विकासन्युज

घान्द्रुकमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा, संख्या १९ पुग्यो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीको घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सहित यस बैंकको हालसम्म १९ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आइसकेको छ । बैंकले उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । बैंकले हाल ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापाले स्टार हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म नगद रहित हस्पिटलाईजेसन सुविधा प्रदान गर्ने संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिएका छन् । साथै, स्टार हस्पिटलले आफ्ना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन दिने छ । त्यस्तै, अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा यस इन्स्योरेन्सबाट प्राप्त गर्नसकिने कम्पनीले जनाइको छ ।  

काठमाडौंबाट महासंघका महासचिव सरोज सिटौला पक्राउ (भिडियोसहित)

काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सादा पोशाकमा आएका प्रहरीले सिटालालाई पक्राउ गरेर महानगरिय प्रहरी परिसर टेकुमा लगेको छ । क्लबमा आउनुअघि उनले क्लबका अध्यष ऋषि धमलालाई टेलिफोन गरेर पक्राउ पर्ने सम्भावना भएकाले कार्यक्रममा आउँ कि नआउँ भनेर सोधेका थिए । धमलाले क्लबमा सरकारी निकायका सरोकारवाला पनि साक्षात्कारमा आउने जानकारी दिएर सिटौलालाई बोलाएका थिए । भिडियो

सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक

जेनेभा । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेका एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको  छ । उक्त सर्वेक्षणअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ । उक्त सर्वेक्षणका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पका ट्वीटरमा दुई करोड ३२ लाख जना फलोअर रहेका छन् । उनको तुलनामा भारतीय प्रधानमन्त्री मोदीका भने फेसबुकमा झण्डै दोब्बर अर्थात् चार करोड ३० लाख फलोअर रहेका छन् ।अध्ययनले एसियामा फेसबुकको बढी प्रचलन रहेकोले पनि मोदीका फेसबुक फलोअर बढी भएको अनुमान गरेको छ । उक्त संस्थाले विश्वका नेताहरुले के कसरी सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् भन्ने बारेमा अनुसन्धान गरेको बताइएको छ । यस अनुसन्धानकाअनुसार क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन यसरी सामाजिक सञ्जालको प्रयोग गर्ने नेतामा पाँचौँ नम्बरमा परेका छन्। फेसबुकमा उनका ९६ लाख फलोअर रहेका छन् । तर यस संख्यालाई भने क्याम्बोडियाका फेसबुक प्रयोगकर्ताकै कम्तीमा पनि आधा संख्या भनी आलोचना गरिएको छ । त्यस सर्वेक्षणले ती नेताहरुका सामाजिक सञ्जाल अकाउन्टमा पोष्ट गरिएका र तिनमा प्रतिक्रिया दिइएका विषयवस्तुलाई पनि समेटेको छ । उक्त सर्वेक्षणले सन् २०१७ को जनवरी १ पछिको १४ महिनामा विश्वका राज्य तथा सरकार प्रमुखका ६५० वटा व्यक्तिगत र सरकारी सामाजिक सञ्जाल पेजहरुको अध्ययन गरेको थियो । जसमा अमेरिकी राष्ट्रपति ट्रम्प सबैभन्दा बढी अन्तरक्रियामा रहेका नेताका रुपमा पाइएको छ । यस १४ महिनाको समयावधिमा अमेरिकी राष्ट्रपति ट्रम्पको पेजमा २० करोड ४० लाख वटा प्रतिक्रिया, लाइक वा सेयर गरिएको पाइएको छ । तर त्यसको तुलनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अकाउन्टमा भने ११ करोड मात्र प्रतिक्रिया प्राप्त भएका छन् । उक्त अध्ययनले मोदीका बढी फलोअर तर अमेरिकी राष्ट्रपति ट्रम्प बढी अन्तरक्रियात्मक भनेर निष्कर्ष निकालेको छ । हरेक दिन अमेरिकी राष्ट्रपति ट्रम्पले अनुपातमा कम्तीमा पनि पाँच वटा पोष्ट गरेका छन् । तर पनि भारतीय प्रधानमन्त्रीले भने त्यसको आधामात्र गर्ने गरेका छन् । रासस/एएफपी

काठमाडौं प्रहरी प्रमुख विश्वराज पाेखरेल भन्छन्-सिण्डीकेटधारीलाई पक्रन प्रहरी परिचालन भैसक्यो

काठमाडौं । सिन्डिकेटको माग गर्दै आन्दोलनमा गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधीकारीलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । गृहमन्त्री राम बहादुर थापाले आन्दोलनकारीलाई पक्रेर जेल हाल्न निर्देशन दिएपछि व्यवसायी पक्रन प्रहरी परिचालन गरिएको हो । काठमाडौंमा रहेका व्यवसायीलाई पक्रन प्रहरी परिचालन भैसकेको प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । उपत्यका बाहिरका व्यवसायीहरु धमाधम पक्राउ पर्न थालेपछि काठमाडौंमा पनि व्यवसायीको खोजी सुरु भएको हो ।  

विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग

काठमाडौं । नेपाल विद्यार्थी संघले विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग गरेको छ । नेविसंघको दुई तिहाइ सदस्यको बिहीबार वाल्मीकि क्याम्पसमा बसेको बैठकले अध्यक्ष नैनसिंह महरले विधि-विधानविपरीत मनोमानी ढंगले केन्द्रीय समितिका पदाधिकारी, सदस्य, विश्वविद्यालय, जिल्ला, क्याम्पस, सिटिइभिटी, विदेशस्थित सम्पर्क समितिमा भएको मनोनयन खारेज गर्न माग गरेको हो । नेविसंघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बसेको बैठकले काँग्रेसको नर्सरीका रुपमा रहेको नेविसंघलाई बलियो बनाउनुको साटो विधान विपरीत जथाभावी ढंगले नियुक्त गर्दै हिँडेको भन्दै विधानविपरीत गरिएको मनोनयन खारेजको माग गरेको हो । सो बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई साँच्चै नै विद्यार्थीको संगठन बनाउन उक्त बैठक आयोजना गरिएको जानकारी दिएका छन् । अध्यक्षले निर्वाचन भएको तीन महिनाभित्र विवादित ११ जिल्लाको विवाद मिलाउनुपर्नेमा २० महिनासम्म पनि मिलाउन नसकेको र १२औँ महाधिवेशन गर्न आलटाल गरेपछि छलफलमा जुटेको केन्द्रीय सदस्य सुशील भट्टले बताए । बैठकमा उपाध्यक्षहरु रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नवीन राई, खड्ग डाँगी, महामन्त्री, कोषाध्यक्ष शिव रिमाल, सहमहामन्त्रीलगायत ८४ जनाको सहभागिता थियो । बैठकले नेविसंघका संस्थापक अध्यक्ष सीताराम निरौलाको निधनप्रति शोक प्रस्तावसमेत पारित गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले मनोनीत गर्ने अधिकार अध्यक्षसँग भएको र सोही अधिकारलाई प्रयोग गरेर विधानसम्मत मनोनयन गरेको बताए । “नेविसंघलाई ध्वस्त बनाउन र १२औँ महाधिवेशन भाँड्नका लागि निर्वाचन विरोधी समूह एक भएका छन्”, उनले भने । साउन २३ देखि २७ सम्म १२ औँ महाधिवेशन सम्पन्न गर्न नेविसंघ लागिरहेको उनको भनाइ छ । अध्यक्ष महरले नेविसंघको विधान विपरीत बैठक बसेको भन्दै उक्त समूहलाई कारवाहीका लागि पार्टीलाई चिठी पठाइसकेको र चाँडो कारवाही हुने स्पष्ट पारेका छन् । रासस

सेनाद्धारा एक हजार ४८ किलोमिटर सडक निर्माण सम्पन्न, पाइलट ट्रयाक खोल्दै

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म एक हजार ४८ किलोमिटर सडक निर्माण भएको छ । नेपाली सेनाले सडक निर्माणको जिम्मेवारी पाएका अधिकांश आयोजना दुर्गम एवं पहाडी जिल्ला रहेका छन् । नेपाली सेनाले सुर्खेत–जुम्ला, नाग्मा–गमगढी, बेँशीशहर–चामे, मुसीकोट–बुर्तिवाङ, बाग्लुङ–बेनी–जोमसोम, जोमसोम–कोरला, छिन्चु–जाजरकोट, सल्यान– मुसीकोट, अबुवा–भच्चेक, गोरखा–आरुघाट सडक निर्माण गरेको हो । काठमाडौं–तराई मधेश दु्रतमार्ग, गोरखा–मनकामना, हिले–लेगुवा, कटारी ओखलढुंगा, त्रिशूली–सोमदाङ, सातदोबाटो–निवेलबालुवा, देवस्थल कैनाकाडा– चौरजहारी, वाग्मती क्षेत्र ढल निर्माण, चम्पापुर–बराहक्षेत्र वैकल्पिक मार्ग, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना प्रवेश मार्गको ट्रयाक पनि नेपाली सेनाले खोलेको थियो । सडक निर्माण तोकिएको समयमै गुणस्तरयुक्त ढंगबाट जिम्मेवारी पूरा गरेका कारण सरकारले नेपाली सेनालाई सडक निर्माणको जिम्मेवारी थप गर्दै गएको छ । होलेरी–चुनावाङ, खाडीचौर–बाह्रबिसे, माइतीघर–भद्रकाली, रायचौर–फारुलाचौर, मुसीकोट–सल्ले सडक आयोजनाको ट्रयाक खोल्ने कार्य पनि नेपाली सेनाबाट भएको थियो । अहिले नेपाली सेनाले मुलुकका पाँच सडक आयोजनाको पाइलट ट्रयाक खोल्ने काम गरिरहेको छ । नेपाली सेनाबाट निर्माणाधीन सडकको लम्बाइ ४७३ किलोमिटर रहेको नेपाली सेनाको विकास निर्माण निर्देशनालयले जनाएको छ । निर्माणाधीन आयोजनामा जाजरकोट–दुनै, कालीगण्डकी करिडोर, त्रिशूली–स्याफ्रुबेँशी, कर्णाली करिडोर र गोरखा–अरुघाट—लार्के सडक रहेका छन् । डोल्पाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न जाजरकोट–दुनै सडक निर्माण यसै आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ तीव्रस्तरमा ट्रयाक खोल्ने काम भइरहेको नेपाली सेनाका निर्माण कार्यदल प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए। रासस

यातायात व्यवसायीलाई पक्राउ गरेर ६ महिना जेल हाल्न गृहमन्त्री रामबहादुर थापाको निर्देशन

काठमाडौं । सिन्डिकेटको माग गर्दै यातायात सेवा बन्द गर्ने व्यवसायीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् । गृहमन्त्री रामबहादुर थापाले अत्यावश्यक सेवा ऐनमा भएको व्यवस्थाअनुसार पक्राउ गरेर कार्वाही गर्न सम्बद्ध प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको गृहमन्त्रीका प्रेस सल्लाकर किरण भट्टराईले जानकारी दिए ।  ऐनअनुसार अत्यावश्यक सेवा बन्द गर्नेलाई ६ महिनासम्म जेल हाल्न सकिने व्यवस्था छ । व्यवसायीले सेवा ठप्प पारेपछि सरकार आक्रोशित भएको छ । यातायात व्यवस्था विभागले भन्यो : ४ बजेसम्म विवरण संकलन, ५ बजे रुट इजाजत खारेज