनलक गर्न सकिन्छ । यस नयाँ मोबाइलमा ग्राहकले ब्याक ग्राउन्डलाई ब्लर बनाएर फोकस गर्न सकिने सुविधा रहेको छ । यस्तो विशेष सुविधाको प्रयोगबाट फोटोलाई सहजै रुपमा सम्पादन गरी सोसल मिडियाहरुमा शेयर गर्न सक्नेछन् । यसलका अतिरिक्ति लाइभ फोकस लगायत अन्य उत्कृष्ट सुविधाहरुले गर्दा फोटो जीवन्त खिच्न सकिन्छ । यसमा भएको डुयल क्यामराले फोटो खिची सकेपछि ब्याक ग्राउन्डलाई ब्लर र फोटोलाई सफा गरी राख्न सकिन्छ । साथै विभिन्न आकृतिका सफ्टलाइट इफेक्ट पनि समायोजन गर्न सकिन्छ । ग्यालेक्सी जे७ डियुयो सिरिजमा एक्नोस ७ सेरिज अक्टा कोर प्रोसेसर, ४ जिबि र्यामतथा ३२ जिबि मेमोरी जुनमाक्रो एसडि कार्डको प्रयोग गरी २५६ जिबिसम्म बढाउन सकिने जस्ता सुविधा रहेको छ । साथै, ५.५ इन्जको एच डि सुपर डिस्प्ले रहेको छ जसले गर्दा कुनै पनि कुरा हेर्दा छुट्टै जीवन्तता प्रदान गर्दछ । साथै, यसमा ३००० एम ए एच व्याट्रि पनि रहेको छ । एन्ड्रोइट ओरेयो अप्रेटिङ्ग सिस्टम राखिएको हुँदा यसमासँगै दुईवटा एप्स चलाउन सकिने सुविधा पनि रहेको छ ।