उद्योग मन्त्रालयकाे प्रथमिकतामा एग्रो इन्डस्ट्रीज, स्थायी कर्मचरी नराखिने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले एग्रो इन्डस्ट्रीज सञ्चालनलाई प्रथमिकतामा राखेको बताए । उनले त्यसको लागि सरकारले आवश्यक ऐन कानूनहरु निर्माण तथा परिमार्जन गरिरहेको जानकारी दिए । उनकाअनुसार सरकारले रासायनिक मलको उद्योग सञ्चालन गर्ने तयारी भइरहेकाे छ । ‘वढी उपभोग गरिने वस्तुहरुको उत्पादन बढाउने एग्रो इन्डस्ट्रीजलाई जोड दिएका छौं,’ उनले भने ‘जसबाट वस्तुकाे उत्पादन बढ्नेछ आयात घट्नेछ ।’ पहिलो चरणमा कपडा, चिनी, जुट लगायतको उद्योगहरु सञ्चालन गर्ने तयारी भइरहको छ । त्यसले कपास, धागाे लगायतको उत्पादन वृद्धिमा सहयोग गर्नेछ। उद्योग सञ्चालनका लागि विदेशी लगानी सम्बधमा समेत छलफल भइरहेको मन्त्रलयको भनाइ छ । साथै मन्त्रालयले सम्बन्धित स्थानिय निकायका जनप्रतिनिधिहरुसँग पनि छलफल गरिरहेको जानकारी दिएको छ । यद्यपि अब सञ्चालन हुने उद्योगहरुमा स्थायी कर्मचारी नराखिने मन्त्री यादवको प्रष्ट भनाइ छ । उनले उद्योगको कर्मचारीहरु अस्थायी हुने बताए । उनको अनुसार उद्योगहरु सार्वजनिक निजी सामुदायिक साझेदारी ‘पीपीपीपी’ मोडलमा सञ्चालन हुनेछन् । जसमा मजदुरहरुलाई समेत शेयर दिइनेछ । सबैको हिस्सा हुने त्यस्ता उद्योगमा सबैभन्दा बढी सरकारी स्वामित्व रहने उनले मंगलबार मन्त्रालयमा भएको पत्रकारहरुसँगको भेटमा बताए । यसैबीच उनले अहिले मुलुकमा हरेक क्षेत्रमा सिन्डिकेट भएको जानकारी दिदै केही दिनभित्रै अनुगमन गरी सार्वजनिक गर्न थालिने जानकारी दिए । ‘अहिले शिक्षा, उद्योग लगायतमा सिन्डिकेट देखिरहेका छौं,’ उनले भने ‘केही दिनभित्रै रिजल्ट देख्न सक्नुहुनेछ ।’ अबको मन्त्रिपरिषद बैठकमा समेत यो विषयलाई उठान गर्ने उनले बताए ।
सेञ्चुरी बैंक र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र जीएमई रेमिट्का प्रबन्ध निर्देशक दिबाकर पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट जीएमई रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । बैंकले हालसम्म १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
ग्लोबल आईएमई बैंक र लाइफ इन्सुरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक लि. र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र लाइफ इन्सुरेन्स कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको जीवन बीमा बीमालेखहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ । हाल बैंकको १२२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।
९ प्रतिशत ब्याज दिने गरी २ अर्बको नागरिक वचतपत्र आउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने २ अर्ब रुपैयाँको नागरिक वचतपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले ५ वर्षका लागि वचतपत्र निष्कासन गर्न लागेको हो । वचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउने छन् । वचतपत्रको ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ । बचतपत्र धितो राखी यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने छ । वचतपत्र आउदो जेठ २ गतेदेखि जेठ २२ गतेसम्म बिक्री खुला हुने छ । २०८० जेठ २८ गते साँवा फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये वचतपत्र बिक्री गरेर ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिइएको छ ।
सुशासन लागू भएपछि एशियन लाइफ इन्स्योरेन्सका अध्यक्ष परिवर्तन, श्रेष्ठद्धारा बीमा समितिमा पदभार ग्रहण
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार बीमा समिति अध्यक्षसँग पदभार ग्रहण गरेका छन् । कम्पनीका अध्यक्ष श्रेष्ठले समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंसमक्ष पद तथा गाेपनियताकाे शपथ ग्रहण गरेका हुन् । समितिका अध्यक्ष चापागाँर्इले बीमककाे संस्थागत सुशासन निर्देशिका जारी भएपछि पहिलो पटक यस कम्पनीका अक्ष्यक्ष श्रेष्ठलाई शपथ गराएका हुन् । आइतबार जारी बीमककाे संस्थागत सुशासन निर्देशिका अनुसार बीमा कम्पनीका अध्यक्षले बीमा समितिका अध्यक्ष समक्ष पदभार ग्रहण गर्नुपर्छ । संस्थागत सुशासन लागू भएपछि एशियन लाइफ इन्स्याेरेन्स कम्पनीका अध्यक्ष बिजय सराबगीले राजीनामा गरेका छन् । निर्देशिकामा सार्वजनिक पद धारण गरेको व्यक्ति बीमा कम्पनीको अध्यक्ष तथा सञ्चालक बन्न नपाउने व्यवस्था गरेपछि सराबगीले यस कम्पनी छाडेका हुन् । सराबगी वीरगञ्ज नगरपालिकाको मेयर हुन् । सराबगीकाे राजीनामा पछि सञ्चालक समितिले रिक्त अध्यक्ष पदमा श्रेष्ठ चुनेकाे हाे । श्रेष्ठ विगत ५ वर्षदेखि यस कम्पनीमा सञ्चालक थिए । सपथ ग्रहण कार्यक्रममा बीमा समितिका निर्देशक राजुरमण पौडेल, नियमन विभाग प्रमुख साम्बराज लामिछाने, एशियन लाइफ इन्स्योरेन्सका सञ्चालक दिनेशलाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठ लगायतको उपस्थिति थियो ।
लालबाबु पण्डित भन्छन-मोदीसँग सिमा विवाद र १९५० को सन्धिबारे छलफल हुन्छ
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सिमा विवाद र सन १९५० को सन्धिका बारेमा छलफल हुने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री पण्डितले भ्रमणको दौरान नेपाल र भारतबीच रहेको १९५० को सन्धि र सिमा विवादबारेपनि छलफल हुन सक्ने बताएका हुन् । मोदीको भ्रमणपछि नेपाल–भारत सम्बन्ध उच्च स्तरमा पुग्ने बताउँदै पण्डितले भने, ‘सकारात्मक भविष्यको लागि सकारात्मक कुराहरु हुन्छन्, विगतमा भएका सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा हामी जोड दिन्छौ ।’ भ्रमणका दौरान राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर द्धिपक्षीय हितका विषयमा कुराहरु हुने पनि उनले जनाए । मन्त्री पण्डितले मोदीको भ्रमणसँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप प्रगाढ हुने स्पष्ट पारे । ‘नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा थप सकारात्मकताको सुरुवात हुन्छ’ उनले थपे,‘भारतका प्रधानमन्त्री आउनुभयो भन्दैमा हामी हरेक कुरा उहाँले गरिदिनुपर्छ भनेर ठूलो लिष्ट लिएर बस्दैनौं, र मलाई अहिलेसम्म त्यस्तो लिष्ट बनेको पनि थाहा छैन ।’
बामपन्थी उद्योगमन्त्री मातृका यादवको घोषणाः निजीकरणको च्याप्टर क्लोज
काठमाडौं । उद्योग मन्त्री मातृका यादवले निजीकरणको च्याप्टर क्लोज भएको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटमा मन्त्री यादवले निजीकरणले बजारमा अराजकता निम्त्याएको बताउँदै अब निजीकरण नहुने स्पष्ट पारेका हुन् । उनले बजारमा सरकारले आदर्शको रुपमा हस्तक्षेप गर्नुपर्ने धारणा समेत राखे । जटिल परिस्थितीमा बजार नियमनका लागि सरकार तयार रहनुपर्ने र त्यसका लागि केहि उद्योग तथा संस्थानहरु सञ्चालन गर्नु आवश्यक रहेको धारणा राखेका थिए । पछिल्लो समय केही सरकारी उद्योगहरु निजीकरण गरिने आशंका भइरहँदा उद्योग मन्त्री यादवले स्पष्ट रुपमा सरकारी उद्योग निजीकरण नहुने बताएको हुन् । उनले लुम्बिनी चिनी मिल निजीकरण गरिने हल्ला आइरहेको छ नि भन्ने गरिएको पत्रकारहरुको प्रश्नको उत्तर दिदै उनले भने, ‘हिजो निजीकरण भयो त्यो छुट्टै कुरो हो, अब हामी निजीकरणको पक्षमा छैनौं,’ उनले थापे ‘विकल्प दिन सक्छौं तर उद्योग बेच्दैनौं । म रहुन्जेलसम्म म निजी क्षेत्रको नाममा उद्योगहरु बेच्दिन ।’ उनको अनुसार निजीकरण गर्नु भनेको उद्योग सञ्चालनमा नाएको हुनु हो । निजीकरणको नाममा कमिसन खाने प्रबृत्ति छ । अब त्यस्तो हुन नदिने उनले जानकारी दिए । त्यस्तै उनले सरकारले पहिलो फेजमा कपडा, चिनी, गोरखकाली टायर, जुट लगायत उद्योग सञ्चालन गर्ने तयारी गरिरहको बताए । ‘त्यसको लागि विदेशी लगानी सम्बन्धमा छलफल भइरहको छ,’ उनले भने । साथै स्थानिय जनप्रतिनिधिहरुसंग पनि उद्योग सञ्चालन सम्बन्धि छलफल भइरहेको उनको भनाइ छ । अब पीपीपीपी मोडल अर्थात सार्वजनिक निजी सामुदायिक साझेदारी मोडलमा मजदुरहरुलाई समेत समावेश गरेर उद्योगहरु सञ्चालन गरिने तयारी रहेको बताए । उनकोअनुसार उद्योगहरु सञ्चालनको लागि समस्या अर्थमन्त्रालयमा छैन । आफ्नै मन्त्रालयमा छ । ती अबरोधलाई पनि हटाउदै जाने उनले प्रतिबद्धता गरे ।
सानिमा लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैक्यास्योरेन्स सम्झौता भएको छ । कम्पनीका नायव महाप्रवन्धक केशबराज केसी तथा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार ग्राहकहरुले माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न सक्ने छन् ।